वातावरण साहित्य मुक्तकमा सीता भण्डारी र सयपत्री थुलुङ उत्कृष्ट: नगद सहित पुरस्कृत हुदै
लन्डन जेठ ३० । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले आयोजना गरेको छैठौं वातावरण साहित्य गोष्ठीबाट दुई उत्कृष्ट मुक्तककार घोषणा गरिएको छ ।
विश्व वातावरण दिवसको सन्दर्भमा गत जुन ५ र ६ तारिखमा जुमबाट आयोजित गोष्ठीमा वाचन गरिएका रचनाहरुमाथि मूल्यांकन गरी काठमाडौंकी सीता भण्डारी कँडेल र संखुवासभाकी सयपत्री थुलुङ (हाल जापान) लाई उत्कृष्ट ठहर्याइएको हो ।
विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेका अध्यक्ष विजय हितान र सचिव अमित थेवेले शनिबार विज्ञप्ति जारी गर्दै गोष्ठीमा ७९ जनाले सिर्जना वाचन गरेको जनाउँदै प्रस्तुत रचनाहरुउपर गरिएको मूल्यांकनका आधारमा भण्डारी र थुलुङ उत्कृष्ट मुक्तककार बनेको जानकारी दिएका हुन् । उत्कृष्ट हुने सर्जकद्वयलाई आगामी वर्ष आयोजना हुने सातौं वातावरण साहित्य गोष्ठीमा प्रमाणपत्र र नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।
दुई दिवसीय गोष्ठी यसपटक इको मुक्त वाचनमा केन्द्रित रहेको थियो । पहिलो दिन प्रा डा खगेन्द्रप्रसाद लुइँटेल र दोस्रो दिन प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । गोष्ठीमा नेपाल, भारत, बेलायत, अमेरिका, इजरायल, दक्षिण कोरिया, जापान, हङकङ, अफगानिस्तानबाट करिब १२० जना भन्दा बढी स्रष्टाहरु सहभागी भएका थिए । रोचक कुरा, वरिष्ठ साहित्यकार सरुभक्त गोष्ठीको पहिलो दिन सहभागी भएका थिए । पोखरेली स्रष्टा सहभागी मात्रै भएनन् उनले चोटिला मुक्तक समेत वाचन गरेका थिए ।
गोष्ठी वातावरण साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ बाट बेलायतबाट सञ्चालन हुँदै आएको छ ।