तक्सङमा जन्मिएकी तक्सङ माइली – पञ्च विस्मृत
तक्सङ अर्थात् चौबिसे ८, अर्थात् लेक । चौबिसे ८ धनकुटामा जन्मिएका तक्सङे कवि श्रीमान खजुमको कविता कृति तक्सङ माइलीभित्र प्रवेश गर्नअघि केही तक्सङे कुरा गर्छु ।
किनभने उनी मेरा गाउँले कवि हुन् । यी कविलेजस्तै तक्सङको कठ्याग्रिँदो जाडोमा बारीको पाटामा ढोड बालेर आलु पोलेर खाएको छु । भुराभुरी मिलेर गोटी खेलेको छु । बेहुलो बेहुलीको खेल खेलेको छु । एक खुट्टे चट्टी खेलेको छु । वास्तवमा यो कविले मेरो स्मृतिको ढोका नराम्ररी ढकढकाएका छन् । स्मृतिभित्र मेरो गाउँको पुरानो अनुहार छ । सोझो, सरल, सरस मेरो गाउँको अनुहार ‘हाइ रिजोल्यूशन’को तसबिरजतिकै सफाचट्ट छ ।
मेरो जमानामा त्यो तक्सङतिर आजको जस्तो साहित्यिक चहलपहल थिएन ।
मेरो जमाना अर्थात् वि. सं. २०५५/५६ तिर नाच्ने गाउने काम धेरै भएको थियो । प्रायः तिहार र विवाह उत्सवहरुमा नाच्ने गाउने काम बढी हुन्थे । गायन प्रतियोगिता हुन्थे । नाचमा मुढेबासको हुर्रा चर्चित थियो । मुढेबासका प्रशान्त समाल खुब मिठो गाउँथे । नाटक मञ्चन हुन्थे, विशेष गरी जनचेतनामूलक नाटकहरु । भिडियो चलचित्र बन्थे । अभिनय क्षेत्रमा डिएन मगर राम्रा कलाकार थिए ।
तर लेखन प्रायः शून्य अवस्थामा थियो । त्यसो भन्दा नरेन्द्र लिम्बू (नरेन्द्र सर, मेरा माध्यमिक तहसम्मका गुरु) को चमत्कारी गीत लेखनलाई म भुल्न सकिन्नँ । उहाँ तुरुन्तै गीत लेखेर तैयार पार्नुहुन्थ्यो । हामी त्यसलाई अहिलेको अहिल्यै सङ्गीत भरेर, गाएर सांस्कृतिक कार्यक्रमको लागि रिहर्सल गर्ने गथ्यौँ । हामी दीपावलीको अवसरमा नाच्दै गाउँदै हप्तादिनसम्म विभिन्न गाउँ घुम्थ्यौँ, रात दिन खटेर । एक दिनको बाटो धरानसम्म झरेर साँस्कृतिक कार्यक्रम गरेको कुरा स्मरणीय छ, प्रभात युवा क्लवको नाममा ।
केही साल पहिले मात्रै लिम्बूनी गाउँका कवि राज माङलाकको फेसबुक पोस्टमा कमेन्ट गरेको थिएँ– “यो समूह (जेफाले साहित्य समाज, चौबिसेका मित्रहरु) कहाँबाट आयो आयो म त छक्क परेको छु । २०६० सालमा मेरो कविताकृति (नदेखिएको आकाश) प्रकाशित भएको थियो, त्यो समय एक जना पनि कलम चलाउँछु भन्ने मान्छे थिएनन् । अँ, नाच्ने गाउने र खेलकुदमा चाहिँ थुप्रै थिए । समय फेरिएछ । सकारात्मक कुरा नै हो । स्थानीय पर्यटनको विकाशमा साहित्यको भूमिका समेत देखिँदैछ … ।”
“हजुर, अहिले साथीहरुको उत्साह लोभलालग्दो छ । तपाइँको नाम साथीहरुले बारम्बार लिइरहन्छन् ।” राज माङलाकको जबाफ ।
नरेन्द्र सरले नै भन्नुभएको थियो मलाई, “नदेखिएको आकाश यस क्षेत्रबाट प्रकाशित प्रथम साहित्यिक कृति हो ।”
आज, हिजोका दिनमा फुटबल, भलिबल खेलेर दाइहरुले हिरोगिरी देखाएका स्थानहरुमा भाइहरुले कविता र गजल वाचन गरेर उभिएका देख्दा यो साहित्यानुरागी मन गमक्क परेको छ । हिजो सडक नाटक गरेर बसेका, भिडियो चलचित्रको शूटिङ गरेर बसेका स्थानहरुमा आज भाइहरु क्यामरा बोकेर कविताको छायाङ्कन गरेर दौडिरहेको देख्दा निक्कै खुसी लागेको छ ।
आजको पुस्ताका निकै सक्रिय कवि हुन् श्रीमान खजुम ।
विभिन्न पत्रपत्रिकाहरुको सम्पादन, म्युजिक भिडियो र लघु चलचित्रमा अभिनय समेत गरिसकेका श्रमान खजुमको शब्दरचनामा गीत सकेत रिकर्ड भइसकेको छ । र, विभिन्न सामाजिक सङ्घ संस्थाहरुमा समेत सक्रियताका साथ काम गरिरहेका छन् उनी ।
तक्सङ माइली :
जम्मा २३ कविता सङ्ग्रिहित श्रीमान खजुमकृत कविता कृति तक्सङ माइली केही पृथक किसिमको कविता सङ्ग्रह हो । यसभित्र तक्सङ माइँली र टाँकीबुङ्गे जेठाको वियोगान्त प्रेम कहानी छ । पूरा कविता सङ्ग्रह एक औपन्यासिक पृष्ठभूमिमा प्रस्तुत गरिएको छ ।
जितेन चेम्जोङको आवरण कलामा सजिएको तक्सङको भूमिका लाओती येहाङले लेखेका छन्, भने दिवा चेम्जोङ, कविन तुम्बापो र राजेश किराती लिम्बूले शुभकामना मन्तव्य दिएका छन् ।
कविता केही लामा छन् । विवरणात्मक छन् । ग्रामिण अझ लेकाली भाषाको प्रयोग भएको छ । “सिँगानको पाप्रा” लेकमा मात्रै देख्न सकिन्छ । लेक वरपरका स्थानहरु चिनाउने काम भएको छ । वास्तवमा कविले ती स्थानहरुको कविताको माध्यमबाटै पाठकहरुलाई भ्रमण गराएका छन् । यस सङ्ग्रहको पठनमा सबै भन्दा तड्कारो रुपमा देखिएको कुरा भनेको लिम्बू भाषाको प्रयोग हो । यसभित्र कविले यथेष्टरुपमा लिम्बू शब्दावलीहरु समावेश गरेका छन् । पहिचान र समावेशी विषयक मुद्दाहरुको उठानमा यस कृतिले सहयोग अवश्य गर्नेछ ।
पहिले पहिले बुढाबुढीहरु हाम्रो जमाना यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भन्ने गर्दथे । अहिले हाम्रो पालो आएको छ त्यसो भन्ने । टेक्नोलोजीको विकाशले गर्दा हाम्रो लागि आज भन्दा २० वर्ष अगाडिको कुरा त्यो जमानाको थियो । कवि श्रीमान खजुम त्यो जमानाको अभिलेखन गर्न सफल भएका छन्, अत्यन्तै सुन्दर ढङ्गले । आजका जमानाका मान्छे मोबाइल चलाउँछन्, हिजोका जमानाका मान्छे गोटी खेल्थे, गुच्चा खेल्थे, बेहुलोबेहुलीको खेल खेल्थे ।
श्रीमान खजुमको कवितामय उपस्थिति स्वागतयोग्य छ ।
विगतमा म कवितामा शिल्प पक्षको प्रधानता खोज्थेँ । आजकल विचार बढी खोज्छु । अवैतनिक भएर पनि के भनिरहेछ कविले, के भन्न खोजिरहेछ– समाजको, आफ्नो समुदायको लागि, देशको लागि । यो कुरा वास्तवमै महत्त्वपूर्ण रहेछ । लेकका खोल्साखोल्सीमा एक्लै सुसेल्दा सुसेली मिठो लाग्न सक्छ । चराचुरुङ्गीका आवाज मिठो होला तर त्यसको प्रयोजन क्षणिक रसस्वादनमा सीमित छ । तर विचारको रोल बृहत्तर छ । मान्छेको बोली फर्किँदैन भनिन्छ । फर्किँदैन भन्नुले बोलीको प्रभावकारिता झल्काउँदछ ।
श्रीमानका कवितामा विचार झल्किन्छ ।
अबको मान्छेसित भएको त्यही विचार हो । अनुवाद गूगल वा एआइले गर्ने, चित्र उसैले बनाउने, फोटो उसैले खिच्ने, किताब उसैले लेख्ने । मान्छेसित के बाँकी रह्यो र भन्दा विचार, भावना, अथवा ऊ के चाहन्छ समाज समुदाय या देशमा, अथवा व्यक्तिगत जीवनमा ? त्यो कुरा त उसको मस्तिष्कभित्र होला नि, कि त्यो पनि कम्प्युटरभित्र छ ?
तक्सङ माइली शिल्प खोज्नेहरुको लागि होइन । बरु पहिचान खोज्नेहरुको लागि हो । वर्णविन्यास खोज्नेहरुको लागि हैन, समावेशी भाषाका पक्षधरहरुको लागि हो । नश्लीय चेत भएकाहरुको लागि हो ।
औपन्यासिक पृष्ठभूमि भएको कारण यसलाई कवितासङ्ग्रह भन्दा पनि गद्य खण्डकाव्य भन्दा राम्रो देखिन्छ ।
जितेन चेम्जोङको आवरण कला हेर्दा अझ आकर्षक बनाउन सकिन्थ्यो भन्ने लाग्छ ।
तक्सङ माइलीलाई शुभकामना ।
मे १९, २०२४
धरान ।