दुई कविता: प्रेषित नभएको लाहुरेनिको पत्र – महेन्द्र थुलुंग राई
१.
“प्रेषित नभएको लाहुरेनिको पत्र”
ओइ!लाहुरे,
कुन बाध्यता र रहरको मर्स्याङ्दी गडगडायो
र,टेम्के जस्तो मेरो छातिमा थुपार्यौ
हिमताल फुटेर बगेको अनगिन्ती प्रश्नहरु
जिवनको चिलाउनेमा सुनाखरी फुल्नै लाग्दा
नखनिएको अक्करे भिरमा अक्कडो बनेर
कसरी पछ्यायौ?गल्लावालको छाया।
हेलिएर सप्तकोशिको भेलमा
किन पुगेको कुइमाको रेल चड्न।
खुवालुङ्गलाइ छोएर मात्र समुन्द्र जाने
चोमोलुङ्गामाको पानीको सन्तान तिमी
कस्तो इतिहास बनाउन घोक्दैछौ
“हजुरले जे भन्नू हुन्छ मान्छु”
“हुकुम भयो भने बाउआमा बाध्छु”
सेती नदिको साथि पो त तिमी
रातो रगते समुन्द्रमा के गरि नुहाउदैछौ
साकेलाको शिली टिप्न भुमेथान हिडेको तिमी
टिप्न पुग्यौ रे गृनेटको बगरमा
सात र दस गोर्खाको मृत टाउको।
ओइ!लाहुरे
सिङ्गपटानिको सिङ्गारपटारमा
कसरी मर्ने र मार्ने सिकिरहदा
यहाँ तिम्रो बाबुलाइ बोकाइरहेछ
अजङ्गको गाडी
भिमफेदिको उकालो।
सर्वाकको अनकन्टार जङ्गलमा शत्रु खोजी हिड्दा
रानिबनमा घाँस काट्न जादा म असुरक्षित छु।
चिण्डो जत्रो टुम्लेटको पानी सकियो भने
अन्जुलिमा उठाउनु समुन्द्र
मेरो आँसु बोकेर दौडिएको छ गण्डकी उतै।
ओइ!लाहुरे
कुनै दिन माछापुच्छ्रेले देखेको घटना
सिस्ने लेकले लेख्यो भने
जुगल हिमालको कुमारित्व भङ्ग हुनेछ।
तिलिचो तालको वरिपरि घङघारुको बच्चाहरु उमृदैछ।
तिम्रो बुडेसकालको साथि बन्छु भनेर
समृनोको भिरमा कुन बुट्यान समाएर
मागिरहेछौ बन्दुक सङ्ग जिवनको भिख।
ओइ!लाहुरे
आफ्नै घुर्यानको भस्मे फाडेर जोगाउनु
आदिम सभ्यता भनेर
कोक्पा,मेमे,भजु र बजुहरुले दिएको खुकुरिले
तिमी गएको बाटो काट्दिउ
हलो र गोरु सङ्गै घर आउदा
जान्छु पनि नभनी
कता भुर् र उडेर फोकल्याण्ड तिर
बृन गन समाउन पुगेको।
बिहानको तिमी जत्रै घामले एउटा फोटो
टास्दिएको छ बिस्कुन सरि
तिमी हुर्केको आगन भरी
युद्दक ट्याङकले रुख मात्र किच्दै हिड्दैन भन्दै
तिम्रो फोटोमाथी उभिएर कलिलो जुन रोइरहेछ।
झारिरहेछ शीत,लेखिरहेछ गित
“बालाखा जीवन खेलेर गै गयो”
“बैँस जत्ती बिदेशिको भै गयो”।
ओइ!लाहुरे
कागती निचोरे अमिलो रस आउँछ।
मन नि”चोरे के आउँछ?
रङ्गुनको रङ्गिन साझमा
पालाम,हाक्पारे,शेलो गाउँछौँ कि गाउदैनौ
कारगिलको रोधिघरमा हुर्आ नाच्छौ कि नाच्दैनौ
मादल,बिनायो,सारङ्गिको झङ्कार
तोप,एलएमजि र गृनेटको जस्तै हुन्छ र?
प्रश्न नै प्रश्नको धागो कातिसके।
यतिखेर म
मनको तिनचुले अगेनामा
आशाको आगो फुकेर
खुर्मा,चक्टी र फिन्जोती पकाइरहेछु।
कतै टुप्लुक्क आउछौ कि
पल्टनको रातो रम बोकेर
श्लेष्मान्तकको कुटिमा
सुम्निमालाइ भेट्न आएको पारुहाङ्ग जस्तै।
ओइ!लाहुरे
सोच्चा-सोच्दैको यो तरङ्ग
लुम्लेको चिसो हावाले चोरेर भाग्छु भन्दैछ।
वाकिटकिको नजिक बसिरहनु
छामेर आफ्नै मुटुको धड्कन।
२.
“त र म” कबिता
ओइ!जाठा,
तेरो आगनमा आएको छु।
शिर झुकाउने कोक्पाहरु छैनन।
ज्यु हजुरी गर्ने समयको हत्या गरेर
म,टेक्न आको हु पाइतालाले।
तेरो अहमताको भुगोल
तेरो अन्यायको मस्तिष्क
तेरो क्रुर इतिहासको छाती।
मेरो निधार र तेरो निधारमा फरक थिएछ।
म सेतो टीका लगाएर बसिराखे
हिमाल जस्तो सान्दार शान्ती
त,रातो टीका लगाएर फुटाउन थालिस
हरियो पहाड तोड्ने ज्वालामुखी।
मेरो पाइतला र तेरो पाइतलामा फरक थिएछ।
मैले होन्तौ,सबै बाच्न पर्छ भनेर
टेकिराखे खाली पैतला आफ्नै पसिना बगेको आगन
त,जहा-जहाँ टेक्दै हिडिस खराउले
मालपोतमा गएर लोक्तामा लेख्दै हिडिस तेरो नाम।
मेरो मस्तिष्क र तेरो मस्तिष्कमा फरक थिएछ।
म मुन्धुमे सबै मरेर गाडिने हो भनेर
धर्ती आकाश हावा सबैको साझा हो सोच्थे
त महाभारते चोमोलुङ्ग्मालाइ डढाएर
खरानी गङ्गा तिर बगाउन पाए हुने सोच्थिस।
मेरो ईतिहास र तेरो ईतिहास फरक थिएछ।
म आफ्नै अगेनामा बिस्वासको आगो बालेर
पकाइरहे समानताको डिढो
त,अरुकै आगनमा अन्यायको चरु पोलेर
भरि रहिस देशै खादा पनि नअघाउने पेट।
मेरो हात र तेरो हातमा फरक रहेछ।
म सर्दियौ देखि अक्सिजन त सबैलाइ चाहिन्छ भनेर
रोपि राखे मानवताको बरपिपल
त काट्न थालिस मेरै बारिको सल्लो
मेरो धुरिमा भार्तुत्वको आगो सल्काउन।
मेरो रगत र तेरो रगतमा फरक रहेछ।
मेरो रगतमा बगिरह्यो
कन्चन नदिहरु जस्तो मानव धर्म
त जम्न थालिस जलचरलाइ सक्न
तेजावको पोखरी जस्तो।
ओइ!जाठा,
के?मेरै पुर्खाको हड्डिले बनाएको
झ्यालबाट चिहाउछन?
तेरो आगनमा आएको छु।
शिर झुकाउने कोक्पाहरु छैनन।
ज्यु हजुरी गर्ने समयको हत्या गरेर
म,टेक्न आको हु पाइतालाले।
तेरो अहमताको भुगोल
तेरो अन्यायको मस्तिष्क
तेरो क्रुर इतिहासको छाती।