नयाँघरेकोे याकजी विमोचन
काठमाडौं, २०७९ वैशाख ९ गते निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रहको विमोचन सम्पन्न भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गर्नु भएको उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ । विमोचनपछि नाटककार मल्लले भन्नुभयो– ‘डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रुपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो ।’
समालोचक महेश पौडेलले भन्नुभयो– ‘याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको छ । विवरणभन्दा अनुभूतिले भरिभराउ यो कृति यात्रा लेखनको एक मानक ग्रन्थ बन्न पुगेको छ ।’ उहाँले भन्नुभयो– ‘नयाँघरेशैली यहाँ पनि हामी मज्जाले भेट्न सक्छौं ।’
नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले– ‘याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रुपमा आएको छ । कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार हामी यहाँ भेट्न सक्छौँ । नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई यहाँ पनि आत्मसात् गरिएको अनुभव गर्न सकिन्छ । डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन् ।’ भन्नुभयो ।
समालोचक तथा प्रा.डा. सिर्जना शर्मा उप्रेतीले– ‘नयाँघरेको लेखनबाट आपूm प्रभावित भएको र यात्रा साहित्यमार्फत् समाजलाई बुझ्न एवं अनुभव गर्न ठूलो सहयोग पुग्ने’ धारणा राख्नु भयो । उहाँले भन्नुभयो– ‘याकजी पढ्नु भनेको हिमाली सभ्यता, संस्कृति र रहनसहन थाहा पाउनु हो । यो कृति आगामी दिनका लागि पनि भौगोलिक, सांस्कृतिक, प्राकृतिक एवं धार्मिक चरित्रहरुको थप बिस्तारपूर्वक अध्ययन गर्नका लागि सघाउने कृति बन्न पुगेको छ ।’
याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै– ‘कर्णालीको विकट क्षेत्रको यात्राबाट आपूmले जीवनकै गहिरो दर्शन प्राप्त गरेको’ धारणा प्रस्तुत गर्नुभयो । नयाँघरेले भन्नुभयो– ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरु घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नु पर्छ ।’
नियात्राकार नयाँघरेका यो १८औं कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उनका आठौं नियात्राका कृतिहरु प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन् । नियात्रा समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो ।