माइली (स्त्री) को आगमनमा कोही किन डराउँछ? – शान्ति लिम्बू
स्त्री रूपमा देख्नेले
मलाई छोरी भनेर चिन्दा रहेछन्
छोरी भनेर चिनिसकेपछि
मलाई पराई घर जाने नासोको रूपमा हेर्दा रहेछन्
उता छिमेकीले
घरकी लक्ष्मी हौ तिमी भनेर
केही दिनको देवी बनाउँदा रहेछन्
आधा आकाशको उपमा पनि दिन्छन्
र, सल्लाह दिन्छन्–
तिमी पानीजस्तै हौ, जसको आफ्नो आकार हुँदैन
समय अनुकूल आकार बन्नु पर्छ
यसो उसो भन्दै–भन्दै
आफ्नै समाजले
दोस्रो दर्जाको नागरिक बनाइसकेको पत्तै हुँदैन
सम्झन्छु,
जन्मेदेखि मृत्युसम्म पुग्दा
म एक स्त्री
तर, यस समाजले अनेकौँ नाम दिँदा रहेछन्
कहिले कडा त, कहिले मसिनो स्वरमा
थर्काउँछन् मलाई–
नगर्नु हिम्मत सपना देख्ने
बरु रमाउनु चुल्हाचौकामा
नचियाउनु आँगनबाहिरको रङ्गी संसार
राख्नु गुम्साएर कथा–व्यथाहरू
लाग्छ,
समय रोकिएको छ
आमूल परिवर्तन हुन बाँकी नै छ
स्त्रीलाई हेर्ने दृष्टिकोण
बिल्कुलै नयाँ चिन्तन भित्र्याउन बाँकी नै छ
आमाले मलाई सुनाउनु हुन्थ्यो–
‘तिमी जन्मिँदै गर्दा
म अर्धबेहोस थिएँ
आफैँलाई बिर्सेंछु
तर तिम्रो अबोध अनुहारमा
मैले मेरो अवतार पाएँ’
आमाले फेरि सुनाउनु भयो–
‘बिस्तारै आफूलाई सम्हाल्दै
फेर्दै लामो श्वास
खोल्दै सुस्तरी आँखा
पोत्दै अनुहारमा आशाको जून
तिमीलाई काखमा पाएपछि
भुलेँछु स्त्री पीडा’
आमाका नोस्टाल्जियाहरू
साठीको भाषामा फेरि दोहोरिन्छन्–
‘कसैले मलाई सुनाए भारी आवाजमा
माइली छोरी जन्माएछौ’
मेरी आमालाई ती भारी आवाजमा
मिसिएको शब्द सुन्दा
बुडुल्कुङ्डो आलुको भारीले थिचेजस्तै अनुभूति भएको थियो रे
कुरूप समाजको सिङ्गो अनुहार
मसँगै आमाको गर्भबाट झरेको सालनालभरि
छरपस्ट भएको थियो रे
हर्षहरू कतै लुकेका थिए रे
खुसीहरू अन्तै गएका थिए रे
माइलीको आगमनमा
पितृसत्ता
निकै डराएको थियो रे
आमाले मलाई भन्नुभएको
मेरो जन्मको कथा हो यो
आमाको गर्भबाट स्त्रीको आगमन हुँदा
समाज डराउनु
त्योभन्दा डरलाग्दो चीज अरू के हुन सक्छ ?
अर्थात् माइलीको आगमनमा कोही किन डराउँछ ?
यति भन्छु,
एउटा काम गर्दै छु
हो, त्यति बेला डराउनु
म डरमर्दो भइदिन्छु ।
**







