कस्को के जान्छ र है ? – शशि थापा सुब्बा
लौ म पनि लेख्ने भएँ
अब कविता ।
हो अब लेख्नै पर्छ
मैले पनि कविता!
लेख्नु पर्ने नै रहेछ कविता!
बल्ल बुझ्दैछु किनकी
मेरो पूर्खाले कहेको मुन्धुम
उल्था गरेकै हैन कतैबाट !
सबै सबै अनादिकाल देखी नै
सुनाउदै आएको रे!
कुरो नबुझेर जस्ले जता कूदाए
त्यतै पो कुदेछु ।
खोरियाको भटमास संगै उम्रिएको
मेरो देमाको अलिखीत रचनाहरू
लैबरी भाका हालेर ,
खोरिया पर्तिरको खहरेमा
अझै सम्म गुन्जिरहेको रहेछ!
सुन्न नजानेर म लाटी
काँशी र गंगाको लयमा
सुर लगाउने कोशिस गर्दै
बनिराको बग्गी समातेर
पछिपछी कुदिरहे, कुदिरैछु!
मेरो देमा पो रहेछ लोक कवी !
ओहो! मेरो पूर्खाहरू पनि रहेछन,
आदीकवी!
अब म पनि लेख्छु कविता ।
कान्छा काकाले खिपेको
बिनायो जस्तो सुरिलो कबिता,
माईली निनीले बुनेको झोला जस्तो
रँगीचंगी र छेउकुना मिलेको कबिता,
हो लेख्छु अब म
सेरेड्गमा आमाले सुकाई राखेको
ड्ल्ले खोर्सानी जस्तो तिखर कबिता!
यती धेरै सुर, रंग र स्वाद
भएको मेरो देशमा
अझ दुइचार जना कवी जन्मिदा
कस्को के जान्छ र ?
हो!अब मैले लेख्नु पर्छ कविता!
बुईकलमा फालिएको
पुराना काठको बाकस र
लालमोहरको कविता,
हात्तीबल र भिमबलको सन्तान
मेरा बाजे राम नेयोङ र
सिद्धीराज नेयोङले
लाहाछाप लगाउने
पित्तले औँठीको कविता,
समयको गतीसगैं खुस्किएको,
खोलापारी काईँला सार्कीले
मित लगाएर दिएको
मेरो बाबुको ढोलनाच्दा लगाउने
छालाको जुत्ता को कविता,
टाउके दर्जीले बालीघर
उठाउदा दिएको
दौरासुरूवालको कविता !
यती धेरै सम्बन्ध, संस्कार र
ईतिहास बोकेको मेरो देशमा
अरू दुईचार कवी
थपिए ,
कस्को के जान्छ र?
अब साचैं लेख्नु पर्यो
एउटा यस्तो कविता!
तिनराते बस्दा येबाले
निखनेको जोखना र
अदुवा छिनाएर
हसियाँ नचाउने
बिजुवाको कविता !
गुम्बाको कसम खाएर
असिना पार्ने र पानी टार्ने
दोर्जे लामाको कविता!
भित्ताको दुईचार तस्विरमा
कत्ति फूल चडांउनु ?
एउटै अलाप कत्ति
बडबडाउनु ?
दिक्क भो!!
आफ्नो समवेदना मिचेर
अरूको उचाई थप्नु
कत्ति बन्नु म कच्चापर्दाथ?
भो! अब म आफै
कविता लेख्न थाल्छु,
यतिधेरै अनुहारहरू
भएको मेरो देशमा
फेरी
दुइचार युगकवी जन्मिदा
अरू
दुईचार तस्बिर थपिन्दा
कस्को के जान्छ र?







