सुवर्णको ‘इक्किसुम इक्ला’: याक्थुङ ज्ञान र सांस्कृतिक सम्पदाको दस्तावेज – कृष्ण हेम्ब्या
यालाक्मा मुन्धुमअनुसार, आफूहरूले पनि खान पाउने सर्तमा माक्चेरे पुः (भँगेरी चरी) ले ताक्मारु यारु अर्थात घैया धानको बीउ मानिसलाई दिएर खेतिगर्न सिकाएको आख्यान छ । यही घटनापछि हाम्रा पुर्खाहरूले खेतीपाती गर्न थालेको विश्वास गरिन्छ । तर धान पाक्न थालेपछि चराहरूले बाली खाएर नोक्सान पुर्याहउन थाले । चरासंगको पूर्वसर्तका कारण पुर्खाहरूले अन्न जोगाउने अर्को उपाय खोज्नुपर्योप ।
उनीहरूले पाकेको ताक्मारु यारु धानलाई एकै ठाउँमा जम्मा गरे । सबैजना समूहमा भेला भएर ‘हा ..हा..’ भन्दै खुट्टाले धान कुल्चन थाले । यसरी कुल्चँदै जाँदा पराल र अन्नका दाना छुट्टिन थालेको देखेर उनीहरू आश्चर्यचकित र उत्साहित भए । यसो गार्दा चरापनि भाग्ने र अन्न झाँट्नेछुट्याउने उपाय सफल भएको अनुभूतिले उनीहरूमा सामूहिक उल्लास पैदा गर्योँ । त्यसपछि हातमा हात समाउँदै, लेग्रो तानेर ‘छुई हा।। हा।।’ को भाकामा घुम्दै, उफ्रँदै र नाच्दै रमाउन थाले । कालान्तरमा यही सामूहिक क्रियाकलाप एउटा विशिष्ट सांस्कृतिक परम्परा अर्थात् यालाङका रूपमा विकसित भएको मुन्धुमी आख्यानले बताउँछ ।
यस आख्यानसँगै ‘यात्लाक्’ (धान कुल्चनु) शब्द अपभ्रंश हुँदै ‘यात्लाङ्’ र अन्ततः ‘यारुलाङ’ ९धान नाच० हुन गएको व्याख्या पनि जोडिएको छ । यसरी यालाङको उत्पत्तिलाई अन्न उत्पादन, अन्नको सुरक्षा, सामूहिक श्रम र श्रमबाट प्राप्त उत्साहसँग सम्बन्धित गरिएको पाइन्छ । पुर्खाहरूले चरासँगको पूर्वसर्त उल्लङ्घन नगरी अन्न जोगाउने उपाय खोज्नु र त्यस क्रममा सामूहिक रूपमा विकसित भएको क्रियाकलाप सांस्कृतिक नृत्यमा रूपान्तरण हुनु यस आख्यानको मुख्य पक्ष हो ।
यालाङ याक्थुङ जातिको अत्यन्तै लोकप्रिय र परिष्कृत सांस्कृतिक लोकनृत्य हो । यसमा सिङ्गो ब्रह्माण्डको उत्पत्ति, चराचर जगत, मानव जीवनका सुख–दुःख तथा मूल्य र मान्यताजस्ता अनेकौँ सांस्कृतिक संवेदनाहरू प्रतिबिम्बित हुन्छन । यसले याक्थुङ समुदायको सांस्कृतिक चेतना, सौन्दर्यबोध र ऐतिहासिक भावना झल्काउँछ ।
मेन्छया थाङवेन परस्पर हातमा हात समाति तेर्सो लाम लागेर वा घडीको सुइँबिपरित गोलो आकारमा पालाम गाउँदै नाच्ने याक्थुङ जातिको प्रचलित लोकनृत्य यालाङ वा यालक्मा भनिन्छ । प्रकृतिबाट प्राप्त अनमोल उपहार या ९धान० र याक्थुङ सभ्यताले निर्माण गरेको सुन्दर संस्कृति लाङ ९नाच० बाट यालाङ बन्यो । प्रकृति र मानव संबन्ध जोड्ने सुन्दर र लोभ लाग्दो यालाङले सिंगो थिवोङ याक्थुङ जातिको संकृति सभ्यता र इतिहासको प्रतिनिधित्व गरेकोछ ।
यालाङमा गाइने गीतलाई पालाम साम्लो भनिन्छ । याक्थुङ समाजमा पालाम साम्लो र यालाङ अविभाज्य रूपमा जोडिएका छन । पालाम साम्लोबिना यालाङ अपूर्ण हुन्छ र यालाङबिना पालामको अर्थ पनि अधुरो रहन्छ । यी दुईको संयोजनले याक्थुङ संस्कृति जीवन्त, मनमोहक र सार्थक बनेको छ ।
यालाङले हाम्रो इतिहासको खोजीमा महत्त्वपूर्ण योगदान पुर्याजएको छ । यसको माध्यमबाट हामी आफ्नो सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पृष्ठभूमि बुझ्न सक्छौँ । यालाङको मुन्धुमी इतिहाससँग पनि नजिकको सम्बन्ध रहेको छ । हामी याक्थुङ अर्थात याक्थुङ राष्ट्र हुनुको आधारशिला यालाङले प्रदान गरेको छ ।
मानवशास्त्रीहरूका अनुसार कुनै जातिको कुनै अन्नसँग पुरानो सम्बन्ध भएमा त्यस अन्नसँग सम्बन्धित शब्दहरूले भाषा र संस्कृतिमा प्राथमिक भूमिका खेल्छन । यालाङ नाम पनि ‘या’ (धान) र ‘लाङ’ (नाच) को संयोजनबाट ‘यालाङ’ बनेको मानिन्छ । यालाङ याक्थुङहरूको ‘या’ अर्थात् धानसँग गहिरो रूपमा जोडिएको छ । याक्थुङ पुर्खाहरूले धानको घरेलुकरण गरेको पुष्टि भइसकेको छ । यस आधारमा यालाङलाई नृत्यका रूपमा मात्र नभई याक्थुङ जातिको धानसँगको ऐतिहासिक सम्बन्ध, प्रकृतिप्रतिको सम्मान र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्त्वपूर्ण परम्पराका रूपमा पनि बुझ्न सकिन्छ ।

यालाङ कसरी सुरु भयो भन्नेबारे अनेक मिथकहरू प्रचलित छन । यालाङ मुन्धुममा उल्लेख भएअनुसार, कृषि युगको प्रवेशतिर जीवजन्तु र प्रकृतिसँग हाम्रा पुर्खाहरूको सुरु भएको द्वन्द्व नै यालाङ उत्पत्तिको तत्कालीन प्रमुख कारण थियो । मानिसले कृषि गर्न थालेपछि अन्नबालीको संरक्षण गर्ने क्रममा प्रकृतिसँगको सम्बन्ध, जीवजन्तुसँगको द्वन्द्व र सामूहिक श्रमले यालाङ संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
याक्थुङ जातिको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको पालाम यति लोकप्रिय छ कि नवजात शिशुले समेत आमाको काख र कोक्रोमै आमा, दिदी तथा दाजुहरूबाट पालामका भाका सुन्दै हुर्कने अवसर पाउँछ । याक्थुङ समाजमा पालामको
लोकप्रियता र यसको सांस्कृतिक व्याप्तिलाई डा. अमरजङ तुम्याहाङको एउटा भनाइले निकै सजीव ढङ्गले चित्रण गरेको छ, “नबास्ने भाले र नचिर्बिराउने चरी नभएजस्तै मुखमुखै पालाम नरच्ने र नगाउने याक्थुङ तरुनी–तन्नेरी विरलै हुन्थे ।”
यस भनाइले कुनै समय याक्थुङ युवायुवतीको जीवनशैली, प्रेमाभिव्यक्ति र सामाजिक अन्तरघुलनमा पालामले कति गहिरो स्थान ओगटेको थियो भन्ने देखाउँछ । तर, कुनै समय जनजीवनको अभिन्न अङ्ग बनेको यही लोकप्रिय पालाम आज क्रमशः ओझेलमा पर्दै र हराउँदै गएको चिन्ता पनि उत्तिकै छ । यस्तो अवस्थामा पालामको संरक्षण, पुनर्जागरण र पुस्तान्तरणका लागि थुप्रै याक्थुङ स्रष्टाहरू सक्रियतापूर्वक जुटिरहेका छन । यही अभियानमा समर्पित चिरपरिचित सर्जकहरूमध्ये एक हुन सुवर्ण नेम्बाङ ।
पालाम सिर्जनामा ख्याति आर्जन गरिसकेका परिपक्व सर्जक सुवर्ण नेम्बाङको ‘इक्किसुम इक्ला’ पालाम साम्लो पुस्तकको रूपमा प्रकाशित भएको छ । गत शनिबार, कात्तिक १४ गते, याक्थुङ लाजेको विजयपुरस्थित धरान सैनिक भवनमा भव्य समारोहका बीच पुस्तकको विमोचन गरिएको हो ।
पालाम सिर्जनामा लामो समयदेखि सक्रिय सुवर्ण नेम्बाङले हालसम्म १५ सयभन्दा बढी पालाम सिर्जना गरिसकेका छन । ‘इक्किसुम इक्ला’ उनको पुस्तकाकार रूपमा प्रकाशित दोस्रो कृति हो । यस कृतिमा उनले मुन्धुमी आख्यानलाई यालाङ र पालामको उत्पत्तिसँग जोड्दै शब्द, लय र भावको सुन्दर संयोजनमार्फत पालाम साम्लोलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन ।
माक्चेरे पुहा?र मेगा?आँङ् ।
या?रिम्बान् हुन्छि मेदा?आँङ ।।
सुवर्णले यालाङको उत्पत्तिबारे मुन्धुममा वर्णित यस आख्यानलाई कवितात्मक र कलात्मक शैलीमा प्रस्तुत गरेका छन । उनको प्रस्तुतिमा कृषि जीवनको प्रारम्भिक चरणमा मानिस र प्रकृतिबीच रहेको अन्तरसम्बन्ध, जीवजन्तुसँगको सहअस्तित्व तथा द्वन्द्व, अन्न उत्पादन र त्यसको संरक्षणका लागि गरिएका सामूहिक प्रयासहरू जीवन्त रूपमा अभिव्यक्त भएका छन ।
याक्थुङमय लोकार्पण
पालामको सांस्कृतिक महत्त्व, ऐतिहासिक विरासत र याक्थुङ समुदायको मौलिक पहिचानलाई पुष्टि गर्ने सशक्त मञ्चका रूपमा ‘इक्किसुम इक्ला’ पुस्तकको लोकार्पण समारोह देखियो । धरानमा आयोजित उक्त समारोहमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, पूर्व प्रदेश प्रमुख प्रा। डा। गोविन्द तुम्बाहाङ, धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघालगायत धरानका प्रतिष्ठित व्यक्तित्व तथा पालामप्रेमी दुई सयभन्दा बढीको भव्य उपस्थिति थियो ।
कार्यक्रमले स्थानीय तहमा मात्र सीमित नभई अन्तरदेशीय सांस्कृतिक सम्बन्धलाई समेत उजागर गरेको थियो । छिमेकी मुलुक भारतको सुखिमबाट सिक्किम विश्वविद्यालयका एसोसिएट प्राध्यापक बल मुरिङला, अल्पाइन युनिभर्सिटी, नाम्ची, दक्षिण सिक्किमका विभागीय प्रमुख कर्णहाङ ताम्लिङ तथा सिक्किमकी मुन्धुम अध्येता सन्ध्या सिङ्ज्यागोलगायतका विशिष्ट पाहुनाहरूको सहभागिताले समारोहको गरिमा थप उचाइमा पुर्यााएको थियो ।
पुस्तकको विषयवस्तु र सांस्कृतिक महत्त्वमाथि चारमाया पालामका सर्जक अम्बिका सम्बाहाङ्फे तथा याक्थुङ संस्कृतिका ज्ञाता आइत खजुम, अन्य अतिथि कर्णहाङ ताम्लिङ, मेयर पेगा र बल मुरिङलालगायतले गहन टिप्पणी प्रस्तुत गरेका थिए । उनीहरूका विचार र विश्लेषणले ‘इक्किसुम इक्ला’ केवल एउटा पुस्तक मात्र नभई याक्थुङ समुदायको मौखिक परम्परा, सांस्कृतिक चेतना र पुस्तान्तरण हुँदै आएको ज्ञानलाई अभिलेखीकरण गर्ने महत्त्वपूर्ण प्रयास भएको पक्षलाई उजागर गरेको थियो ।
कार्यक्रमका अतिथि बल मुरिङलाले सर्जक सुवर्णका सिर्जनालाई सम्पूर्ण याक्थुङ समुदायको साझा सम्पत्तिका रूपमा ग्रहण गर्नुपर्ने विचार व्यक्त गरे ।
सिक्किमबाट सहभागी अतिथि कर्णहाङ ताम्लिङले सुवर्ण नेम्बाङको उमेर र जीवनको यस चरणमा यति ठूलो आकारको पालामी कृति प्रकाशन गर्नु आफैँमा महत्त्वपूर्ण र प्रशंसनीय उपलब्धि भएको बताए । उनले पुस्तकमा पालामसँगै हाक्पारे र ख्यालीसमेत समेटिएकाले यसको नामकरण ‘याक्थुङ लोकसंस्कृति संग्रह’ गरिएको भए अझ बढी सान्दर्भिक र व्यापक हुने आफ्नो धारणा राखे । त्यसैगरी, सिक्किम र नेपालको याक्थुङ समुदायमा प्रचलित सिरिजङ्गा लिपिको लेखन शैलीमा केही भिन्नता रहेको उल्लेख गर्दै उनले हालको लिपि लेखन पद्धति सिक्किमका पाठकका लागि सहज नहुन सक्ने सम्भावना औँल्याए । भविष्यमा यस्ता भाषिक तथा सांस्कृतिक कृति प्रकाशन गर्दा दुवै क्षेत्रका लिपि अध्येता र भाषाविद्हरूबीच समन्वय तथा एकरूपताका लागि पहल गर्न सके पुस्तकको पहुँच र उपयोगिता अझ व्यापक हुने सुझाव पनि प्रस्तुत गरे ।
समारोहको अर्को उल्लेखनीय पक्ष यसको याक्थुङ सांस्कृतिक मौलिकता थियो । यालाङ र केलाङको प्रदर्शन, चामाथुङमा तथा परम्परागत पाहुना सत्कारले सम्पूर्ण वातावरणलाई याक्थुङ संस्कृतिमय बनाएको थियो । चर्चित पालाम गायक राजु आङ्देम्बे र तृष्णा नेम्बाहाङको जोडीले ‘याक्थुङबा चुम्से लुङा फुङसे’ र जीवन केदेम्बाको एकल पालाम प्रस्तुत गर्दा समारोह थप संगीतमय बनेको थियो । त्यस्तै, चर्चित याक्थुङ सञ्चारकर्मी विष्णुमाया सिंहकले खाँटी याक्थुङ भाषामा कार्यक्रम सञ्चालन गरेर भाषिक पहिचान र मौलिकताको सुन्दर उदाहरण प्रस्तुत गरिन ।
दुना–टपरीमा पस्किएका याक्थुङ परिकार, कठुवामा राखिएको परम्परागत रक्सी तथा याक्थुङ सत्कार संस्कृतिअनुसार गरिएको आतिथ्य व्यवस्थाले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो । यी सबै पक्षले पुस्तक लोकार्पणलाई औपचारिक समारोहमा मात्र सीमित नराखी याक्थुङ समुदायको जीवनशैली, संस्कृति, भाषा, संगीत र परम्पराको जीवन्त उत्सवका रूपमा स्थापित गरेका थिए ।
समग्रमा, ‘इक्किसुम इक्ला’ को लोकार्पण समारोहले पालामको महत्त्व केवल मनोरञ्जन वा गायनको विधामा सीमित नरहेको सन्देश दिएको छ । यो याक्थुङ समुदायको इतिहास, सामूहिक स्मृति, प्रेम, संवेदना र सांस्कृतिक पहिचान बोकेको अमूल्य सम्पदा हो भन्ने कुरा समारोहमा व्यक्त विचार र प्रस्तुत सांस्कृतिक गतिविधिले पुष्टि गरेका छन । यस अर्थमा ‘इक्किसुम इक्ला’ याक्थुङ मौखिक परम्परालाई लिखित अभिलेखमा रूपान्तरण गर्ने र भावी पुस्तासम्म सांस्कृतिक सम्पदा हस्तान्तरण गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ ।
इक्किसुम इक्ला लोकार्पण समारोह समग्रमा याक्थुङ संस्कृति, भाषा, संगीत र परम्पराको सुन्दर प्रस्तुतिसहित सम्पन्न भयो । कार्यक्रममा याक्थुङ समुदायको मौलिक सांस्कृतिक पहिचान झल्काउने विभिन्न गतिविधि प्रस्तुत गरिए । यद्यपि, कार्यक्रमको उद्घाटनमा राष्ट्रियगान समावेश गरिएको विषयमा भने केही फरक दृष्टिकोण राख्न आवश्यक देखिन्छ ।
राष्ट्रगान गाउनु आफैँमा गलत होइन । यो राष्ट्रिय गौरव, सम्मान, एकता र सार्वभौमिकताको प्रतीक हो । यसको प्रयोग उचित सन्दर्भ र अवसरमा हुनु आवश्यक छ । स्वतन्त्रता दिवस, संविधान दिवस, राष्ट्रिय समारोह तथा अन्तर्राष्ट्रिय स्तरका औपचारिक कार्यक्रममा राष्ट्रगान गाउनु स्वाभाविक र सम्मानजनक हुन्छ । तर हरेक जातीय, भाषिक तथा स्थानीय सांस्कृतिक कार्यक्रममा राष्ट्रगानलाई अनिवार्यजस्तै बनाउने प्रवृत्तिले यसको विशिष्टता र गरिमामाथि नै प्रश्न उठाउन सक्छ ।
हामी याक्थुङसम्बद्ध संघसंस्थाहरूले राष्ट्रगान गाउने अभ्यासले थप बहसको आवश्यकता देखाउँछ । महाधिवेशन, चासोक तङनाम वा सिसेक्पा तङनामजस्ता विशुद्ध याक्थुङ सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा आफ्नै सांस्कृतिक धुन, बाजागाजा र परम्परागत गीतभन्दा राष्ट्रगानले प्राथमिकता पाउनु कति सान्दर्भिक छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । साना–ठूला सबै प्रकारका भेलामा एउटै ढर्राले राष्ट्रगान गाउने प्रवृत्तिले यसको विशेष सन्दर्भ र महत्त्वलाई समेत सामान्यीकरण गर्ने जोखिम रहन्छ ।
इक्किसुम इक्ला आफैँमा याक्थुङ समुदायको भाषा, संस्कृति, मौखिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको कृति हो । त्यसैले यसको लोकार्पण समारोहको उद्घाटन पनि याक्थुङ मौलिक परम्परालाई केन्द्रमा राखेर गरिएको भए कार्यक्रमको सांस्कृतिक अर्थ र गरिमा अझ सशक्त रूपमा अभिव्यक्त हुन सक्थ्यो । उद्घाटनका लागि केलाङ, पालाम, हाप्पारे वा यालाङजस्ता सांस्कृतिक विधि प्रस्तुत गर्नु विषय र अवसर दुवैका दृष्टिले सान्दर्भिक हुने थियो । यसले पुस्तकको मूल मर्मसँगै समुदायको सांस्कृतिक स्वामित्व र पहिचानलाई पनि जीवन्त बनाउने थियो ।
राष्ट्रगानको सम्मान गर्नु र आफ्नो जातीय सांस्कृतिक पहिचानको संरक्षण गर्नु एकअर्काका विरोधी विषय होइनन । राष्ट्रगानलाई सम्मान गर्दै त्यसको प्रयोग सान्दर्भिक अवसरमा गरौँ । साथै, आफ्ना सांस्कृतिक समारोहमा आफ्नै मौलिक धुन, गीत, संगीत र परम्परालाई स्थान दिऔँ ।
इक्किसुम इक्ला
सर्जकको सिर्जनात्मक विशेषता झल्काउने गरी पुस्तकको नाम पनि ‘इक्किसुम इक्ला’ राखिएको छ । यसको अर्थ शब्द, स्वर र सङ्गीतको सुन्दर समन्वयबाट बनेको पालाम साम्लो भन्ने हुन्छ । शीर्षकले नै पालामको मौलिक सौन्दर्य र यसको सिर्जनात्मक संरचनालाई सङ्केत गरेको देखिन्छ ।
इक्किसुम इक्ला’ मा १०३ वटा पालाम संग्रहित छन । यो आफैँमा याक्थुङ साहित्य र सांस्कृतिक अध्ययनका दृष्टिले विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न योग्य महत्त्वपूर्ण कृति हो । यसमा जीवन र जगतको सृष्टिसम्बन्धी चिन्तन, याक्थुङ समाजको सामूहिक चेतना, ऐतिहासिक गाथा, सुख–दुःख, मिलन–बिछोड तथा मानवीय संवेदनाका विविध आयामलाई सांस्कृतिक चेतनासँगै अत्यन्तै मधुर र कलात्मक ढङ्गले समेटिएको छ ।
पुस्तकका विषयवस्तु र शब्द संयोजन बेजोडका छन । पालामका माध्यमबाट याक्थुङ समुदायको जीवनदर्शन, सामाजिक सम्बन्ध, ऐतिहासिक स्मृति र सांस्कृतिक मूल्यहरू अभिव्यक्त भएका छन । यसका भूमिका र सम्पूर्ण पालाम खाँटी याक्थुङ भाषामा लेखिएका छन । अझ महत्त्वपूर्ण पक्ष के छ भने पुस्तकलाई सिरिजङ्गा र देवनागरी दुवै लिपिमा लिपिबद्ध गरिएको छ । यसले याक्थुङ भाषाको संरक्षण, अध्ययन, अध्यापन र भावी पुस्तामा हस्तान्तरणका लागि महत्त्वपूर्ण आधार तयार गरेको छ ।
यस कृतिलाई पुस्तकका रूपमा मूर्तरूप दिन मुन्धुम कवि प्रदीप मेयाङ्बोको योगदान विशेष उल्लेखनीय छ । उनले टाइपिङ, सम्पादनदेखि आफैँ काठमाडौँ पुगेर पुस्तक छपाउनेसम्मको गहन जिम्मेवारी निर्वाह गरेका छन । त्यस्तै, कविवर सनमान चेम्जोङ र आइत खजुमले पालामहरूलाई सिरिजङ्गा लिपिमा रूपान्तरण गर्ने महत्त्वपूर्ण कार्य गरेका छन । पुस्तकको आकर्षक आवरण निर्माणमा खगेन्द्र पन्धाक तथा पुस्तकको सेटिङमा देवेन्द्र सुर्केली खापुङको योगदान रहेको छ ।
मुन्धुमविद् बैरागी काइँला र मुन्धुम कवि प्रदीप मेयाङ्बोले पुस्तकको भूमिका तथा कुवाकुजाले समीक्षात्मक टिप्पणीमार्फत कृतिको महत्त्व र विशेषतालाई उजागर गरेका छन । उनीहरूको विचारले पुस्तकको वैचारिक र साहित्यिक गरिमालाई थप उचाइ दिएको छ । पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको छ । मूल्यका हिसाबले मात्र नभई यसमा संग्रहित १०३ पालामको साहित्यिक, भाषिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वका दृष्टिले पनि ‘इक्किसुम इक्ला’ याक्थुङ समुदायका लागि अमूल्य सम्पदा हो ।
याक्थुङ सौन्दर्य चेतना
सुवर्ण नेम्बाङ यम्बे आफै याक्थुङ सौन्दर्य चेतनाका संबाहक हुन । याक्थुङ लाजेको पान्थर, याम्बोङमा जन्मिएका सुवर्णको बाल्यकाल पालामको उद्गमस्थल मानिने आङ्साराङस्थित मावली घरमा बित्यो । बाल्यकालदेखि नै यालाङ र पालामको सांस्कृतिक वातावरणमा हुर्किएका उनले किशोरावस्थामै ब्रिटिश लाहुरे जीवन रोज्नुपर्योा । यालाङको नाचमा मनभरि रमाउन नपाउँदै परदेशिनुपरेको उनको जीवनमा एउटा अधुरो सांस्कृतिक तृष्णा रहिरह्यो ।
सुवर्ण मेलाबजार र विवाह–बटुलोमा ठट्यौली पारामा मेन्छ्याहरूसँग उफ्रँदै, पान्थरे यालाङको लयमा रमाएका ती किशोरावस्थाका स्मृतिहरू उनको मनमा गहिरोसँग बसेका थिए । परदेशको फरक परिवेशमा पुगेपछि तिनै स्मृतिहरू क्रमशः नोस्टाल्जियाका रूपमा जागृत हुन थाले । गाउँघरका ती रमाइला क्षण, यालाङका भाका र पालामका शब्दहरू उनको मनभित्र पुनः अंकुरित हुन थाले । सम्भवतः परदेशको एकान्त र भिन्न सामाजिक वातावरणले नै उनको अन्तर्निहित सिर्जनात्मक प्रतिभालाई अझ निखार्ने अवसर प्रदान गर्योे ।
१५ वर्षको ब्रिटिश सैनिक सेवा पूरा गरी निवृत्त भएपछि उनी निरन्तर पालाम सिर्जनामा समर्पित भए । त्यसपछि उनले पालाम सिर्जना र प्रकाशनलाई आफ्नो सांस्कृतिक कर्मका रूपमा अगाडि बढाए । यही यात्राको परिणामस्वरूप उनले दुईवटा महत्त्वपूर्ण पालामी कृति पाठकमाझ ल्याउन सफल भए । उनको पहिलो पालाम एल्बम ‘कुसङ साङ्लाम’ र पालाम सङ्ग्रह ‘माःलाजे र निङवारुसुम्’ ले उनको सिर्जनात्मक यात्रालाई परिचित गराए । पछिल्लो कृति ‘इक्किसुम इक्ला’ ले भने उनको पालाम सिर्जनालाई अझ व्यापक साहित्यिक र सांस्कृतिक उचाइ प्रदान गरेको छ ।
सुवर्ण एक कुशल र विशिष्ट पालाम सर्जक हुन । उनका सिर्जनाका प्रत्येक शब्दमा याक्थुङ माटोको सुगन्ध, जीवनका अनुभूति र मानवीय संवेदनाको गहिराइ भेटिन्छ । उनका पालाम संख्या र गुणस्तर दुवै दृष्टिले उल्लेखनीय छन । उनी पालाम साम्लोकै लागि याक्थुङ लाजेमा जन्मिएका हुन् कि भन्ने अनुभूति उनका सिर्जना पढ्दा हुन्छ । उनको सिर्जनात्मक सामर्थ्यले पालामलाई याक्थुङ समुदायको सांस्कृतिक सीमाभित्र मात्र सीमित नराखी विश्व सांस्कृतिक विमर्शमा समेत चिनाउन सक्ने सम्भावना बोकेको छ ।
इक्किसुम इक्लामा उनले पालामी सौन्दर्य मूल्यलाई मात्र प्रस्तुत गरेका छैनन्, जीवनका यथार्थ, संघर्ष, प्रेम, प्रकृति र भावनात्मक संवेदनालाई समेत कलात्मक ढङ्गले अभिव्यक्त गरेका छन । यस कृतिमा याक्थुङ समुदायको जीवनशैली, विश्वास, सामाजिक सम्बन्ध, सांस्कृतिक चेतना र मूल्य प्रणाली जीवन्त रूपमा प्रतिबिम्बित भएका छन । पालामका मौलिक शब्द, लय र भावलाई संकलन, सिर्जना र संरक्षण गर्नु उनको प्रमुख योगदान हो । उनका पालाममा यथार्थपरकता, मौलिकता र कलात्मक परिष्कारको सुन्दर संयोजन पाइन्छ ।
सुवर्ण आफैँमा प्रयोगशील याक्थुङ स्रष्टापनि हुन । उनले पालाम साम्लोका शब्द र अभिव्यक्तिमार्फत याक्थुङ समाजको सांस्कृतिक चेतना, सौन्दर्यबोध र जीवनदर्शनलाई नयाँ ढङ्गले प्रस्तुत गरेका छन । पालाममा अन्तर्निहित याक्थुङ सौन्दर्य चेतनालाई प्रयोगात्मक शैलीमा अभिव्यक्त गरेर उनले आफ्नो सिर्जनात्मक मौलिकता प्रमाणित गरेका छन । उनका सिर्जनामा प्रकृतिवादी चिन्तन, सामाजिक चेतना र मायाप्रेमका यथार्थपरक अभिव्यक्ति भेटिन्छन । प्रकृतिमा घट्ने घटना, वस्तु र जीवनको अस्तित्व, समाजको विकासक्रम तथा प्रेम–पिरतीका विविध अनुभूतिलाई उनले याक्थुङ दृष्टिकोणबाट कलात्मक रूपमा प्रस्तुत गरेका छन ।
कला, साहित्य र सङ्गीतमा राग, रस, हाँसो, ठट्टा र रमाइलोको पनि विशेष स्थान हुन्छ । सुवर्णले आफ्नो कृतिका केही ठाउँमा मनोरञ्जनका लागि ठट्टा र माङपानलाई समेत स्थान दिएका छन । यसले कृतिलाई थप जीवन्त र रसिलो बनाएको छ । वास्तवमा, हाँसो, ठट्टा र माङपान पनि याक्थुङ संस्कृतिका अभिन्न रङ हुन र यिनले याक्थुङ जीवनशैलीको रस, आत्मीयता र सांस्कृतिक सौन्दर्यलाई उजागर गर्छन ।
आधुनिक प्रविधिको तीव्र विकाससँगै मौखिक परम्परामा आधारित ज्ञान, सीप र सिर्जनाहरू क्रमशः ओझेलमा पर्ने जोखिम बढिरहेको छ । यस्तो समयमा सुवर्ण नेम्बाङजस्ता स्रष्टाले आफ्ना सिर्जनामार्फत मौलिक याक्थुङ लोकसाहित्यलाई संकलन, अभिलेखीकरण, संरक्षण र प्रवर्द्धन गर्ने प्रयास गर्नु अत्यन्त प्रशंसनीय र ऐतिहासिक महत्त्वको कार्य हो ।
समग्रमा, सुवर्ण नेम्बाङ यम्बे याक्थुङ समाजको सामूहिक स्मृति, सांस्कृतिक चेतना र लोकसाहित्यका एक सचेत संवाहक पनि हुन । परदेशको अनुभव, गाउँघरको स्मृति र आफ्नो माटोप्रतिको गहिरो अनुरागलाई उनले पालामका शब्द र लयमा रूपान्तरण गरेका छन । उनका सिर्जनाले याक्थुङ लोकसाहित्यलाई नयाँ पुस्तासम्म पुर्यािउने मात्र होइन, यसको अध्ययन, अनुसन्धान र विश्वव्यापी पहिचान विस्तार गर्ने सम्भावनासमेत बोकेका छन । यस अर्थमा सुवर्ण याक्थुङ लोकसाहित्यका एक सर्जक, संरक्षक र भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुन ।







