राम्रो निबन्ध कसरी लेख्ने ? – इन्द्र चौधरी
वर्षैभरि विद्यालयमा विभिन्न खालका अतिरिक्त क्रियाकलाप हुने गर्छन् । त्यस्ता क्रियाकलापमध्ये विद्यार्थीको बौद्धिक स्तर र विचारलाई नजिकबाट बुझ्न निबन्ध प्रतियोगिता पनि हुन्छन् ।
भाइबहिनी हो, के तिमीहरूले निबन्ध प्रतियोगितामा भाग लिने गरेका छौ ? लिने गरका छौ भने तिमीहरूले निबन्ध के हो ? निबन्ध लेखकमा कस्तो गुण हुनुपर्छ ? निबन्ध कति प्रकारका हुन्छन् ? ती निबन्ध कसरी लेखिन्छन् ? लेख्दा के के कुरामा ध्यान पुर्याउनुपर्छ ? यसको भाषाशैली कस्तो हनुपर्छ ? भन्नेबारे थाहा पाउनु जरुरी छ । आज तिमीहरूलाई निबन्ध कसरी लेख्ने भन्नेबारे सिकाउने प्रयास गरिएको छ ।
निबन्ध लेखन सीप केवल प्रतियोगिताका लागि मात्र नभएर परीक्षाको दृष्टिकोणले पनि त्यत्तिकै महŒवपूर्ण हुन्छ । त्यसैले राम्रो निबन्ध लेख्न यसको लेखन सीप जान्नु अति आवश्यक छ । किनभने व्यक्तिका विभिन्न मतहरू बुझ्नका निम्ति कुनै एउटा माध्यम आवश्यक हुन्छ, त्यो नै निबन्ध हो । यसमा लिखित र मौखिक अभिव्यक्तिका माध्यमबाट आफ्ना विचारहरू प्रस्तुत गरिन्छ ।
निबन्ध साहित्यको एउटा मुख्य विधा हो । यसलाई मुक्त विधा पनि भनिन्छ । यो अन्य विधाभन्दा नयाँ विधा हो । यो शब्दको निर्माण प्रक्रिया हेर्ने हो भने यो ‘नि+बन्ध’ मिलेर बनेको छ । यसको अर्थ बाँध्ने काम वा कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक गद्य विधा भन्ने हुन्छ । अर्थात् मानव मनमा उब्जिएका भावना र विचारहरूको स्वतन्त्र गद्य अभिव्यक्ति नै निबन्ध हो ।
यसको बारेमा धेरै विद्वान्ले आआफ्नै तरिकाबाट परिभाषित गरेका छन् । तर, सबैको विचारलाई समेटेर निबन्धलाई यसरी बुझ्न सकिन्छ, ‘निबन्ध गद्यमा अभिव्यक्त भएको व्यक्तिको आत्मप्रकाशन हो । वास्तवमा निबन्ध हार्दिक र बौद्धिक पक्ष प्रबल हुने गद्यात्मक अभिव्यक्ति हो । निबन्धमा अनुभूतिको तीक्ष्णता, विचारको सशक्तता तथा कल्पनाको तीव्रता जस्ता गुण हुनुपर्छ ।’
भाइबहिनी हो, निबन्ध के हो ? भन्ने थाहा पाइसकेपछि यसको प्रकारबारे जानौं । निबन्ध आत्मपरक र वस्तुपरक गरी दुई प्रकारका हुन्छन् । आत्मपरक निबन्धलाई निजात्मक÷भावपरक निबन्ध पनि भन्न सकिन्छ । यसमा लेखकको निजी विचार वा कल्पना बढी बहन्छ । यसमा यथार्थभन्दा कल्पना बढी हुन्छ । त्यसैगरी अर्को प्रकार हो, वस्तुपरक निबन्ध । यसलाई परात्मक पनि भनिन्छ । किनभने यो वर्णनात्मक, विवरणात्मक तथा विचारपरक हुन्छ । यसका साथै यसमा सत्यता र विषयवस्तुको प्रधानता रहन्छ । जे होस्, आत्मपरक निबन्ध कल्पनामा आधारित हुन्छ भने वस्तुपरक निबन्ध सत्यतथ्यमा आधारित हुन्छ । भाइबहिनी हो, निबन्धलाई अभिव्यक्तिका आधारमा पनि यसको प्रकार छुट्याइएको हुन्छ । ती हुन् ः वर्णनात्मक, विचारात्मक, विवरणात्मक र भावनात्मक ।
भाइबहिनी हो, निबन्ध लेख्न जानेर वा आफूमा धेरै ज्ञान छ भनेर मात्र हुँदैन । निबन्ध लेखन एउटा कला हो, अभिव्यक्तिको कलात्मक माध्यम हो । त्यसैले यसलाई प्रस्तुत गर्दा सकेसम्म रोचक ढंगबाट गर्नुपर्छ । यसका लागि लेखक वा तिमीहरूमा निम्न गुण हुनु आवश्यक छ ।
आफ्नो ज्ञान र क्षमता कस्तो छ ? के मा खुलेर लेख्न सक्छु भन्ने विषयमा थाहा हुनुपर्छ अर्थात् ‘शीर्षक छनोट गर्ने सक्ने क्षमता’ हुनुपर्छ । त्यसपछि उक्त विषयमा ‘गहन चिन्तन’ हुनुपर्छ । यससँगै लेखन सीप, विवेक र तजबिजको उपयोग गर्न सक्ने, तथ्यगत जानकारी भएको वा भावुक (भावना÷कल्पनामा बहन सक्ने) गुण, समय व्यवस्थापन, भाषा सलल बग्ने तथा आकर्षक शैलीमा प्रस्तुत गर्न सक्ने आदि गुण हुनुपर्छ ।
भाइबहिनी हो माथि भनिएका गुणहरू आफूमा छ कि छैन ? थाहा भइसकेपछि अब लेख्न सुरु गरे हुन्छ । तर, त्योभन्दा पहिले निबन्धको संरचनाबारे जानकारी हुनुपर्छ । नत्र लेख्दालेख्दै कहाँ के लेख्ने भनेर बीचैमा अलमल हुन सक्छ ।
सामान्यतः निबन्धको निर्माण वा संगठन आदि (परिचय; बृहत् वा विशिष्ट) मध्य (विस्तार; सकारात्मक वा नकारात्मक) र अन्त्य (निष्कर्ष; विशिष्ट समापन वा बृहत्) को संरचनामा हुन्छ । त्यसपछि लेख्दा निम्न कुरामा ख्याल गर्नुपर्छ:
सबैभन्दा पहिले शीर्षक लेख्ने, विषयवस्तुको उठान आकर्षक ढंगले गर्ने आदि भागको विषयलाई विस्तार गर्ने तथा पुष्टि गर्ने, आवश्यकताअनुसार फरक फरक प्रसंग आएमा थप कुरा राख्ने, मध्य भागको निष्कर्ष, सुझाव तथा निजी विचार प्रस्तुत गर्नुपर्छ ।
वस्तुपरक निबन्ध रचना गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरूबारे जानौं है ।
१. शीर्षक छनोट : निबन्धको सुरुमै कुन विषय वा शीर्षकमा निबन्ध सबैभन्दा राम्रोसँग लेख्न सकिन्छ, त्यो नै विषय वा शीर्षक चयन गर्ने ।
२. शीर्षक छनोट गरेपछि कापीको माथि बीचमा निबन्धको शीर्षक लेख्ने ।
३. आफ्नो अध्ययन, विचार, चिन्तन तथा सोच, तथ्य अनुरूप तथा कल्पनाका आधारमा बुँदाहरू सोच्ने तथा टिपोट गर्ने ।
४. महत्त्वपूर्ण वा प्रभावकारी उद्धरण/कवितांश/भनाइ वा विषयसँग सम्बन्धित कथानकबाट निबन्ध सुरु गर्ने वा निबन्धको बीचमा सन्दर्भ मिलाएर राख्ने ।
५. विषय शीर्षकसँग सम्बन्धित भूमिका लेख्ने ।
६. शुद्ध, सफा, सिलसिलेवार प्रवाहपूर्ण भाषामा निबन्ध लेखन अगाडि बढाउने ।
७. समय व्यवस्थापन गर्दै तोकिएकै हाराहारीमा निबन्ध रचना गर्ने ।
८. निबन्धमा आदि, मध्य र अन्त्य भाग मिलाई अनुच्छेदहरू विभाजन तथा सम्बद्धतामा ध्यान दिने ।
९. भाषाशैली, विषयवस्तु आदिमा चनाखो हुने ।
१०. निबन्ध लेखिसकेपछि एक पटक पुनः पढेर कतै त्रुटि भए सच्याउने ।
Source: annapurnapost.com