कथा लेख्ने १२ वटा चरणहरु – रुमन न्यौपाने

लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु हो । यस सम्बन्धमा रोर्बट ग्रेभ्सले भनेका छन्, ‘कवितामा पैसा छैन तर पैसामा पनि कविता छैन ।’ हो, हरेक लेखक आफ्नै लागि लेख्छ । साहित्यमा मजा छ, त्यसैले लेख्न ऊ बाध्य छ ।

हरेक लेखकले आफ्नो लेखनयात्रा कविताबाटै सुरु गरेको हुन्छ । यो भावना पोख्ने सहज र सर्वमान्य रुप पनि हो । कविताबाट कथा र कथाबाट आख्यान (उपन्यास) तिर लाग्ने प्रकिया चलनचल्तीकै परम्परा हो । कथा पढ्न जति सहज हुन्छ, त्यसको बनावट र शिल्प निर्माण त्यति नै कठिन हुन्छ । कथा लेख्न चाहनेहरूका लागि मैले बुझेका केही कुरा बताउन चाहन्छु । जसलाई मैले १२ भाग (चरण) मा विभक्त गरेको छु । म यिनै प्रकिया अपनाएर कथाहरू लेख्ने गर्छु ।

१. कथाको बारेमा विषयको खोजी

तपाई कस्तो खालको कथा लेख्न खोज्दै हुनुहुन्छ, पहिला त्यसबारे निर्क्यौल गर्नुपर्छ । कथाको शीर्षक पहिले नै सोचेमा कथा बनाउन सजिलो हुन्छ । जसलाई पछि आवश्यकताअनुसार परिवर्तन गर्न पनि सकिन्छ । शीर्षक पहिले नै सोचिएमा त्यसको वरिपरि रहेर कथा भन्न वा भनाउन सजिलो हुन्छ । शीर्षक सोच्दा कथाको सम्पूर्ण भागलाई सम्बोधन गर्न सक्ने हुनु पर्छ । पाठकले धेरै हदसम्म कथाहरू शीर्षक हेरेर छान्ने हुँदा यसबारे गहन अध्ययन गर्नुपर्छ । कथाको प्रकारअनुसार शीर्षक लामो, छोटो, अपत्यारिलो लाग्ने नाम तथा ठाउँ छनोट गर्न सकिन्छ तर यो कथाकारको शैलीमा नै बढी भर पर्छ ।

२. विषय सुहाउँदो चरित्रको पुनर्निमाण

अब, कथामा आउने पात्रहरूका बारेमा सोच्न थाल्ने । यो नै कथाको मुटु हो । जसले तपाईको कथालाई पाठक समक्ष चिनाउने राम्रो ऊर्जा बोकेको हुन्छ । चरित्र छनोट गर्दा भने विभिन्न पक्षहरु ध्यान दिनुपर्ने हुन्छ । जसलाई सजिलोका लागि यसरी लेख्न सकिन्छः

क. कथाको वातावरण अनुसार पात्रहरू छान्ने ।

ख. पात्रहरू वास्तविक वा अवास्तविक के हुने हो, त्यो सोच्ने ।

ग. पात्रहरूको मुख्य विशेषता र काम पहिले नै लेख्ने ।

घ. पात्रहरूले बोल्ने कुराहरू तर्कसंगत हुने हुन् वा दृष्टान्तमा बढी केन्द्रित हुने हुन्, यो पहिले नै सोच्नु पर्छ ।

ङ. पात्रहरूको भेषभूषा र अन्य पात्रसँग भेट हुँदा कस्तो व्यवहार देखाउने हो, त्यो पनि पहिले नै सोच्नु पर्छ ।

यसरी पात्रहरूको बारेमा सानो टिपोट बनाई तिनीहरूको नाम, विशेषता सबै खुलाई पहिले नै लेखिछाड्ने । जसले गर्दा लेख्न सुरु गरेपछि अफ्ठ्यारो नहुने हुन्छ ।

३. कथाको लम्बाई बारेमा पुनर्सोच

छोटा कथाहरू यिनै हुन् भनी ठीकसँग भन्न कठिन हुन्छ । छोटा कथाहरूलाई पनि विभिन्न आकारमा लेखेको पाइन्छ । प्राय: गरी छोटा कथाको अर्थ एकै ठाउँमा बसी एकै चोटी पढ्न सकिने आकारको भनी बुझिन्छ । Edgar Allan Poe ले आफ्नो निबन्ध “The Philosophy of Composition” (1846) मा लेखनको लम्बाईका बारेमा लेखेका छन् । उनले छोटा भएकैले कथाहरू उपन्यास भन्दा मीठा हुन्छन् भनेका छन् ।

आफूले लेख्न थालेको कथा यति लामो हुनसक्छ भनी पहिले नै पेपर ठीक पारी (पेपर गन्ती गरेर लिन पनि सकिन्छ) लेख्न सुरु गरेमा त्यतिसम्म कथालाई लम्बाउनु पर्ने आफैँमा मानसिक दबाब जस्तो बन्छ । जसले गर्दा कथाले आवश्कताअनुसार पूर्ण लम्बाई पाउँछ । २०००० शब्द भन्दा बढी नहुने र १००० शब्द भन्दा कम नहुने कथालाई छोटा कथाको रुपमा लिन सकिन्छ । म छोटा कथाको बारेमा पछि एउटा बेग्लै लेख लेख्ने छु ।

४. कथा वाचन शैली र कथा कसलाई भन्न लगाउने

‘म’ प्रथम पुरुषमा । ‘तिमी’ द्वितीय पुरुषमा । ‘ऊ’ अथवा ‘उनी’ तृतीय पुरुषमा गरी कथा लेख्न सकिन्छ । ‘म’ बाट कथा सुरु गर्ने हो वा अरु कसैबाट, पहिले नै अन्दाज गर्नुपर्छ । द्वितीय पुरुषमा त्यति कथाहरू लेखेको पाइँदैनन् तर तृतीय पुरुषमा कथाहरू भन्न मिल्छ । जसले कथालाई ‘म’ बाट सुरु गरेको भन्दा मीठो बनाउँछ । कथा वाचन शैली पनि अहिले धेरै प्रकारका छन् । जसमध्ये उपयुक्त हुने कुनै एक छान्न सकिन्छ ।

५. कथाको सुरुवाती बिन्दु र अन्तिम बिन्दुको तय

कथा कस्तो हुने र कहाँ यसको अन्त्य हुने भन्ने कुरा पहिले नै तय गरिनु पर्छ । कथाको अन्त्य तथा सुरुवाती वाक्य भ्रामक नहुने तर सकेसम्म पाठकलाई भ्रान्तिमा राख्ने वा मायामा पार्ने बनाउन सक्नु पर्छ जसले गर्दा कथाको अन्त्यपछि पनि पाठक केहीबेर कथा सोच्न सकुन् ।

६. कथाको समय निर्धारण/रचना

कुन समयको कथा हो र कथा कस्तो वातावरणमा लेख्न खोज्दै हुनुहुुन्छ ? जस्तै ऋृतुको समय । काल्पनिक समय निर्धारण गरिए पनि त्यो वास्तिकतासँग मेल खाने हुनुपर्छ । जसलाई कथाको टाइमलाइन भन्न सकिन्छ । यो कथाको महत्त्वपूर्ण स्थान हो जसले तपाईको कथालाई पढ्न योग्य र यथार्थको निकै नजिक लैजान्छ ।

७. पात्रहरू बीचको संभाषण शैली र वाक्यहरूको पूर्व निर्माण

कथामा कस्तो किसिमको संघर्षको निर्माण गर्ने, पात्रहरूले बोल्ने शौली कस्तो हुने, उनीहरूले बोल्ने लामा तथा छोटा वाक्यहरूलाई पहिले नै लेख्नु पर्छ । यो टाइमलाइन बनाएपछिको प्रक्रिया हो, जहाँबाट कथा लेखनको आरभ्भ गर्न सकिन्छ । पहिले नै यो समयमा यो पात्रले यहाँ यो बोल्नु पर्छ भनी तय गरिएमा कथालाई आफूले भने बमोजिम बनाउन सकिन्छ । यो काम कठिन हुन्छ तर हरेक उच्चस्तरका लेखकले गर्ने यो महत्त्वपूर्ण काम हो । जसले उनीहरूको कल्पनाशीलतालाई दर्शाउँछ ।

कथाको मुख्य भाग भनेको पात्रहरूले बोल्ने वाक्यमा नै हुन्छ । पात्रहरू बीचको संभाषण भनेकै लेखकको भावनालाई राम्रोसँग देखाउने स्थान हो । लेखकले दिने संदेश यिनै पात्रहरूबाट झल्किन्छ । कुनै पनि लेखकलाई अमर बनाउन उसको यिनै संभाषण वाक्यहरूले प्रमुख भूमिका निर्वाह गर्दछ । तपाईले यो प्रक्रिया सन्तुष्ट भएर गर्न सक्नुहुन्छ भने तपाईंको कथा लेखनको आधा कामकाे समाप्ति यहीँ हुन्छ ।

८. सोचाइको अन्तिम तयारी

यो लेख्न सुरु गर्नु भन्दा पहिलेको अन्तिम अवस्था हो । तपाईंले अहिलेसम्म गर्नु भएको कामलाई फेरि एकचोटी नियाल्ने काम यहाँबाट हुन्छ । यो काम ठीकसँग भएको छैन भने पुन: यही प्रक्रिया दोहोर्याउनु उत्तम हुन्छ । यहाँसम्मको कदमले नै सबैभन्दा बढी समय लिन्छ । तपाईंले आफ्नो सम्पूर्ण सोचको शक्ति यस बिन्दुसम्म लगाउनु भयो भने मात्र कथा उत्कृष्ट बन्छ । तपाईंले यस प्रक्रियासम्मलाई घटीमा ७ दिन वा सोभन्दा बढी लगाउन सक्नुहुन्छ ।

९. लेख्न सुरु गर्ने

अब यहाँबाट तपाईले कथा लेख्न बस्नुहुन्छ । यो ठाउँ भनेको अहिलेसम्म सोचको, टिपेको कामलाई लयमय बनाउनु मात्र हो । तपाईले वास्तबमा कथा लेखिसक्नु भएको हुन्छ । यहाँ तपाईले शब्दहरूको चयन विशिष्ट ढङ्गबाट गर्नुपर्छ । यसका लागि तपाईले शब्दकोष पल्टाउन सक्नुहुन्छ । लेख्नका लागि बढी बुझेको हुनुपर्छ, त्यसैले बढी भन्दा बढी अध्ययन गर्नुपर्छ ।

१०. पात्रहरूलाई बुझ्ने र सुन्ने

मनोमानी तरिकाले कथा अगाडि बढाउने मात्र होइन कि पात्रलाई तपाईले आफ्नो महसुस गरेको हुनुपर्छ । त्यो पात्र कथामा किन सिर्जना भयो भन्ने कुराको गहन बुझाइ हुनुपर्छ । अनि मात्र तपाईंको पात्रले पाठकको हृदयमा ठाउँ लिन सक्छ । तपाईले लेख्न बस्दा पात्रहरूको बयान बरबराउन सक्नुहुन्छ । उनीहरूलाई जीवन्त ठान्नुहुन्छ भने कथा लेखनको स्थिति सहज बन्छ ।

लेखक बन्नु भनेको आफूलाई विभिन्न पात्रहरूसँगै खेलाउनु हो । उनीहरूलाई सुन्नु र बुझ्नु हो । यो प्रक्रियासँग लेखकले अहोरात्र आफूलाई पागल बनाउनु पर्छ । यही नै पात्रहरूलाई बुझ्ने र सुन्ने माध्यम हो ।

११. कथाको दोस्रो मस्यौदा सुरु

तपाईले कथा लेखिसक्नुभएको हुन्छ । त्यसलाई पुनर्लेखन गुर्नुस् । नमिलेको ठाउँमा पुनः थप्न वा घटाउन सक्नुहुन्छ । यस प्रक्रियामा तपाई कथा छिटो सकाउन खोज्नुहुन्छ । आफूमाथि बोझ थप्दा कथाले खुल्न सक्ने अवस्थासम्म नखुल्न सक्छ । त्यसलै धीरता राख्नुस् र चाहिने अवस्थासम्म कथालाई खुलाएर लेख्नुस् ।

१२. अन्तिम प्रारुप

यस चरणमा तपाईंले लेखिसक्नु भएको कथालाई साथीभाइ वा अन्य कोही कथासम्बन्धी दखल भएको व्यक्त्तिलाई पढ्न दिन सक्नुहुन्छ । जसले तपाईले लेखेको कथालाई कसरी बुझ्छ, कथाको बारेमा उनीहरूको टिप्पणी कस्तो हुन्छ, त्यो हेर्न सकिन्छ । तपाईले बुझाउन खोजेको वा देखाउन खोजेको कुरा र उनीहरूले कथाबाट बुझेको कुरा एउटै भयो भने तपाईले लेख्नुभएको कथा उत्कृष्ट छ । अन्यथा पुन: यी चरणहरू दोहोर्याउन सक्नुहुन्छ, जसले गर्दा तपाईंको लेखन अझै प्रखर हुन्छ ।

– chaulanikhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *