डा. चन्द्रकुमार लक्सम्बाको बाल्यकाल र राजनीति विरासत – कृष्ण हेम्ब्या
ताप्लेजुङ सिकैचाका डा. चन्द्रकुमार लक्सम्बा लिम्बूले गाउँकै धुले स्कूलमा ५ कक्षा पूरागरी वि.सं.२०३३ सालमा ताप्लेजुङको भानु माबिबाट प्रवेशीका उत्तीर्ण गरे । सेन्टअप्मा जिल्ला टपेका मेधावी विद्यार्थी डा. लक्सम्बा सानैमा आमा गुमाए पनि बाजे जसबहादुर लक्सम्बाको प्रेरणा र कुशल मार्ग निर्देशनमा एकपछि अर्को सफलता चुम्दै गए । यसका पछाडि उनले जीवनमा थुप्रै सङ्घर्ष गर्नु परेको थियो ।
प्रवेशिका परीक्षाको रिजल्ट आउनासाथ उनी अध्ययनका लागि काठमाडौं अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भए । कक्षा ७ पढ्दा देखिनै वाम राजनीतिमा आस्था राख्दै आएका उनले आईएस्सी सक्नासाथ सुरुभएको विद्यार्थी आन्दोलनको नशाले लट्ठिएको अस्कलले उनलाई पढाइभन्दा बढी राजनीतितिर आकर्षण ग¥यो । यो गणतन्त्र नेपालको जग वि. सं. २०३६ सालको विद्यार्थी आन्दोलन थियो । उक्त विद्यार्थी आन्दोलनमा डा. लक्सम्बाको पृथक र अर्थपूर्ण भूमिका रहेको छ भन्दा धेरैलाई अनांैठो लाग्न सक्छ । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फीकर अली भुट्टोलाई ज्याउल हक सैन्य सरकारले फाँसी दिएपछि त्यसको बिरोधसँगै सल्किएको आन्दोलन उनकै क्याम्पस अस्कलबाट सुरुभएको थियो । सत्ता परिवर्तनका राजनीतिक बीउ उमार्ने अस्कल विद्यार्थी युनियनका अध्यक्षसमेत रहेका डा. लक्सम्बाको नेतृत्वमा नेपाल विद्यार्थी संघका बलबहादुर केसी, नेपाल प्रगतिशील विद्यार्थी संघ (पुष्पलाल समूह) का शरणविक्रम मल्ल र बिष्णु मानन्धर निकट नेपाल विद्यार्थी फेडेरेसनका कैलाश कार्कीजस्ता आन्दोलन तुहाउने षडयन्त्रका मतियार विद्यार्थी नेताहरूलाई क्याम्पसमा ल्याएर कालोमोसो दलेर शहर परिक्रमा गराइएको थियो । शहर परिक्रमा गर्ने क्रममा गोर्खापत्र संस्थान र शाही वायुसेवा निगममा आक्रमणसमेत भएको थियो । संयोग पनि कस्तो थियो भने सोही रात तत्कालीन राजा विरन्द्रले जनमत सङ्ग्रह घोषणा गरे ।
जारी विद्यार्थी आन्दोलनलाई मत्थर पार्नकै लागि तत्कालीन सरकारले उनलाई मेडिसिन अध्ययनका लागि बंगलादेश पठाउन खोजेको थियो । राष्ट्रिय राजनीतिमा स्थपित भइसकेको व्यक्ति आफ्नोे जिम्मेवारीबाट पन्छिन नहुने निष्कर्षसँगै उनले त्यो अवसरलाई त्यागि दिए । भीम रावल, टंक कार्की, फम्फा भूसाल, लिलामणि पोखरेल, शरणविक्रम मल्लजस्ता हालका चर्चित वामपन्थी नेतासँगै राष्ट्रिय राजनीतिमा उदाएका डा. लक्सम्बालाई बहुदलको पराजय र परिवारिक वातरवरणले गर्दा राजनीति उति फापेन । बिएस्सी पढाइको अन्तिम स्टेजको प्रोजेक्टवर्क पूरा नगरी उनी कुम्लो कुटुरो बोकेर घर फर्के । धरान झर्नअघि केही समय गाउँमै शिक्षण पेशामा लागेका डा. लक्सम्बा पुनः विज्ञानका मास्टरबा बने । त्यसपछि, केही समय घोपाको ब्रिटिश मिलिटिरी अस्पतालमा थियटर टेक्निसयनको तालिमे नोकरी गरे ।
डा. लक्सम्बा तीन पटकको प्रयासपछि मात्र लाहुरे हुने सपना साकार भयो । अरु युवाहरूजस्तो छनौंट प्रक्रियामा असफल भएर नभई आफ्नै कारण रहेछ । अघिल्ला दुई अवसरहरू त उनले आफै त्यागेका रहेछन् । गोर्खा कन्टिन्जेण्ट सिंहापुरमा सेवा गरिरहेका आफ्नो पिता इन्सपेक्टर आसबहादुरको करकापमा सन् १९७७ र १९८० दुईपटक छनौटमा परेर पनि उनी आफैले त्यागेका थिए । एक समय उनी पाइलट तालिमका लागि सिंहापुर गएका थिए । तर स्वास्थ्य परीक्षणमा असफल भएपछि उनको जहाज उडाउने सपनाको पखेटा सधैँको लागि भाँचियो ।
कलिलो उमेरमै जीवनका अनेक उकाली ओह्राली भोगेका डा. लक्सम्बा बीचैमा अध्ययनलाई थाँती राखेर बन्दुक समात्न ब्रिटिश सेनामा लागे । सेनाको बन्द कोठामा बसी ९ वर्ष क्लरक भएर विभिन्न प्रशासनिक कार्यहरू जिम्मेवारीपूर्वक सम्हाले । डा. लक्सम्बाभित्र गोर्खा सेनाको लडाकुपनको थुप्रै गुणहरू लुकेर बसेको अङ्ग्रेज अधिकृतका तेजस्वी आँखाले देखेपछि उनलाई राइफल कम्पनीमा सरुवा गरियो । कुनै समय विद्यार्थी आन्दोलनमा नायक भइसकेका डा. लक्सम्बाले छोटो समयमा सोचेभन्दा राम्रै सफलताको शिखर उक्लन थालेका थिए । नेतृत्वदायी भूमिकामा अब्बल र कुशल प्रशासनिक क्षमताका कारण ब्रिटिश अधिकृहरू उनलाई फास्ट ट्र्याकमा पदोन्नति गर्ने सोचमा थिए । उनको सफलता गोर्खा अफिसरका लागि आँखाको कसिङ्गर बन्यो । उनलाई सिध्याउन पर्दा पिछाडि षडयन्त्रका अनेक खेलहरू हुन थालेको देखेर डा. लक्सम्बाले आफ्नो करिअरलाई स्वास्थ्य विभागमा स्थानान्तर गर्न बाध्य पारियो । स्वास्थ्य सम्बन्धी केही तालिममा विशिष्ठ श्रेणी परिणाम आएपछि उनलाई डिफेन्स मेडिकल टे«निङ सेन्टरमा प्रशिक्षणको काम दिइयो । सेनामा भएको बेला लण्डन विश्वविद्यालय सोआसको एस्टरनल प्रोगामद्वारा पाश्चात्य दर्शनशास्त्रमा अन्डरग्य्राजुएट र पब्लिक पलेसीमा पोस्टग्य्राजुएट गरे । परिश्रमी डा= लक्सम्बालाई भाग्यले साथ दियो र डिफेन्स मेडिकल टे«निङ सेन्टरले सरे विश्वविद्यालयले पिजीसीई The Postgraduate Certificate in Education (PGCE) गरायो । सैन्य जिम्मेवारी सँगै अध्ययनलाई निरन्तरता दिँदा अन्तमा उनले बन्दुकसँगै बेलायतको सरे विश्वविद्यालयबाट बाट ‘लाईफलंग लर्निङ’मा विद्यावारिधी गरी छाडे ।
सेना निवृत्तपछि डा. लक्सम्बा केही वर्ष गोर्खा आन्दोलन, राजनीति, सामाजिक संघसंस्थाहरूमा खुलेरै लागे । एनआरएन् यूकेको प्रथम निर्वाचित उपाध्यक्ष हुँदै लगातार सल्लाहकार रहँदै आएका छन् । बिना कार्यक्रम र पारदर्शिता शून्य देखेपछि वाक्क भएर आचकल उनी अलग्गै रहेर हेर्नमात्र रुचाउछन् । यद्यपि समाजका कमी कमजोरीहरूलाई पहिल्याएर यसको निराकरण कसरी गर्न सकिन्छ भन्दै दिन रात अध्ययन, अनुसन्धान, विश्लेषण एवम् विबेच्नामा लागेका छन् । आवश्यकता अनुसार निरन्तर सहयोग र सुझाव दिइरहेका छन् ।
परिवारसहित बेलायत बसेका डा= लक्सम्बा लामो समयदेखि प्रवासी नेपालीहरूको जनजीवन अध्ययनमा व्यस्त छन् । उनी नेपाल अध्ययन केन्द्र Centre for Nepal Studies UK, सिएन्एस् यूकेका पूर्व संस्थापक कार्यकारी निर्देशक र यसका सिनियर शोधकर्ता हुन् । उनकै अगुवाईमा ‘‘ब्रिटिश–गोर्खा पेन्सन एण्ड एक्स गोर्खा क्याम्पियन अ रिभ्यु’’ नामक पुस्तकले ब्रिटिश–गोर्खा सेनाहरूका लागि बनाइएको बिवादास्पद पेन्सन नीतिको शल्यक्रिया गरेको छ । विस्तृत खोज तथा अनुसन्धान गरी तयार गरिएको यो पुस्तकले गोर्खा सेना र ब्रिटिश सरकारबीच लामो समयदेखि कायम विवादलाई निकाश दिनका लागि प्रशस्त मार्ग निर्देशन गरेको छ । उनैको संयोजकत्वमा सिएन्एस् यूकेले सन् २००७–२००९ मा बेलायतमा बसोबास गर्ने नेपालीहरूको जनगणना गरेको थियो ।
डा लक्सम्बा अक्सफोर्ड युनिभर्सिटी र सिएन्एस् यूकेले जारी गरेको ‘भर्नाकुलर रिलिजन प्रोजेक्ट’ सन् २००९–२०१२ का एक सक्रिय सोधकर्ता सदस्य पनि हुन् । नेपाल अध्ययन केन्द्रले गरिरहेको सन् २०१५–२०१६ बिग लटरी फन्डेड् नेपाल अध्ययन केन्द्रको बेलायतमा रहेका सोसियल मोबिलिटी रिसर्च प्रोजेक्टका प्रमुख रिसर्चर हुन् । यो प्रोजेक्ट प्रवासी नेपालीहरूको सामाजिक जीवनमा आउने उथलपुथल बारे अर्को महत्वपूर्ण दस्ताबेज बन्न सक्छ । The Limbu People in the UK (Historical Background) उनको पछिल्लो अनुसन्धानात्मक लेख हो । यसले बेलायतबासी, खासगरी, पछिल्ला पुस्तालाई आफ्नोे मौलिक संस्कृति, संस्कार, इतिहास, सभ्यता बुझ्न ठूलो सहयोग पु¥याएको छ ।
—————————————-
गत २६ जनवरी २०२१ का दिन कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना भएका डा. लक्सम्बाको मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आउनुभएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिनुभयो।
कोरोना सङ्क्रमण भई यही माघ ५ गतेदेखि अस्पतालमा उपचार भइरहेकै अवस्थामा अचानक मस्तिष्काघात भएपछि उहाँको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । उच्च रक्तस्राब भएका कारण शल्यक्रिया गर्न नसकिने र बचाउने अन्य कुनै उपाय नरहेपछि अस्पतालले परिवारलाई भेट्न बोलाएको थियो । परिवारका अन्य सदस्यहरूलाई समेत कोरोना देखिएका कारण अस्पताल भर्नापछि परिवारका कसैलाई पनि अस्पताल प्रशासनले भेट्न अनुमति दिएको थिएन ।
गोर्खा सैनिकबाट अवकास भएपछि करीब दुई वर्ष अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा काम गर्नुभएका ५९ वर्षीय लक्सम्बाले सन् २००६ देखि २००९ सम्म नेपाल अध्ययन केन्द्र, युकेले गरेको बेलायतमा बस्ने नेपालीहरुको गणना परियोजनाको संयोजकका रूपमा काम गर्नुभएको थियो । पछिल्लो समय यहाँ बेलायतको स्थायी बसाइ टुङ्ग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहनुभएका उहाँ केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत आउनुभएको थियो ।
राजनीतिकरूपमा पनि सक्रिय डा लक्सम्बा विसं २०३६ सालमा अस्कल क्याम्पस स्ववियुको सभापतिमा निर्वाचित हुनुभएको थियो । त्यसपश्चात् ब्रिटिश गोर्खामा भर्ना भई १९ वर्ष सेवा गरी अवकास हुनुभएको थियो । उहाँलाई नेपाल सरकारले गत वर्ष लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको सदस्य पदमा पनि नियुक्त गरेको थियो । स्वर्गीय लक्सम्बाका श्रीमती र दुई छोरा हुनुहुन्छ ।