कथा कसरी लेख्ने ? – अजय महर्जन
१.कथाबारे विषय खोजी
२.विषय सुहाँउदो चरित्र पुनर्निर्माण
३.कथाको लम्बाईबारे पुनर्सोच
४.कथावाचन शैली र कथा कसलाई भन्न लगाउने
५.कथाको सुरुवाती विन्दु र अन्तिम विन्दुको तय
६.कथाको समय निर्धारण–रचना
७.पात्रहरूबीचको सम्भाषण शैली र वाक्यको पूर्वनिर्माण
८.सोचाइको अन्तिम तयारी
९.लेख्न शुरु गर्ने
१०.पात्रलाई बुझ्ने र सुन्ने
११.कथाको दोस्रो मस्यौदा शुरु
१२.अन्तिम प्रारुप
स्टेफेन एम्ब्रोजले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर अंग्रेजी लिएर पढेकी केटीसित बिहे गर्नु मात्र होइन यो त बरु लरेन्स कस्दानले भने जस्तो लेखक बन्नु भनेको जीवनकालभर हरेक रात कडा होमर्वक गरिरहनु हो । लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती विन्दु हो । यस सम्बन्धमा रोर्बट ग्रेभ्सले भनेका छन्, ‘कवितामा पैसा छैन तर पैसामा पनि कविता छैन ।’ हो हरेक लेखक आफ्नै लागि लेख्छन् । साहित्यमा मजा छ त्यसैले लेख्छन् । हरेक लेखकले आफ्नो लेखन यात्रा कविताबाटै शुरु गरेको हुन्छ । यो भावना पोख्ने सहज र सर्वमान्य रुप पनि हो । कविताबाट कथा र कथाबाट आख्यान (उपन्यास)तिर लाग्ने प्रक्रिया चलनचल्तीकै परम्परा हो । कथा पढ्न जति सहज हुन्छ त्यसको बनावट र शिल्प निर्माण त्यतिनै कठिन हुन्छ । कथा लेख्न चाहनेहरूको लागि मेरो केही उपायहरू छन् । जसलाई मैले १२ भागमा (श्रेणीमा) विभक्त गरेको छु । म यिनै प्रक्रिया अपनाएर कथाहरू लेख्ने गर्छु ।
अब शुरु गरेँ ।
१.कथाबारे विषय खोजी
तपाईं कस्तो कथा लेख्न खोज्दै हुनुहुन्छ ? पहिला त्योबारे निर्क्यौल गर्नुपर्छ । कथाको शीर्षक पहिले नै सोचेमा कथा बनाउन सजिलो हुन्छ । जसलाई पछि आवश्यकताअनुसार परिर्वतन गर्न पनि सकिन्छ । शीर्षक पहिले नै सोचिए त्यसको वरिपरि रहेर कथा भन्न वा भनाउन सजिलो हुन्छ । शीर्षक सोच्दा कथाको सम्पूर्ण भागलाई सम्बोधन गर्न सक्ने हुनुपर्छ । पाठकले धेरै हदसम्म कथा शीर्षक हेरेर छान्ने हुँदा शीर्षकबारे गहन अध्यन गर्नु पर्छ । कथाको प्रकारअनुसार शीर्षक लामो, छोटो, अपत्यारिलो लाग्ने नाम तथा ठाउँ छनौट गर्न सकिन्छ तर यो कथाकारको शैलीमा नै बढी भर पर्छ ।
२.विषय सुहाँउदो चरित्र पुनर्निर्माण
अब, कथामा आउने पात्रबारे सोच्न थाल्ने । यो नै कथाको मुटु हो । जसले तपाईंको कथालाई पाठकसमक्ष चिनाउने राम्रो ऊर्जा बोकेको हुन्छ ।
चरित्र छनोट गर्दा ध्यान दिनु पर्नेः
क. कथाको वातावरण अनुसार पात्र छान्ने
ख. पात्र वास्तविक वा अवास्तविक के हुने हो, त्यो सोच्ने ।
ग. पात्रको मुख्य विशेषता र काम पहिले नै लेख्ने
घ. पात्रले बोल्ने कुरा तर्कसँग हुने हुन वा दृष्टान्तमा बढी केन्द्रित हुने हो । यो पहिले नै सोच्नु पर्छ ।
ङ. पात्रको भेषभूषा र अन्य पात्रसँग भेट हुँदा कस्तो व्यवहार देखाउने हो, त्यो पनि पहिले नै सोच्नु पर्छ
यसरी पात्रबारे सानो टिपोट बनाइ तिनीहरूको नाम, विषेशता सबै खुलाई पहिले नै लेखिछाड्ने । जसले गर्दा लेख्न शुरु गरेपछि अफ्ठ्यारो नहुने हुन्छ ।
३. कथाको लम्बाइबारे पुनर्सोच
छोटा कथा यिनै हुन् भनी ठीकसँग भन्न कठिन हुन्छ । छोटा कथालाई पनि विभिन्न आकारमा लेखेको पाइन्छ । प्राय गरी छोटा कथाको अर्थ एकै ठाउँमा बसी एकै चोटी पढ्न सकिने आकारको भनी बुझिन्छ । एड्गर एलन पोले आफ्नो निबन्ध द फिलोसफी अफ कम्पोजिसन (१८४६) मा लेखनको लम्बाइबारे लेखेका छन् । उनले छोटा भएकैले कथाहरू उपन्यासभन्दा मीठा हुन्छ भनेका छन् । आफूले लेख्न थालेको कथा यति लामो हुन सक्छ भनी पहिले नै पेपर ठीक पारी (पेपर गन्ती गरेर लिन पनि सकिन्छ) लेख्न शुरु गरे त्यतिसम्म कथा लम्बाउनु पर्ने आफैँमा मानसिक दबाब जस्तो बन्छ । जसले कथाले आवश्यकताअनुसार पूर्ण लम्बाई पाउँछ । २०००० शब्दभन्दा बढी नहुने र १००० शब्दभन्दा कम नहुने कथालाई छोटा कथाको रुपमा लिन सकिन्छ ।
४.कथा वाचनशैली र कथा कसलाई भन्न लगाउने
‘म’ प्रथम पुरुषमा । ‘तिमी’ द्वितीय पुरुषमा । ‘उ’ अथवा ‘उनी’ तृतीय पुरुषमा गरी कथा लेख्न सकिन्छ । ‘म’बाट कथा शुरु गर्ने हो वा अरु कसैबाट, पहिले नै अन्दाज गर्नु पर्छ । द्वितीय पुरुषमा त्यति कथा लेखेको पाइँदैनन् । तर तृतीय पुरुषमा कथा भन्न मिल्छ । जसले कथालाई ‘म’बाट शुरु गरेको भन्दा मिठो बनाउँछ । कथा वाचनशैली पनि अहिले धेरै प्रकारका छन् । जस मध्ये उपयुक्त हुने कुनै एक छान्न सकिन्छ ।
५. कथाको शुरुवाती विन्दु र अन्तिम विन्दुको तय
कथा कस्तो हुने र कहाँ यसको अन्त्य हुने भन्ने कुरा पहिले नै तय गरिनु पर्छ । कथाको अन्त्य तथा शुरुबाती वाक्य भ्रामक नहुने तर सकेसम्म पाठकलाई भ्रान्तीमा राख्ने वा मायामा पार्ने बनाउन सक्नु पर्छ जसले गर्दा कथाको अन्त्य पछि पनि पाठक केहीबेर कथा सोच्न सकुन् ।
६. कथाको समय निर्धारण र रचना
कुन समयको कथा हो र कथा कस्तो वातावरणमा लेख्न खोज्दै हुनुहुुन्छ । जस्तै ऋृतुको समय । काल्पनिक समय निर्धारण गरिए पनि त्यो वास्तिकतासँग मेल खाने हुनु पर्छ । जसलाई कथाको टाइमलाइन भन्न सकिन्छ । यो कथाको महत्वपूर्ण स्थान हो जसले तपाईंको कथालाई पढ्न योग्य र यथार्थको निकै नजिक लैजान्छ ।
७. पात्रबीच सम्भाषण शैली र वाक्यको पूर्व निर्माण
कथामा कस्तो किसिमको संघर्षको निर्माण गर्ने । पात्रले बोल्ने शैली कस्तो हुने । उनीहरूले बोल्ने लामा तथा छोटा वाक्यलाई पहिले नै लेख्नु पर्छ । यो टाइमलाइन बनाएपछिको प्रक्रिया हो । जहाँबाट कथा लेखनको आरभ्भ गर्न सकिन्छ । पहिले नै यो समयमा यो पात्रले यहाँ यो बोल्नु पर्छ भनी तय गरिएमा कथालाई आफूले भनेबमोजिम बनाउन सकिन्छ । यो काम कठिन हुन्छ तर हरेक उच्चस्तरका लेखकले गर्ने यो महत्वपूर्ण काम हो । जसले उनीहरूको कल्पनाशीलतालाई दर्शाउँछ । कथाको मुख्य भाग भनेको पात्रहरूले बोल्ने वाक्यमा नै हुन्छ । पात्रहरूबीचको सम्भाषण भनेकै लेखकको भावनालाई राम्रोसँग देखाउने स्थान हो । लेखकले दिने सन्देश यिनै पात्रहरूबाट झल्किन्छ । कुनै पनि लेखकलाई अमर बनाउन उसको यिनै सम्भाषण वाक्यले प्रमुख भूमिका निर्वाह गर्दछ । यदि तपाईंले यो प्रक्रिया सन्तुष्टसँग गर्न सक्नुहुन्छ भने तपाईंको कथा लेखनको आधा काम समाप्ति यहीँ हुन्छ ।
८. सोचाइको अन्तिम तयारी
यो लेख्न शुरु गर्नुभन्दा पहिलेको अन्तिम अवस्था हो । तपाईंले अहिलेसम्म गर्नुभएको कामलाई फेरि एकचोटी नियाल्ने काम यहाँबाट हुन्छ । यदि यो काम ठीकसँग भएको छैन भने पुनः यही प्रक्रिया दोहो¥याउनु उत्तम हुन्छ । यहाँसम्मको कदमले नै सबैभन्दा बढी समय लिन्छ । तपाईंले आफ्नो सम्पूर्ण सोचको शक्ति यस विन्दुसम्म लगाउनु भयो भने मात्र कथा उत्कृष्ट बन्छ । तपाईंले यस प्रक्रियासम्मलाई घटीमा ७ दिन वा सोभन्दा बढी लगाउन सक्नुहुन्छ ।
९. लेख्न शुरु गर्ने
अब यहाँबाट तपाईंले कथा लेख्न बस्नुहुन्छ । यो ठाउँ भनेको अहिलेसम्म सोचको, टिपेको कामलाई लयमय बनाउनु मात्र हो । तपाईंले वास्तवमा कथा लेखिसक्नुभएको हुन्छ । यहाँ तपाईंले शब्द चयन विशिष्ट ढङ्गबाट गर्नु पर्छ । यसका लागि तपाईंले शब्दकोष पल्टाउन सक्नुहुन्छ । लेख्न बढी बुझेको हुनु पर्छ, त्यसैले बढीभन्दा बढी अध्ययन गर्नु पर्छ ।
१०. पात्रहरूलाई बुझ्ने र सुन्ने
मनोमानी तरिकाले कथा अगाडि बढाउने मात्र होइन कि पात्रलाई तपाईंले आफ्नो महसुस गरेको हुनु पर्छ । त्यो पात्र कथामा किन सिर्जना भयो भन्ने कुराको गहन बुझाइ हुनु पर्छ । अनि मात्र तपाईंको पात्रले पाठको हृदयमा ठाउँ लिन सक्छ । तपाईंले लेख्न बस्दा पात्रहरूको बयान बर्बराउन सक्नुहुन्छ । उनीहरूलाई जीवन्त ठान्नुहुन्छ भने कथा लेखनको स्थिति सहज बन्छ । लेखक बन्नु भनेको आफूलाई विभिन्न पात्रहरूसँगै खेलाउनु हो । उनीहरूलाई सुन्नु र बुझ्नु हो । यो प्रक्रियासँग लेखकले अहोरात्र आफूलाई पागल बनाउनु पर्छ । यही नै पात्रहरूलाई बुझ्ने र सुन्ने माध्यम हो ।
११. कथाको दोस्रो मस्यौदा शुरु
तपाईंले कथा लेखिसक्नुभएको हुन्छ । त्यसलाई पुनर्लेखन गुर्नुस् । नमिलेको ठाउँमा पुनः थप्न वा घटाउन सक्नुहुन्छ । यस प्रक्रियामा तपाईं कथा छिटो सकाउन खोज्नुहुन्छ । आफू माथि बोझ थप्दा कथाले खुल्न सक्ने अवस्थासम्म नखुल्न सक्छ । त्यसलै धैर्य राख्नुस् र चाहिने अवस्थासम्म कथालाई खुलाएर लेख्नुस् ।
१२. अन्तिम प्रारुप
यस चरणमा तपाईंले लेखिसक्नुभएको कथालाई साथीभाइ वा अन्य कोही कथा सम्बन्धित दखल भएको व्यक्तिलाई पढ्न दिन सक्नुहुन्छ । जसले तपाईंले लेखेको कथालाई कसरी बुझ्छ, कथाबारे उनीहरूको टिप्पणी कस्तो हुन्छ, त्यो हेर्न सकिन्छ । तपाईंले बुझाउन खोजेको वा देखाउन खोजेको कुरा र उनीहरूले कथाबाट बुझेको कुरा एउटै भयो भने तपाईंले लेख्नुभएको कथा उत्कृष्ट छ । अन्यथा पुनः यी चरण दोहो¥याउन सक्नुहुन्छ जसले गर्दा तपाईंको लेखन अझै प्रखर हुन्छ ।
Source: janatasamachar.com