उत्तरआधुनिकतावादको सैद्धान्तिक स्वरुप विचार- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

१. विषयप्रवेश

नेपाली साहित्याकाशमा केही वर्ष यता डरलाग्दो भूतका रूपमा मडारिएको उत्तरआधुनिकता तेलको धुप हालेर सिकारु ढ्याङ्ग्रेले समेत जगाएर मन्छाउने राँकेभूतका रूपमा देखापरिरहेको छ । यो उतैबाट थालिएर थलिइसकेपछि यतातिर बल्ल बाल्न थालिएको वा नेपाली भूमिमा पुनर्जीवित गर्न खोजिएको राँकेभूत हो । यहाँ एकथरीलाई उत्तरआधुनिकताको दोहोलो नकाढी खाएकै पच्दैन भने अर्काथरीलाई नेपालीभूमिमा उत्तरआधुनिकतारूपी गङ्गाकै अवतरण गराइयो नभनी निद्रै लाग्दैन । यी दुवैथरी अतिवादी दृष्टिबाट धेरैतिर कागजमसीलगायत धेरैथोक खति हुँदोछ, उत्तरआधुनिकताको चीरहरण हुँदोछ तैपनि कतिपयलाई आत्मश्लाघाको दरिलो हतियारसमेत बन्दोछ । वास्तवमा उत्तरआधुनिकता यी दुवैथरीले भनेजस्तो अतिवादी दृष्टिकोण होइन । अहिलेका हाम्रा कतिपय लेखक साहित्यकारहरू आपूmलाई उत्तरआधुनिक भन्न–भनाउन लालायित देखिन्छन् र त्यसो भनिदिँदा तिनीहरू मख्ख पनि पर्छन् । वास्तवमा त्यो प्रशंसा हो कि निन्दा हो भन्नेसमेत भेउ पाउँदैनन् । दिनदिनै साँगुरिएर नजिक मात्र नभई टिक्नै हम्मेहम्मे पर्ने गरी भयावह र दर्दनाक पनि बन्दै गएको वर्तमान विश्वमा व्याप्त अनेक ढङ्गले अथ्र्याउन सकिने उत्तरआधुनिकता नेपाली साहित्यमा परिस्थितिअनुसार प्रशंसा र निन्दाको जालभित्र अतिवादी दृष्टिकोणका साथ रुमलिइरहेको देखिन्छ ।

२. उत्तरआधुनिकतावादको नामकरण, परिचय र विकास

उत्तरआधुनिकतावाद postmodernism को नेपाली रूपान्तर हो । सन् १९३४ मा फेडरिको डि ओनिसले सर्वप्रथम postmodernismo शब्दको प्रयोग गरेका छन् । त्यसपछि आर्नोल्ड टोयन्बीले A Study of History को पाँचौँ भाग (१९३९) मा postmodernism शब्दको प्रयोग दुई विश्वयुद्धका बीचको समय (१९१८–१९३९) जनाउनाका लागि गरेका छन् । यसरी उत्तरआधुनिक/उत्तरआधुनिकता÷उत्तरआधुनिकतावाद शब्दको प्रयोग अगिबाटै भएको पाइए तापनि यसको खास विकास दोस्रो विश्वयुद्धपछिका दशकहरूमा भएको हो । उत्तरआधुनिकतावादको थालनी कसैले सन् १९४५ देखि, कसैले सन् १९६० देखि, कसैले सन् १९६८ देखि, कसैले सन् १९७० देखि र कसैले सन् १९८० देखि माने तापनि यसको उठान मोटामोटी सन् १९६० पछिको समयमा भएको मानिन्छ ।

उत्तरआधुनिकताको विकारबारे निम्नलिखित तीन प्रमुख दृष्टिकोणहरू रहेका छन्:

(१) उत्तरआधुनिकता आधुनिकताको विरोधमा आएको प्रवृत्ति हो । यसले आधुनिकतालाई समाप्त पारेको छ ।

(२) यो आधुनिकताबाट विकसित भएको हो । यो आधुनिकताकै विस्तार र निरन्तरताको कडी हो ।

(३) यो केही मात्रामा आधुनिकता हो र केही मात्रामा नयाँ प्रवृत्ति हो । यसमा कतिपय आधुनिकताका धारणाले स्थान पाएका छन् भने कतिपय नयाँ धारणाहरू समाविष्ट हुन आएका छन् ।

उत्तरआधुनिकतालाई कसैले सार्थक शब्द र कसैले निरर्थक शब्द मानेका छन् । त्यस्तै कसैले यसलाई उदारवादी आन्दोलन, कसैले रूढिवादी आन्दोलन र कसैकसैले नवरूढिवादी आन्दोलन पनि भनेका छन् । कसैकसैले यसलाई नवअग्रसर (new avant-garde) वाद र केवल आधुनिकतावाद पनि भनेका छन् । आधुनिकता र उत्तरआधुनिकतामा स्पष्ट सीमारेखा कोर्न सम्भव नभएकाले पनि उत्तरआधुनिकता शब्दको प्रयोगमा अस्थिरता देखिएको हो । यसको अर्थ ठाउँ, सभ्यता र संस्कृतिअनुसार भिन्नभिन्न हुन्छ र यसलाई परिभाषित गर्न कठिन छ ।

उत्तरआधुनिकतावादको थालनी कलाका क्षेत्रबाट भएको मानिन्छ । यसको प्रथम र प्रारम्भिक प्रयोग आधुनिकतावादी कलाबाट विच्छेदका रूपमा भएको छ । कलाक्षेत्रबाट यसको प्रसार सामाजिक–सांस्कृतिक सिद्धान्तका क्षेत्रमा हुन गएको देखिन्छ ।

उत्तरआधुनिकतावादले अत्यन्त ठूलो क्षेत्र ओगटेको छ । यो साहित्यका अतिरिक्त कला, सङ्गीत, नृत्य, दर्शन, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र, मनोविश्लेषण, विज्ञान, स्थापत्य, न्याय आदि ज्ञानविज्ञानका सबैजसो क्षेत्रमा फिंजिएको छ, जस्तै—

क्षेत्र——————-व्यक्ति

कला——————रेसनबर्ग, वारहोल, जोजेफ बाइज

वास्तुकला———– जेन्क्स, एन्तुरी, बोलिन

सङ्गीत————– जनकेज, लरी एन्डर्सन, स्टक हाउजेन

नृत्य——————मेरिडिथ मोङ्क

दर्शन—————– जाक डोरिडा, बद्रिलर्ड, फ्राँस्वाँ ल्योटार्ड, रोर्टी

मानवशास्त्र———- क्लिफोर्ड, मार्कुस

इतिहास————- मिसेल फुको

राजनीतिशास्त्र—— ह्याबर्मास

मनोविश्लेषण——– लकँ, ब्राउन

विज्ञान————— कुन

उत्तरआधुनिकतावादको ठूलो छाताभित्र साहित्य सिद्धान्त तथा समालोचनाका विनिर्माणवाद, नारीवाद, नवइतिहासवाद, नवव्यावहारिकतावाद, नवमाक्र्सवाद आदि पर्छन् । साहित्यिक सिर्जनातर्पm विभिन्न विधाका प्रमुख उत्तरआधुनिकतावादी स्रष्टाहरू निम्नलिखित छन् ः

विधा ————-स्रष्टा

कविता————— जोन यास्बरी, रिचार्ड हवर्ड, जेम्स मेरिल, मरिन ओवेन, म्याक्सिन सेर्नोफ, जोरी ग्राहम

नाट्य—————- ह्यारोल्ड पिन्टर, इडवार्ड एलबी, रोबर्ट विल्सन

उपन्यास———— विलियम बरो, डोनाल्ड बार्थलिम, जोन बार्थ, टमस पिन्चन, डेविड सिल्ड, क्याथी एकर, डन डेलिल्लो

साहित्यसिद्धान्त—रोलाँ बार्थ, जाक डेरिडा, जाक लकँ, मिसेल फुको, जुलिया व्रिmस्टिभा

उत्तरआधुनिकतावादको विकासमा उपर्युक्त विभिन्न विद्वान्हरूको महत्वपूर्ण भूमिका रहे पनि सर्वोपरि भूमिका ज्या–फ्राँस्वाँ ल्योटार्डको रहेको छ । उनलाई यसको प्रमुख प्रतिपादक र व्याख्याता मानिन्छ । यिनको The Postmodern Condition : A Report on Knowledge कृतिलाई उत्तरआधुनिकतावादी सिद्धान्तको गुरुग्रन्थ मानिएको छ । सन् १९७९ मा क्यानाडा सरकारले पश्चिमेली अति विकसित समाजमा ज्ञानको स्थितिबारे प्रतिवेदन तयार पार्न ल्योटार्डलाई नियुक्त गरेपछि उनले वर्तमान स्थितिको बोध गराउन उत्तरआधुनिक शब्दको प्रयोग गरी यसको व्याख्या गरेका छन् ।

उत्तरआधुनिकतावादको सैद्धान्तिक व्याख्या तथा स्पष्टीकरण गर्ने ग्रन्थहरूमा टमस पिन्चनको Gravities Rainbows (1974) तथा इहाव हसनको The Postmodern Turn : Essays in Postmodern Theory and Culture (1987) विशेष उल्लेखनीय रहेका छन् ।

३. दोस्रो विश्वयुद्धपछिको स्थिति र उत्तरआधुनिकता

दोस्रो विश्वयुद्धपश्चात् खासगरी सन् १९६० पछिको अमेरिकाली तथा युरोपेली परिवेश बदलिएको छ र नवीन अनुभूतिले जन्म लिएको छ । दोस्रो विश्वयुद्धमा भएको भयङ्कर मानव विनाशको भयावहताका साथै नागासाकी र हिरोसिमाजस्ता डरलाग्दा परिणामको अनुभूति, नाजी सर्वसत्तावादीहरूको चरम दमन, निरन्तर चर्किंदो शीतयुद्ध र विश्व मानव तथा प्रकृतिको सर्वनासको आणविक खतरा, जातीय कटुता र विभेदको खाडल, सूचना प्रविधिको अभूतपूर्व विकास आदिका कारण वर्तमान विश्वकै परिवेशमा ठूलो अन्तर आएको छ । सांस्कृतिक विनाश, मूल्यमान्यताको विघटन, विज्ञानको अभिशापयुक्त स्वरूप, आर्थिक विषमता, जीवनगत जटिलता आदिका कारण मानिसको सोचाइमा नै परिवर्तन आएर उत्तरआधुनिकतावादले आफ्नो स्वरूप ग्रहण गरेको हो ।

विश्वको यस परिवर्तित परिवेशका कारण चिन्तनका प्रत्येक क्ष्ँेत्रमा नौलानौला विषयहरूको समावेश भएजस्तै साहित्यमा पनि नौलानौला विषयहरूको समावेश भएको छ । यस व्रmममा अउपन्यास, अकथा, अकविता, अनायक, अरूपण, विसङ्गति, छन्दमुक्तता तथा प्रयोगहरूको विधा भञ्जकता, अन्तर्पाठात्मकता आदिका रूपमा अमूर्त एवं नवीन प्रयोगहरूले महत्वपूर्ण स्थान पाएका छन् । उत्तर—आधुनिकतावादीहरूले विभिन्न विधाहरूमा लगातार मिश्रण गरिरहने हुँदा उनीहरू परम्परित ढङ्गमा छुट्याइएभैmँ यसको वर्गीकरण गर्न कठिन हुने मान्छन् । उत्तरआधुनिकतावादीहरू केही पनि अन्तिम सत्य हुँदैन, त्यो आभास मात्र हुन्छ भन्छन् । विषय र प्रयोगको अत्यधिक विविधता र नवीनता उत्तरआधुनिकतावादको एउटा खास विशेषता नै हो ।

उत्तरआधुनिकतावादमा प्राचीन केन्द्रक भत्किएर नयाँनयाँ धेरै केन्द्रकहरू बनेका छन् र विषयगत विविधता आएको छ । प्राचीन केन्द्रकका रूपमा रहेका पुरुष, गोरा, उच्चहरूलाई मात्र केन्द्रक नमानी नारी, समलिङ्गी, काला, दलित, अल्पसङ्ख्यकहरू पनि केन्द्रक बनी एक केन्द्रताका सट्टा बहुकेन्द्रकता (multicentralism) को स्थापना भएको छ । बहुकेन्द्रकताका कारण पहिले मान्यता नपाएका लघु, अल्प, अन्यले समेत मानवीय सम्मान प्राप्त गर्न थालेका छन् । यसरी उत्तरआधुनिकतावादले परम्परित तथा शक्तिशाली एककेन्द्रकताका ठाउँमा विविधतायुक्त बहुकेन्द्रकतालाई सर्वोपरि महत्व दिएको छ ।

उत्तरआधुनिकतावादीहरूले भाषाको पनि नवीन प्रयोगहरू गरेका छन् । नवीन भाषाको सिर्जना मुख्यतः सूचना प्रविधिले गर्छ र यस्तो भाषालाई वैज्ञानिक सङ्कथन (scientific discourse) भनिन्छ । यसका विपरीत साहित्यमा प्रयुक्त हुने भाषा मुख्यतः आख्यानात्मक सङ्कथन (narrative discourse) भए पनि त्यसमा वैज्ञानिक सङ्कथनका नवीनताले प्रभाव पार्दै लगेको देखिन्छ । यिनीहरू भाषालाई यथार्थको प्रतिनिधित्व गर्ने साधन नमानी यो स्वयं एउटा यथार्थ हो भन्ने मान्छन् । उत्तरआधुनिकतावादीहरू साहित्यको भाषालाई आख्यानात्मक भाषा मान्छन् । सबै साहित्यकारहरूले प्रयोग गर्ने आख्यानात्मक भाषा सङ्केतात्मक तथा लाक्षणिक हुने हुँदा यो घुमाउरो, अतिनिश्चित र अनेक अर्थ लाग्ने हुन्छ । यसका विपरीत वैज्ञानिक भाषा अभिधात्मक हुने हुँदा सोभैm अर्थ लाग्ने खालको हुन्छ ।

उत्तरआधुनिकतावादीहरू सङ्कथनलाई ज्ञान र अनुभव नमानी त्यसको विमर्श मान्छन् । कुनै ज्ञान वा अनुभवको कथ्य शब्द (spoken words) मा विमर्श नै सङ्कथन हो । ज्ञान वा अनुभवका क्षेत्रअनुसार सङ्कथनहरू भिन्नभिन्न हुन्छन्, जस्तै— वैज्ञानिक सङ्कथन, दार्शनिक सङ्कथन, धार्मिक सङ्कथन, साहित्यिक सङ्कथन आदि । साहित्यिक सङ्कथनलाई पनि कविता, उपन्यास आदि वा रूप, संरचना आदि वा छन्द, अलङ्कार आदि विभिन्न वर्गमा बाँडेर हेरिन्छ । प्रत्येक सङ्कथनमा भाषा खेल (language game) का नियमानुसार भाषाको विविध प्रयोग गरिन्छ ।

४. उत्तरआधुनिकतावादका प्रमुख प्रवृत्तिहरू

उत्तरआधुनिकतावादका प्रमुख स्थापना, मान्यता, विशेषता वा प्रवृत्तिहरू निम्नलिखित छन् ः

(१) उत्तरआधुनिकतावाद बहुत्ववादी प्रवृत्ति हो । यसले एकत्ववादको विरोध गर्छ र कुनै एक पक्ष, पद्धति, प्रव्रिmया, विचार, दृष्टिकोण, शैली आदिलाई महत्व नदिई सबैलाई महत्व दिन्छ ।

(२) यसले परम्पराको विरोध गर्छ र पुराना मूल्यमान्यतालाई भत्काउने कार्य गर्छ । यसले परम्परालाई सुधार्ने दृष्टिकोण पनि राख्छ ।

(३) यसले नयाँ प्रयोगलाई महत्व दिन्छ । प्रयोगगत नवीनता यसको खास पहिचान हो । यसले विधाहरूको फरक समाप्त पारेर विधाहीनताको स्थिति सिर्जना गर्छ ।

(४) यसले लेखनमा बाधारहित स्वतन्त्रताको अनिवार्यतालाई स्वीकार्छ । यो लेखकीय स्वतन्त्रताको पूरै समर्थन गर्ने प्रवृत्ति हो ।

(५) यसले तथ्य, कल्पना र स्वैरकल्पनाको मिश्रण गर्छ र नयाँ वास्तविकताको उद्घाटन गर्दै नवीन लोकको सृष्टि गर्छ ।

(६) यसले उच्च संस्कृतिका ठाउँमा लोकप्रिय तथा निम्न संस्कृतिलाई अँगाली त्यसको प्रभावकारी प्रस्तुति गर्छ । यसरी पहिले प्रश्रय नपाएकालाई प्रश्रय दिई यसले नवकेन्द्रकहरूको स्थापना गर्छ र बहुकेन्द्रकताको धारणालाई मूर्त रूप दिन्छ ।

(७) यसले प्राचीनतातर्पm फर्केर हेर्ने हुँदा इतिहासभित्र पुनः प्रवेश गर्ने प्रयास गर्छ ।

(८) यसले प्राविधिक संस्कृति (techno-culture) को विकासका कारण विश्व मानव समुदाय भूमण्डलीकरण (globalization) भएको छ भन्ने मान्छ । अन्तर्राष्ट्रियता वैयक्तिक पहुँचभित्र सीमित हुँदै गएकोले यसले ग्रामीणीकरणको सोचाइलाई अगि सारेको छ । रेडियो, टि.भी., कम्प्युटरजस्ता सूचना र ज्ञानका सशक्त विद्युतीय साधनले साइबर संस्कृतिलाई जन्म दिएको छ र विश्वका सबै थरी मानिसलाई एक सूत्रमा जोडेको छ भन्दै यसले अबको युगलाई प्राविधिक संस्कृतिको साइबर युग भनेको छ ।

(९) अन्तर्पाठात्मकता (intertextuality) का कारण उत्तरआधुनिक रचनाहरूमा एउटा कृतिको अर्को कृतिसँग सम्बन्ध रहन्छ । यस विशेषताका कारण अरूपण (antiform) को स्थिति पैदा हुनु यसको ठूलो विशेषता हो ।

५. आधुनिकतावाद र उत्तरआधुनिकतावाद

आधुनिकतावाद र उत्तरआधुनिकतावादमा समानता र भिन्नता दुवै पाइन्छन् । यी दुवैमा बीसौं शताब्दीका व्यक्तिले भोग्ने चिन्ता तथा विरानोपनका अनुभूतिहरू समान रूपमा व्यक्त गरिन्छन् भने अन्य विविध भिन्नताहरू पनि छन् । यी दुईका बीचका प्रमुख भिन्नतालाई चौँतीसवटा छ भनी इहाव हसनले The Postmodern Turn : Essays in Postmodern Theory and Culture (1987) नामक कृतिमा उल्लेख गरेका छन् । यिनले प्रस्तुत गरेका चौँतीसवटा भिन्नतामध्ये सर्वप्रमुख दसवटा बुँदाहरू निम्नलिखित छन् ः

आधुनिकतावाद——-उत्तरआधुनिकतावाद

बद्ध——————–मुक्त

निश्चयात्मक——– अनिश्चयात्मक

उपस्थित————-अनुपस्थित

आख्यानात्मक—– प्रतिआख्यानात्मक

सार्वकालिक——— तात्कालिक

अनुशासित———- अराजक

गहन—————– सतही

पठनसङ्केतित—– विपठनसङ्केतित

संश्लेषणात्मक——-व्यतिरेकी

पूर्ण उत्पादनमूलक————प्रव्रिmयामूलक

संक्षेपमा आधुनिकता र उत्तरआधुनिकतामा पाइने मूलभूत भिन्नतालाई तीन बुँदामा समेटी तल प्रस्तुत गरिएको छ ः

(१) आधुनिकतालाई औद्योगिकीकरणको प्रक्रिया, विज्ञान र प्रविधिको विकास, सहरीकरणको प्रवृत्ति, राष्ट्रका रूपमा राज्यहरूको स्थापना र पूँजीमुखी विश्वबजारको अभ्युदय आदिको परिणति मानिन्छ भने उत्तरआधुनिकतालाई स्वयं आधुनिकताबाट विच्छेद वा विभक्त मानिन्छ ।

(२) आधुनिकतालाई एकत्ववादी धारणा ठानिन्छ भने उत्तरआधुनिकतालाई बहुत्ववादी धारणा स्वीकारिन्छ ।

(३) आधुनिकतालाई स्थिरता, निश्चयात्मकता र निर्माणसँग सम्बद्ध संवृत्ति भनिन्छ भने उत्तरआधुनिकतालाई अस्थिरता, अनिश्चयात्मकता र विनिर्माण वा भत्काइसँग सम्बद्ध संवृत्ति भनिन्छ ।

उत्तरआधुनिकतावादलाई नकारात्मकताको बाहुल्य भएको सिद्धान्तका रूपमा हेरिन्छ । उत्तरआधुनिकतावादीहरू सत्यलाई सत्य होइन उपयोगी असत्य मान्छन् । उनीहरूका अनुसार कुनै पनि सत्य स्थिर, निश्चित र शाश्वत हुँदैन, त्यो अन्य सन्दर्भमा भत्किन्छ र त्यसले रूप फेर्छ । त्यस्तै कुनै पनि बार वा सीमा स्थिर तथा निश्चित छैन, त्यो भत्किएर विनिर्मित भइरहन्छ । त्यसैले विनिर्माणवादका प्रवर्तक जाक डेरिडाले जसलाई हामी वास्तविक भन्छौं त्यो पनि वास्तवमा वास्तविक हुँदैन भनेका छन् । कुनै पनि विधा वा विषयलाई निश्चित परिभाषा वा रूपमा बाँध्न सकिंदैन, किनभने प्रत्येक वस्तुले आप्mनो वर्तमान रूपलाई भत्काइरहन्छ र त्यो नवीन रूपमा प्रकट भइरहन्छ । उत्तरआधुनिकतावादीहरू कला, साहित्य, समाज, संस्कृति आदिलाई साँधसिमाना र रूपमा भत्किइरहने र विनिर्मित भइरहने कुरा मान्छन् । उत्तरआधुनिकतावादलाई स्टेनली फिसजस्ता विचारकहरूले वामसांस्कृतिक सिद्धान्ततर्पm ढल्केको ठान्छन् भने फ्रेडरिक जेम्सनजस्ता विचारकहरू यसलाई उत्तरवर्ती पूँजीवादको सांस्कृतिक तर्क मान्छन् ।

बहुलतावाद, बहुकेन्द्रीयतावाद, नवअग्रसरता, प्राविधिक संस्कृति, निम्न संस्कृतिलाई महत्व दिनु आदि उत्तरआधुनिकतावादका शक्ति वा प्रमुख विशेषता हुन् भने अपरिभाषेय हुनु, अस्पष्ट र अनिर्णित हुनु, विशृङ्खल हुनु आदि यसका सीमा वा कमजोरी हुन् ।

६. उपसंहार

उत्तरआधुनिकता पश्चिमी मुलुकमा १९६० का दशकतिर आधुकितावादी कलाबाट विच्छेदका रूपमा थालिएर सामाजिक, साहित्यिक, सांस्कृतिक आदि विविध क्षेत्रमा विस्तारित भई लगत्तै मृतप्रायः भएको विनिर्माणवादी दृष्टिकोण हो । यो स्पष्टतः परिभाषामा आबद्ध गर्न नसकिने अनि जेसुकै र जस्तोसुकै परिभाषा गरे पनि हुने वादका रूपमा देखापरेको छ । परिभाषित नै गर्नुपर्दा उत्तरआधुनिकता भनेको परम्पराबाट विच्छेदित, नवप्रयोगमूलक, बहुलतावादी, बहुकेन्द्रीयतावादी र विनिर्माणवादी अवधारणा हो ।

उत्तरआधुनिकतालाई आधुनिकताको विरोधमा देखापरेको प्रवृत्ति, आधुनिकताबाटै विकसित अवधारणा तथा कतिपय नयाँ प्रवृत्तिका साथ देखापरेको अभियानका गरी तीन ढङ्गमा व्याख्या गर्ने गरेको पाइन्छ । आधुनिकतावादी कलाबाट विच्छेदका रूपमा प्रारम्भ भएको मानिने उत्तरआधुनिकतावाद सङ्गीत, नृत्य, दर्शन, मानवशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, इतिहास, मनोविज्ञान, विज्ञान आदि ज्ञानविज्ञानका सबैजसो क्षेत्रमा पैmलिएको विनिर्माणवादी अवधारणा हो । विनिर्माणवाद, नारीवाद, नवमाक्र्सवाद, नवव्यवहारिकतावाद, नवइतिहासवाद आदि सबैलाई समेट्ने ठूलो छाताका रूपमा देखापरेको उत्तरआधुनिकता÷उत्तरआधुनिकतावाद साहित्यिक सिद्धान्त एवं समालोचनाका साथै अन्य विविध क्षेत्रमा विविध ढङ्गले पैmलिएको पाइन्छ । विश्लेषणको स्पष्ट प्रारूपरहित नकारात्मकताको बहुलता रहेको सिद्धान्तका रूपमा लिइने उत्तरआधुनिकतावादले सत्यलाई सत्यका रूपमा नभई उपयोगी असत्यका रूपमा लिन्छ र कुनै पनि सत्य स्थिर, निश्चित र शाश्वत हु“दैन यो सन्दर्भअनुरूप परिवर्तन भइरहन्छ अर्थात् भत्किरहन्छ भन्ने ठान्छ । बहुलतावाद, परम्पराको विरोध र विच्छेद, प्रयोगशील नवीनता, लेखनगत स्वतन्त्रता, निम्नसंस्कृतिलाई महत्ता प्रदान, नवकेन्द्रकको स्थापना, प्राविधिक संस्कृति÷साइबर संस्कृति र भूमण्डलीकरणको पक्षधरता, नवअग्रसरता, अन्तर्पाठात्मकता आदिलाई यसका प्रमुख विशेषता मानिन्छ । यस्तैगरी विशृङ्खलता, अनिर्णितता, अस्पष्टता, अपारिभाषेयता, नकारात्मक बहुलता आदि यसका सीमा हुन् ।

– sources: samakalinsahitya.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *