दुत पुनको भोको दिमाग, अथाह सम्भावना – विश्वास दीप तिगेला


दुत पुन नाम सुन्दैमा एक भाग्यशाली ब्यक्तिको नाम हो भन्ने स्वतः मेरो दिमागमा मूल्याङ्कन आउछ । म पुन संग नजिक भएर त काम गरेको छैन सिर्फ संस्थागत धेरै कार्यक्रमहरुमा जम्काभेट भने भईरहेकै हुन्छ । तसर्थ मेरो टिप्पणी गहिरो नहुन सक्छ र उनको गुणगान नहुन सक्छ । उसो त मेरो लेखनको मर्म र धर्म भनेकै सहिसत्य लेख्ने र टिप्पणी गर्ने भएकोले चिप्लो र गुलियो पनि नहुन सक्छ । तथापी केही टिप्पणी उठाउने हिम्मत गर्दैछु ।

उमेरले धेरै कुरा सिकाउछ, उमेर अनुसारको रुची र स्वाद बदलिदै जान्छ भन्ने मान्यता राख्ने गरिन्छ तर पुन उनका साथीसंगीहरु भन्दा पृथक लाग्छ । उन्नती र प्रगतिको निम्ति भोको दिमाग सबैभन्दा उर्वर मानिन्छ र भविश्यमा धेरै उपलब्धिहरु हासिल गर्न सक्छ भन्ने मान्यता राखिन्छ । हो ठिक त्यस्तै भोका दिमाग बोकेका एक ब्यक्तित्व हुन पुन । औसतमा उनका उमेरकाहरु अन्य कुराहरुमा हराईरहेका हुन्छन, रमाईरहेका हुन्छन तर पुन हरक्षण ज्ञानविज्ञानको खेतीमा लागिरहेको लोभलाग्दो कार्य भने सबैको लागि अनुकरणीय छ । भनिन्छ जसले जुन चीजको स्वाद पाएको हुन्छ त्यसैमा रमाउने गर्दछ । पुन ईपिश्टिमोलोजीको दुनियाँमा सयर गरिरहेका छन जुन सबैभन्दा उत्कृष्ट र सर्वमान्य मानिन्छ । उसो त पुनले एकेडेमिक कलमलाई जति तिखारी रहेका छन त्यति नै कला, साहित्य र समाजसेवालाई समेत अगाडी बढाई रहेको पाइन्छ । पुनको उच्च शिक्षा अध्ययन, खोज र अनुसन्धानले धेरै फड्को मारिसकेको छ भने कला सिर्जना पनि देश विदेशमा प्रशिद्ध छ । पुनको पहिलो कृति सुनदन्ते कविता संग्रह चर्चित र आलोचित बन्यो । सत्य कुरालाई शिधै साहित्यको रुपमा पस्केर इमान्दारिता दर्शाईएको कृति हो सुनदन्ते । त्यसपछि पनि पुनका धेरै कृति र योगदानहरु रहे तर मेजर पेन्सन खाउली सांगेतिक कोसेली, जुन गीत सम्भवतः नेपाली लोकगीतको दुनियाँमा सर्वाधिक रुचाईएको लोकगीत हो । अझ युकेको कथाबस्तु अटाएको भएर हो की युकेमा कुनैबेला एकछत्र यसको प्रभाव रहयो । यो गीत नबजेको कुनै नेपाली भोजभतेर, समारोह हुन्नथ्यो । र, अहिले पनि उत्तिकै लोकप्रिय छ ।

उनका कथा संग्रह अर्लि भाई पनि छ । यो संग्रह पनि अति नै आलोचित, कसैकसैले विवादित पनि भने र धेरैले चाहि यथार्थवादी कथाहरुको संग्रह हो भनेर माया गरे । पुनका झण्डै एकदर्जन कृतिहरु छन् सबै कृति मैले प्राप्त नगरेको र यो लेखको उद्देश्य सबै कृतिको समिक्षा गर्नु नभएकोले यहा चर्चा गर्न आवश्यक भएन । थोरै कृतिबाट पनि धेरै चर्चा प्राप्त गर्न सफल पुनको सिर्जनालाई मैले चाहि ईतिहासको ठूलो ग्यापलाई थोरै भएपनि पूर्ताल गरिदिएको हिसाबबाट बढि महत्वको रुपमा लिएको छु । अब कसले लेख्न सक्छ सुन्दन्तेको कथा अर्थात हङकङमा गोर्खा सेनाहरुको जवानीको इतिहास? कसैको हिम्मत छ, कसै संग त्यो कला र सिप छ? पक्कै पनि छैन । झण्डै ४ दशक लामो हङकङमा गोर्खालीको इतिहास, तितामिठा पानाहरु सन् १९९७ मा गोर्खालीले हङकङ छोडेपछि अब क्रमशः छोपिन्दै गएको छ । हङकङलाई अनुभवको साक्षी बनाउने पुस्ता अब सिद्धिन्दै गएका छन तसर्थ अब अरु कथा आउने सम्भावना पनि रितिन्दै गएको हो । यस्तो अवस्थामा साहित्यकार पुनले ठूलो आवश्यकतामा सानै भएपनि केही दिनु भएको कुरा मननयोग्य छ । कसैको शक्ति छ अर्ली भाई जस्तो यथार्थपरक विषयमा कथा लेख्ने? साहित्य समयको दर्पण हो भनिन्छ अब पुनहरुले अनुभूत गरेका समयहरु ओझेलिन्दै गएका छन । स्रष्टा सधै राज्यको विरुद्धमा, विकृति र विसंगतिको विरुद्धमा हुनुपर्छ भन्ने मान्यता साहित्यकार पुनले प्रमाणित गरेका छन् । उनी क्रमभङ्गता तोड्न सक्ने विद्रोही स्रष्टा पनि हुन ।

समाजमा थोरै महापुरुषहरु जन्मन्छन । त्यस्तै एक पुरुष पूर्वमन्त्री गोरे बहादुर खपाङ्ीको स्वास्थ्य उपचार गर्नको निम्ति मगर संघ युकेको योगदान कहिल्य बिर्षन सकिन्न । त्यो बखत मगर संघ युकेको नेतृत्व दुत पुन स्वयंले नै गरिराख्नु भएको थियो की लाग्छ । उसो त मगर संघ युकेको भवन खरिद पनि उनकै पालामा भएको हो लाग्छ । अर्को उल्लेख गर्नैपर्ने कुरा करोडौको मगर माष्टर डिग्री तथा विद्यावारिधी अक्षयकोष पनि पुनकै पालमा स्थापना भएको हो झै लाग्छ । त्यसैले मैले यस लेखको उठानमै लेखेको छुः दुत पुन एक भाग्यशाली नाम हो । जो कसैले यस्तो अवसर पाउदैनन । जो कसैले यस्तो सिर्जनशिलता सोच्न सक्दैनन । सोचे र आँटे पनि पूरा गर्न सक्दैन तर यी सबैकुराका एकमुष्ठ उत्तर हो दुत पुन जसको संलग्नता र नेतृत्वमा पुरा भयो ।

अव म साहित्यकार पुनलाई पत्रकार तथा लेखकको लेन्सबाट पर्गेल्न चाहान्छु । युकेमा सबैभन्दा शक्तिशाली संस्थाहरु छन भने जातिय उत्थान संस्थाहरु छन ती मध्येको एक हो मगर संघ युके । यस संघको अध्यक्षको जिम्मेवार सफलतापूर्वक र उपलब्धिमुलक सम्हाली सकेपछि पत्रकारितामा लागेका हुन वा फर्किएका हुन । उनी पहिला पनि पत्रकारिता गर्दथे वा गर्दैनथे त्यो मलाई थाह भएन तर पछिल्लो समय पुनको पत्रकारिता क्षेत्रमा रहेको सक्रियता भने प्रसंसनीय छ । उनकै पालामा युकेको १ नम्वर पत्रिका एभरेष्ट टाईम्स प्रकाशन तथा वितरण भयो, संस्थागत भयो, नाफामा गयो । हुन त पत्रिकामा धेरैजना हुनुहुन्छ सबैको योगदान उत्तिकै छ तथापी पुनको मुख्य सक्रियता रहेको बखत धेरै राम्रो भयो भन्ने एक पाठकको हैसियतबाट भन्न सक्दछु । भनिन्छ समयले नै नेता, नेतृत्व जन्माउछ, त्यसैले पत्रकार पुनलाई समयले पनि अवसर जुराएकै हो भन्ने लाग्छ । अहिले पनि उत्तिकै जुझारु ब्यक्तिहरु पत्रिकाको कर्ममा हुनुहुन्छ, पुन स्वयं पनि हुनुहुन्छ तर कोरोना भाइरस कोभिड १९ को कारण प्रिन्ट भर्सन बन्द छ । पत्रकार पुन समाचार संकलनको लागि कार्यक्रमको कुनाकुना पुगिरहेको अवस्था ख्याल रोचक छैन । फोनबाटै भएपनि समाचार टिप्ने र लेख्ने काम झनै कति उर्जाशिल छ । पछिल्लो समय समसामयिक विषयमा लेखहरु पनि लेख्न शुरु गर्नुभएको छ । लेखहरु राम्रा छन यद्यपी एकेडेमिक लेखहरुको सबैगुण सम्पन्न सामाग्री बनाउनको निम्ति प्राज्ञिक वातावरण चाहिन्छ नै त्यो वातावरण पुनलाई भईदिएको भए झन कस्तो हुन्थ्यो होला ? बेलाबखत पुनकोे सक्रियता र लगनशिलता देखेर लोभ लाग्थ्यो तर यस पटक पुनकै बारेमा लेख्न पाउदा म आफैलाई भाग्यमानी ठानेको छु ।

उनको कपी र कलम अर्थात किबोर्ड र माउस प्रतिको मोह देखेर घरिघरि लाग्छ । स्रष्टा पुनले जति सिर्जना गर्नुभएको छ ति सबै मगर भाषा र अख्खा लिपीमा भईदिएको भए कस्तो हुन्थ्यो होला? खडेरीमा पानी परे जस्तो विशाल मगर र मगरात विरासत निर्माण हुनेथियो सायद । तर, खसजुम्ली भाषा साहित्यमा हुदा सागरमा एकअञ्जुली पानी मिसाए झै अहिले महशुस हुन्छ । जति गर्नुभएको छ हामीले सोचे भन्दा धेरै गर्नुभएको छ । जस्तो गर्नुभएको छ हामीले सोचे भन्दा धेरै उन्नत गर्नु भएको छ ।

पुनको समाज सेवाको पाटो थोरै त माथि नै चर्चा गरिसके यद्यपी पुन युकेको शक्तिशाली जातिय संस्थाहरुको पनि साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेमा पनि संलग्नता जनाउदै विश्व नेपाली साहित्य महासंघको समेत आजीवन सदस्य रही नेपालिय साहित्यमा जारी राख्नु भएको सक्रियता प्रसंसनीय छ । अर्को विर्षनै नहुने पाटो सिर्जना र समाजसेवाको निमित्त घरको वातावरणको पनि मुख्य भूमिका रहेको हुन्छ यसर्थ दुत दाईको मात्र चर्चा र प्रसंसा गर्नु भनेको जमुना भाउजुलाई अन्याय गर्नु ठहर्ला । त्यसैले भाउजुको योगदानलाई पनि ऐजनऐजन बुझन आवश्यक छ ।

अन्तमा, भोको दिमाग, भविश्यको अथाह सम्भावना हो । स्रष्टा पुनको सिक्ने सिकाउने, खोज तथा अनुसन्धानको लागि त्यो दिमाग सधैसधै क्रियाशिल रहिरहोस । अरु धेरै साहित्यिक, सांस्कृतिक तथा नैतिक सम्पतिहरु समाजलाई प्राप्त हुनसकोस । कृतिहरु थपिन्दै जावस । पत्रकारिताको कलम अझ तिखो बन्दै जावस । भोको दिमागलाई उचित बौद्धिक बातावरण प्राप्तहोस । चिम्खोला म्याग्दीले वि.स. २०१८ मा जसरी एक असल नागरिकलाई जन्म दियो, पुनले पनि माता, मातृभूमि अनि आफू जन्मेको हूर्केको, गाँउठाँउ, हावापानी र समाजलाई कहिल्य नबिर्षियुन । समाज र राष्ट्रलाई केही दिन सकु भन्ने पुनका तन र मनलाई भगवानले पनि साथ दिउन शुभ कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *