बन्दुक खेलाएको हातले कलम कसरी चलाऊछन भन्ने थियो हाम्रो पालामा – साहित्यकार राई
साहित्यकार दयाकृष्ण राईको जन्म भोजपुर पौवा दुम्मा गा. बि. स. वार्ड नं ६, साबिकको ठुलोदुम्मा ५ स्थित बि. स. २०२२ सालमा बुवा गंगा प्रसाद राई र आमा सुखमती राईको कोखमा भएको हो । वहाले सन १९८४ देखि प्रवासमा बसेर साहित्यकर्म गरिरहनु भएको छ । साहित्यकार राई हाल ईस्ट मिड्ल्यान्ड कोर्बीमा रहदै आउनु भएको छ । वहाका कविताहरु चोटिलो, रसिलो र दार्शनीक कसिमा लेखिएको पाइन्छन । साहित्यकार राई संग नेपालीलिटरेचरले गरेको लिखित अन्तरवार्ता यहा प्रस्तुत छः
साहित्यकार राई ज्यू साहित्य लेखनमा यहाको मुख्य विधा कुन हो ?
कविता
तपाईको कृति (पुस्तक, एल्बम) हरु कुनकुन र कति सालमा प्रकाशित भए ?
१, लाहुरेको कथा र जापानको ब्यथा (कविता संग्रह) २०६०
२, ईश्वरको मलामी (कविता संग्रह) २०६३
३, सम्झनाको आलिङ्गनमा बाँधिएर (नियात्रा संग्रह) २०६५
४, पागल दर्शनिकका अभिव्यत्तीहरु (संस्मरणात्मक निबन्ध संग्रह) २०६८
५, गन्तब्यहीन यात्रीको सपना (कथा संग्रह) २०७०
६, अश्वेत महाबाणी (कविता संग्रह) २०७९
यहा विदेश रहदै साहित्य लेखन शुरु गर्नु भयो, स्वदेशका लेखकले प्राप्त गर्ने सुविधा र अनुभूति मध्ये कुनकुन कुराको अभाव महशुस भयो ?
सर्बप्रथम त बन्दुक खेलाएको हातले कलम चलाऊछन भन्ने पनि अपत्यारिलो थियो हाम्रो समयसम्म । लाहुरे भनेको सिर्जनात्मक हुँदैनन यीनीहरु रक्सिको भट्टि नै कब्जा गरेर फाँइफुट्टी लगाउने मात्र हुन भन्ने जनधारणा थियो । जब हाम्रो सिर्जनाहरु सार्वजनिक हुन थालेपछि उनिहरुको जिज्ञासा थियो हैन लाहुरेहरु पनि लेख्छन ? के तपाईं लाहुरे नै हो ? ढाट्नु भएको होला ? भन्नेसम्म प्रश्न म सँग गरेको अझै पनि मेरो मानस्पटलमा आलैछ । जब लाहुरेहरुको एकपछि अर्को सिर्जनाहरु सार्वजनिक हुँदै गएपछि फेरी अर्को भ्रम उत्पन्न भयो । जुन भ्रम थियो लाहुरेहरु आफैले लेख्दैनन पैसा दिएर लेखाउछन र आफ्नो नाममा प्रकाशन गर्छन । यो प्रश्नको पनि म स्वयमले सामना गरेकोछु । सन २००४ तिर डब्बु क्षेत्रीजीले मलाई पत्रिकाको लागि अन्तरबार्तामा बोलाएर त्यही प्रश्न सोधेका थिए । कतिपयले पैसा तिरेर लेखाएका छैनन भन्न सक्दिन, होलान त्यस्ता पनि तर म चाँही आफै कनीकुथी लेख्छु भन्ने प्रत्युत्तर दिएको थिएँ । यस्तो भ्रमहरु बिस्तारै चिरिदै गइरहेको अवस्था त छ तर अझै पनि स्वदेशी लेखक भनाउँदाहरु त्यसमा पनि मूलधारका हुँ भन्नेहरुले आफुलाई विश्व विख्यात नै ठान्छन र अरुको लेखनलाई कमसल सोंच्ने गर्छन् र यस्तो बबण्डर भित्र सेवा सुबिधाकोबारे त कल्पना नै नगरे हुन्छ । तर म ठोकुवाका साथ भन्न सक्छु लाहुरेहरुको सिर्जनाहरुले नेपाली साहित्यमा अब्बल स्थान ओगटेकोछ ।
विदेशमा बसेर साहित्य लेख्नेलाई सहि मूल्याङ्कनको सट्टामा दयाको भिख स्वरुप चर्चा गरिदिने संस्कार अझै पाउनु हुन्छ ?
मैले माथिको उत्तरमा पनि उल्लेख गरिसकेकोछु । चर्चा गर्नु भन्दा पनि कसरी हुन्छ वेवास्ता गर्नुमा नै उचित ठान्छन यदी चर्चा गर्यो भने त दुर्बल पक्षमात्र हुँदैनन सबल पक्षपनि केलाउनु पर्ने हुन्छ । तुल्नामक रुपमा हेर्ने हो भने अहिलेका स्वघोषित विख्यात लेखकहरुको हामीले हेरेका छौं पढेकाछौं । उनिहरु कतिको अब्बल लेखक हुन भन्ने हामी पनि जानकार नै छौं । त्यही भएर हाम्रो सिर्जनाहरुलाई दयाको भिख स्वरुप पनि चर्चा नगर्नु मै बेश ठान्छन । कथंकदाचित कसैले मुल्याङ्कन वा चर्चा गरिहालेमा पनि कसरी हुन्छ परोक्ष रुपमा अवमुल्यनका लागि वेवास्ता गर्ने र यदी प्रसङ्गबस चर्चा गर्नै पर्यो भने मनगढन्टे आफ्नै ढ्याङ्रो ठट्टाउछन र तल्लोस्तरमा खसाउन तल्लिन रहन्छन ।
बहूराष्ट्रिय राज्यमा नेपाली भाषा साहित्य स्वयंले अप्रत्येक्ष शोषण तथा औपनिवेशिकता लादेको महशुस कतै हुन्छ ?
हामीले प्रत्यक्ष देखेकाछौं र भोगेका छौं भारत बाहेक अन्य देशहरुमा नेपाली भाषा र साहित्यको स्थान शुन्य देखिन्छ । शोषण नै भन्नु भन्दा पनि वाध्यत्मक रुपमा हामी जुन ठाउँमा बस्छौं त्यहाँकै भाषा संस्कृतिमा लादिएकाछौं । यदी हामी स्थापित भएर हाम्रो भाषा, साहित्य र संस्कृतिको बारे आवाज उठाउन सक्यौं भने प्रजातान्त्रिक देशहरुमा अधिकार प्राप्त गर्न सकिन्छ भन्ने लाग्छ ।
नेपाली साहित्यको सबैभन्दा सुन्दर पक्ष ?
मलाई लाग्छ सुन्दर पक्ष केलाई रहनु भन्दा पनि आफुले नेपाली साहित्यलाई कसरी सुन्दर सिर्जना दिनसक्छु भन्नेबारे ध्यान केन्द्रित हुनु आवश्यकछ जस्तो लाग्छ ।
नेपाली साहित्यको सबैभन्दा कुरुप पक्ष ?
कुरुप नै त नभनी हालौं तर नेपाली साहित्यले पुरातन सोंचबाट जकडिएको जडसूत्रबादी चिन्तनहरुबाट छुटकारा पाउनुपर्छ । यदी कुनै पनि व्यक्तीले कुनै नयाँ संरचना अथवा नयाँ कुरा नेपाली साहित्यमा पस्किन खोज्यो भने त्यसलाई पुरातन नजरले हेरर असाहित्य सावित गर्न खोज्छन र पुरानै संरचनागत शूत्रहरु लागु हुनुपर्ने बताइरहेका हुन्छन । मलाई लाग्छ साहित्यमा कुनै नयाँ प्रयोगहरु आए भने त्यसलाई नूतन सोंचका साथै नयाँ दृष्टिकोणले नियाल्ने गरौं । यसलाई खराब पक्ष नै भनेर खुट्ट्याउन चाहन्न मात्र यत्ती हो पुरातन सोंचबाट माथी उठेर नेपाली साहित्यको श्रीबृद्धीमा जुटनु अहिलेको समयको माग हो ।
तपाई सक्नुहुनेभए नेपाली साहित्य वा नेपाली भाषा साहित्यमा के योगदान गर्न चाहानु हुन्छ ?
नेपाली साहित्यलाई कायापलट नै गर्छु भन्ने छैन तर पाठकहरुलाई नयाँ स्वादका लागि विभिन्न बिधामा नयाँ संरचनागत स्वादहरु पस्किन सक्छु कि भन्ने दुष्प्रयासमा लागेकोछु । पाठकहरुले एउटै संरचनाको साहित्य पढ्दा-पढ्दा अमन भइसकेको अवस्थाछ । तपाईं हामी दैनिक घरमा पकाएको दाल भात तरकारी खाँदा-खाँदा चाइनिज रेष्टुराँमा खाए जस्तो होस ।
तपाईको आगामी योजना तथा प्रकाशोन्मुख कृतिहरु?
१, गीती संग्रह
२, कथा संग्रह