र लेख्यौ मेरै रगतले मेरो नाम ‘लाजेहाङ’ – शशि थापा सुब्बा

मेरो पूर्खाले अर्जेको लाजे भित्र
मैले भूगोल हैन मेरो बाजेको
सम्झना मात्र मागेको थिएँ !

मेरो पुर्ख्यौली पसिनाको
अलिकती बासना मात्र खोजेको थिएँ !
तिमीले बिरासत सम्झेको मेरो लाजे,(देश)

र तिम्रै शिरमाथी ढल्किएको मेरो हाङ (राजा)
जसरी म सम्म आई पुग्दा मेरो नाममा सिमित पारेर
सन्तुष्ट थिए मेरो बाबा !
त्यसरी नै समग्र देशको माया
र एकता बचाई राख्न,
परिचय मात्र खोजेको थिएँ ।

त्यो नेपाली कागजमा तिम्रो काईते अक्षरले
पहिचान मात्र खुलाई देउ भनेको हुँ !
सभ्यता मात्र जोगाई देउ भनेको हुँ !
म पनि नेपाल भित्रै रमाउछु सोचेकै हुँ !

म पनि नेपाली नै हुँ भनेकै हुँ!
गल्ती गर्यौ ! हो ठूलो गल्ती गर्यौ
र लेख्यौ, मेरो माटोमा,
मेरै रगतले, मेरो नाम
“लाजेहाङ !”

(पहिचानको लड़ाईमा सहादत प्राप्त गर्नु भएको अमर सहिद प्रिय भाई पदम लाजेहाङ प्रति भावपूर्ण श्रद्धांजली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *