खाट्टी पहिचानवादी नेता : शुभ चन्द्र राई
पुङ न पुछरको ओजे (ओभर जान्ने) एउटा पहिचानवादी नेताको कथा कहानी यस्तो थियो ।
उनलाई भएभरको पद चाहिन्थ्यो । उनी बुझेर या नबुझेर, जान पर्ने या नजान पर्ने प्राय: सबै कार्यक्रम मा पुग्ने गर्दथे, भनौ सारै फुर्सदिला थिए । उनी आफूभन्दा खाट्टी पहिचानवादी र आफूभन्दा राजनीति जान्ने कसैलाई ठान्दैन र मान्दैनथे । कार्यक्रमहरुमा झगडा गरेर पनि उनलाई बोल्नै पर्थ्यो । उनको भाषण भने फेद न टुप्पोको हुन्थे, सारै धेरै ईतिहास पढेझै खाली उनी फलना तिलना देशमा यस्तो भयो, फलना नेताले यसो गरे भनेर उदाहरण दिन्थे तर खासमा अरुले भनेका सुनेको भरमा बोल्थे ।
सहीद दिवसको अवसरमा आयोजित एउटा कार्यक्रममा बोल्दा बोल्दै उनले शहीदहरुको यो श्रद्धाञ्जली सभामा उपस्थित सबैलाई हार्दिक श्रद्धाञ्जली र समावेदना प्रकट गर्दछु भनेर बोली पठाए.. यो सुनेर सभामा उपस्थित समुदायले उनलाई झण्डै भकुरे । आयोजकहरुले बलैले बचाए ।
पहिचानवादी नेता भएकोले नेल्सन मण्डेलाको नाम खुब रटेका थिए, उनको सबै भाषणमा प्रसङग मिलोस् नमिलोस् नेल्सन मण्डेलाको नाम आईहाल्थे । उनले आफ्नो भाषणमा बाहुन क्षेत्रीलाई गर्नु गाली गर्थे, उनीहरुको लादी काड्थे । पहिचान भनेको जातको बिरोध गर्नु होईन बादको बिरोध गर्नु हो भनेर जति सम्झाए पनि उनको घैटोमा कहिल्यै घाम लाग्दैथ्यो ।
एकपल्ट एकजना युटुबे पत्रकार उनको अन्तरवार्ता लिन पुगे प्रश्न उत्तर यस्तो थियो
युटुबे पत्रकार : हजुर खाट्टी पहिचान वादी हुनुहुन्छ, यो पहिचान भनेकै खासमा के हो ?
पहिचानवादी नेता : यो पहिचान भनेको पहिचान नै हो, जस्तो म सुनबहादुर हुँ।
पत्रकार : तपाईं जनजाति कि आदिबासी ?
नेता : म जनजाति हैन खासमा जनजाति त बाहुनक्षेत्री हुन् । म आदीबासी पनि हैन म त पूरा बासी हो, यै माटोमा उम्रेको पक्का खाट्टी मुलबासी हो ।
पत्रकार : खासमा तपाईहरुलाई पहिचान सहितको कस्तो राज्य चाहिएको हो ?
नेता : हामी यो देशको मुलबासीहरुको राज्य बाहुनक्षेत्रीहरुको सरदार खुनी पृथ्वी नारायण शाहले लुटेको छ त्यो फिर्ता हुनुपर्छ, गाईगोरु खानु पाउनु पर्छ, हामीलाई आत्मनिर्णयको अधिकार सहितको राज्य चाहिन्छ यो नपाए सम्म हाम्रो आन्दोलन सकिँदैन् जय पहिचान ।(फेद न टुप्पोको उत्तर दियो नेताले)
पत्रकार : (नेताको जवाफले हैरान हुँदै) यो आत्मनिर्णयको अधिकार भनेको चै कस्तो अधिकार हो नेता ज्यू ?
नेता : (दुईटै हात छातीमा राखेर, आँखा चिम्लेर, लामो श्वस र स्वर तानेर) यो आत्मनिर्णयको अधिकार भनेको चै भित्र…..आत्मै देखि पाउने अधिकार हो ।
पहिचानबादी नेताको यो उत्तर सुनेर युटुबे पत्रकार हत्तरपतर आफ्नो सामासरजाम पोका पारी टाप कसे । जय पहिचान ।