युद्दबाट फर्केपछि – विजय हितान

फेब्रुअरी महिनाको चिसोचिसो मौसम । दिनको अपरान्ह । धरमशाला क्यान्टोनमेन्ट । मेरा थकित पाइलाहरु त्यहीं परेड ग्राउन्डमा प्रवेश गरे जहाँबाट ती ११ अगस्त १९१४ का दिन चुपचाप युद्धभूमितिर प्रस्थान गरेका थिए । यसरी बम वर्षाबाट पनि बचेर सकुशल फर्कन सफल भएकोमा म आफैलाई बधाइ दिएँ, ‘धन्य छस् मित्रसेन ! यो धर्तिमाथि उभिन अझै बाँकी रहेछ तेरो दिन ।’

सँगै गएका प्राय हितैषी मित्रहरू धर्तिमा विलिन भइसकेका थिए । युद्ध यस्तो चिज रहेछ, जसले जिवित आत्मालाई पनि निष्कृय सरह बनाइदिदो रहेछ । साथीहरूको शोकमा मेरो आँखा रसिलो पनि थिएन; आफू जिवित रहन सकेकोमा आत्मा रसिलो पनि थिएन । सायद म आधा ज्यूँदो र आधा मरेको थिएँ ।
अग्लो झारैझारले ढाकिएको थियो ग्राउन्ड । परेड खेल्ने ती सबै बुटहरु जर्मनलाई रोक्न युरोपतिर लागेपछि ग्राउन्डमा झार नउम्रने कुरै भएन । हामी नभएकोमा झारहरूले खुशी मनाएका हुन् या पखाइमा फुलेर बसेका हुन् । तत्काल हेर्दा चाहिँ प्रकृतिले हाम्रो स्वागतार्थ हिउँद र वर्षातबाट जोगाउँदै, हरियो कार्पेट भुइँभरी बिछ्याइएको जस्तो देखिन्थ्यो ।

मुख्य द्वारनिर २ र १ गोर्खा रेजिमेन्टल ब्यान्डको मधुर धुनले हामीलाई स्वागत गरियो । स्वागतम लेखिएको रातो तुल झुन्ड्याइएको थियो ।
ग्राउन्डको मध्यभागतिर मार्च गर्दै जाँदा, झारले रातभर आफुमाथि झरेका सितका थोपा मेरा धुलाम्य बुटभरि झारिदियो । खिईसकेका बुटमाथि मेरा एक नजर परे । सिकारु आर्टिसले कोर्दै गरेको पोट्रेट जस्तै लतपत देखियो । गोर्खा ह्याट खोल्दै अनिद्राले चिम्सिएका मेरा आँखा माथि छितिजमा घुमाएँ । सेताम्मे हिउँको खाष्टो ओढेर धौलाधर हिमाल यतिका वर्षसम्म मलाई नै पर्खिबसेको रहेछ । अनायास ओंठबाट मुस्कान फुस्कियो । हिमाल पनि बाजस्तै लागेर श्रद्धाले शिर निहुराएँ ।

चौरभरि हाम्रै परिवारजनको बाक्लो हुल थियो । नौलो फौजी बर्दिमा सजिएका केही सिपाहीहरु पनि थिए । तिनीहरु श्री ३ चन्द्र शमशेरले हाम्रो ब्यारेक रेखादेखका लागि नेपालबाट खटाइदिएका पुराना गोरख गणका सैनिक रहेछन् ।

कसैको हातमा फूलमाला त कसैका हातमा फूलका गुछ्छा थिए ।
मेरो प्लाटुनको लाइनमा रुकश्याक, पोचेस र बन्दुक राखेर भिडतिर आँखा डुलाएँ । अलिपर कुनामा चारजनामा मेरा नजरमा परे, आमा, कलावती, लुरी छोरी र काकु छोरा । तिनीहरु कसैको हातमा फुलको माला थिएन । मन खिन्न भयो । सबैका हातमा फुलको झुप्पा देख्दा मलाई पनि मेरो परिवारद्वारा फूलमालाले स्वागत गरिन्छ भन्ने लागेको थियो । मनमनै सोंचे कि, म मरिसके भन्ने ठानेछन् क्यारे !

हो, मर्न पनि सक्थें । फेस्तुबर्त अपरेशनमा १/१ गोर्खा राइफलसँग एक सिग्नलरको रुपमा खटिएको थिएँ त्यो बेला । ९ मे १९१५ का दिन हामीलाई फ्रन्टलाइनमा लड्न पठाइयो । दाइने फ्लेङ्कमा १/४ गोर्खा, बिचमा हामी १/१ गोर्खा, देब्रे फ्लेङ्कमा फष्ट हाइलेन्ड इनफेन्ट्री । फोर्थ किङ्स पिछाडी सपोर्टमा र १५ औ सिख रिजर्भको रोलमा । राति १ बजे जर्मन डिफेन्समा धावा बोल्ने एच आवर । आक्रमण पश्चात माथिबाट पिछाडी हट्ने हुकुम आयो । तर ए र बि कम्पनी हामीबाट टुक्रिएर अलि अगाडि बढिसकेको रहेछ क्या हो कुन्नी ? उनीहरु पछाडि आएनन् । अनि म र एकजना मेरै सिग्नलर नम्बरीलाई तुरुन्तै ‘पछाडि हट्नू’ भन्ने सूचना लगेर अगाडि जान खटाइयो । हामी साइकलमा गयौं र पछाडि हट्ने सूचना दिएर फर्कियौं । बाटोमा दुश्मनले बम्बार्डमेन्ट गरयो । म बेहोस् भएँछु । एकैचोटी पछाडिको फिल्ड मेडिकल पोस्टमा पो कतिदिन पश्चात होसमा आएँ । त्यहाँ उपचार हुन नसकेर इङ्लेन्डको ब्राइटन भन्ने स्थानमा लगिएको थियो । तर धर्तिमा बाँच्ने दिन बाँकी नै रहेछ ।

कोशौं टाढा घाइते भएको समाचार अपभ्रंश हुँदै घरसम्म पुग्दा अर्कै भएको पनि त हुनसक्छ । मनमा अनेकौं तर्कना खेलाउँदै अर्धमृत म उनीहरू समिप पुगेँ ।
आमालाई ढोगें । मेरो हात समाएर बेस्सरी रुन थाल्नु भयो । सम्झाएँ, ‘मोई ! किन रोएकौ ? सपना होइन त । ईः बिपनै हो ।’ भन्दै उनको हातमा चिमोटें । आमा रुँदै नै हाँस्नु भयो । छोराछोरीलाई अँगालो हालें, ती बिरानो मानेर अररो परे । कलावतिसँग गला मिलाएँ, तर उनले निमेषभरमा मलाई कम्मरमुनिको सबै भागमा चिमोटेर भ्याइन् । कमिलाले टोकेजसरी तर्सिदै भनें, ‘ऐयाया..के गरेकी यस्तो ?’
उनी मेरो छातिमा टाँस्सिएर रुदै बोलिन्, ‘धन्य भगवान ! मेरो श्रीमानलाई जस्ताको तस्तै फर्काइदिएछौ ।’

म युद्धमा अपाङ्ग भएर कतै नक्कली गोडा पो हालेर आ’छु कि भन्ने शंका लागेको रहेछ उनलाई । हुन पनि हृष्टपुष्ट ज्यान युद्धले खाएर अस्थिपञ्जर मात्रै फर्किएका थियौं, सबै नै ।

समयको दुरीले मान्छेलाई मात्र होइन; मान्छेका स्वभावलाई पनि कति फरक बनाइदिदो रहेछ । कहाँकहाँ पुयाइदिदो रहेछ । डेड वर्षे र तीनवर्षे छोराछोरीलाई छाडेर हिडेको म चारवर्षपछि बुवा हुँ भनेर विश्वास दिलाउन मुश्किल परिरहेको थियो । सायद तिनले बुवा भन्ने सम्बन्धलाई पनि काका/मामा भनेजस्तैगरी मलाई बुवा स्वीकारे हुन् । श्रीमतिले मेरो शरीरमाथि नै शंका गरिन् ।
कालको मुखबाट फुत्केर आउँदा पनि मेरो लागि फूलमाला नल्याईकोमा चित्त दुखिरहेकै थियो । भरै निदाउनु अघि कलावतिसँग बेस्मारी गुनासो नगरी छाड्दिनँ भनेर मन बाँधिरहें ।

बुवालाई भने त्यो भिडमा देखिनँ । ‘खै त बोई ?’ भनेर आमालाई सोध्न पनि भ्याइनँ । अड्कल काटेँ, क्यान्टिनमा बस्ने मान्छे भएन होला । भरे घरमा भेट भईहाल्छ त । चित्त बुझाएँ । घाम डाँडामाथि बस्न जाँदैथ्यो ।

हामी भेटिनेहरूले खुशी साट्न मिल्ने अवशर पनि कहाँ हुनु र त्यहाँ ? वातावरण कोलाहल र क्रन्दनयुक्त थियो । धेरैले आफ्नो श्रीमान, आफ्नो छोरा, आफ्नो दाइ, आफ्नो भाइ, आफ्नो बुवा कमान्डेन्टसँग मागेर चिच्याइरहे । अफसोच ! ती फर्कि आउनुपर्नेहरू आफ्नालाई छोडेर कहिल्यै नफर्किने बाटो लागिसकेका थिए । दृष्यमा फूलहरूसँगै पर्खाइमा बसेका मुटुहरू पनि उनिएर आफ्ना नहुनुको पिडामा आँसुसँगै किचिमिची भइरहे । हातभरिका फूलका माला आफ्नाको गलामा पहिरिन नपाई माटोमा खस्यो । फूलका गुछ्छाहरू आफ्नाकोे शिरमा सिउरी नपाउँदै ओलिएर परेड ग्राउन्डभरी छरिए । आखिर, ती फूलमाला लाउनुपर्नेहरू पनि माटामै त मिलिसकेका थिए । हुनसक्छ, उनीहरूका आत्मा मात्र ग्राउण्डमा उसैगरी बफादारीपूर्वक परेड खेल्न तयार थिए ।
कतिले सोध्दै थिए, ‘बम्बैदेखि अर्को रेलमा अरु आउन बाँकी छ होइन त ? हाम्रो दाइ त्यसमा आउँदै होलान् ।’

‘छैनन्, आउन बाँकी अरु कोही छैनन् ।’ मेरो आँखाबाट बगेका आँसुले भनिरहेको थियो । त्यो समूह नै हाम्रो पल्टनको पहिलो र अन्तिम समूह थियो । युद्धमा जाँदा पो हामीहरु एक पूर्ण पल्टन थियौं । भीर माहुरीको चाकाजस्तो । अरिङ्गालको गोलाजस्तो । फर्कदा त काँचको प्लेट फुटेजसरी टुक्राटुक्रा थियौं । धेरै मासिएर एक तिहाइ मात्रै हामीहरु कोही अपाङ्ग त कोही सवलाङ्ग घर फर्कन सफल भएका थियौं । पल्टनका कमान्डेन्ट र सुबेदार मेजर साहेबले ती दुखित परिवारजनलाई सम्झाइ बुझाइ गर्न भरमग्दुर प्रयास गरिरहेका थिए । तर मान्नेवाला÷विश्वास गर्नेवाला कोही थिएनन् ।

स्वागत कार्यक्रम समाप्त भयो । मैले परिवारलाई तोतारानी लाइनतिर पठाइदिएँ । हामीहरु ब्यारेकतिर लाग्यौं सरसामग्री बुझाउन । चरनबाट फर्र्काएको बाख्राहरुलाई साँझ खोर हुलेजस्तै बन्दुकलाई कोतमा राखियो । अन्य सामान क्वाटरमास्टरको स्टोरमा फिर्ता गरियो । स्टोरबाट फर्किदै गर्दा मनमा बोलें, ‘आभारी छु प्रिय बन्दुक ! पाँच वर्षसम्म तिम्रो सुरक्षित साथको लागि । माफ गरे बन्दुक ! बिदा देऊ सदाका लागि । अब तिम्रो स्थान मेरी कलावतिले लिंदैछिन् । र मलाई आशा छ, अब कलावतिले नै मेरो जीवनका बाँकी फ्ल्यान्डअर फिल्डहरु र मेसोपोटामियाहरुको जीवनयात्रामा साथ दिनेछिन् ।’
रातिको ११ बज्यो । घरतिर उकालो लागें । चारवर्षको त्रासजन्य जीवन बिताएर जन्मभूमि पुग्दा त आमाको काखमा निष्फिक्री खेल्न पाएजस्तै आनन्द आयो । निद्रामा हाँसेको बालकजस्तो एक्लै मुस्कुराउँदै मधुरो जुनेली रातमा पाइला चालिरहें ।

कलावती भोजनको लागि पर्खि बसेकी रहिछन् । हात धोएर खान बसें । हात चुठेपछि दिसेम्बर १९१५ मा माल्टामा किनिदिएको इटालियन मजेत्रो आमालाई दिएँ । एकवर्ष युद्द पश्चात युरोपबाट हामीहरु फर्कदै थियौं । त्यतिबेला सिधै घर आउन पाएको भए आमाले उक्त मजेत्रोलाई लगाएर पनि फाटिसकेको हुन्थ्यो । तर इन्डिया फर्कनुको सट्टा मेसोपोटामिया युद्द मोर्चातिर हामीलाई मोडियो । ओटोमन अंपायरले मध्यपूर्वमा आफ्नो उपनिवेश बिस्तार गर्दै थियो । त्यसै शिलशिलामा टर्किस फौजले हाम्रो ११,८०० जवानलाई कुत भन्ने टिग्रिस नदी किनारको स्थानमा घेराबन्दी पारेकोे रहेछ । तिनीहरुलाई उद्दार गर्न हाम्रो पल्टनलाई खटाइयो । मलाई १/१ गोर्खाको एउटा सेक्सनको सेक्सनकमान्डरको जिम्मेवारि सुम्पिईयो । त्यो सन १९१७ साल थियो । टिग्रिस नदी पार गरेर कुतमाथि हमला गरी हाम्रा साथीहरुलाई टर्किस फौजको पञ्जाबाट फुत्काएर दुश्मनलाई धपाउँदै बगदाद कटायौं ।

युद्ध गर्नुमा जति दुःख छ जित्दाखेरिको हौसला, उत्साह र आनन्द सायदै अरु कतै भेटिन्छन् । दुर्भाग्य, त्यो चरम अनुभूति महशुस गर्न नपाई म सिकिस्त बिमारी परें । अनि इलाज गराउन बासरा क्याम्प फर्केको थिएँ ।

मजेत्रोको गन्घमा आमाले नाक खुम्च्याउनु भयो । तीन वर्षसम्म मेरो किट्ब्यागभित्र गुम्सेर बसको त्यो मजेत्रो, मरुभूमिको आद्रतामा सिन्की खाँदिएर पनि रङ भने फेरिएको थिएन । मेड इन इटालियन न थियो ।

छोराछोरीलाई बम्बैमा किनिदिएको खेलौना उनेरक सिरानीमा राखिदिएँ, जो खेलौनाका आशसँगै निदाएका थिए । लुरिलाई भातुकाली (भान्डा कुटी)को सेट र पेन्सील कापीहरू । जो पढाइको अलावा खेल्दाखेल्दै पकाउन पनि सिक्ने छे र ठुली भएर आफ्नो जहानलाई मिठोमिठो पकाएर खुलाउन सक्छे भन्ने आशामा । काकुको लागि एउटा स्लेटको पाटी र चकहरु अनि केही थान रमाइला चित्रहरू पनि । मेरो इच्छा थियो, उसले बुवा हजुरबाको लाहुरे जीवनभन्दा अर्को कलात्मक बाटो रोजोस् । बुवालाई कहीँकतै देखिनँ । सोध्छु भन्दाभन्दै भुलिहाल्थें । त्यही त हो नी, हामी पुरुष आफै बुवा भइसक्दा पनि आमाको मात्र यादमा रुमल्लिई बस्छौं, त्यसमाथि श्रीमतीको माया डब्लिएपछि लटपटिगइँदो रहेछ । फेरि पनि नसोधेर मनमनमा सोचें, ‘अबेर भइसक्यो, बिस्तारामा गइसक्नु भयो होला, झुल्के घामसँगै बुवाको दर्शन गर्ने छु ।’

उहाँको लागि पित्तलको एक कलात्मक हुक्का बम्बैमा नै किनेर ल्याएको थिएँ । एकचोटि शिरपुछार मुसारेर भान्सा कुनामा राखें । कलावतिले भान्साको धन्दा गरिञ्जेल उनैलाई रुँगेर बसें । जाबो चारै वर्ष त हो, यति छोटो समयमै कलावतिलाई कति साह्रै ओइलिसकिछन् । मन खिन्न भयो । मैले खेल्नै नपाई उनको उर्लदो जोवन बगि गएकोमा आफूलाई धिक्कारें । फूलजस्ती श्रीमतिलाई बहुपासमा लिने समयमा बमगोला लिएर बिताएका वर्षहरूलाई मनभरि सरापें ।

उनले धन्दा सिध्याइन् । कोठातिर सुत्न लाग्यौं । कलावतिको लागि मार्शेमा किनिदिएको सेतो रङ्गको गोलो दानाहरुले जडित मुगाको माला थियो । उनको गलामा पहिराई दिएँ । लाल्टेनको मधुर प्रकाशमा सुन्दर देखिईन् । मलाई हेरेर मुसुक्क मुस्कुराईन् । मैले बाहुमा उनको कोमल शरीरलाई च्यापें । फ्लान्डर फिल्डको हिलाम्य गन्धले मेरो नाखको चेतना मरेको रहेनछ उनको वासनायुक्त ओँठको चाल पाइहाल्यो । मेशिनगनका कडा इन्जिनहरू बटार्ने मेरा हत्केलाहरुले उनको सुकोमल कपाल स्पर्श गर्न भुलेको रहेनछ । समुन्द्रिक पानीको वाफले अर्धमृत मेरा ओँठहरु उनका मायालु ओंठ चुम्न पुग्दा मात चढ्नुको सट्टा दुःखको बलिन्द्र धारा बगे । मानौं, एक निर्दोष नागिरिकले बिना कसुर चारवर्ष जेल सजाय भोगेर भरखर रिहाइ भएको छ ।
उनले मोतिको माला मुसारेर मौन बसिन् । मैले पनि मनमनै भनें, ‘लाहुर गएको भए पो सन्दुकभरि ल्याइदिन्थे जुहारत । म त परे युद्दबाट फर्केको योद्धा ।’

हामी बिच निकैबेर मौनता छाइरह्यो ।
बमको धुँवाले लत्पतिएका मेरा अनुहार उनले मुसारिन् । मनमनै भनिन् होला, ‘धन्न, एउटा आँखा नभएको अनुहार लिएर आउनु भएन । धन्न, ब्यानेटले घोचिएको छाती लिएर आउनु भएन । धन्न, ग्रिनेडले उडाइदिएको एउटा मात्रै हात लिएर आउनु भएन । धन्न, माइनले पट्काइदिएको एउटा मात्रै खुट्टा लिएर आउनु भएन । जे लिएर, जे बोकेर फर्किनु भएको छ स्वामी, त्यो नै मेरो लागि काफी छ ।’

उनका स्पर्श मेरो अनुहारदेखि कम्मरतिर सयो । उनलाई बाहुपासमा मात्र कसेर मेरो धित मरेन । फेरिरहेको स्वास पनि एकछिन कतै सारेर उनैलाई मुटुमा राखौं भैंm लाग्यो । बहुपास झन्झन् कसिलो बन्दै गयो । सायद उनको हृदयमा पनि माया बस्न दुःख उक्किदै गएको पिडा थियो । मेरो छातिमा आँखा लुकाएर सुकसुकाइ रहिन् ।

लामो समयसम्म सहयोद्धासँग सहवास गरेको मेरो शरिरले त्यो बखत् विपरितलिङ्गीसँगको सहवासमा पटक–पटक शंका गरिरहेको थियो । मन र मस्तिष्कलाई विश्वास दिलाउन गाह्रो परिरहेको थियो । ओछ्यानलाई पनि ‘रणमैदान पो हो कि ?’ तकियालाई पनि ‘बन्दुक पो हो कि ?’ श्रीमतीलाई पनि ‘बमबारुदको भारी पो हो कि?’ भनी पटक–पटक तर्सिदै आँखा खुल्ला गरेको थिएँ । यसो भनौं, मैले आँखा बन्द गरेर कुनै पनि स्पर्शको आनन्द लिन सकिरहेको थिइनँ ।

घरदेशको पहिलो बिहानीले उठायो । उठ्नासाथै फ्रान्स र मेसोपोटामियामा झैं नाङ्गो सराक देख्न परेन । देखियो त खरले छाएको आफ्नै घरको ओतिलो छानो ।

आमा पनि बाहिर निस्कनु भयो, एक्लै ।
‘खै त बोइ ? अझै बिस्तारामै हो कि क्या हो ?’ भन्दै ओछ्यानतिर चिहाएँ । देखिनँ । ‘ट्वाइलेट जानुभयो क्यारे’ सोचें । ‘बोइको लागि विदेशको चिनो हुक्क ल्याईदिएको थिएँ ।’ भनेर हुक्का ल्याएर आमालाई दिएँ ।

आमा त एक्कासी मलाई अँगालो हालेर हिकहिकाउँदै रुन लाग्नु भयो । म असमञ्जसमा परें । ‘आमा कतै सपनामै त हुनुहुन्न ?’ जस्तो लाग्यो । झकझकाउँदै सोधें, ‘मोई ! के भो ? सञ्च छैन कि के भो ?’

‘तेरो बोई हुनुहुन्न । हामीलाई छाडेर परलोक जानुभो ।’
आमा जे बोल्नु भयो, त्यो मलाई पत्याउन कठिन भयो । ग्रिनेट टाउकोमा खसेजस्तो दुख्यो । रिङ्गटा लाग्यो । थाप्लामाथि पहाड खस्यो । छोरासँग भर लाग्न आउनु भएको आमालाई मैले पनि सहारा दिन सकिनँ । हामी भुईमा लावारिस थुप्रियौं ।
हुँक्का मेरो हातबाट दलानमा खस्यो । गुल्टिदै पेटिबाट खत्रङ्ग कतै खस्यो ।

म मेसोपोटामियाको कुत आक्रमण तयारीमा जुटिरहेको बेला घरमा बुवाको निधन भएको रहेछ । युद्धमा जानेबेला आत्माबाट डर मर्छ, र दुश्मनको तस्वीर दिमागमा घुम्न थाल्छ । आँखामा गिज्याउँछ दुश्मनको नामले र शरिरभरि आक्रोश भरिन थाल्छ ।

तर कुत आक्रमणको बेला मलाई एकदम डर लागेको थियो । जति दुश्मनको वितण्डा सोच्दा पनि मनमा आक्रोस पलाउन सकेको थिएन । आफूलाई ज्यादै निरिह लागेको सायद त्यो पहिलो पल्ट थियो । त्यही बेला मलाई बुवाले छोड्नु भएको रहेछ ।

त्यसपछि दिवङ्गत बुवाको ठाडो कृया बसें तीन दिन । लाग्यो, बमको छर्राले उडाउन नसकेको थाप्लो बुवाको शोक थाप्न बचेको रहेछ ।
आमा झिनो शरीर लिएर यताउता गरिरहनु हुन्थ्यो । खै थाहा भएन, एक आमालाई छोरा गुमाउँदा बढी पिडा हुन्छ कि लोग्ने गुमाउदा ? तर आमाको सुक्दै गएको जिउ र अनुहारमा चिन्ताको पहाड देख्दा मलाई लाग्यो बरु बुवा बाँचेर म मरेको भए अलिक वेश हुने थियो ।
हो, विश्व युद्धभरि मैले जोगाएर राखेको आँसु घर फर्केको दिन बहाउनु परयो ।

यस युद्धले मेरो बुवाजस्तै हजारौं अन्य बुवाहरुलाई खाएको छ । युद्धले मेरी आमालाई जस्तै हजारौ अन्य आमाहरुलाई रुवाएको छ । युद्धले हजारौं श्रीमतीहरुको सिन्दुर उजाडेको छ । युद्धले हजारौ सन्तानलाई टुहुरो बनाएको छ । हो, यो पहिलो विश्व युद्ध मानव सभ्यताकै सबैभन्दा निष्पट अँध्यारो समय भएर बितेको छ ।

समाप्त
८ फेब्रुअरी १९१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *