लेखक कसरी बन्ने ? – कृष्ण आचार्य
लेखक कसरी बन्ने, कसरी लेख्ने, मलाई उपन्यास लेख्न मन छ के गर्ने, लेख्दा के–कस्ता कुरामा ध्यान दिने ? हरेक लेखकले सामना गर्नुपर्ने प्रश्न हुन् यी । पछिल्लो समय लेखन र पठन संस्कृतिको विकास भइरहेको छ । लेखेर पनि नाम–दाम कमाउने वातावरण बनेको छ । लेख्न रुचि हुनुहरु खुलेरै ‘अब म लेखक बन्छु’ भन्न सक्ने अवस्था छ । तर, कसरी ? कुरा यहीँ आएर अड्किन्छ । त्यसैले लेखक बन्न चाहनेहरूका लागि यहाँ केही जानकारी दिइएको छ ।
लेख्नुअघि बुझ्नुपर्ने कुरा
१. तपाईँ साँच्ची लेखक नै बन्न चाहनुहुन्छ ? यो तपाईँको अन्तरआत्माको बोली हो वा कसैबाट प्रभावित भएर रहर मात्र गर्नुभएको हो ? पहिले यो कुरामा क्लियर हुनुस् । किनकि रहरले लेखक बन्न गाह्रो छ, प्यासन नै हुनुपर्छ ।
२. लेखकको काम समाज, सामाजिक परिवेश, जीवन, दर्शन, व्यक्ति–विशेष, घटनाक्रम आदिलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने, पाठकलाई सन्देश, मनोरञ्जन प्रदान गर्ने हो । अर्थात्, आख्यान र गैरआख्यानमा तपाईँको रुचि कुन विद्यामा बढी छ । प्रस्ट हुनुस् । यदि तपाईँ सेलिब्रिटी हुनका लागि लेखक बन्छु भन्ने सोचमा हुनुहुन्छ भने माफ गर्नुहोला, लेख्दैमा कोही सेलिब्रिटी हुँदैन । कसलाई सेलिब्रिटी बनाउने भन्ने जिम्मा पाठकको हो ।
३. लेखक बन्न सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईँको भाषा–शैली हो । यदि यसमा मिठास छैन, तपाईँको आफ्नोपन छैन, नयाँपन दिन सक्नुहुँदैन या मानौँ कुनै लेखकलाई फलो गरेर म उसको जस्तै लेख्छु भन्ने सोच्नुहुन्छ भने तपाईँ लेखक होइन देखक बन्नुहुनेछ । यदि तपाईँ लेखक नै बन्न चाहनुहुन्छ भने तपाईँमा केही त पक्कै छ । आफूले आफूलाई पहिचान गर्नुहोस्, तपाईँ भित्रको तपाईँलाई बाहिर ल्याउनुहोस्, अरूभन्दा फरक शैली अपनाउनुहोस्, नयाँपन थप्नुहोस् । यही सङ्कल्पका साथ लेखक बन्न तयार हुनुहोस् ।
४. नेपाली परिवेशमा वर्षेनी २० भन्दा धेरै नयाँ लेखकका कृति बजारमा आइरहेका छन्, तर त्यसमा जम्माजम्मी ५ जना जति सफल होलान् । केही राम्रा कृति पनि ओझेलमा परेका होलान् तर, कृतिको मूल्याङ्कन गर्ने पाठकले हो । त्यसैले नयाँ लेखकका लागि बजार एउटा परीक्षण केन्द्र जस्तै हो । नाम या दाम कमाउन तपाईँ लेखक बन्ने सोच्दै हुनुहुन्छ भने त्यो तपाईँको भूल हुनेछ । अहिले पनि हेर्नुस् न किताब मात्र लेखेर बाँच्ने लेखकहरूको सङ्ख्या १० पुगेको छैन । आफूलाई स्थापित नगरी पैसा कमाउने सपना देख्नु दिवास्वप्न मात्र हो । याद गर्नुस्, लेखन पेसा हो तर, जागिर होइन ।
५. लेखक बन्नका लागि पहिले तपाईँले धेरै पढ्नुपर्छ । बजारमा आएका पुस्तकहरू सकेसम्म नछुटाई पढ्नुहोस् । एउटा लेखकका लागि पुस्तक पढ्नु, पढ्नु मात्र नभएर त्यसको गुदी केलाउनु हो । सकेसम्म पुस्तकका रहेका कमीकमजोरी पहिल्याउने प्रयास गर्नुहोस् । अनि ती कमजोरी आफ्नो लेखनमा आउन नदिने सङ्कल्प कस्नुहोस् । एउटा असल पाठक, समीक्षक, समालेचकलाई बन्नुभयो भने तपाईँ लेखक बन्न तयार हुनुहुन्छ ।
६. यहाँ पुस्तक लेखनको कुरा गरेकाले पुस्तक लेख्नु वा निकाल्नुअघि तपाईँले छुटाउनै नहुने महत्त्वपूर्ण कुरा भनेको आफूलाई साहित्य सर्कलमा केही भए पनि स्थापित गर्ने हो । त्यसका लागि तपाईँले मिडियाको प्रयोग गर्नुपर्छ । पत्रपत्रिका, अनलाइनहरूमा मेल ठेगाना दिएको हुन्छ, आफूले लेखेका लेख, रचना, कथा के छन् पठाउनुहोस् । तपाईँ राम्रो लेख्नुहुन्छ भने पक्कै स्थान पाउनुहुनेछ । यदि छापिएन भने कमजोरी पत्ता लगाएर सुधार्नुहोस् । त्यसअघि साथीहरूलाई पढ्न दिएर कमजोरी सच्याउनुहोस् । केही अग्रजको सहयोग पनि लिन सक्नुहुन्छ । प्रयास गर्दै जानुस्, पक्कै तपाईँले स्थान पाउनुहुनेछ । मिडियामा आउन थालेपछि तपाईँको लेखनमा स्वाद छ भने तपाईँलाई फलो गर्नेहरू बढ्नेछन् । रचनाहरू मिडियाले आफै माग्न थाल्नेछन् । फेसबुक वा अन्य सामाजिक सञ्जालमा कलात्मक स्टाटस पोस्ट गर्नुहोस् । मिल्छ भने कुनै कथा लेखेर त्यसलाई भाग १, भाग २ गर्दै राख्दै जानुहोस् । यसरी पाठक बढ्दै जानेछन् ।
अब लेखक बन्नः
१. लेख्नु भनेको कथा बोल्नु हो । तपाईँ साथीलाई आफ्नी प्रेमिकाबारे केही कुरा सुनाउनुहुन्छ नि तपाईँ बोलिरहनु भएको हुन्छ । हो, यसरी नै लेख्नु पनि एउटा अभिव्यक्तिको माध्यम हो । तपाईँले बजारमा आएका पुस्तकहरू त माथि नै पढिसक्नु भएको छ । ती पुस्तकमा कुन विषय छुटेजस्तो लाग्छ । अब तपाईँले त्यो विषयमा लेख्नुपर्छ । मानौँ, तपाईँ प्रेम लेख्दै हुनुहुन्छ । प्रेम आफैमा विषय होइन । यसका आयामहरु विषय हुन् । सुबिन भट्टराईले लेखेको प्रेम, कृष्ण आचार्यले लेखेको प्रेम वा अर्को कसैले लेखेको प्रेमका विषयबाहेक अरु पनि थुप्रै लेखिन बाँकी छन् । तपाईँ त्यो विषयमा लेख्न तयार हुनुहोस् ।
२. लेख्दा आफूलाई कस्तो वातावरणमा सहज लाग्छ सोहीअनुसार उपयुक्त स्थान र समय रोज्नुहोस् । मानौँ, कृष्ण आचार्यलाई साँझ ८ बजेपछि, एकान्त, शान्त ठाउँमा लेख्न मन पर्छ । छतमा ताराहरु नियाल्दै लेख्न मन पर्छ । कहिलेकाहिँ मधुर स्वरमा गीतको धुनसँगै लेख्न मनपर्छ ? तपाईँलाई नि ? जसरी लेख्न सहज हुन्छ, शब्दहरु फुर्छन् त्यसरी नै व्यवस्थापन गर्नुहोस् ।
३. सोचेको कुरालाई कलात्मक ढङ्गले लेख्न सक्नुभएन भने तपाईँले अलिकति योगदान गर्नैपर्छ । आफ्नो क्रियटिभिटी विकास गर्नुपर्ने हुन्छ । त्यसका लागि बिहान ४ बजे नै उठेर ध्यान गर्नुहोस् । दैनिक १ घण्टा ध्यान गर्दा तपाईँको डिमाग फ्रेस हुन्छ । लामो समय यसो गर्नुभयो भने तपाईँको सृजनात्मकताको विकास हुँदै जान्छ । नयाँ–नयाँ कुराहरु फुर्छन् र आफूले लेख्न खोजेका कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सकिन्छ ।
४. तपाईँले धेरै किताब पढिसक्नुभएको छ, त्यसैले बिम्बको प्रयोग कसरी र कहाँ गर्ने, बाँक्य निर्माण कसरी गर्ने, ह्युमर, फ्युजनको प्रयोग कहाँ–कसरी गर्ने, विषयबस्तुलाई कसरी रोचक बनाउने, प्लटको निर्माण कसरी गर्ने भन्ने कुरा लेखनका क्रममा ख्यान गर्नुपर्छ । तपाईँले कुनै नयाँ शैली पनि अपनाउन सक्नुहुन्छ । ब्याकरणमा पनि ख्याल गर्नुपर्छ । अर्कोकुरा, तपाईँले ‘यो संसारमा मेरो उनीबाहेक कोही छैन’ लेख्नुछ भने ‘उनीबाहेक को नै छ र यहाँ मेरो आफ्नो भन्ने’ लेख्छ सक्नुहुन्छ । कसरी लेख्दा आकर्षक र पढ्दा आनन्द आउँछ त्यसमा ध्यान दिनुपर्छ ।
५. पुस्तकमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्राविधिक पक्ष हो । यदि तपाईँ प्राविधिक रुपमा चुक्नुभयो भने सम्झनुहोस् तपाईँले जति राम्रो कथा लेखे पनि त्यो खल्लो हुन्छ । अथवा, सामान्य पाठकले त्यस्ता विषयमा ख्यान नगर्न सक्छन् तर, तपाईँ जब समिक्षक कहाँ पुग्नुहुन्छ तब फस्नुहुन्छ । यो कुरा लेख्न सुरु गरेदेखि अन्तिमसम्म लागु हुन्छ । उदाहरणका लागि, तपाईँको पुस्तकमा २०७४ सालको परीपेक्ष छ र तपाईँ यो समयमा ११ सय मोडलको फोनमा कुरा गर्दै हुनुहुन्छ भने तपाईँ चुक्नुभयो । तपाईँको पात्र गम्भीर प्रकृतिको रोगले ग्रस्त छ र तपाईँ त्यो रोगबारे विज्ञता हासिल नगरी रोगीले गर्न नहुने, गर्न नसक्ने र असुहाउँदो काम गराउनुहुन्छ भने तपाईँ चुक्नुभयो । वैशाखमा तपाईँको पात्र ५ कक्षा पुगेको छ, त्यसपछि दशैंको कुरा गर्नुहुन्छ, फेरि अर्को सालको दशैं पनि आउँछ तर, तपाईँ अर्को सालको दशैंपछि चैतमा उसको कक्षा ५ को परीक्षाको कुरा गर्नुहुन्छ भने तपाईँ चुक्नुभयो । लेखन सुरु गर्दा तपाईँको पात्र स्नातक पहिलो वर्षमा पढ्छ, २०७१ साल । २०७२ मा भूकम्प जान्छ तर, तपाईँको पात्रले त्यतिबेला ब्याचलर पास गरिसकेको हुन्छ भने तपाईँ चुक्नुभयो । ययसरी टाइमिङ निकै महत्त्वपूर्ण हुन्छ ।
६. म यति समयमा पुस्तकको पाण्डुलिपी तयार पार्छु भनेर एउटा समय निर्धारण गर्नुपर्छ । मानौँ ३ महिना समय छुट्याउनुभयो भने दिनमा कति शब्द लेख्दा ३ महिनामा सकिन्छ भन्ने हिसाब गरेर सोही अनुसार लेख्नुपर्छ । यसो गर्दा तपाईंमा मैले जसरी पनि आज यति लेख्नुपर्छ भन्ने भावनाको विकास हुन्छ । मन लागे लेख्ने, नत्र नलख्ने हो भने तपाईँ कसरी लेखन बन्न सक्नुहुन्छ ? हरेक शब्दमा आफ्नो सपना देख्नुहोस् र आफू त्यो सपनाको नजिक पुगेको फिल गर्दै लेख्नुहोस् । लेखकलाई लेख्न अल्छी गर्ने छुट हुँदैन । बरु शब्दहरु फुरेनन् भने कफी पिउनुस्, पानी पिउनुहोस् (रुचीअनुसार), कल्पना गर्नुस्, सोच्नुहोस् तर, कपी र कलम छाडेर ह्या आज लेख्दिन भनेर नभाग्नुहोस् ।
७. लेख्दा तपाईँले उभ्याएको जुन पात्र छ त्यसमा डुब्नुहोस् । यो पात्र मै हुँ भन्ने सोच्नुहोस् वा आफ्नो नजिकको ब्यक्तिलाई उसमा समाहित गर्नुहोस् । सक्नुहुन्छ भने पात्रको पहिल्यै बायोग्राफी बनाउनुहोस्, यसो गर्दा लेखनमा सहज हुन सक्छ । पात्रको इच्छा, चाहना, सपनामा तपाईँ खेल्न सक्नुहुन्छ । फेरि तपाईँले पात्रलाई न्याय दिनु पनि त छ । त्यसैले आफू पात्रमाथि हाबी हुने होइन कि उसलाई खुला आकासमा छाडेर पढ्दै जानुहोस्, लेख्दै जानुहोस् । कथा तन्काउनकै लागि अनावश्यक भूमिका नबाध्नुहोस्, आदर्श नछाट्नुहोस्, विषयवस्तु र पात्रमा फोकस हुनुहोस् ।
८. यति गरेपछि तपाईँको एउटा ड्राफ्ट तयार भयो । त्यसलाई पढ्दै सच्याउँदै जानुहोस् । यो कार्य कम्तिमा पनि १० पटक गर्नुहोस् । आवश्यक ठाउँमा पुर्नलेखन गर्नुहोस् । अनावश्यक लागेको पात्र वा विषय हटाउनुहोस् । कस्तो लाग्यो ? पाठकको रुपमा अन्यको कृतिमा भेटिएका गल्ती त छैनन् नि ? फेरि पढ्नुहोस्, सच्याउनुहोस् । जति पुर्नलेखन गर्नुहुन्छ त्यति राम्रो । सुरुवात र अन्त्य मन नपरे बदल्नुहोस् । किनकि पुस्तकले सुरुवातमा तान्न सकेन भने सम्झनुहोस् पाठक अघि बढ्ने छैनन् । त्यसपछि पाण्डुलिपि तयार भयो र्। पढ्नमा रुचि भएको साथीलाई देखाउनुहोस् । उसको सुझाव मनन गर्नुहोस् तर, आफ्नो कथाको थिम मर्न नदिनुहोस् । त्यसपछि २–४ जना साहित्य बुझेको मान्छेलाई पढ्न दिनुहोस् । सुझाव लिनुहोस् । यति गरेपछि तपाईँको पाण्डुलिपी तयार भयो ।
यसबाहेक पात्रको छनोटमा विशेष ध्यान दिनुपर्छ । कथा र विषयवस्तुअनुसार पात्रको नाम छनोट गर्न सक्नुपर्छ । कथा पात्रले भन्ने हो वा आफूले भन्ने हो सोहीअनुसार लेख्न सुरु गर्नुपर्छ । अरुको कृतिमा आएका पात्र र कथा दोहर्याउनु हुँदैन । लेखनबारे बेलाबेला आफूभन्दा सिनियरसँग टिप्स लिइरहनु पर्छ । साथीहरुसँग कुरा गर्दा रमाइलो मात्र होइन, उनीहरुको जीवन–दर्शन पनि खोतल्ने प्रयास गर्नुपर्छ । बाटोमा हिँड्दा, कसैसँग गफ गर्दा, कतै यात्रा गर्दा होस् या अन्य फरक अवस्थामा, आफूले देखेका कुरालाई लेखकको दृष्टिले हेर्नुपर्छ । कथा हरेक स्थानमा छन्, बस् कमी पहिचानको छ । र, सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँ सधै आफूलाई असल पाठकको रुपमा उभ्याउनुहोस्, एउटा असल पाठक नै राम्रो लेखक बन्न सक्छ । शुभकामना ।
(कृष्ण अचार्य उपन्यास ‘अप्रिल फुल’ का लेखक हुन्)
Source: himalpost.com