युकेमा नेपाली महिलाहरुको बर्तमान अवस्था र चिन्ता – विश्वास दीप तिगेला
युकेमा नेपाली महिलाहरुको बर्तमान अवस्था र चिन्ता
(एक अंग्रेजबाट आजीवन पीडा भोग्न बाँध्य भगुवाली कान्छाको छोरी प्रति सम्मान सहित)
(नेपाल आदिवासी जनजाति महिला महासङ्घद्धारा युकेको अल्डरसुटमा आयोजित १०५ औं र १०६ औं विश्व नारी दिवस समारोहमा विश्वास दीप तिगेलाद्धारा प्रस्तुत कार्य–पत्र)
१२ मार्च २०१५/१६
समताको लागि सपथ/कसम (Pledge For Parity) को नारा सहित विश्वब्यापी मनाई रहेको अन्तर्राष्ट्रिय नारी दिवस २०१६ को हार्दिक मंगलमय शुभ कामना ।
दक्ष तथा कमदक्ष जनशक्ति अन्य मुलुकमा रोजगारको लागि पठाउने संसारकै दोस्रो ठूलो मुलुक नेपाल हो । नेपालले भन्दा झण्डै दुइ दशक अघि जनशक्ति विदेश पठाउन शुरु गरेका फिलिपिन्स विभिन्न समस्याहरु संग जुध्दै धेरै अघि बढिसकेको छ भने हामी नेपालीहरु रुपान्तरण कै चरणमा गुज्रि रहेका छौ । आधा आकाश ढाँक्ने, सृष्टि धान्ने नेपाली महिलाहरु अहिले ठूलो संख्यामा युके भित्रनु भएको छ । नेपालबाट धेरै टाढा यस युकेमा भित्रने पहिलो नेपाली महिला को हुनहुन्छ भन्ने कुरा ठ्याक्क पत्ता लगाउन नसके पनि पेशा तथा क्षेत्रगत रुपबाट चाहि को कहिले आदि जानकारी पाउन सकिन्छ । सरसर्ति पेशा तथा क्षेत्रगत रुपबाट संक्षिप्तमा यहा चर्चा गरौः
सन् १९७७ ताका धरान धनकुटा मोटरबाटोको निर्माण गर्ने जिम्मा युके अन्तरगतको प्रोजेक्ट थियो । उक्त प्रोजेक्टको लागि युकेबाट काम गर्नपुगेका ब्यक्तिहरुले विवाहगरि नेपालबाट युकेमा नेपाली चेलीहरु ल्याएको कुरा सुन्न पाइन्छ । तिनै चेलीहरुको प्रभाव र प्रेरणाले गर्दा युकेमा दक्ष जनशक्ति नर्शहरुको प्रवेश गरेको पाइन्छ । नर्शको रुपमा युके प्रवेश गर्नुहुने अर्थात पहिलो नेपाली महिला नर्श श्रीमति टुका क्षेत्री हुनुहुन्छ जो २० सेप्टेम्बर १९८० मा युके प्रवेश गर्नुभएको थियो । नर्सिङ एसोशियसन युकेको तथ्याङ अनुसार सन् २०१२ सम्ममा रजिष्टे«ड तथा ननरजिस्ट्रेड गरि २८ सय नर्शहरु युकेका विभिन्न ठाँउहरुमा छरिएर सेवारत थिए । उक्त सख्या बढेर हाल ३ हजारको हाराहारीमा रहेको अनुमान पाइन्छ । सन् २००० देखि २००५ भित्र ह्वात्तै नेपाली महिला नर्शहरु युके भित्रिए र सन् २००८ देखि लगभग बन्दै रहेको अवस्था छ । संख्याको हिसाबले हेर्दा सेवारत नर्शहरुको संख्या वेलायती सेनामा कार्यरत गोर्खा सेना भन्दा धेरै हो । सेनामा हाल साढे २७ सयको हाराहारीमा रहेका छन् ।
धेरैभन्दा धेरै नर्शहरु नेपालबाटै दक्षता लिएर आएका हुन भने अहिले पछिल्लो चरणमा युकेमै दक्षता प्राप्त गर्नेहरुको संख्या पनि अत्यन्तै धेरै रहेका छन् ।
स्वास्थ्य क्षेत्रको अति सम्मानीत डाक्टरी पेशामा समेत ७५ भन्दा बढि नेपाली महिलाहरु सेवारत रहेको तथ्याङ प्राप्त भएको छ । ति मध्ये ३ जना कन्सल्टेन्सी (प्रोफेसर)जस्तो उच्च ओहदामा पुग्नुले नेपालीहरुको शिर उच्च बनाएको छ । प्राप्त जानकारी अनुसार पहिलो नेपाली महिला डाक्टर डा. गौरी श्रेष्ठ हुनुहुन्छ भने कन्सल्टेन्सी तह पुग्नुहुने महिलाहरुमा डा. वीना थेवे लिम्बु, डा. रेखा श्रेष्ठ र डा. गुराँस लावती गुरुङ हुनुहुन्छ । युके भित्र पुरुष र महिला दुबैगरि ३ सय भन्दा बढि डाक्टर र त्यसमा पनि ५५ जना जति भूतपूर्वका नानीहरु रहेको पाइन्छ । अहिले द्रुत गतिमा नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नेक्रममा रहनु अर्को उज्यालो पाटो छदैछ ।
बौद्धिक हिसाबले उच्च मानिने कलेज र युनिभर्सिटीको प्राध्यापन क्षेत्रमा भने नेपाली महिलाहरु अति नै नगण्य रहेको पाइन्छ । प्रथम नेपाली महिला प्राध्यापिका हिन्दमाया वैद्यको नाम लिनुपर्ने हुन्छ । त्यस्तै डा. सुधा श्रेष्ठ, निना गुरुङ र सुमाया राई आदि रहनु भएको छ ।
विद्यालय तहमा शिक्षिका र सहयोगी शिक्षिकाको तहमा भने दर्जनौदर्जनको संख्यामा रहेका छन् ।
अर्को महत्वपूर्ण निकाय बैकिङ क्षेत्रमा पनि नेपाली महिलाहरुको उपस्थिती उत्साहजनक नै पाइन्छ । बैंक म्यानेजर रोमा राई, बैंक एकाउन्टेन प्रेमकला लिम्बु लगायतलाई नमुनाको रुपमा लिन सकिन्छ ।
नेपाली महिलाहरुले प्रत्येक क्षेत्रमा गौरवपूर्वक उपस्थिती जनाउन शुरु गरेका छन् । युकेको कानुनलाई चिर्दै उपलब्धि प्राप्त गर्न सफल ब्यारेष्टर मधु गुरुङ थापा (लेष्टर), सोलुसिटर सुविना गुरुङ, सोलुसिटर जिनिता पन्धाक लिम्बु लगायत हाम्रा ठूला सम्पति हुन् ।
सरकारी निकाय कै अर्को महत्वपूर्ण पाटो सैनिक र पुलिसमा समेत नेपाली महिलाहरुको उपस्थिती हुन निश्चय नै कम खुसिको कुरा होइन । सन् २००४ मै सेकेण्ड प्यारासुट रेजिमेन्टमा भर्तिभएकी सुश्री पविन राई बृटिस सेनामा भतिहुने पहिलो नेपाली महिला हुन । र, सन् २०१० मा फष्ट प्रिन्सेस अफ वेल्स रेजिमेन्टमा सुश्री रिता राना मगर पनि भर्तिहुनु भएको छ । गतबर्ष सन् २०१५ मा सुश्री पुष्पा सुनुवार युके पुलिस अफिसरमा प्रवेश गर्नु हाम्रो लागि अत्यन्तै राम्रो कुरा हो भने पब्लिक कम्युनिटी सर्भिस अफिसरमा भने झण्डै एक दर्जन सेवारत रहेका छन् ।
ब्यापार ब्यवसायमा समेत नेपाली महिलाहरु धेरै अघि बढिसकेका छन् । प्रतिष्ठित होटल, क्लव र रेष्टुरेष्टहरुमा समेत नेपाली महिलाहरु म्यानेजर, निर्देशक भई काम गरिरहेका छन् । आफ्नै ब्यवसायलाई समेत अघि बढाई रहेका छन् ।
समाज कस्तो रहेछ । सरसुविधा, प्रकृया र प्रणालीहरु कस्तो रहेछन भनेर देख्न बुझन सकिने जिल्ला, वरो, पेरिस आदिको जानकारी प्राप्त हुने सरकारी निकाय निजामति सेवामा समेत केही नेपाली महिलाहरु प्रवेश गर्न शुरु गरेका छन् । यस्ता क्षेत्रमा सेवा शुरु गर्ने हेष्टिंर्ग वरो काउन्सिलका इन्भारमेन्ट अफिसर अनु शेरचन, नरविच काउन्सिलका सिभिल इन्जिनियर सुश्री एलिसा थापामगर, बायोलोजिकल इन्जिनियर सुश्री पारिका आले आदि रहेका छन् ।
नेपाली राजदुतावास लण्डन संग १ लाख हाराहारीमा एमआरपी पासपोर्ट बनाईदिएको तथ्याङ्क भएपनि लगभग २ लाखको संख्यामा रहेका नेपालीहरु मध्ये आधा जनसंख्या नेपाली महिलाहरु भएको सजिलै अनुमान लगाउन सक्दछौ । दक्ष जनशक्तिको रुपमा सेवारत बाहेकका नेपाली महिलाहरु कम दक्ष तथा अदक्ष जनशक्तिको रुपबाट रोजगारीमा छन् । धेरै भन्दा धेरै नेपाली महिलाहरु फ्याक्ट्रीहरुमा काम गर्ने गर्दछन् । अंगुर, स्याउ, रामभेडा, सुन्तला, आलु छुटाउने केलाउने, गहूँवारी गोड्ने लगायतका विभिन्न काम गर्दै आएका छन् ।
सम्पर्क भाषा ज्ञानको समस्या, नौलो काम र युरोपियन कामदारहरुबाट हुने हेपाईको कारण फ्याक्ट्रीमा काम गर्ने नेपाली महिलाहरुको अवस्था अत्यन्तै चिन्ताजनक पाइन्छ । धेरै फयाक्ट्रीहरुले न्यूनतम हेल्थ एण्ड सेफ्टि समेत ख्याल नगरि मेसिन सरह काममा दबाब दिइरहनुले नेपाली महिला दिदी बहिनीहरुको स्वास्थ्यमा गम्भिर समस्याहरु थपिन्दै गएको पाइन्छ । अब पनि हामीले यो समस्यामा आँखा चिम्लने हो भने यसको प्रभाव ज्यादै गम्भिर हुन सक्ने देखिन्छ ।
अब हाम्रो अर्जुन दृष्टि तिनै फ्याक्ट्रीहरुमा काम गर्ने र विभिन्न कार्यालयहरुमा विभेद खेप्न बाँध्य दिदीबहिनीहरुमा हुनुपर्दछ । फ्याक्ट्रीमा नोकरी गर्नेको अधिकार, हक, सुविधा र कानुनी ब्यवस्थाको बारेमा जानकारी दिनु अपरिहार्य देखिन्छ । यस प्रकारको काम सम्बन्धित इलाकाका नेपाली कम्युनिटी संस्था तथा प्रोजेक्टहरुले गर्न सक्दछ । विशेषतः महिला अगुवा तथा महिलाजन्य संस्थाले यी मजदुर दिदीबहिनीहरुलाई मजदुर अधिकारको बारेमा शिक्षा दिन अति जरुरी देखिएको छ ।
तितो तथा रोचक घट्ना पनि युकेका नेपाली महिलाहरु संग येथेष्ठ पाइन्छन् । सन् २०१४ ताका म्यानचेष्टरका एक इण्डियन ब्यापारी जगजित सिंले नेपाली महिला कमला राई लाई ८ महिना बन्धक बनाएको र अन्ततः २० हजार पाउण्ड क्षतिपूर्ति दिएको घट्ना मननयोग्य छ । नेपालीहरु कानुनी ज्ञानको अभाव र पहुचको अभावमा धेरै शोषितपीडित भइरहेको कुरालाई कहिल्य बिर्षनु हुदैन । यौनजन्य हिंसाका घट्नाहरु पनि हाम्रो लागि नौलो विषय होइन त्यसैले बाहिर सुनिए जस्तो सबैकुराको सुन्दरता युकेमा छैन । उसो त युकेका सम्माननीय प्रधानमन्त्री कै घरमा सहयोगीको रुपमा रहेकी गिता लामा लगायतको भूमिकाले पनि ठूलो महत्व राख्दछ ।
संचारको क्षेत्रमा समेत नेपाली महिलाहरु सक्रिय रहदै उद्धाहरणिय काम गर्दै आउनु भएको छ । सन् १९९४ देखि आबद्ध भई संचारको क्षेत्रमा ब्यवसायीक परिचय बनाउन सफल तथा गोर्खा च्यानलल टिभीका निर्देशक विमला सेने लिम्बु, कला र साहित्यको संगम शशि सुब्बा थापा, उद्घोषणमा सर्वाधिक लोकप्रिय लक्ष्मी राई ‘लारा’, रेडियो जिडब्लुएसकी प्रस्तोता प्रमिला लाबुङ राई, गोमा राना, जमुना पुन, पुष्पा गुरुङ, आस गुरुङ, शुशिला गुरुङ, सिता थापा, निलिमा राई, परिना गुरुङ, नविना गुरुङ, विविसी नेपाली सेवाकी संगीता मरहठ्ठा, गुर्खाज डटकमकी निना गुरुङ, नेपाली टिभिका समाचार वाचिका सुस्मिता गुरुङ, विएफविएस गोर्खा रेडियोकी संचालिका त्रय रुपा राना, आस पुन, शिरिस सुनुवार, आदि संचारको क्षेत्रमा आउने अग्रज नामहरु हुन भने पत्रकारिता विषयमै युकेबाट डिग्री गरेकाद्धय सुश्री शिला लिम्बु, सुश्री सिमान्त गुरुङ लगायतको प्रगति चर्चा गर्न लायक छन् ।
नेपाली महिलाहरु साहित्यको क्षेत्रमा पनि धेरै अगाडि हुनुहुन्छ । कथाकार जया राई, कवि हिन्दमाया वैद्य, गीतकार नीलम आङ्बुहाँङ, कवि भावना सुनुवार ‘परिष्कृत‘, कवि तथा गीतकार दिपा लिम्बुराई, कवि तथा गीतकार निर्मला राई ‘परिवेश’, गीतकार जानुका राई, चन्द्रावती राई, गीतकार निरा पिजी, गीतकार दुर्गा घले, गीतकार रन्जना राई, कवि लिला सेलिङ माबो, प्रज्ञा कार्की, सिता शेरचन, प्रेरणा थापा, जुनु लिङदेन, करिष्मा घम, संगीता राई बायुङ लगायत दर्जनौ हुनुहुन्छ । संगीतको क्षेत्रमा पनि त्यति नै उत्साहप्रद पाइन्छ । गायिका शर्मिला बर्देवा, सुनिता थेवे, सितु खरेल लगायत धेरै सर्जकहरु हुनुहुन्छ ।
युकेमा रहनु भएका नेपाली महिलाहरुले पनि खेलकुदको क्षेत्रमा गर्व गर्न लायक सफलता हासिल गर्नुभएको छ । ताइकण्डो सन्दुकन बृटिस नेशनल गोल्ड मेडलिष्ट २०१२? सुश्री पुनम गुरुङ, ताइकण्डो ब्रिट्रिस च्याम्पियनशिप २०१३ का सिल्भर म्याडल विजेता श्रीमति विमला नियोङ, वल्ड क्याडेट ताईकण्डो च्याम्पियनशिप २०१५ का गोल्ड म्याडल विजेता सुश्री साइना लिङदेन । पूर्वान्चल ब्याडमिण्टन वि.स. २०५८ का गोल्ड मेडलिष्ट तथा युकेमा सक्रिय खेलाडी श्रीमति सकुन्तला नेम्बाङ, विश्व प्रसिद्ध ४२.२ कि मी दुरीको लण्डन म्याराथन २०१५ धाविका तथा ब्रुनाई राष्ट्रिय दौड प्रतियोगिता २०१४ मा पुरस्कृत सुश्री कल्पना तिगेला लिम्बु लगायतको नाम लिन सकिन्छ ।
युकेमा नेपाली महिलाहरु विभिन्न संघसस्थाको नेतृत्व गरेर पनि समाजको लागि अतुलनिय योगदान गर्दै आउनु भएको छ । नेपाल आदिवासी महिला महासङ्घ, नेपाली महिला समाज, मिस युके नेपाल आयोजक समिति, नर्सिङ एशोसियसन, नेपाल महिला मगर संघ लगायतका महिलाजन्य संगठन बाहेक किरात याक्थुङ चुम्लुङका उपाध्यक्षद्धय युमा लिम्बु, लिला सेलिङमाबो, सेवारो कलाकार संघकी अध्यक्ष दुर्गा पाङ्मा लिम्बु, किरात राई यायोख्खा नेपालकी पूर्व अध्यक्ष सुमाया राई, एनआरएन आईसिसि सदस्य सुस्मा राई, एनआरएन युके उपाध्यक्षद्धय शान्ति थापा, कुमारी गुरुङ, माया गुरुङ, हेमा गुरुङ, एनआरएन युकेका महिला कोअर्डिनेटर शुशिला राई, बबिता लामा, गंगा राई, महिला महासङ्घ अध्यक्ष कमला थापा मगर, नर्सिङ एसोशियसन अध्यक्ष शुसिला कार्की, शान्ति गुरुङ, पिपला देवान, विमला थापा, मिस नेपाल सृष्टी श्रेष्ठ, मिस नेपालयुकेका आयोजक शान्ति गुरुङ, युकेको राष्ट्रिय स्तरमा चिरपरिचित फेसन डिजाइनर संयुक्ता श्रेष्ठ लगायत युकेमा हुनुले अरु धेरै प्रगति हुने आस गर्न सकिन्छ ।
युके टेकेपछि पनि हजारौ समस्याको बाबजुद उच्च शिक्षा अध्ययन गरेर रोलमोडल देखाउन सक्षम द्धय लक्ष्मी राई ‘लारा’, निना गुरुङ सम्भवतः दोस्रो र पहिलो सोसियल वर्करहरु हुनुहुन्छ । गुरुङले सन् २०१३ मा केन्ट युनिभर्सिटीबाट ‘गोर्खा सेटलमेन्ट एण्ड इन्टरगेसन फर प्रोसेसिङ इन युके’ शोधपत्र बुझाएपछि अल्डरसट इलाकाका सांसद जेराट हवार्डको गोर्खा प्रतिको विरोधमा धक्का मात्र लागेन सरकारी पक्षबाट समस्याको समाधान सम्म औल्याइयो र ‘गोर्खा रिसटलमेन्ट फण्ड’ (दुई बर्षको लागि १५ लाख पाउण्ड) छुटाउनको लागि ठूलो टेवा पुग्यो । संगीता सुनुवार, प्रेमकला लिम्बु र यसरी नेपाली महिलाहरुले युकेमा सोचेभन्दा धेरै प्रगति पनि गरेको पाइन्छ ।
नेपाली बोजुको भारतीय नातिनी सुनिता पोडार सन् १९७७ मा युके टेक्नुभई सन् १९८६ बाट ग्लास्गो स्थित ब्यपारमा संलग्न हुनुहुन्थ्यो । वहालाई स्कटल्याण्डको लागि पहिलो नेपाली बणिज्य दुत तोकिएको इतिहास पनि पाइन्छ ।
सुन्दै ज्यादै दर्दनाक लाग्ने एक वास्तविक कथा पनि सुनिने गरेको छ । धरान देखि धनकुटा जाने मोटर बाटो (वि. स. २०३५÷३६ ताका) खन्न पुगेका बृट्रिस नागरिकले लेउती खोलाको डिलमा बसोवास गर्ने भगुवाली कान्छा (ईवा)को छोरीलाई विवाह गरेर युके ल्यायो र दुईभाई छोरा पनि भयो । कारणबस उनका लोग्नेले नेपाल पुरयाएर उनलाई एक्लै छोडिदिए तब बच्चाद्धयको माया र धोकाको कारण मानसिक रुपबाट विछिप्त भएकीलाई प्रत्येक्ष देख्नेहरु अझै हुनुहुन्छ । उनको नाम, युकेको ठेगाना, उनका छोराहरु पत्ता लगाउन सके यथार्थ पत्ता लाग्ने थियो । बृटिसहरुबाट धोका र बेइमानको शुरुवात धेरै पहिला देखि नै भएको देखिन्छ । त्यस्तै धनकुटाकी डा. दुर्गा पोखरेलले एक अंग्रेज संग विवाह गरि लामो समय नेपाल बसेर नानीहरुको लागि नागरिकता प्राप्तको लागि पहल गरेपनि सम्भव नभएपछि अमेरिकामा पलायन हुनुभएको छ ।
भर्खरै हङकङबाट आउनु भएका एक नेपाली महिलाले हिथ्रो एयरपोर्टमा ट्याक्सी ड्राइभर गोरा (अंग्रेज) देख्दा अचम्म मानेको रोचक घटना यहा पाइन्छ । हङकङ, नेपाल तिर उच्च ओहदामा मात्र काम गरेको देखिने गोराहरुको कारण उक्त घट्ना अनौठो होइन ।
भोक र तिर्सना नेपालको र खाद्यबस्तुको उपलब्धता साथै जीवन शैली युकेको हुनुले विशेषतः स्वास्थ्य क्षेत्र निक्कै चिन्ता जनक पाइन्छ । भोक लाग्ने वित्तिकै मेलापात गर्दा खेरी लाग्ने त्यहि भोग र तिर्सना तर काम चाहि मेलापात गरेजस्तो शरिरलाई स्वास्थ्य बनाउने प्रकारको नहुने भएकोले नेपाली महिलाहरुमा पनि खाना र शारिरीक कसरतमा सन्तुलन आउन जरुरी देखिन्छ । अर्को चर्चाको पाटोः युके रानीको राज भएको मुलुक हो भनी नेपाली महिलाहरुमा आत्माबल आउनु राम्रो हो तर जीबन स्वतन्त्रताको सन्दर्भमा विकृति नजिक पुगेका कुरालाई पनि हामीले भुल्नु हुदैन । युकेका सबै कुरा राम्रा छैन्न । अंग्रेज समुदायका असल परिवार भित्रको अनुसासन नेपालीहरुको प्रचलन भन्दा अझ कडा भएको कुरा विर्षनु हुदैन । यौवनको उन्मादमा अंग्रेजहरु खुल्ला हुन्छन, अंग्रेजी बोल्दैमा जान्ने हुन्छन, गोरो र सुन्दर देखिन्दैमा सोचमा पनि सुन्दर हुन्छन भन्ने कुरा गलत बुझाई हो । यहाको समाज ज्यादै गरिब छ । बेसहरा बालबच्चाहरुको अनुसासनहिन जीबन शैलीले यहाको वास्तविक समाजको प्रतिनिधित्व गर्दैन ।
युकेमा रहनु भएका नेपाली महिलाहरु अनपेक्षित श्रम गरिरहनु भएको पाइन्छ । हुन त यस मुलुकमा श्रमको कदर हुन्छ र काम गरे वापत पारिश्रामिक पाइन्छ तर अब नेपालीहरुले सोच्न पर्ने बेला भएको छ । यहाको समाजलाई चिन्न पर्ने बेला भएको छ । युकेको समाज समग्रमा सामन्तवाद नै देखिन्छ र यहाका धन्याढयहरु, गरिबहरु संग बोल्न पनि चहान्दैन्न । युकेको सामाजिक संरचना ज्यादै परम्परावादी छ । त्यसैले ब्यवहारिक रुपबाट सामान्य मजबुत अवस्थामा पुगेका महिलाहरुले ज्यादै तल्लो स्तरको काममा लुछाचुड गर्ने सवालमा पूर्नविचार गर्न जरुरी हो की भन्ने सोच्न सकिन्छ । संस्कार नबुझ्ने, भाषा नजान्ने, तल्लो तहको काममा लुछाचुड गर्ने, साइजमा पनि हामी सानो र अंग्रेज देख्ने वित्तिकै सबैकुराको सम्पन्न देख्नुले यहाको समाजले हामीलाई सधै विचरा देख्ने, भिखको दया दिने, अपमान गर्ने आदि कार्य सधै भईरहने हुन सक्ने भएकोले अब सोच्ने की ?
कर्मभूमि युकेमा रहेपनि हाम्रो सालनाल सबै जन्मभूमि नेपाल संगै जोडिएको हुनाले नेपाल र नेपाल सरकारको असल काम र बेइमान कामको बारेमा पनि जानकार हुन अपरिहार्य हुन्छ । नयाँ संविधानमा ७ प्रदेशको खाका ल्याइएको छ । उक्त खाका लागु भएमा नेपालका हाम्रा चेलीहरु दुईअढाई दशक भित्र पहाडिया कमलरी, कमैया हुने संकेत देखिन्छ । त्यसको बलियो आधार चाहि ६० बर्ष अघिका तराईका भूमिपति थारुहरुलाई जुन फर्मुलाले आज जसरी कमलरी, कमैया बनाएको हो त्यो भन्दा पनि बिखालु फर्मुला यो ७ प्रदेशको षड्यन्त्रमा रहेको पाइन्छ त्यसैले कमाई र रमाईमा मात्र नभुलौ । जन्मभूमिमा टेक्ने आधार गुम्दै गएको बारेमा पनि सोच्ने गर्ने की ?
अन्तमा, बृटिस साम्राज्यको लागि पहिलो विश्व युद्धमा लगभग ४० हजार र दोस्रो विश्व युद्धमा लगभग ७० हजार विधवा बनेर आजीवन पीडा खेपेका नेपाली महिलाहरुलाई यस बेलायती माटोले न्याय दिन सकोस सबैले कामना गरौ ।
धन्यवाद ।