जातिरी/सिर्जात : धिमाल समुदायको सांस्कृतिक पुर्नजागरण – केदार घिमाल
🔹 भूमिका:
धिमालहरूको मौलिक र सबैभन्दा ठूलो पर्व जातिरी र सिर्जात हो । यो पर्व नयाँ वर्षको बैशाख २ गतेबाट लेटाङ नगरपालिका वार्ड न १ मा रहेको राजारानीबाट सुरु भएर असार २ गते उर्लाबारी नगपालिका वार्ड न ३ मा रहेको धिमाल परियोजना स्थलमा तीन महिनापछि समापन हुने गर्दछ । यो पर्वमा प्रकृतिको पूजा गर्ने चलन छ । यो पर्व र लेटाङको गहिरो सम्बन्ध भएकाले लेटाङको बारेमा धिमालहरूको धारणा प्रस्तुत गर्ने कोशिश गर्छु । ‘लेटाङ’ शब्द धिमाल शब्दबाट अपभ्रमंश भएर बनेको हो । धिमालहरूले आफ्नो राजकाज लेटाङ नगरपालिका वार्ड न १ मा रहेको राजारानीमा गरेका थिए । यो विषयमा केही दन्त्यकथाहरू छन् । यस विषयलाई थप पुष्टि गर्न मानवशास्त्री, समाजशास्त्री तथा इतिहासविदहरूले पनि लेखेका छन् ।
लेटाङ नगरपालिकाले प्रकाशन गरेको स्मारिकामा पनि धिमालहरूको राज्य भनेर उल्लेख गरेको छ । लेटाङ समग्रमा धिमालहरूले आवाद गरेर वस्ती बसाएका थिए । यसको बिषयमा थप जानकारी लिन हाम्रो धिमालहरूको साझा संस्था धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा मिति २०७६ साल फागुन २ गते लेटाङ नगरपालिकाको स्थानहरू भ्रमण गर्दा प्राप्त भयो । लेटाङ बजारको दक्षिणी भेगमा रहेको कमलपुरबाट भ्रमणको शुरुवात गरेका थियौँ । कमलपुर कमल धिमालको नेतृत्वमा ढालफाँड गरी वस्ती बसाईएको थियो । र उहाँकै नाममा कमलपुर राखियो । धिमालहरूको राजकीय दरबार सर्बेटार पनि धिमाल शब्द साबाउबाट अपभ्रंश भएर बनेको हो । साबाउ भनेको भेला बैठक गर्ने ठाउँ हो । धिमालहरूले राज्य सञ्चालनका लागि छलफल गर्न यो साबाउमा बोलाउने प्रचलन रहेको थियो । बाहिरी दुश्मनको आक्रमणबाट बच्न यो साबाउमा छलफल गर्ने चलन थियो । यो ठाउँमा अहिले दरबारका ईटाहरू मात्र छन् । जग्गा प्लटिङ गरिएको छ । अहिले यो दरबार भूमाफियाको हातमा परेको छ । हर्दिया र लोकरा धिमाल शब्दबाटै राखिएको ठाउँहरू हुन् । जसको अर्थ क्रमश: बेसार र चितुवा भन्ने लाग्छ । लक्ष्मीपुर लक्ष्मी धिमालको नामबाट राखिएको ठाउँ भने र कीर्तिमान कीर्तिमान धिमालको नामबाट राखिएको ठाउँ हुन् । धिमाल र लेटाङको लामो गहिरो ऐतिहासिक सम्बन्ध छ । थप यसको बारेमा अधययन, अनुसन्धान र खोज गर्न आवश्यक देखिन्छ ।
🔹 जातिरी/सिर्जात र कोरोना भाईरस (कोभिड–१९):
विश्वका मानव समुदायलाई अहिले कोरोना भाईरसले त्रसित बनाएको छ । सधै व्यस्त रहने मानिसहरु अहिले कोठाभित्र बस्न बाध्य भएका छन् । सधै मानिसको भीडले भरिभराउ हुने बसपार्क, हवाई मैदान, ठुला पसल, उद्योगहरु, सिनेमा हल, लगायत सबै स्थानहरु मानिस नभएकाले शून्य छ । अझै कहिले खुल्ने त्यसको सुनिश्चितता भएको छैन । अहिलेसम्म २०९ देशहरुमा फैलिईसकेको छ । John Hopkins University का अनुसार(२०२० अप्रिल १६, ०३:१० बजेसम्म) २०,८३,३०४ मानिसहरुलाई यो भाईरस लागिसकेको छ । जस मध्ये १,३४,६१६ जनाको मृत्यु भैसकेको छ, भने ५,१०,३५० जना औषधी उपचार गरेर घर फर्किसकेका छन् । अधिकांश देशहरू लकडाउनको अवस्थामा छन् ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पनि १६ जनालाई यो भाईरस लागेको छ भने एक जना उपचारपछि घर फर्किएका छन् । बाँकी १५ जनाको उपचार भईरहेको छ । नेपालमा यो भाईरसले अहिलेसम्म सामान्य रूप मात्र लिएको छ । नेपाल जस्तो गरीब देशमा यो भाईरस फैलिए बिकराल रूप लिने पक्का छ । अमेरिका, बेलायत, ईटाली, स्पेन, चीन, फ्रान्स, जर्मनी जस्तो विकसित देशहरूलाई कोरोना भाईरसले विक्षिप्त पारिसकेको छ । अन्य देशमा जस्तो नेपालमा फैलिन नदिन नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । नेपाल सरकारको अर्को निर्णय नआएसम्म २०७७ बैशाख १५ गतेसम्म लकडाउन रहनेछ । यो भाईरसले सबै क्षेत्रलाई प्रभाव पारेको छ । सबैले यो महामारी रोगबाट बाँच्नु र बचाउनुको अन्य विकल्प छैन । त्यसकारण सबैले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशन पालना गर्नु हाम्रो धिमालहरूको एक मात्र गौरवशाली संस्था धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछ ।
धिमालहरूको मौलिक पर्व जातिरी तथा सिर्जातको शुरुवात लेटाङ नगरपालिका वार्ड नं. १ मा अवस्थित राजारानीबाट वैशाख २ गतेदेखि हुने सबैमा जानकारी नै छ । कोरोना भाइरसले गर्दा देश नै पूरै लकडाउनमा भएको कारण यो वर्ष वैशाख २ गते राजारानीमा जातिरी (मेला) लगाउन सकिएन । जातिरी/सिर्जात पर्व लगायत अन्य धेरै पर्वहरु कोरोना भाईरसको कारण प्रभावित भयो । यो वर्ष संस्थाको तर्फबाट १२ जना मात्र भेला भएर राजारानीमा गएर पूजा सम्पन्न गर्याैँ । धिमालहरूमा यो पूजा गर्दा महामारी रोगहरू नलाग्ने र नफैलिने विश्वास छ । पहिला बसाईसराई नहुँदा धिमालहरूले जंगल संरक्षण गरेर राखेका थिए । त्यो बेला जंगली जनावरहरू प्रशस्त थिए । जातिरी/सिर्जात गर्दा जनावरहरूले आक्रमण नगर्ने, समयमै वर्षात हुने र बालीनाली सप्रिने र आफन्त भेटघाट गर्ने र अविवाहित केटाले केटी हेर्ने र केटीले पनि केटा हेर्न प्रचलन थियो । यिनै जनविश्वासलाई आजका युवा पुस्ताका धिमालहरूले कायम राख्न प्रयत्न गरेको देखिन्छ । मूलतः यो प्रकृतिको पूजा नै हो । यो पूजामा धिमालहरूले सुँगुर, सेतो बोका, भाले र पोथी कुखुरा, परेवाहरूको वली दिने चलन छ । हरेक साल वैशाख २ गते लेटाङको राजारानीबाट सुरु भएर धिमालहरूको करिब ५० गाउँहरूमा अलग अलग दिन जातिरी/सिर्जात गर्ने चलन छ । यस पर्वले धिमालहरूको अस्तित्व र पहिचान कायम गरेको छ ।
🔹 टुङ्ग्याउनी:
६० को दशकपछि धिमालहरूमा चेतनाको लहर अलि मजबुत भएको पाईन्छ । धेरै गाउँहरूले यो जातिरी/सिर्जात गर्न छाडेका थिए । चेतनाको कारण जुन गाउँहरूमा यो जातिरी/सिर्जात गर्न छाडिएको थियो । फेरि धेरै गाउँहरूमा यसको सुरुवात गरिएको छ । माईपूर्व यो पर्व कतै मनाईन्न थियो । तर २०७० देखि दान्ता बाराङ पूजा विर्तामोड नगरपालिकामा रहेको धिमाल गढमा गर्न सुरु गरिएको छ । पहिला त्यहीँ ठाउँमा पूर्खाले पूजा गर्ने गरेका थिए । बीचमा आएर गर्न छाडिएको थियो । धिमालहरूमा सांस्कृतिक क्षेत्रमा पुर्नजागरण (renaissance) आउँदै गरेको अनुभूति गर्न सकिन्छ ।
सेउपाखा । दाेमचाखा ।