बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

लन्डन, १५ फेब्रुअरी । मातृभाषाका सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दुई वर्षअघि शुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ । विश्व मातृभाषा दिवसका अवसर पारेर सो मातृभाषा साहित्य उत्सव आयोजना हुन लागेको हो ।

विश्व नेपाली साहित्य महासंघ (विनेसाम), दक्षिण यूके र पश्चिम यूकेको आयोजना र आदिवासी जनजाति साहित्यकार लेखक महासंघको सहआयोजनामा फेब्रुअरी १९ तारिखका दिन सो उत्सव हुन लागेको हो ।

आयोजकहरुको बैठकले फेब्रुअरी १९ तारिख आइतबारका दिन मातृभाषा साहित्य उत्सव आयोजना गर्ने निर्णय गरेको विनेसाम साउथ यूकेका कार्यवाहक अध्यक्ष सर्वधन राईले जनाए । ‘मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले केही वर्ष अघिदेखि हामीले बेलायतमा मातृभाषा साहित्य उत्सव सुरु गरेका थियौँ । यस वर्ष पनि निरन्तरता दिँदै कार्यक्रम गर्ने भएका छौँ,’ कावा अध्यक्ष राईले भने, ‘उत्सवमा देश विदेशबाट मातृभाषाका सर्जकहरू सहभागी हुनेछन् ।’ उनले उत्सव भर्चुअल रूपमा जुमबाट हुने जानकारी दिए । कार्यक्रम बेलायतको समयअनुसार १२ बजे र नेपालकाे समयअनुसार बेलुकी ५:४५ बजे सुरु हुनेछ ।

यस वर्षको २४ औँ विश्व मातृभाषा दिवस भने फेब्रुअरी २१ मङ्गलबारका दिन परेको छ ।

बैठकले विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेका सचिव अमित थेवेलाई गत वर्षझैँ यस पटक समेत उत्सवको संयोजक तोकेको छ । उनकै परिकल्पना अनुसार बेलायतमा मातृभाषी कवि एवम् साहित्यकारहरूले आफ्नो राष्ट्रभाषामा सिर्जना सुनाउने गरी उत्सव सुरु भएको थियो । उनी आदिवासी जनजाति साहित्यकार लेखक माहासंघ यूकेका संयोजक समेत हुन् । उनका अनुसार पहिलो वर्ष कविता विधामा रचनाहरू सुनिए भने दाेस्राे वर्ष गीत विधामा उत्सव केन्द्रित रहेकाे बताए । ‘विभिन्न मातृभाषा वा राष्ट्रभाषामा यसपटक पनि सर्जकहरूले आफ्नो रचना सुनाउनेछन् । यस वर्ष भने जुनसुकै विधामा पनि सर्जकले १५० शब्दभित्र रहेर सिर्जना सुनाउन सक्नेछन्’ संयोजक थेवेले भने, ‘कार्यक्रममा बेलायत र अन्य मुलुकका मातृभाषी सर्जकहरू सहभागी हुनेछन् ।’ उनले यसका लागि फेब्रुअरी १८ भित्र आफ्नो रचना आयोजकलाई पठाउन समेत आग्रह गरेका छन् ।

त्यस्तै, विनेसाम पश्चिम यूकेका कार्यवाहक अध्यक्ष गोमा रानाले दुई दर्जनभन्दा बढी मातृभाषाका सर्जकहरूले आफ्नो रचना सुनाउने तयारी भइरहेको जनाइन् । उनले बेलायत, नेपाल र अन्य मुलुकहरूका सर्जकहरूलाई रचना आह्वान गरिरहेको बताइन् । उत्सवका दिन वाचन भएका रचनाहरू समेटेर आदिवासी संग्रह समेत प्रकाशन गरिने उनले जनाइन् ।

हालसम्म उत्सवका लागि याक्थुङ लिम्बु, राई समुदायबाट बान्तावा, थुलुङ र वाम्बुले, तामाङ, शेर्पा, गुरूङ, नेवार, मगर समुदायबाट ढुट, काइके र खाम, छन्त्याल, थारू, धिमाल, सिङ्सा(भोटे), खस, सुनुवार, याक्खा लगायतका मातृभाषाबाट सिर्जना प्रस्तुत हुने तय भइसकेको संयोजक थेवेले बताए ।

संयुक्त राष्ट्र संघको साँस्कृतिक निकाय युनेस्कोको आह्वानमा सन् २००० देखि प्रत्येक वर्ष २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउँदै आइएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा मातृभाषाका रूपमा बंगाली भाषा बोल्न पाउनुपर्छ भन्दै माग गर्दा सन् १९५२ मा त्यहाँका चार विद्यार्थीहरू मारिएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । एथ्नोलगकाअनुुसार हाल विश्वमा ७,१५१ भाषाहरू बोलिने गर्छन् । तीमध्ये ४० प्रतिशत जोखिममा रहेका छन् । नेपालमा भाषा आयोगको प्रतिवेदनअनुसार १३१ भाषााहरू अस्तित्वमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *