पहिचान साहित्य : एक अवधारणा – श्रीशीशा राई

१. विषय प्रवेश:
धेरै साहित्य लेखिए, लेखिदैछन्, तर पहिचानको विषयवस्तुलाई केन्द्रीय तत्वका रुपमा स्वीकार गरेर अहिलेसम्म लेखिएको पाइएको छैन । कतिपय लेखनमा ती विषयवस्तु नआएका होईनन् तर पहिचानको विषयलाई प्रवृत्तिका रुपमा लिएर अथवा पहिचानलाई विशिष्टीकरण गरेर साहित्य लेखिएको छैन ।

नेपालको पछिल्लो अवस्था सामाजिक वा साँस्कृतिक परिवर्तनको अवस्था हो । परिणाम स्वरुप नेपालमा पहिचानको मुद्दा प्राथमिक र अनिवार्य बनेर आएको छ । सवै पक्ष आफ्नो पहिचानप्रति जागरुक र चेतनशील हुँदै गएकाले यो सकारात्मक परिवर्तन हो । यसमा कुनै न कुनै किसिमले राजनितिले अवश्य भुमिका खेलेको हुनसक्छ तर ध्रुवसत्य के हो भने साहित्यमा राजनैतिक पुर्वाग्रह वा लेपन मान्य हुन्न भन्ने तर्क सदैव जिवित छ, हुनुपर्छ । अनिमात्र साहित्यले आफ्नो विशिष्ट स्वतन्त्रताको प्रत्याभूति दिनसक्छ । नेपालमा विभिन्न परिवर्तनले पहिचानको मुद्दालाई टड्कारो विषयको रुपमा स्थापित गरिसकेपछि साहित्यका लागि यो नलेखिने वा नजरअन्दाज गर्ने विषय कदापि हुनसक्दैन । तसर्थ साहित्यमा अभिव्यक्त गर्ने सन्दर्भमा पहिचानको विषयवस्तु अब प्रवृत्तिका रुपमा विकास हुनुपर्छ ।

पहिचानको विषयवस्तुलाई प्रवृत्तिकै रुपमा विशिष्टीकृत गरी अबको साहित्य लेखन अघि बढ्नुपर्दछ । त्यो लेखनलाई ‘पहिचान साहित्य’ नामाकरण गरिनुपर्दछ । यसरी नै यस विषयवस्तुमा लेखिएको कवितालाई पहिचान कविता, कथालाई पहिचान कथा, उपन्यासलाई पहिचान उपन्यास आदी भनिँदा पहिचान साहित्यलाई संस्थागत गर्ने पृष्ठभुमि तयार हुँदै जाने विश्वास गरिएको छ ।

२. पहिचानको परिभाषा
पहिचान जातिय हुन्छ तर जातिय मात्र हुँदैन । भौगोलिक, साँस्कृतिक, आर्थिक, भौतिक, आध्यात्मिक आदी पनि पहिचान हुन्छ । हरेक मानविय र अमानविय वस्तुका पहिचान हुन्छन् । विचार वा संवेगको पनि पहिचान हुन्छ । फरक यति हो कि कसैको कम वा बढी हुनसक्छ । कसैको कम महशुस गरिएको वा बुझिएको हुनसक्छ त कसैको बढी । कम महशुस गरिएको पहिचानले स्वभावैले आफूलाई अरु पहिचानहरुको उचाईमा पुर्याउन प्रयास गर्छ, गरिरहेको छ । यो प्राकृतिक वैज्ञानिक नियम हो । यसैमा नै प्रगति, उपलब्धि र विकास निहित छ । त्यसो गर्दा अन्य पहिचानहरुलाई नकारात्मक प्रभाव पर्दैन, पर्नुहुँदैन । अहिले नेपालमा विशेष गरी जनजातिहरुले जातीय पहिचानको माग गरिरहेका छन् । यसको अर्थ जनजातिहरुले उपल्लो जाति भनिएको ब्राम्हणको पहिचान नामेट गरेर वा खोसेर आफ्नो पहिचानमा थप गरिपाउन खोजेका होईनन् । पहिचान सवैको आफ्नै, फरक र विशिष्ट हुन्छ ।
पहिचानको शाब्दिक अर्थ ‘कुनै वस्तुको गुण वा मूल्य जान्ने काम’ हो । हरेक सजीव, निर्जीव वा संवेगको आआफ्नै मूल्य हुन्छ । कुनैपनि वस्तु वा संवेगको मूल्य सही रुपमा चिन्यौँ, चिन्न बाँकी छ भने खोजेर चिन्यौँ र त्यसलाई लेखनमार्फत चेतना अभिवृद्धिको उद्देश्यसहित पाठकसम्म प्रक्षेपण गर्यौँ भने न्याय हुन्छ र लेखनको अभीष्ट पूरा हुन्छ । त्यो लेखनले ल्याउने परिवर्तन उत्साहप्रद र सकारात्मक हुन्छ । त्यही मूल्यलाई चिनेर त्यसको आधार र विषयवस्तुमा लेखिएको साहित्यलाई पहिचान साहित्य भन्नुपर्छ ।

३. आवश्यकता तथा औचित्य
नेपालको पछिल्लो राजनितिले पहिचानलाई नारा वा एजेण्डाकै रुपमा अघि सारेकोले यो विषय राजनैतिक हो कि होइन भन्ने द्धिविधा रहनसक्छ । यस विषयवस्तुमा लेखिने साहित्य राजनैतिक साहित्य पो बन्ने हो की भन्ने भ्रम उत्पन्न हुन सक्छ । अझ नेपालको राजनैतिक बहसमा जातीय पहिचान मुख्य मुद्दाका रुपमा आएकोले पहिचान साहित्य जातीय वा साम्प्रदायिक लेखन हुने हो कि भन्ने अन्यौल पनि हुन सक्छ । तर त्यसो हुनसक्दैन, किनभने पहिचान भन्ने विषयले व्यापक अर्थ र क्षेत्र बोकेको छ । कुनैपनि सजीव, निर्जीव वा संवेगको कुरा गर्दा पहिलो पक्ष उसको पहिचान हो । अन्य विषय वा इतिहास, वर्तमान र भविष्य पहिचान पछिका कुरा हुन् । हामीले अहिलेसम्म यो पक्षलाई वास्ता गरिरहेकाछैनौँ, अनुभूत गरिरहेका छैनौँ, गौण मानेकाछौँ । अब कुनैपनि सजीव, निर्जीव वा संवेगलाई अभिव्यक्त गर्ने विषयलाई पहिचानको कोणवाट हेरिनुपर्छ । ती कोणका विविध आयामहरु पहिचान साहित्यका रुपमा लेखिनुपर्छ ।

नेपाली साहित्य लेखनको अन्तिम लक्ष्य नयाँ नेपाल निर्माण हुनुपर्दछ । नयाँ नेपालको निर्माण यथेष्ट समावेशी चरित्र भएको समतामूलक समाजको स्थापनावाट मात्र हुन्छ । अहिले विभिन्न क्षेत्रवाट माग र मुद्दाकै रुपमा अघि सारिएको सवै प्रक्रियामा समावेशी संरचनाको विषय पनि यस्तो समाजको स्थापनावाट स्वतः संबोधन हुन्छ । समाजमा विभेद पराकाष्ठामा पुगेकोले समावेशी संरचनाको स्वभाविक माग भएको हो । समावेशी चरित्र सहितको समतामूलक समाजको निर्माण लेखनवाट हुने पाठकको चेतना अभिवृद्धि मार्फत जातिय, क्षेत्रिय, वर्गीय, लिंगीय, बैचारिक, संवेगात्मक लगायत सवै विभेदको अन्त्यवाट मात्र सम्भव छ । यो विभेदको अन्त्यको उद्देश्य सहित साहित्य लेखिनुपर्छ । पिछडिएका जाति, क्षेत्र, वर्ग, विचार आदीको पक्षमा यतिसम्म निरन्तर लेख्ने कि जतिसम्म लेख्दा पछाडि परेकाहरु अघि बढिसकेका जाति, क्षेत्र, वर्ग, विचारहरुको समान उचाईमा पुगुन् । समाजका सजीव, निर्जीव वा संवेग सवै सन्दर्भहरुमा समान क्षमतामा पुगेको समाज नै समतामूलक समाज हो । पहिचान साहित्य लेखनको अभिष्ट यही हुनुपर्छ ।

उदाहरणका लागि, लिम्बु पछाडी परेको र बाहुन् अगाडी बढेको जाति भनिएको छ, समतामूलक समाज चाहिएको हो भने यी दुवै जाति समान हुनुपर्छ । त्यसका लागि यी जातिविचमा विभेदको अन्त्य हुनुपर्दछ । दुवैको समान क्षमता र अधिकार स्थापित हुनुपर्छ । समुदायलाई नयाँ नेपाल निर्माणको तहसम्म पुर्याउन लिम्बु स्रष्टाहरुले आफ्नो समुदायलाई चेतना अभिवृद्धि गराई नै रहेकाछन् । मातृभाषामा होस या कुनै पनि भाषामा आफ्नो पहिचानका लागि लेखिरहेकाछन् । तर अब लिम्बुले मात्र आफ्नो समुदायका बारेमा लेखेर भएन, सवै जातिका स्रष्टाहरुको एउटै उद्धेश्य समतामुलक समाज स्थापित गरेर नयाँ नेपाल निर्माण गर्नु हो भने अब बाहुन स्रष्टाले पनि कुनैपनि भाषा वा माध्यममार्फत लिम्बु समुदायको उत्थानका लागि लेख्नुपर्दछ । यदि लिम्बुको ठाउँमा बाहुन पछाडी परेको भए लिम्बु स्रष्टाले बाहुन समुदायको उत्थानका लागि लेख्नुपर्दछ । यो दोहोरो जिम्मेवारी बहन गर्ने उत्साह सवै समुदायका स्रष्टाहरुमा उत्तिकै हुनु जरुरी छ । एउटा समुदायका बारेमा मात्र लेखिरहने हो भने त्यो समुदाय अघि बढिरहने र अर्को पछि नै परिरहने अवस्था आउँछ जसले विभेद झन् फराकिलो हुँदै जान्छ । यसअर्थमा बर्तमान नेपालको राजनितिले बोध गराएको सामाजिक परिवेशलाई हेर्दा हामी सवै स्रष्टाहरुले पहिचानको लडाई लडिरहेका कुनैपनि वर्ग, समुदाय र विचारहरुको पक्ष र प्राथमिकतामा लेख्नुपर्ने आवश्यकता देखिएको छ ।

४. प्रवृत्ति र शैली
यसर्थ पहिचान साहित्य कुनै जाति विशेषको मात्र साहित्य हुन सक्दैन । कुनै राजनैतिक विचारको संवाहक पनि यो हुन सक्दैन । संसारमा अस्तित्वमा रहेर कुनै न कुनै पहिचान बोकेका सजीव, निर्जीव वा संवेगको कुनैपनि किसिमको पहिचानको पक्षलाई यसले अन्वेषण र लेखन गर्दछ । संसारमा पहिचान विहिन कुनै वस्तु वा संवेग छैन, त्यसैले पहिचान साहित्य सवैको साझा हुनसक्दछ ।

नेपाली साहित्य विभिन्न प्रवृत्ति, शैली र मोहडाहरु पार गर्दै आजको अवस्थामा आईपुगेको छ । कविताकै कुरा गर्ने हो भने अहिलेको नेपाली कविता प्राविधिक वा यान्त्रिक रुपको संस्कृत पद्य शैलीवाट विकसित हुँदै आधुनिक गद्य शैलीमा खेलिरहेको छ । गद्य शैली पनि अति आधुनिक हुँदै प्रत्येक कविका वैयक्तिक शैलीहरु विकसित हुँदै गएकाछन् । अहिलेका नेपाली कविता अत्यन्तै स्वतन्त्र, त्यसैले नै शक्तिशाली बन्दै गएकाछन् । पछिल्लो समय कविहरुमा आआफ्नो समुदायका मौलिक, ऐतिहासिक, साँस्कृतिक र पहिचान सापेक्ष जातीय विम्ब वा मिथकहरु प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । त्यो विम्ब वा मिथक रचनामा टपक्क प्रयोग गर्दा रचनामा कौतुहल सिर्जना हुने भएकोले पाठकहरुका लागि अनुसन्धानको आधार बन्ने र मिथकसँग सम्बन्ध राख्ने परिवेश वा समुदायप्रति ज्ञान प्राप्त हुने भएकोले यसलाई विशिष्ट शैलीका रुपमा लिनुपर्दछ । पहिचान साहित्यको एक आग्रह यो पनि हो तर विम्ब वा मिथकमात्र प्रयोग गरेर पहिचान साहित्यको अवधारणा पुर्ण हुँदैन । सिंगो सिर्जना नै सम्बन्धित लक्षित वर्गको पहिचान प्राप्तिको मार्गदर्शक बन्नुपर्दछ भन्ने हो । यसका लागि सर्जकले कुनैपनि रचना गर्दा यसरी नै, यही आकार वा प्रारुपको भन्ने जडता यसमा मान्य हुँदैन । अहिले जसरी सिर्जनामा स्वतन्त्रता छाएको छ, त्यसलाई अंगीकार गर्दै वैयक्तिक शैलीमा सिर्जना गर्न सर्जक स्वतन्त्र हुन्छ ।

अहिले मातृभाषामा साहित्य लेखनको क्रम लहरकै रुपमा विकसित भएको छ । विभिन्न मातृभाषामा कविता, कथा, गजल, उपन्यास, पत्रिका आदी प्रकाशनको क्रम तिव्र बन्दै गएको छ । जुन समुदायले आफ्नो पहिचानप्रति गम्भिरता, जवाफदेहीता र उत्तरदायित्व महशुस गरिरहेको छ, त्यही समुदाय मातृभाषाको साहित्य लेखन र प्रकाशनमा अग्रगतिमा छ । यो सम्बन्धित समुदायका अन्य समुदाय वा राज्यले चिन्न र बुझ्न बाँकी पहिचानका विषयवस्तुहरुलाई सार्वजनिकिकरण गर्ने सशक्त प्रयास हो । त्यसैले मातृभाषा साहित्य पनि पहिचान साहित्य अन्तर्गतकै लेखन हो । नेपाली साहित्य विकासका सन्दर्भमा यो अत्यन्तै उल्लेखनीय फड्को हो । यसले अन्ततः नेपाली साहित्यको विस्तृतीकरण र विविधिकरणमा सहयोग गरिरहेको छ ।

अहिले विशेष गरी किरात राई अन्तर्गतका बान्तावा, बाम्बुले, नाछिरिङ, चाम्लिङ लगायत मातृभाषीहरु यसप्रकारको सिर्जना र प्रकाशनमा क्रियाशिल देखिएकाछन् । लिम्बु, मगर, गुरुङ, तामाङ, थारु लगायत पनि मातृभाषा साहित्य लेखन र प्रकाशनमा निरन्तर क्रियाशिल छन् ।

५. नेपाली साहित्यमा पहिचान साहित्य
नेपाली साहित्यमा घोषित वा अघोषित रुपमा पहिचान साहित्यको आग्रह अनुसार यसअघि नै धेरै सिर्जना गरिएकाछन् । श्रवण मुकारुङको ‘विसे नगर्चीको बयान’ कविता संग्रहमा संकलित थुप्रै कविताहरु (हालसम्म कतै नभनिएपनि) पहिचान कविता हुन् । स्वयं ‘विसे नगर्चीको बयान’ कविता एक सशक्त पहिचान कविता हो । दुई सय चालिस वर्षदेखि आफ्नो पहिचानको उत्कट खोजीमा रहेको विसे नगर्ची नामको सिमान्तकृत नेपाली जनता बहुलाएपछि मालिक नामको राजतन्त्र ढल्यो । विसे अब आफ्नो पहिचान स्थापित हुने यसभन्दा अघि कहिल्यै अनुभूत नगरेको आशा र विश्वास मुटुमा साँचेर बसेको छ ।

राजन मुकारुङको मदन पुरस्कार प्राप्त उपन्यास ‘दमिनीभीर’ पनि पहिचान साहित्यकै आग्रहमा संरचित छ । यसलाई नेपालको एक अब्बल पहिचान उपन्यासको स्तरमा राख्न सकिन्छ । यसबाहेक थुप्रै युवा सर्जकहरुको पंक्ति पहिचान साहित्यको पेरीफेरीमा रचना गर्दैआएकाछन् । यसरी हेर्दा नेपाली साहित्यमा पहिचान साहित्य यसअघि नै लेखिन शुरु गरिएको भएपनि संस्थागत हुन बाँकी रहेको देखिन्छ । अथवा पहिचान साहित्य यसअघि नै जन्मिसकेको भएपनि न्वारान गर्न बाँकी थियो । यसलाई यो अवधारणा मार्फत औपचारिक न्वारान गरेर संस्थागत विकासको अभियान शुरु गर्ने कोशिस गरिएको छ ।

प्हिचानको विषयलाई लक्षित गरेर यसअघि जे जति लेखन, प्रकाशन, गतिविधी वा प्रयास भएका छन्, तिनलाई नजरअन्दाज गर्न कदापि मिल्दैन । त्यसो गर्न खोजिएको पनि होईन । पहिचान साहित्यसँग सापेक्षता राख्ने हालसम्म भएका प्रयासहरुको खोजी र सार्वजनिकीकरणको विषय अति महत्वपुर्ण र अनिवार्य छ । पहिचान साहित्यको सम्पुर्ण रुपरेखा कोर्ने सन्दर्भमा आगामी दिनमा यसप्रकारको खोजी र प्रकाशन अवश्य नै गरिनेछ ।

६. उपसंहार
साहित्य लेखनको केन्द्रिय तत्व विचार हो । विचारको प्रक्षेपण, कोणप्रतिकोणमा छलफल, बहस, निष्कर्ष र प्रतिपादनवाट नै साहित्य समृद्ध हुँदै जान्छ । समृद्ध साहित्य नै लक्षित वर्गका लागि ग्राह्य, समतामूलक समाज स्थापनामा अचुक अस्त्र र नयाँ मुलुक निर्माणका लागि पृष्ठभुमी बन्न सक्दछ । नेपाली साहित्य पनि विभिन्न विचार, प्रवृत्ति र शैलीको नयाँ प्रयोगवाट परिष्कृत हुँदै आएको छ । त्यसैले यी विचारहरु नेपाली साहित्यका गहना हुन् । यस अवधारणामार्फत पनि नेपाली साहित्यकाशमा एक नयाँ विचारलाई आकृत गर्ने प्रयास गरिएको छ । मुलतः अवधारणाको प्रस्तुती पहिचान साहित्य सम्बन्धि विषय प्रवेश मात्र हो । यसभन्दा अघि यसबारे कतै छलफल, बहस वा लेखन नभएकोले यो प्राथमिक अवधारणा हुन सक्दछ । यसबारे विद्धतवर्गमा थप गहन छलफल, बहस र ठोस निष्कर्ष जरुरी देखिएको छ ।

०७१ असार ३०
(०७१ असार २८, २९ र ३० मा धरानमा सम्पन्न ‘धरान साहित्य महोत्सव–०७१’ मा प्रस्तुत अवधारणापत्र)

http://kchhakhabar.com बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *