‘महालक्ष्मी साहित्य पुरस्कार’ प्रा डा भट्टराइलाई

मनहरी : हेटौँडास्थित महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको ‘महालक्ष्मी साहित्य पुरस्कार’यसवर्ष वरिष्ठ साहित्यकार प्रा डा गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ ।

नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएबापत भट्टराईलाई शनिबार यहाँ आयोजित एक कार्यक्रमका बीच पुरस्कृत गरिएको थियो । पुरस्कारको राशी रू ५१ हजार रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल र सभाध्यक्ष मातृभूमि साहित्य समाजका अध्यक्ष माधव बहादुर पोख्रेलले गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कविसमेत हुनुहुन्छ ।

मातृभूमि र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्षको २१ औँ पुरस्कार हो । अघिल्लो वर्ष यस पुरस्कार साहित्यकार श्रवण मुकारुङलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा महालक्ष्मी विकास बैंकका बागमती प्रदेश(ख)का प्रमुख शम्भुप्रसाद पराजुली, प्रा डा शैलन्दु प्रसाद नेपाल, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्पहरि अधिकारी ‘अन्जली’, साहित्यकार मुक्ति गोविन्द वैद्य, बैंकका शाखा प्रवन्धक अनन्तराज धिताललगायतको उपस्थितिमा साहित्यवाचन गरिएको थियो ।

समाजले यसवर्षको ‘केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार’ हेटौँडाका पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गरेको छ । उक्त पुरस्कार ईश्वर मैनालीले आफ्ना बुबाको स्मृतिमा स्थापना गर्नुभएको थियो । पुरस्कारको राशी रू सात हजार रहेको छ । पत्रकार श्रेष्ठ पत्रकारिता विषयका प्राध्यापक समेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *