के चीनले अमेरिकालाई उछिन्ला ?

शीर्षकको प्रश्न अहिले विश्वमै चर्चित छ । अंग्रेजीमा ‘अ मिलियन डलर्स क्वेस्चन’ भने जस्तै बनेको छ यो प्रश्न । अर्थात सजिलै यस प्रश्नको जवाफ मिल्नेवाला छैन ।
यही प्रश्नमा आफ्नो स्नातकोत्तरको शोधलाई पुस्तककार रुप दिएका छन् साहित्यकार विश्वासदीप तिगेलाले । नेपाली साहित्यमा विभिन्न कृति पस्किसकेका पूर्व गोरखा सैनिक तिगेलाको यो पुस्तक पहिलाका कृतिहरु जस्तो आख्यान नभई बिल्कुल गैरआख्यान विधामा छ ।

इण्डिपेण्डेण्ट पब्लिकेसन, बेलायतद्वारा प्रकाशित १६० पृष्ठको सो पुस्तकको शुरुवातमा लेखकले किन यो विषयमा अनुसन्धान गर्न मन लाग्यो भन्ने प्रश्नको उत्तर दिने चेष्टा गरेका छन् । साथै आधुनिक चीनको उदयका बारेमा पनि संक्षिप्त चर्चा गरेका छन् ।

दोस्रो र तेस्रो खण्ड पुस्तकको प्राण हो । दोस्रो खण्डलाई आर्थिक उदय शीर्षक दिइए पनि यस खण्डभित्र शक्तिको परिभाषा, शक्तिका प्रकार प्रष्ट्याउने कोसिस गरिएको छ । यस खण्डमा आर्थिक, सैनिक, सामाजिक अवस्था, निर्वाचन, मानव संशाधन र राजनीतिक स्थायित्वलाई शक्तिको वर्गीकरणभित्र पारी चर्चा गरिएको छ ।

तेस्रो खण्डमा चीनको विदेश नीति, पहलकदमी र संलग्नताका बारेमा समेटिएको छ । चीनको पहलकदमी र संलग्नताका बारेमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ), साउथ चाइना सी, उइगुर, ताइवान, तिब्बत, हङकङ र चीन र रसियाको सहकार्यलाई मामिला अध्ययन (केस स्टडी) बनाइएको छ । तत्पश्चात अन्तर्राष्ट्रिय संस्थाहरुमा चीनको संलग्नता, कोरोना भाइरसका बारेमा चीनको कुटनीति र वर्तमान विश्व ब्यवस्थाको विवेचना गरिएको छ ।

निचोडमा तिगेलाले बन्दुकको नालबाट शक्ति प्राप्त हुन्छ भन्ने माओत्से तुङको नेतृत्वमा वर्तमान चीनको जग बनेको भए पनि अहिलेको चीनले माइकल फोकाल्टको शक्ति चारैतिरबाट प्राप्त हुन्छ भन्ने सिद्धान्त लागू गरिरहेको तर्क गरेका छन् । क्रय शक्ति समता (पर्चेजिङ पावर प्यारिटी) मा अमेरिकालाई उछिने पनि विश्व व्यवस्थामा अमेरिकाको स्थान लिन चीनलाई अझै निकै समय लाग्ने उनको जिकिर छ । चीनको विदेश नीति अलगाववादी भएको र त्यसकै कारण विश्व व्यवस्थाको नेतृत्व लिन चीनलाई असजिलो बनाएको उनको बुझाइ छ । यदि चीनले विश्व व्यवस्थाको अगुवाई गर्ने हो भने विदेश नीति परिवर्तन गर्नुका साथै अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि जोड दिनुपर्ने उनको सुझाव छ ।

चीन र अमेरिकाको होडका कारण बाँकी विश्वले फाइदा पनि लिन सक्ने तिगेलाले उल्लेख गरेका छन् (पृष्ठ ७४) । विगतमा राजनीतिक शर्त राखेर मात्र ऋण र अनुदान दिने अमेरिकाले चीनले कुनै राजनीतिक शर्तबिना पूर्वाधारहरु विकास गर्न थालेपछि त्यसलाई रोक्न बिल्ड ब्याक बेटर वर्ल्ड (वीथ्रीडब्ल्यू) को अवधारणा ल्याएको र यस्तो होडले बाँकी विश्वलाई पूर्वाधार विकासमा लाभ पुर्याउने उनको तर्कमा केही सहमत हुने ठाउँ छ । तर केही साताअघि नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने सन्दर्भमा देखिएको परिदृश्यले चीन र पश्चिमा मुलुकहरुको पूर्वाधारको होडले अन्य मुलुकहरुलाई कुनै एउटा कित्तामा उभिन बाध्य बनाउन सक्ने पनि अवस्था पनि आउन सक्छ । यसबाट ती मुलुकहरुमा राजनीतिक अस्थिरता सिर्जना हुँदा नकारात्मक असर गर्ने सम्भावना पनि रहन्छ ।

तिगेलाले पृष्ठ ३७ मा ‘चीनमा गरिबी र भोकमरीका कारण क्रान्ति उठेको’ बताएका छन् । तर त्यो कुन क्रान्ति थियो, सन् १९४९ को चिनियाँ कम्युनिष्ट पार्टीको सत्ता स्थापना गर्ने क्रान्ति थियो वा सन् १९६६ को साँस्कृतिक क्रान्ति थियो भन्ने बारेमा भने प्रष्ट छैन । सन् १९४९ को क्रान्ति शुरु हुनुमा चीनमा जापानी आक्रमणका विरुद्धमा खरो उत्रन नसकेको तत्कालिन कोमिन्ताङ शासकविरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीले चलाएको राष्ट्रवादी अभियान एक महत्वपूर्ण औजार थियो । त्यस्तै, सन् १९६६ को साँस्कृतिक क्रान्ति हुनुको पछि तत्कालिन नेता माओको शक्ति आफूमा केन्द्रीकृत गर्ने व्यक्तिगत महत्वाकांक्षा प्रमुख कारण थियो भन्ने बिर्सन हुँदैन ।

पुस्तक धेरैजसो तृतीय पुरुषमा लेखिएको छ तर कतै कतै प्रथम पुरुषमा पनि लेखिएको पाइन्छ । यसमा एकरुपता भइदिएको भए अझै सुन्दर हुने थियो । यस्तै पुस्तकमा भाषागत त्रुटीका साथै केही तथ्यगत त्रुटी पनि छन् । जस्तै पृष्ठ ५९ मा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष सि जिनपिङ भनिएको छ तर सन् १९८२ यता चिनियाँ कम्युनिष्ट पार्टीमा महासचिव नै पार्टी नेता रहने गरेका छन् भने सि जिनपिङ पनि महासचिव नै छन् । पृष्ठ ११५ मा कोरोनाविरुद्धका खोपहरुको नाममा म्याडोना लेखिएको छ । शायद मोडर्ना लेख्न खोजिएको होला । शोधपत्रलाई पुस्तकका रुपमा निकाल्दा होला कतिपय ठाउँमा सन्दर्भ सामग्री उल्लेख हुनुपर्नेमा छुटे जस्तो पनि पाइन्छ ।

समग्रमा आख्यानमा रमाइरहेका तिगेलाले नयाँ कृति प्राज्ञिक स्वरुपमा ल्याउनु आँट गरेका छन् त्यो नै प्रसंशनीय छ । शायद यो कृतिबाट उनको लेखनको बाटो पनि मोडिन सक्छ । यस कृतिले चीन मामिला र विश्व व्यवस्थाका बारेमा जान्न खोज्नेहरुलाई केही सहयोग अवश्य गर्नेछ ।

– नरेश खपांगी, wenepali.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *