‘न्यायको पहुँचमा दलित’ पुस्तक सार्वजनिक

४ अगष्ट २०२२ । ‘न्यायको पहुँचमा दलित ?’ पुस्तक सार्वजनिक गरिएको छ । जागरण मिडिया सेन्टर (जेएमसी) ले प्रकाशन गरेको सो पुस्तकलाई प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।

अनुसन्धानमा आधारित पुस्तकमा दलित समुदायको मानवअधिकार उल्लङ्घन र न्यायका लागि सङ्घर्षमा केन्द्रित छ । समिति सभापति पोखरेलले संवैधानिक र कानुनीरुपमा सुनिश्चित् अधिकारको व्यवहारिक रुपमै कार्यान्वयन गर्दै थप अधिकार प्राप्त गर्न दलित समुदायले एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले नीति निर्माण तहमा दलित समुदायको समान सहभागिताको माग गर्नुभयो । राष्ट्रिय दलित आयोयका अध्यक्ष देवराज विश्वकर्माले भन्नुभयो, “जातीय हिंसा तथा उत्पीडन मानवता विरुद्धको अपराध हो ।”

पुस्तकभित्र देशभरका १२ घटनालाई समावेश गरिएको छ । पुस्तकमा दलित तथा सीमान्तकृत समुदायको मानवअधिकार उल्लङ्घनका घटनामा, घटनाको प्रकृति, न्यायको पहुँचको अवस्था, सङ्घर्ष र प्रक्रियासम्बन्धी विषयवस्तु समावेश गरिएको अध्यक्ष कमला विश्वकर्माले जानकारी दिनुभयो ।

लेखक तथा अध्येता जेवी विश्वकर्माको सहयोगमा तयार गरिएको पुस्तकमा खासगरी अन्तरजातीय विवाहका भएका घटना र पानी छोएको निहुँमा दलित समुदायमाथि भएको हत्या र कुटपिटलगायतका घटना समोवश गरिएको छ ।

पुस्तकलाई भीमबहादुर विक, विरु नेपाली र कृष्ण दर्नालले सम्पादन गर्नुभएको छ । (जेएमसी) सन् २००० मा दलित समुदायका सक्रिय युवा सञ्चारकर्मीको पालामा स्थापना गरिएको गैरसरकारी संस्था हो । सो संस्थाले दलित अधिकार सुनिश्चितताका लागि समानता, मानवअधिकार, लोकतन्त्र, समावेशीकरण, सामाजिक तथा वातावरणीय न्याय, दिगो विकास र व्यवस्थापनका लागि सञ्चारमार्फत वकालत गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *