मगर जातिमा पुन थर कसरी रहन गयो ? – बल बहादुर घर्तिमगर

मगर जातिमा ‘पुन’थरको उत्पत्तिको सम्बन्धमा मैले एउटा अनलाइन अखबारमा मेरो विचार प्रकाशित गरेपछि मलाई थुप्रै इमेलहरु प्राप्त भए । ती मध्ये कतिपय त धम्कीपूर्ण थिए । सायद पुन जाति अभियान्ता साथीहरु हुनुपर्छ वहाँहरु । मैले ती धम्कीहरुलाई सत्य तीतो हुन्छ भन्ने मानेर इग्नोर गरिदिए ।

आज प्राज्ञिक तहबाट समेत ‘पुन’ लाई मगर भन्दा अलग जातिको हैसियत हुने गरेर प्राज्ञिक गतिविधि भएको रहेछ । नेपाल मगर संघ लगायतले सो गतिविधिको विरोध गरेको तस्वीरहरु सामाजिक सञ्जालमा देखियो । म मगर संस्कृति बारेमा धेरथोर सोधखोज गर्ने व्यक्ति भएको हुँदा मगर जातिमा पुन थर कसरी रहन गयो भन्ने सन्दर्भमा केही तथ्यहरु यहाहरुलाई अवगत गराउने अनुमति चाहन्छु;
मगर खाम भाषामा ‘पोन’ शब्दको भावार्थ पूजारी हो । पूजारी कार्यलाई पोन्या भनिन्छ । यसरी मगर जातिमा पोनका सन्ततीहरुलाई पोन पट्टी भन्न थालियो । अझ पश्चिम नेपालमा पोन्थो, पोनडेरा,पोन्पो भन्ने धेरै स्थान नामहरु आजपनि छन् । अझै पनि गाउँमा बुढापाकाहरुले पुनहरुलाई पोन भन्दछन् । लेख्य अभ्यासको शुरु भएपछि मात्र सबैले पुन लेख्न थालेका हुन् ।

तपाईहरुको मनमा प्रश्न उठ्यो होला पोन कसरी फरक फरक कइरन/थरमा विभाजन भयो भनेर । जस्तो बैजाली पोन,राम्जाली पोन, पहरई पोन, राङू पोन,बारङ्गी पोन, दर्जामी पोन, पाइजा पोन आदि । यी कइरन अर्थात थरहरु मगर जातिको साकासँग जोडिएको छ । यी फरक साकाका वंशहरु आजपनि तत् तत् कइरन लिएर रहेका छन् एउटै साकाका थुप्रै बन्धुहरुमा कसै न कसैले कुल/पितृ पूजाको जिम्मेवारी ग्रहण गर्नुपर्छ त्यसैले एक बन्धुलाई सो जिम्मा दिइयो । किनभने अलग कइरन/थरको व्यक्तिले आएर कुल/पितृपूजा गर्न मिल्दैन । यसरी पोनको जिम्मा लिएपछि तिनका सन्तानलाई पोनपट्टी भन्न थालियो । र, पोन टाइटल दरसन्तानमा पनि सर्दै गयो । जसरी आज मुखीयाका सन्तानहरुलाई मुख्यपट्टी तथा झाँक्रीका सन्तानलाई झाँक्रपट्टी भनिन्छ ।

अझ PON लाई POON लेख्ने कार्य ब्रितिश गल्लाहरु गाउँगाउँमा प्रवेश गरेपछि विस्तार भएको हो । बर्माको लडाईमा सन् १९४४ मा तुलबहादुर पुनले भिक्टोरिया क्रस पाएपछि मगर भित्रको पुन थरको महिमा व्रितिशहरुले बजारीकरण गरे । लाहुरेको अवसर खोजिरहेका र पैत्रिक रुपमा गैरपोन र गैरमगर समेतले पुनलाई भिक्टोरिया क्रस तुलबहादुर पुनको साख्खै देखिने गरी आफ्नो थर पुन भन्दै भर्ती भए । त्यसताका अहिलेको जस्तो व्रितिश र भातरीय सेनामा भर्ती हुन नेपाल नागरिता ऐन,२००९ व्यवहारिक रुपमा ग्रामिण समुदायमा प्रचलनमा आइसकेको थिएन । र विना नागरिकता भर्ती हुन सकिन्थ्यो । त्यसको परणाम आज जिल्ला प्रशासन कार्यालयहरुमा पेन्सनपट्टालाई नागरिकताको अभिलेखसँग एकिकृत गर्न पुगेका भूपू लाहुरेहरुको हज्जारौँ सिफारिसका ढड्डा देख्न सकिन्छ । त्यति मात्र होइन कतिपयको त दुई भाईहरुको सन्तानको थर समेत फरक पर्ने अवस्था देखिएको छ ।

यहाँ पुन अभियान्ताहरुलाई उत्प्रेरित गर्ने मुख्य दुई निर्देशक सिध्दान्तहरु देख्न सकिन्छ; एउटा औपनिवेशिक मानसिकता जो व्रितिश साम्रज्यबाट प्राप्त ‘पुन’लाई सोही अनुसार स्थापित गर्ने र मगरबाट अलग गर्ने । दोश्रो अति ब्राहमणवादी मानसिकता । ब्रामहणवाद आफू उच र अरु सबै नीच भन्ने सिध्दान्तमा आधारित विचारधारा हो । पुनलाई मगरको थरको रुपमा लिदा हिनताबोध महसुस हुने किन भने मगर जाति समानतायुक्त सजातीय समुह हो । यहाँ हिन्दु वर्णव्यवस्थाले स्थान पाउँदैन । म्याग्दीका कतिपय व्यक्तिले छुवाछुट प्रवर्धन हुनेगरी गरेको अभ्यासले यसलाई पुष्टी गर्छ ।
‘दाङरा खाने र भाङ्ग्रा लाउने’ भन्दा लाज मान्ने विकासे ब्रोहरु अब सार्वजनिक बहस गरौँ । शिर्षक राखौँ ‘पुन मगरको थर हो कि अलग जाति ?’ त्यो बहसमा पुन टाइटल बोकेका सबैलाई सहभागी हुन आह्वान गरौँ ।

– स्रोत समाजिक संजाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *