पञ्चायत विरोधि कविता बाचन गर्थें त्यसैले मलाई कवि देखे – कवि विक्रम सुब्बा

नेपाली साहित्यको क्षेत्र र प्राज्ञिक क्षेत्रमा सधै चर्चित नाम हो कवि विक्रम सुब्बा । उसो त राजनैतिक प्रणाली परिवर्तनको आन्दोलनहरुमा पनि अग्रणी नाम हो विक्रम सुब्बा । वहाको तार्किक क्षमता र मिहिन खोजअनुसन्धान सबैको लागि अनुकरणीय छ । वहा सभासम्मेलन र कार्यक्रमहरुमा कमै सहभागी हुने मध्येमा पर्नुहुन्छ अझ केही समय अघिदेखि झनै खोज र अनुसन्धानमा ब्यस्त तर बाहिर नभेटिएको कारण वहालाई के गर्दै हुनुहुन्छ भनेर खोज्नेक्रममा नेपालीलिटरेचर डटकमले गरेको महत्वपूर्ण लिखित अन्तरवार्ता यहा प्रस्तुत छः

१. दाई, पेशाको हिसाबबाट तपाईको चिनारी के हो र के थियो?

उत्तरः जिविकोपार्जनको निम्ती मैले अनेक काम गर्दै आएँ । जस्तैः विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट कति विद्यार्थी पढ्न कहाँ कहाँ जान्छन्? भन्ने त्रिविविको एउटा सानो अध्ययन गर्ने टीममा बसेर पहिलो काम गरें । जसबाट अधिकांश मधेशीहरू भारततिर पढ्न जाने, पहाडेहरू अधिकांश काटमाण्डू पढ्न जाने तात्कालिन Pattern देखियो भने अधिकांश महिलाहरूले Drop out गरेको देखियो । यसको कारण खुल्ने लिखित स्रोत भेटिएन तर हाम्रो टीमको Observation र क्याम्पसका शिक्षक र अभिभावकहरूसंगको अनौपचारिक कुराकानीमा BA Pass गर्दा नगर्दा विवाह गर्ने उमेर पुग्ने र विवाह गरेर जाने प्रचलनले अधिकांशले Drop out गरेको बुझियो । यो मेरो पहिलो कामले तथ्यांकहरु Tabulation गर्ने र Trend analysis गरेर निचोड निकाल्ने अध्ययनको काम गरेरै टीममा सिकें ।

दोस्रो काम मैले बिटानगर जुट मीलको प्रशासनिक बिभागको भन्सारबाट कम्पनीको लागी आयात गरिने माल छुटाउँने काममा Second man भएर काम गरें । मीलमा चाहिने हजारौं किसिमका पार्टपूर्जाहरू भारतबाट आयात गरिन्थे । ती जोगबनी पारी भारतको रेलवेमा स्टेशनमा Download हुन्थे र रेलवे स्टेशनबाट पारी भारतमै गोदाममा राख्नु पर्थ्यो । मेरो काम (मेरा २ Assistants सँग मिलेर) भन्सार कार्यालयमा बील-भौचर बमोजिम राजश्व तिरेर सामानहरू जुटमीलको Store सम्म ल्याएर दाखिला गर्ने थियो । त्यो कामले मलाई बिदेशी माल-सामान रेलबाट कसरी नेपालमा आयात गरिन्छ भन्ने बारेका एक किसिमको प्रकृयाबारे जान्ने मौका दियो ।

तेस्रो काम मैले मेरा (नेपाली भाषा साहित्यका) प्रोफेसर (बिराटनगरमा साहित्य लिएर पढ्ने म एक्लो थिएँ) बालकृष्ण पोखरेल प्रज्ञाप्रतिष्ठानमा आएपछि नेपाली शब्दकोश तैयार गर्ने टीममा एक सहायक भएर केही महिना काम गरें । विज्ञहरुको टीमले छलफल गरेर टुंगो लगाएको मेरो काम सूचिकृत गर्ने थियो । तेतिखेर, म अहिले पनि सम्जन्छु, “पुत्ताउँनु” भन्ने शब्दलाई परिभाषित गर्न प्रोफेसर वासुदेव त्रिपाठी (पश्चिमेली) पक्ष र प्रोफेसर बालकृष्ण (पूर्वेली) पक्षको ३ दिन छलफल चलेको थियो । यस्ता अनेक कोणबाट गहन र रौंचिरा छलफलहरू सुनेर गहिरो विश्लेषण गर्ने काम मलाई गजब लाग्यो । त्यसपछि मेरो बानी नै हरेक कुराहरूलाई गहिरोगरी सोधखोज गर्ने बानी बस्यो ।

चौथो काम मैले विदेशी (अमेरिकन Peace corps) हरुलाई नेपाली भाषा र संस्कृति बारे तालिम दिने प्रशिक्षकको काम गरें । यति बेलै मैले आफै पनि नेपाली भाषा र संस्कृतिको प्रशिक्षक तालिम पनि लिएँ । यही तालिमका बेला नेपाल लगायत विदेशी (खास गरेर अमेरिकी संस्कृति र नेपाली संस्कृतिहरूमा निहित) भिन्नताहरू बारे धेरै कुराहरू बुझ्ने मौका पाएँ । अझ नेपालभित्रका अनेक जातजातिका भाषा र संस्कृतिहरू भिन्न भिन्न छन् भनेर चिनाउँने डोरबहादुर बिष्टको People of Nepal र डोरबहादुर बिष्टका गुरु Furer Haimendorf को पुस्तक Himalayan Traders: Life in highland Nepal पनि पढें र नेपालको हिमाली क्षेत्रको भाषा-संस्कृति र जीवन बारे जान्ने मौका पाएँ । यसैबेला सत्यमोहन जोशीको नेतृत्वको टीमले अनुसन्धान गरेको १) कर्णाली लोक सँस्कृति भाग १ः सत्यमोहन जोशी लिखित, तिहास; २) भाग २ः स्थिरजंगबहादुर सिंह लिखित कर्णाली लोक सँस्कृति–भौगोलिक दृष्टिकोण’; ३) भाग ३ः विहारीकृष्ण श्रेष्ठ लिखितकर्णाली लोक सँस्कृति–जनजीवन; ४) भाग ४ः चूडामणि बन्धु लिखित कर्णाली लोक सँस्कृति–भाषा; र, ५) भाग ५ः प्रदीप रिमाल लिखित कर्णाली लोक सँस्कृति–साहित्य संगीत कला पनि पढें । जसले मलाई नेपालका खसहरूको बारेमा धेरै कुरा थाहा भयो भने अनुसन्धान गर्दा कसरी बिभिन्न पक्षका विशेषज्ञहरूको टीमले काम गर्न पर्छ भन्ने पनि थाहा भयो । यसका साथै अनेक किसिमका Reference सामग्री आफुले पढेर विदेशीलाई नेपालका बारेमा बुझाउँनु पर्थ्यो । यसै बेला मैले बाइबल र कुरान तथा गीता पनि पढें भने मुनामदन पनि पढें । ईमानसिं चेमजोङ संकलित मुन्धुम र किरातहरुको ईतिहास पनि यसैबेला पढें ।

यसैबेला १ घण्टा भाषा र संस्कृतिको शेसन लिनको लागी हामीलाई Preparation भनेर १ घण्टा छुट्टै समय दिइन्थ्यो । जहाँ कुनै काम गर्दा 6P भन्ने Formula सिकें । 6P = Prior Proper Planning Prevents Poor Performance हो । यही बेलादेखि कुनै पनि काम गर्दा राम्रो तैयारी गरेमा ५०% कामको मेलो सरिसक्छ भन्ने मेरो मान्यता (Value system)ले मभित्र जरा गाड्यो र अध्यापि तैयारी बिना कुनै पनि Professional काम नगर्ने बानि छ मेरो ।

पछि, भाषा पढाउँने सिलसिलामा नेपालमा आएर काम गर्ने United Mission to Nepal का ईशाई विदेशीहरूको निम्ती खुलेको भाषा स्कूलमा पनि प्रशिक्षक र अनेक Project मा काम गर्न आएका विदेशीहरूका निम्ती भाषा र संस्कृति प्रशिक्षकको रुपमा काम गरें भने नेपाली भाषा पढाउँने पुस्तकलाई अझ Update गर्ने कामको टीममा पनि रहेर पुस्तक तैयार गर्ने काम गरें । यसै बेला विदेशीहरूलाई Advance level को भाषा पढाउँन जुम्लाको घुगुती र स्याङजाको वालिङ (Project हरूमा काम गरिरहेका विदेशहरूलाई) पनि बसेर भाषा प्रशिक्षकको काम गरें । Project हरुमा प्राय विशेषज्ञहरू आउँने भएकोले उनीहरूको विशेषज्ञताबाट अनेक Advanced level का कुराहरू पनि सिक्ने मौका पाएँ ।

त्यसपछि जर्मनीको Keil University र नेपालको त्रिविविले मिलेर भाषा सर्भेक्षण गर्ने एउटा Project सुरु भयो । यसमा म पनि छानिएँ र तालिममा First भएकोले Field Supervisor and Linguistic Data Collector भएर काम गरें । बिभिन्न भाषाहरूको तथ्यांक संकलन गर्नुका साथै महिनामा एक पटक जिल्ला सदरमुकामा सबै Data collector हरूलाई जम्मा गर्ने, Advisor संग मिलेर Field मा आइपरेका Linguistic लगायतका समस्याहरु संबोधन गर्ने र सबैलाई तलब-भत्ता पनि दिने काम मेरो थियो । यो ३ वर्ष भन्दा बढी चलेको Project ले नेपालका अनेक भाषाहरुको ध्वनी प्रणाली (Vowels and consonants), व्याकरण प्रणाली (Lexicology) मा रहेको बिबिधताहरु बारे जान्ने मौका पाएँ । यही कामको अनुभवको आधारमा जर्मन भाषाशास्त्री Dr Alfons Weidert संग मिलेर Concise Limbu Grammar And Dictionary (1985) सहलेखनको काम गरें । भाषा सर्भेको Project को अवधी सकिएपछि म फेरि भाषा प्रशिक्षक भएँ ।

पुनः भाषा प्रशिक्ष हुँदा तात्कालिन जर्मन सरकार र नेपाल सरकारले पोखराको पञ्चायत प्रशिक्षण केन्द्रलाई नगर पञ्चायत प्रशिक्षण केन्द्रको रुपमा रुपान्तर गर्ने Project को Advisor र उनको पत्नीलाई ३ महिना भाषा पढाउँने सिलसिलामा गहिरो चिनजान भयो । भाषा प्रशिक्षण सकिएपछि उनैले पोखरा नगर फञ्चायतको Situation Assessment गर्ने (प्रशासनिक पक्ष, आर्थिक पक्ष, कर्मचारीको क्षमता पक्ष, आदि) कामको coordinator को काम Offer गरे । जसमा १५ जना जति मानिसहरुको टीमलाई coordinate गरेर काम गर्नु र अन्तमा Situation Assessment गर्दा आएको सूचना र तथ्यांकहरूको विश्लेषण गरेर Report लेख्ने छुट्टै टीम (पोखरा विश्वविद्यालयका २ प्रोफेसरहरु सँग मिलेर) मा बसेर काम गरें । जुन Report के Recommendation को आधारमा नगर पञ्चायतका जनप्रतिनिधी र कर्माचरीहरूको निम्ती Training गर्नु पर्ने Plan र उक्त पञ्चायत प्रशिक्षण केन्द्रलाई नगरपञ्चायत प्रशिक्षण केन्द्रमा रुपान्तरण गर्ने विधेयक तैयार गरि संसदबाट पास गराई ऐन बनाउँनु पर्ने थियो । यो काम पछि मलाई फेरि Training Coordinator को काम Offer गरेपछि पोखरामै बसेर तालिम केन्द्रका प्रशिक्षकहरुसँग तालिम पाठ्यक्रम विकास गर्ने, सन्दर्भ सामग्री जुटाउँने र Pilot Training सन्चालन गरेर तालिमको Curriculum लाई finetunning गर्दै लगेर Finalize गर्ने काम गर्न ३ वर्ष पोखरै बसेर कामगरें । प्रशिक्षण केन्द्र पनि नगरपञ्चायत प्रशिक्षण केन्द्र (कानुनी रुपमै) बन्यो भने मेले मेरी श्रीमती हरिमया सुब्बालाई पनि भेटें र हाम्रो बिबाह भयो । यही सिलसिलामा जर्मन Projects हरूमा चलेको Objective Oriented Project Planning नामक Strategic Planning Method को Basic र Advanced level को Facilitator’s Training लिएँ ।

तेतिखेर जर्मन सहयोगमा १२-१४ वटा Project हरू चलेका थिए । म Project Planning को Facilitator बनेर ती Projects हरूको काम गर्ने Freelance consultant को रुपमा व्यस्त भएँ । यसैबेला केही साथीहरूले HURDEC नामक Private Limited Company खोले जसमा म पनि एकजना Board of Directors भएँ । यसपछि जर्मन Projects बाहेक नेपालका धेरै जस्तो Projects हरूको Strategic Project Planning को काममा संलग्न भएँ ।

त्यसै बेला हाम्रो कम्पनीले केनेडीयन Cooperation मा आउँने विदेशी Advisor हरूको लागी Cross-culture Advisor को काम गर्नु पर्ने Project पायो । जसको निम्ती तालिम लिन म क्यानाडा गएँ र फर्केर आएपछि ४ वर्ष Crossculture Advisor को काम गरें । यसैबेला Profesor Gert Hofstede 4 Dimension Model को आधारमा Culture हरु बुझ्ने Orientation दिने काम गरें । सो 4 Dimension Model मा थप अध्ययन गरेर अचेल 6-Dimension Model भएकोछ ।

यसै सिलसिलामा नेपाल सरकारले हरेक जिल्लाको पञ्चवर्षीया योजना तर्जुमा गर्नु पर्ने (योभन्दा पहिले वार्षिक योजना मात्र बनाइन्थ्यो) घोषणा गर्‍यो । हाम्रो कम्पनीले थुप्रैलाई तालिम दिएर ७५ रै जिल्लाको पञ्च वर्षीय (कुनै कुनै ७ वर्से) योजना विकास गर्ने अभियान चल्यो । हाम्रो कम्पनीले सुरुमा ७ वटा जिल्लामा UNICEF को सहयोगमा Piloting गर्ने, सोको आधारमा पञ्चवर्षीय योजना तैयार गर्ने निर्देशिका लेख्ने जसको आधारमा सबै जिल्लामा राष्ट्रिय योजना आयोग र बिभिन्न donar agencies हरूसँगको सहकार्यमा काम अघि बढ्यो । हाम्रो कम्पनीले २१ वटा जिल्लाको योजना तर्जुमा गरिदियो ।

यसरी अनेक Donar aided projects हरुमा Consultant को रुपमा काम गरिरहेकै बेला माओवादी द्वन्द सुरु भयो । हरेक Project हरूलाई Conflict management तालिम दिनु पर्ने भयो । यसको निम्ती ToT (Taining of Trainers) को लागी आह्वान भयो । मैले पनि दर्खास्त दिएँ र छानिएँ । त्यसपछि Do No Harm model र Appreciative Inquiry का आधारमा Project हरूका कर्मचारीहरूलाई व्यापक रुपमा तालिम दिने काममा म व्यस्त भएँ ।

यसपछि सामुदायिक रेडियोहरूलाई योजना बनाएर काम गर्ने तालिम दिने कामको वातावरण पत्रकार समुहको एक टीममा मैले काम गरें । जसको संयोजक रघु मैनाली र म लगायत Consultants थियौं । सामुदायिक रेडियोहरुको योना तर्जुमाका साथै कार्य सम्पादन निर्देशिकाहरू लेख्ने काम पनि गरें । यसपछि म अलि थाक्दै गएँ र छानीछानि थोरै मात्र काम गर्न थालें । विस्तारै, काठमाण्डू बाहिर जानुपर्ने काम गर्न छोडें र अन्तमा अब म काम गर्दिन भनेर Self retirement लिएँ ।

यसरी हेरे मेरो Profession भाषाको Researcher, भाषा र संस्कृतिको प्रशिक्षक, Strategic Planning facilitator, Conflict management Trainer, Cross-cultural Advisor र सामुदायिक रेडियोको लागि Planner, Trainer र निर्देशिका लेखक रहें – जसबाट मेरो जीवन गुजारा चल्नुका साथै काठमाण्डूमा घर बनाउँने र छोराछोरि पढाउँने-पाल्ने काम गरें भने नियमित रुपमा कविता लेखन पनि चलिरह्यो । मेरो पेशागत र (कविता) सृजनात्मक चिनारी यही हो ।

२. किन तपाईलाई धेरैले विक्रम सुब्बा नभनी कवि विक्रम सुब्बा भनेका होलान?

उत्तरः म जुन पेशाले कमाएर गुजारा गर्दै आएँ त्यसमा मिडीयाको आँखा पर्दैपर्दैनथ्यो । मन्चमा देखिने र मिडीयामा छापिने कविता नै थियो । बेलाबेला पञ्चायत विरोधी आन्दोलनमा साहित्यकारहरूको प्रदर्शनमा म पनि पक्राउ पर्थें । मेरो नाम पनि मिडियाले छाप्थ्यो । मिडीयाले हाल्ला गर्ने गरि केही कवितासंग्रहहरू पनि मेरा प्रकाशित भए । देशका केही भागमा (नेपालगन्ज, चितवन, काभ्रे, पाँचथर, झापा, मोरङ, धरान, दार्जिलिङ, खर्साङ र बेलायत लगायत) का कवि गोष्टीहरूमा पञ्चायत विरोधि कविता बाचन गर्थें । पञ्चायतको विरुध्द गणतन्त्र राजनैतिक नारा सडकमा लाग्न थाल्दा ‘गणतन्त्र कविता आन्दोलन’ पनि मेरो अगुवाइमा केहि कवि साथीहरू संग (श्यामल, विमल निभा, नारायण ढकाल, खगेन्द्र संग्रौला आदिको संलग्नतामा) मिलेर चलायौं जुन मिडीयामा आयो । मेरा कविताहरू अंग्रेजी र रुसी भाषामा पनि अनुदित भए । नेपालमा सबैभन्दा पहिले कवितालाई नेटका राखेर Nepalikavita.com नामक पोर्टाल पनि म र कवि श्यामल मिलेर केही वर्ष चलायौं जसमा सन्सारभरिका नेपाली कविहरूका ताजा कविताहरु दैनिक Upload गर्ने काम गर्थें । केही समालोचकहरुले नेपाली कविताको समालोचना गर्दा मेरो बारेमा पनि केही पन्ना खर्च गरिदिए । मेरा कवितासमग्रहहरू बिमोचन गर्दा साहित्यकारहरू र पत्रकारहरूको जमघट हुनेहुनाले पनि मलाई मिडीयाले कविका रुपमा बढी चिनायो र कवि विक्रम सुब्बा भनेको हुँदो हो भनेर ठानेको छु ।

३. नेपाली साहित्यको सवल पक्ष र दुर्बल पक्ष के के हुन?

उत्तरः नेपाली साहित्य बनारस पढ्न बसेका खास गरेर संस्कृत पढ्ने अधिक बाहुनहरूले सुरु गरेको हुनाले सुरु देखिनै यो सनातन या हिन्दु अझ संस्कृत साहित्यका Framework हरुमा लेख्न थालियो । संस्कृत छन्दमा कविता लेख्ने, संस्कृत साहित्य सिध्दान्तले तोकेजस्तो कथा र उपन्यासको नायक राजा या सबैभन्दा सफल (राम र कृष्ण जस्तै) या सुरविर धिरोदत्त व्यक्ति हुनु पर्ने । आदि । नेपाली साहित्यको DNA मा यो संस्कृत साहित्य सिध्दान्त र संस्कृत सौन्दर्य शास्त्र (तक्षशीला र नालन्दा विश्वविद्यालयमा विकसित शास्त्रहरू) पसेको छ । गोपाल प्रसाद रिमालले छन्दको नियम नमानी अंग्रेजी विद्रोही कविहरूले भारत ल्याइ पुर्‍याएको Blank verse (ईटलीबाट यूके हुँदै भारत आइपुगेको कविता लेखन शैली) मा कविता लेख्न थाले भने ताना शर्मा र बालकृष्ण पोखरेलहरूले भाषाको क्षेत्रमा संस्कृत बाजे (संस्कृत शब्द बढि प्रयोग गर्ने बाहुन बाजे) र अंग्रेज बाजहरू (लाहुरेहरूले ABCD लाहुरमा सिके सिकेर केही अंग्रेजी शब्दहरू नेपाली भाषामा हाल्न थालेको, जस्तैः टेन्छेन (Attention को लाहुरे उच्चारण), रारण्डेबोट (Round about को लाहुरे उच्चारण, हवाइ जहाज गिरन (Ground को लाहुरे उच्चारण), बुटजुत्ता, आदि मिसाएकोलाई शुध्दिकरण गर्न “झर्रोवादी आन्दोलन” चलाएपछि रैथाने खस कुराका शब्दहरू पनि साहित्यमा लेख्न थालियो । तर अझै पनि हिन्दु बाहुनहरूको मुल्य र मान्यता (Values systems) लाई नै साहित्यमा लेखिन्थ्यो भने बनारसमै बसेका भूपेन्द्र मान शेरचन (भूपी शेरचन) ले श्रमजिवीहरूको पक्षमा (कम्निष्ट) कविता लेखेपछि आवाज बिहिनहरूको आवाज पनि नेपाली कवितामा प्रतिबिम्बित हुन थालेको हो । तेस्तै, रामेश र मन्जुलले गाउँगाउँ डुल्दै गाउँगाउँका दुखसुखका गीत गाउँन थालेपछि आवाज बिहिनहरूको आवाज नेपाली गीतमा आउँन थालेको हो ।

Kiratologist ईमानसिं चेमजोङले किराती ईतिहास, साहित्य र भाषाका पुस्तक प्रकाशन गरेपछि र कोङपी नामक पत्रिका निस्कन थालेपछि बल्ल जनजातिका Issues हरू पनि मिडीयामा तथा अनुसन्धानमा जनजातिका सामग्रिहरू पनि Reference हुन थालेका हुन् र तिनलाई अध्येताले पनि उधृत गर्न थालेका हुन् । अझ प्राचीन ईतिहास हेरे आधारभूत रुपमा बिदेह (जनकपुर/मिथिला)को बाहुन सभ्यता, कपिलवस्तुको क्षेत्री/शाक्य सभ्यता, सिन्जाको खस सभ्यता र तात्कालिन नेपाल (हाल काठमाण्डु) उपत्यकाको किरात सभ्यता गरी ४ सभ्यताको जगमा खडा भएको साझा देश हो नेपाल । तर अधिकांश बाहुन-क्षेत्री लेखकहरूले यो तथ्य स्वीकार गरेका छैनन । बरु भारतीय संस्कृत सौन्दर्य शास्त्रको आँखाले मात्र नेपाली साहित्य हेर्ने, बुझ्ने, विश्लेषण गर्ने, समालोचना गर्ने चलनकै Domination त्रिविविको नेपाली विभाग र प्रज्ञा प्रतिष्ठानहरूमा समेत कायमै छन् ।

तेस्तै, नेपाली साहित्य भन्ने तर प्राच्यवाद (Orientalism) र यसका कला-साहित्य-दर्शनको सन्दर्भमा नेपाली साहित्यलाई नहेर्ने । सिरिफ संस्कृत कि त यूरोपेली (पाश्चात्य) Renaissance कालको साहित्यको आधारमा साहित्यको चर्चापरिचर्चा र लेख्ने काम गर्ने या मुस्लीम संस्कृतिको गजल या जापानी Haiku को नकल गर्ने । गीतमा पनि भारतीय शास्त्रीय गीत-संगीत या मुस्लीम संस्कृतिको कौव्बाली, सूफी, गजललाई नेपालीकरण गरेर गाउँने । उपन्यास लेख्दा आफ्नोपन कम तर रुसी या भारतीय (हिन्दी) उपन्यास र कथा लेखन शैलीमा लेख्ने । अझ पनि नेपाली सुगमसंगीत विदेशीलाई सुनाउँदा Indian music नै भन्छन् । नेपाली कथा र उपन्यास उल्था गरेर देखाउँदा Indian style नै भन्छन् । अर्थात, नेपाली साहित्य र कलाले आफ्नै दमदार छाप दिन सक्ने पहिचान बनाइसकेकै छैन कि जस्तो लाग्छ । किनभने यो अझै पनि संस्कृत संस्कृत सौन्दर्य शास्त्रको रगतमा बाँचेको छ । विदेशी अध्येताहरूले नेपाली साहित्यको DNA र भारतीय साहित्यको DNA मिल्दोजुल्दो छ भन्छन् । आदि ईत्यादी नेपाली साहित्यका कमजोर पक्ष हुन ।

राजा महेन्द्रले आफ्नै जग्गा दिएर Royal Nepal Academy (हालको नेपाल प्रज्ञाप्रतिष्ठान) जून १९५७ मा स्थापित गरिदिएर, चीनलाई अनुरोध गरेर चीनको सहयोगमा भवन बनाएर राजा आफै Chancellor बसेर उनकै निर्देशनमा चलाएर देखाएपछि अरुले पनि कुलपति तथा उपकुलपति हुन सिके पछि नेपालको विविध साँस्कृति, भाषा, साहित्य, ईतिहास खोजतलास सुरु सम्म भयो । बिभिन्न भाषाका साहित्य, शब्दकोश, व्याकरण, दर्शनशास्त्रहरु लेखिन र छापिन थाले । चिप्ले कीराको चालमा भएपनि केही सकारात्मक कामहरु नेपाली साहित्यमा हुन थाले । अचेल उपान्यास र कथा लेख्नेहरुले Observation र Focussed Group Discussion र Question and Answer methods तथा केही Secondary information (Library based) पढेर भएपनि अलिअलि Research based भएर लेख्न काम सुरु भएको छ । हरेक जातिजनजातिले आ-आफ्नो भाषा-साहित्य-गीत-संगीत र जीवनलाई लेख्न-गाउँन र सिनेमा तथा नाटकमा उतार्न थालेकाछन् । सरकारी प्रोत्साहन कम छ तर अलिअलि भएपनि (कुनै बेला जनजातिका भाषामा साहित्य लेखनलाई सरकारी प्रतिब्ध लगाएको थियो लेख्ने या पढाउँनेलाई जेल हालेको तुलनामा) सुरु भएको छ । यही हो सबल पक्ष – मैले देखेको ।

४. समाज र राज्यसत्तामा साहित्यको भूमिका कस्तो हुन्छ?

उत्तरः समाज नै राज्य सत्ता र साहित्यको जन्मस्थलो हो । गजब के छ भने राज्यसत्ता भन्ने सन्सारभरि नै दमनकारी हुन्छ । र, साहित्य चाहीं राज्यसत्ता विरोधी पनि हुन सक्छ र राज्यसत्ताको भजन पनि हुन सक्छ । लिच्छवी काल, मल्ल काल, शाह काल, राणा कालमा साहित्य राज्यसत्ताको चाकडी या भजन-स्तुती गायन या राजा र सत्ताधारीको गुणगान र प्रसस्ति गाउँने मात्र थियो । मकैको खेती लेखे बापत समेत लेखकले सजाय भोगेको ईतिहास छ । तर २००७ सालको क्रान्तिका बेला राणा विरोधी पर्चा-पम्पलेट या भित्ते लेखनदेखि छायावादी स्वरुपमा राज्यसत्ता विरोधी अर्थ समेत लाग्ने साहित्य पनि लेखिन थाल्यो । यो क्रम चल्दै आएर राजा ज्ञानेन्द्रको पाला सम्म आएर राजतन्त्रबिरोधी गणतन्त्रको पक्षमा भरमार साहित्य रचिए । देशमा सामन्तीहरूको बलियो दूर्ग ठानेको राजतन्त्र ढाल्न साहित्यले पनि योगदान गर्‍यो ।

गणतान्त्रिक देश घोषणा गरेर संबिधान पनि लेखियो तर अचेल सत्तामा पुग्नेहरु तिनै राणाहरुको जहानिया शासनको शैलीमा (कहिले कोइराला जहानिया शासन त कहिले माओवादी जहानिया शासन) शासन पालोपालो चलिरहेका छन् । राज्यसत्ता यसरी सामन्तवादी चरित्रको विकसित भएको छ भने राणा शासन शैलीमा नभएको भ्रष्टाचारी चरित्र पनि अहिलेको राज्यसत्तामा थपिएको छ । अहिले चारतिर भ्रष्टाचार र वेथितिका साहित्य लेखिन थालेको छ । अहिलेको साहित्यको एउटा स्वर खस-आर्यवादी जहानीया शासनको विरुध्दमा समाजलाई जगाउँने किसमको देखिन्छ । पहिलेको राजा र राणाहरूको स्तुति गाएझैं अचेल ओली, प्रचण्ड र देउवाको स्तुती गाएर साहित्य लेखिँदैन – यो काम मिडीयाले गर्न थालेको छ । तथापी, बाहिर बाहिर राज्यसत्ताको विरुध्दमा र भ्रष्टाचारको विरुध्दमा लेख्नेहरू कुनै पद या पुरस्कार पाउँन (लुकि लुकि या भित्रभित्र) ओली, देउवा र प्रचण्ड तथा तालुकदार मन्त्रीहरुकोमा साहित्यकारहरू चाकडी गर्न गएर पद या लाभ लिने तर साहित्यकारहरूको माझमा चाहीं फेरि सरकारविरोधि Dailogue बोल्दै नाटक गर्नेहरू पनि देखिन्छन् । बहुसांस्कृतिक समाज हो थरिथरिका रुची र स्वार्थले Guided मानिस र समुदाय छन् जसको manifestation साहित्यमा प्रतिबिम्बित भएकै छ ।

५. नेपाली साहित्य र नेपाली भाषा साहित्य भनिनुमा के अन्तर छ?

उत्तरः “नेापली साहित्य” भनेको नेपालभरिका सबै जातजातिको अलिखित या लिखित साहित्य हो । तेस्तै, “नेपाली भाषा” भन्दा पनि नेपाल देशको चार किल्लाभित्र सबै जातजातिले बोल्ने भाषाहरूलाई बुझ्नु पर्छ । तर, यहाँ पनि खस-आर्यहरूको मातृ भाषालाई मात्र “नेपाली भाषा” झैं गरेर शासक पक्षले अघि बढाउइरहेको जोसुकैले महसुस गरेकै कुरा हो (अनुसूची १ः त्रिविविको नेपाली विभागको पाठ्यक्रम हेरौं) । स्कुल कलेजहरूमा पनि “नेपाली भाषा” भनेर पढाउँदा खस-आर्यको मातृ भाषालाई मात्र “नेपाली भाषा” भनेर पढाइन्छ (स्कुलको पाठ्यक्रममा “नेपाली” पढाई हेरौंः https://edusanjal.com/news/new-curriculum-grade-1-12-approved/) । यो र यस्तैलाई एकलजातिय हैकमवाद नेपाली भाषा-साहित्यको नाममा चलेको छ भनिंदै आएको छ । अर्थात, खस-आर्य मात्र “नेपाली” होइनन नेपालका सबै जातजाति नेपाली हुन भनेर संबिधानमा उल्लेख हुँदापनि खस-आर्य बाहेकको साहित्य-भाषालाई “अनेपाली” झैं गरिन्छ । यो बिल्कुलै गलत सोचाई हो । यस्तो सोचाईले हरेक नेपाली जातजातिका वीच Connector को काम गर्दैन बरु Divider को काम गर्छ ।

६. खस–भाषामा संस्कृत भाषा कहिले, कसले र किन मिसाईयो?

उत्तरः भाषाशास्त्रीहरूले खस कुरा (पछि गोर्खा भाषा र अचेल नेपाली भाषा भनिएको)लाई Indo-European भाषा परिवारको Arya-Iranian शाखाको आधुनिक आर्यभाषामा राखेका छन् । आधुनिक आर्यभाषा अनेक छन् । ती मध्ये एक हालको नेपाली भाषा भनिने खस भाषालाई पनि राखेकाछन् । यी सबै एकै पूर्खा भाषाबाट विकसित आधुनिक भाषा भनिनेहरूको जननी संस्कृत भाषा हो । विकास क्रमलाई संस्कृत, संस्कृतबाट प्रकृत भाषाहरु जन्मे । ती मद्ये एउटा अप्रभंश/अवहट्ट भाषा पनि थियो । अप्रभंश/अवहट्टबाट अनेक भाषाहरु जन्मे । तिनैलाई आधुनिक भाषा भनिएकाछन् । हालका आधुनिक भाषाहरुमा बंगाली, मैथिली, भोजपुरी, अवधी, खडी बोली (हाल हिन्दी भनिने), मलयालम, कन्नड, तेलुगु, तमिल, सिंहल, मराठी, सिन्धी, पञ्जावी, गुजराती, मारवाडी, र (सिञ्जा, कुमाउ, गढवालका) खसहरूले बोल्ने खस कुरा (खस प्रकृत?), आदि हुन । खस कुरा नै गोर्खा भाषा र गोर्खाभाषा (गोर्खापत्र अझै चलिरहेकैछ, गर्खा भाषा प्रकाशिनी समिति अहिले साझा प्रकाशन भन्ने नाम फेरेर बसेको छ । गोर्खा राइफल, गोर्खाली सेना शब्द अझै चलेकैछन्) बाट बाबुराम आचार्यले ‘हाम्रो राष्ट्रभाषा नेपाली’ पुस्तक लेखेपछि नेपाली भाषा भन्न थालियो ।

यी उल्लेखित भाषाहरू सबैको धातु (Root) संस्कृत आधारित या तत्भव (संस्कृत शब्द जस्ताको तेस्तै) शब्दहरू भारमार मिस्सिएकाछन् । तेलुगु भाषामा त लगभग ७०-८०% संस्कृत शब्द नै रहेकाछन् भनिन्छ भने कन्नड भाषामा लगभग ७०% संस्कृत शब्द छन् भनिन्छ । सबभन्दा पुरानो संस्कृत भाषाको स्वरुप (1600 BC) बेबिलोनको मितान्नी भन्ने राज्यको संभ्रान्तहरूले बोल्ने भाषा थियो । त्यही भाषा आर्यहरूले लिएर सिन्धुघाटीमा (खास गरेर हडप्पामा) ल्याए र थप अभ्यास गर्दै विकासित गरे । पछि ब्राह्मी पिलीबाट देवनागरी लिपीको विकास भएपछि ऋृगवेद लगायत सबै शास्त्रहरू संस्कृत भाषा र देवनागरी लिपिमा लेखिएका हुन् । तथापी कुन भाषा शाखाबाट नेपाली भाषाको जन्म भएको हो भन्ने सम्बन्धमा विद्वानहरू एकमत हुन सकेका छैनन् र थप अध्ययन अनुसन्धान चलिरहेकै होलान् ।

अध्येता शुरेस भुसाल (https://chinarinepal.com/) का अनुसार खस भाषाको प्राचीन काल वि.सं. १०४० देखि १५४९ सालसम्मलाई मानेकाछन् । यस अवधीमा सिन्धु घाटीबाट हालको नेपाल (खसान साम्राज्य जुन पश्चिम नेपालदेखि त्रिशुली नदी सम्म फैलिएको थियो भनिन्छ़) मा फैलियो । कतिपय ईतिहासकारले भारतको मुगल साम्राज्यको आक्रमणबाट भागेर आउँनेहरूले एउटा भाषा लिएर आए । जसमा हाल जडान क्षेत्रको भोटे भाषा समेत मिस्सिएर खस भाषाको विकास भयो । तात्कालिन मुगल साम्राज्यको आक्रमणका विरुध्द प्रत्याक्रमण गरेर हुम्ला श्रीपालका राजा नागराजले वि.स. १०४० मा एकीकरण गरी विशाल खस अधिराज्यको स्थापना गरेको इतिहास प्राप्त भएको छ । तर, यिनी खस थिएनन्, तिब्बती थिए भनिन्छ । राहुल सांकृत्यायनले दिएको विवरणअनुसार नागराज स्रोङ–चङ गम्पोका बाह्रौँ वंश हुन् । त्यसैले पनि यिनको मातृभाषा तिब्बती थियो भन्ने बुझिन्छ । नागराजका सन्तानहरुको नाम चल्ल जस्तो तिब्बती शब्दबाट पछि गएर ‘मल्ल’ भए । जस्तैः १) नागराज; २) चाप; ३) चापिल्ल; ४) क्राशिचल्ल, ५) क्राधिचल्ल; ६) क्राचल्ल; ७) अशोक चल्ल; ८) जितारी मल्ल; ९) आनन्द मल्ल; १०) रिपु मल्ल; ११) संग्राम मल्ल; १२) आदित्य मल्ल; १३) प्रताप मल्ल; १४) पुण्य मल्ल; १५) पृथ्वी मल्ल; १६) सूर्य मल्ल; १७) अभय मल्ल (१४ औं सताब्दी सम्म आएको देखिन्छ ।) अर्थात, नागराज तिब्बती भएपनि प्रजाहरूको जनसंख्यामा खसहरू बढी भएकाले राजाहरू पनि विस्तारै खस जातिमा रूपान्तरित भएर खसहरूकै भाषालाई राज्यभाषा बनाए भनिन्छ । त्यसबेला खसहरूको घना बसोबासको क्षेत्रलाई खसान र जाड (भोटे)हरूको बसोबास बढी भएको क्षेत्रलाई जडान भनिन्थ्यो । खसानको राजधानी सिन्जामा थियो । सिन्जाको सरकारी भाषालाई सिन्जाली पनि भन्थे । यही सिन्जाली भाषा खसभाषामा परिणत भयो र कालान्तरमा खसहरूको साम्राज्य पूर्वतर्फ बढ्दै गण्डकी क्षेत्रमा आइपुगेपछि पर्वतेभाषा भयो । जसलाई कालान्तरमा गोर्खा भाषा भनियो र अचेल नेपाली भाषा हुन आइपुगेको हो ।

खस साम्राज्य विघटनपछि बाइसे-चौबिसे टुक्रेराज्यहरुको स्थापनाले गर्दा खसभाषाले पनि प्राचीन लक्षणहरू गुमाउँदै गयो । विसं १५५५ पछि नयाँ खस भाषाको विकास भयो जसलाई अध्येताहरुले नेपाली भाषाको मध्यकाल भनेकाछन् । खस भाषा विस्तार हुँदै नेपालको पहाडी तथा तराईका केही भू–भाग र दार्जीलिङ आसाम हुँदै बर्मासम्म पुग्यो । यसरी फैलिंदै जाँदा अनेकौं विदेशी भाषाका शब्दहरू पनि नेपाली भााषामा पस्दै गए । नेपालको एकीकरण अभियानसँगै नेपाली भाषाको व्यापक रूपमा प्रचारप्रसार तथा विस्तृतीकरण भयो ।
गोरखापत्रको (१९५८) प्रकाशनसँगै नेपाली भाषाको आधुनिक कालको थालनी भएको मानिन्छ । गोरखापत्रको प्रकाशनपछि नेपाली भाषाको विकासमा गोरखापत्रका साथ अन्य विभिन्न पत्र–पत्रिकाहरूको पनि भूमिका रहेको देखिन्छ । राममणि आ.दी. को हलन्त बहिष्कार आन्दोलनले पनि खस भाषालाई परिस्कार गर्न मद्दत गर्‍यो । त्यसपछि चन्द्रिका व्याकरण प्रकाशन गरी यसलाई पढाउँने र पढनेहरूको मार्गदर्शक भएपछि भाषामा सुधार गर्न मद्दत पुग्यो । कवि लेखकहरूले भाषालाई आफ्नै तरिकाले प्रयोग गर्दैगएपछि विस्तारै आधुनिकतातर्फ अघि बढ्यो । नेपाली भाषालाई विकास गर्दै ल्याउँन शारदा (१९९१) पत्रिका तथा झर्रोवादी आन्दोलन (२०१३) हरूको पनि विशेष भूमिका रहेको छ । झर्रोवादी आन्दोलनले नेपाली भाषालाई जिउँदो, जाग्दो र भरिलो बनाउन ठेट नेपाली शब्द प्रयोगमा विशेष जोड दिएको छ । वर्तमान नेपाली भाषामा प्रकाशित विभिन्न साहित्यिक र साहित्येत्तर ग्रन्थहरू, शब्दकोश तथा व्याकरणको प्रकाशन, पठनपाठन तथा यससम्बन्धी भएका विविध कार्यले नेपाली भाषाको विकसित स्वरुप ग्रहण गरेको छ । त्यसका अतिरिक्त यो भाषालाई नेपालको कामकाजी भाषाको रूपमा संविधानले दिएको मान्यता, भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले पाएको स्थानलाई आधुनिक नेपाली भाषाको उच्चतम र आधुनिक स्वरुप मानिन्छ ।

७. समाजमा साहित्य, संस्कृति, संस्कार र राजनीतिको भूमिका कस्तो हुन्छ?

उत्तरः यस प्रश्नको जवाफ केही मात्रामा ४ नं पनि आइसकेको छ । थप कुराः मेरो सोचाईमा साहित्यले समाजलाई जगाउँने र आफ्नो अधिकारको निम्ती अग्रसर हुन उर्जा दिनु पर्छ । संस्कृति भनेको कुनै समुहको सामाजिक संबिधान हो । तेस्तै, सँस्कार भनेको कुनै समुहको (या जातको) Life cycle का बिभिन्न चरणलाई व्यवस्थापन गर्ने समाज विशेष नियम-संहिता या कर्मकाण्ड हो । तेस्तै, राजनीति भनेको समाज र मुलुकको सेवा र विकास गर्ने माध्यम हुनुपर्नेमा यहाँ राजनीति भनेको १००% भ्रष्टाचार गर्नको निम्ती भइसकेको छ । र, राजनीति कर्मि भनेका कुनै कठपुतली या केही व्यापारीहरूलाई फायदा दिलाएर कमिशन खानेहरू भन्ने बुझिन थाल्यो । तथापी साहित्य संस्कृति र सँस्कारहरू मुलुकको पहिचानका तत्व भएकोले तिनमा आधारित साहित्य लेख्ने र सोको संरक्षन-संबर्धन र विकासको निम्ती राजनीति (सरकार)ले सघाउँन भूकिमा खेल्नु पर्ने हो ।

८. नेपालका जनजाति माथि नेपाली भाषा साहित्यले के शोषण गरेको छ?

उत्तरः ‘नेपाली भाषा साहित्यले शोषण’ गर्ने भन्ने कुरो अलि मिल्दैन । बरु धेरैले बोल्ने भाषा या सरकारी कामकाजी भाषा या स्कुल-कलेज-विश्वविद्यालयमा पढाउँने माध्यम भाषा या व्यापार विनिमय तथा लेनदेनको भाषा (Linguafranca) या साहित्य-नाटक-संगीत-सिनेमा र पत्रपत्रिका-मिडीया-सिनेमाको भाषा कुनै एक भए त्यसले मुलुकका अन्य कम जनसंख्याले बोल्ने भाषाहरुलाई मार्दै जान्छ । यसैलाई Killer language भनिन्छ । जस्तैः अहिले सन्सारमा अंग्रेजीलाई Killer language भनिन्छ भने भारतीय उपमहाद्वीपमा हिन्दी भाषा Killer language हो किनभने यस भाषाका टेलि सिरियल र सिनेमा तथा भजन-संगीत-गीत आदिले नेपाली भाषा लगायत भारतकै मैथिली-भोजपुरी समेतलाई मार्ने काम गरिरहेछ । नेपालभित्रै हेरे खसभाषाले जनजातिका भाषाहरूको निम्ती Killer language को काम गरिरहेछ । किनभने सरकारी कामकाजी भाषा, शिक्षण माध्यम भाषा, साहित्य लेखन र पत्रपत्रिका तथा मिडीयाको भाषा आदि खस भाषा भएकोले जनजातिका स्कुल कलेज पढ्ने नयाँ पुस्ताहरूले आफ्नो मातृभाषा बोल्न छोडेको देखिन्छ । तथापी, खस भाषालाई पनि हिन्दी र अंग्रेजी भाषाले पेलेकै देखिन्छ । काठमाण्डू शहरका गल्लिहरूमा हेरे Signboard हरू ९०% अंग्रेजीमा लेखिएका देखिन्छन् भने संभ्रान्त बाहुन-क्षेत्री-राणा-शाह-नेवार परिवारको Link language अचेल English पो हो कि जस्तो भइसकेको छ । यो संभ्रान्त वर्गका युवायुवतीहरू भेटघाटमा ९०% अंग्रेजी भाषा प्रयोग गरेको देखिन्छ ।

अर्कोतर्फ नेपाल सरकार पनि खस भाषा र अंग्रेजी भाषा प्रति सकारात्मक र अन्य भाषा प्रति नकारात्मक रुपले Biased रहेको छ । संबैधानिक र कानुनी रुपले केही गर्नै पर्ने भएकोले अन्य भाषाहरूको पनि स-साना काम गरिदिने गरेको तर खासै ध्यान नदिएको नीतिगत र आशयगत व्यबहार अनुभुत गरिन्छ । तेसो त भाषा भनेको सरकारले या अन्य कुनै जातिका मानिसले जोगाइदिने या प्रवर्धन गरिदिने होइन । जुन जातिको भाषा हो त्यही जातिका मानिसको जनसंख्याले आफ्नो भाषामा अनेक किसिमका कामहरु गरेर बचाउँने हो । जस्तैः नेवारहरुले आफ्नो भाषामै पुजा-आजा देखि खानपिन तथा सँस्कार-संस्कृति र विहेदेखि अन्तेष्टि लगायत गर्ने गर्छन् भने आफ्नै भाषा र लिपिमा वेबपेज, Apps आदि विकास गरेर बचाईरहेकाछन् । उनीहरू नेवारी, खस, हिन्दी, अंग्रेजी भाषा बोल्ने Polyglot नै भइसके । भक्तपुर नगरपालिकाले पर्यटन विकासको निम्ती फ्रेन्च, जापानी, अंग्रेजी, चिनीया र जर्मन भाषा सिकाउँने नीति नै लिएको छ । जुन पर्यटक आउँछ उसैको भाषामा कुरा गरे या उनकै जातिय परिकार समेत बनाएर खुवाउँन सके पर्यटन फष्टाउँने भनेर यस्तो निति लिएको भनेको छ । यो अभियानले पनि भक्तपुरेलाई Polyglot बनाउँने भयो । तर, स्कुल जाने लिम्बू बालबालिकाहरू, अझ काठमाण्डुतिर कलेज र विश्वविद्यालयमा अध्ययन गर्न आउँनेहरूको Link language खस भाषा भइसकेको छ र उनको जिव्रोले आफ्नो भाषा र यसको उच्चारण बिर्सन थालिसककेको देखिन्छ ।

९. उत्कृष्ट १० कविको कविता पढन सिफारिस गर्नुपर्दा कुनकुन कृतिको सिफारिस गर्नुहुन्छ?

उत्तरः यो प्रश्न बोधो प्रश्न भयो । हरेक युगमा केही उत्कृष्ठ कविहरू जन्मन्छन् र आफ्नो युगमा योगदान गरेर जान्छन् र फेरि नयाँ युगमा नयाँ सर्जकले योगदान गर्छन् । तथापी, कविता सिध्दान्त पढ्न परे Christopher Codwell (1907 – 1937) को Illusion and Reality पढेपछि कविताको उत्पति कसरी भयो सम्मको जरा समेत थाहा पाइन्छ भने जर्मन कवि तथा नाटककार Bertolt Brecht का कविता बेज्जोड लाग्छन् । सुन्दर कविता पढ्नलाई चिलेका कवि तथा कुटनितिज्ञ Pablo Neruda का कविता पढ्नै पर्छ । तेस्तै, गजल, सुफी र कौव्वालीका प्रवर्धक तथा रहस्यमयी (Mysterious) कविताका हस्थी फारसी (हालको ईरान) कवि तथा दार्शनिक Jalāl al-Dīn Muḥammad Rūmī लाई पढ्नै पर्छ । त्यसपछि लेबनानी-अमेरिकन कवि, दार्शनिक र Painter को The Prophet का रचयिता Kahlil Gibran लाई नपढेको कविलाई कविता बुझ्नै बाँकि रहेको भन्न सकिन्छ ।

नेपाली कविहरूमा छन्दमा सुन्दर कविता लेख्ने माधव घिमिरेको गौरी खण्डकाव्य र कालीगन्डकी नामक फुटकर कविता, गोपालप्रसाद रिमालको आमाको सपना (कवितासंग्रह), भूपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे (कवितासंग्रह), वैरागी काइँलाको मातेको मान्छेको भाषण : माध्यरातपछिको सडकसित शिर्षकको कविता ।

तेस्तै भारतका कवि हरिवंश राय वच्चनको मधुशाला, पञ्जावी कवियत्री अमृता प्रितमका कविता, शायरहरूमा मिरजा गालिब, मीर तकी “मीर”, गुलजार तथा पाकिस्तानका फैज अहमद फैज, आदि लाई मैले पढ्दा आनन्द आएको र शैलीगत विविधताहरूसँग परिचित भएको महशुस गर्छु ।

१०. मुन्धुम र साहित्य बीच कस्तो सम्बन्ध हुन्छ?

उत्तरः मुन्धुम, वेद, आवेस्ता, आदिलाई तात्कालिन समाजको जीवन र जगत तथा ब्रह्माण्ड, धर्ती, प्राणी लगायतबारे ज्ञानगुन संग्रह तथा कर्मकाण्डका निर्देशिका या सामाजिक संबिधान या संहिता पनि भनिन्छ । कतिपय अध्येताहरूले यस्ता ग्रन्थहरूलाई Folklore (लोक साहित्य) पनि भन्ने गरेकाछन् भने कतिपयले धार्मिक साहित्य पनि भन्ने गरेकाछन् । मुन्धुम भनेको के हो? भन्ने कुरा केलाउँदा ईमानसिं चेम्जोङद्वारा संकलित, परिमार्जित र भारतबाट प्रकासित पुस्तक “किरात मुन्धुम (किरात वेद)” ले के के अर्थ समेटेको छ? हेरौँः

क) पहिलो अध्यायः १) ब्रह्माण्ड रचना मुन्धुम; २) मानव सृष्टि मुन्धुम; ३) पाप उदय मुन्धुम; ४) डाही उत्पती मुन्धुम;५) रिस उत्पती मुन्धुम; ६) मृत्यूबाट शिशुलाई बचाउँने मुन्धुम; ७) येहाङ मुन्धुमः विवाह गर्ने रीति, अशुध्द शुध्द गर्ने रीति, निया-निसापको थिति, येहाङ उपदेश ।

ख) दोस्रो अध्यायः १) लेप्मुहाङ प्रलय मुन्धुम; २) लेप्मुहाङ भजन;३) अन्नबाली लाउँदा पूजा गर्ने विधि; ४) न्वागी पूजा गर्ने विधि; ५) कर्मकाण्ड विधिः सुत्केरी शुध्द हुने विधि, वालकको नाउँ राख्ने विधि, मराउ परेको घर शुध्द गर्ने विधि, कन्या मगनी गर्ने विधि, विवाह गर्ने विधि, लगन गर्ने विधि ।

ग) तेस्रो अध्यायः १) युमा साम्माङ मुन्धुम; २) कान्देन हाङ उपदेश; ३) मुक्केगुबा हाङ मुन्धुम; ४) लासा हाङ मुन्धुम; ५) माबो हाङ मुन्धुम – माबोहाङ देववाणी; ६) वेदो हाङ मुन्धुम; ७) थेवा साम्माङ (बाजे देवता) मुन्धुम; ८) हिम साम्माङ (घर देवता) मुन्धुम; ९) भक्ति प्रर्थनाः खानेपिउने बेला प्रार्थना, बेलुकाको प्रार्थना ।

निष्कर्षः ‘मुन्धुम’ शब्द कुन कुन तथा के के अर्थमा प्रयोग हुँदै आएको छ भनेर प्रयोग-आधारित अर्थ खँगालेर हेरे ‘मुन्धुम’ शब्दको अर्थ विश्व दृष्टिकोण, जीवन व्यवस्थापन र सन्चालनका अनेक ज्ञानगुन-अवधारणा तथा चलन-प्रचलनहरुको “विवरण”, “प्रणाली” र “पध्दति”हरुको अर्थमा प्रयोग गरेको देखिन्छ । जस्तै:

१) ब्रह्माण्ड (खगोल, धर्ती, देवी-देउता, मानव, किटपतंग र मानव नश्ल, अन्य प्राणी तथा बनस्पती लगायत अनेकौँ) र भौतिक सन्सार, जैविक तथा प्राणी सन्सार र मानव-प्राणी सन्सार र बनस्पती सन्सारको सृष्टिबारे याकथुङ (लिम्बू) समाजमा व्याप्त रहेको दार्शनिक पक्षको बारेका भाश्य या मीथ या परम्परागत विवरण आदि बुझाउँन ‘मुन्धुम’ शब्द प्रयोग गरिएको छ;

२) धर्तीमा भएको प्रलय र सो प्रलयबाट मानव जाति अन्य प्राणी र बनस्पतीका नश्ल (वीउ)हरू बचाव कसरी गरेर बचाउँदै ल्याईयो? भन्नेबारे प्रलयको कथा-आख्यानबारे कथा कहनुलाई पनि ‘मुन्धुम’ भनिएको छ;

३) आफ्ना पिता-पूर्खा (जस्तैः आफ्ना ईष्ट-मातृ देवी यूमा तथा ईष्ट-पितृ देव – थेवा साम्माङ, आदि) हरूको स्मरण-आराधना के कस्तो आदर-अदपका साथ गरेर आफ्नोपनलाई जिवित राख्ने? तेस्तै, पुस्तौँपुस्ता देखि आफुसमेत बसोबास गरिरहेको मूल घरको सत्ता सन्चालन गर्ने शक्ती ‘हिम साम्माङ’को आदर र अदपकासाथ स्मरण-आराधना कसरी गर्ने? आदिका विधिविधानहरूलाई पनि ‘मन्धुम’ शब्दले समेटेको देखिन्छ;

४) यो सन्सारमा (मानव मनमा?) ‘पाप’ ‘डाही’ ‘रिस’ जस्ता नकारात्मक मनोविज्ञान-चिन्तन-सोच या उर्जाहरूको उदय-उत्पती कसरी भयो? भन्नेबारे याकथुङ (लिम्बू) समाजको मौलिक अवधारणा कस्तो छ? भन्ने कुराका जवाफ र मृत्यू हुनबाट शिशुलाई बचाउँने मौलिक याकथुङ (लिम्बू) सामाजिक मनो-चिकित्सकीय विधि (जस्तैः फेदाङमाले गर्ने उपचार विधि, आदि) कस्तो रहेको छ? भन्ने बारेका मनोवैज्ञानिक चिन्ता तथा रोगव्याधीको निराकरण र व्यवस्थापन गर्ने अवधारणा या विधि या कथा-आख्यान या भाश्य या मीथ या प्रकृयागत विवरण आदि बुझाउँन पनि ‘मुन्धुम’ शब्द प्रयोग भएको छ;

५) प्राकृतिक शक्ती(परमात्मा?)हरूको स्तुती गान (भजन या पुकारा) कसरी गरेर मनोबल बलियो पार्न तथा आफ्नो रक्षाको निम्ती बिन्ति बिसाउँने जस्ता मौलिक प्रचलनहरू बारे बुझाउँन शब्द पनि ‘मुन्धुम’ नै रहेको देखिन्छ;

६) मानव जीवन चक्र (Life cycle) सन्चालन गर्दै जाँदा विभिन्न चरणहरूमा सँस्कारगत कर्महरू कसरी सम्पादन गर्ने? जस्तैः बिबाहको निम्ती कन्या मगनी गर्दा के कस्तो सुहाउँदिलो तरिका अपनाउँने? विवाह कसरी सम्पादन गर्ने? विवाहको प्रकृयामा ‘लगन’ कुन बेला कसरी गर्ने? र, सुत्केरी भएपछि या जुठो परेपछि कसरी शुध्द हुने? आदि आदिका बारे रहेको याकथुङ (लिम्बू) जातिको आफ्नो मौलिक परम्पराहरूको विधिविधान तथा कर्मकाण्डहरूका प्रकृयागत संहिताहरुलाई पनि ‘मुन्धुम’ शब्दले समेटेको देखिन्छ;

७) अन्नाबाली लाउँदा र न्वागी गर्दा कस्तो पुजा गर्दै सकारात्मक सोच सहितको (कृषि गर्ने) विधि अपनाउँने? धर्तीलाई कसरी आदर (भूमि पुजा?) गर्ने? कृषि उत्पादन कार्यलाई के कसरी सकुशल सम्पादन गर्ने? बारेका मौलिक याकथुङ (लिम्बू) सामाजिक विधि या पकृयालाई पनि ‘मुन्धुम’ नै भनेको देखिन्छ;

८) याकथुङ (लिम्बू) समाज हज्जारौँ पुस्ता पार गर्दै यहाँ आइपुगेको छ । ईतिहासमा फरकफरक याकथुङ (लिम्बू) समाज या समुह या थर-गोत्रीहरूलाई फरकफरक भौगोलिक क्षेत्र या थर-थुमहरूमा अनेक गण-नायक (हाङ) हरुले (जस्तैः येहाङ, कान्देन हाङ, मुक्के हाङ, लासा हाङ, माबो हाङ, वेदो हाङ, आदि) नेतृत्व गर्ने क्रममा समाज तथा जीवन गुजारा र सन्चालनको निम्ती प्रतिपादन या विकास जारी गरेका तथा कतिपय अध्यापी कायम रहेका सामाजिक बन्दोबस्ती तौरतरिका या नीति र विधि-नियम-अनुशासन (जस्तैः विवाह गर्ने, जुठो पर्दा शुध्दाइँ कार्य सम्पादन गर्ने, समाजमा कसैले कसैमाथि अन्याय गरे न्याय सम्पादन गर्ने) हरू बुझाउँने शब्द पनि ‘मुन्धुम’ रहेको देखिन्छ;

९) खाना खाने बेलामा सकारात्मक उर्जा जगाउँन के कस्तो प्रार्थना (सकारात्मक ध्वनी उच्चारण, गान तथा शब्दोच्चारण या संकल्प) गर्ने, राती सुत्ने बेलामा पनि कस्तो सकारात्मक शब्दोच्चारण (प्रार्थना) या शक्तीहरूको उपासना गरेर या स्मरण गरेर या गाथा गाएर सुते आफ्नो सुताई पनि सकारात्मक तथा सुबिस्ता साथ सुरु हुने र सकारात्मक (तनावरहित) किसिमले नै विहान विदँझिन सकिन्छ? भन्ने बारे याकथुङ (लिम्बू) समाजमा (विशेष गरेर पाका-अग्रज तथा जेष्ट पुस्ताहरूमा) प्रचलित रहेको मौलिक परम्परा तथा अवधारणागत मनोचिकित्सकीय विधिविधानहरू जनाउँन समेत ‘मुन्धुम’ शब्दको प्रयोग भएको देखिन्छ ।
अन्यत्रको लोक परम्परा कस्तो छ?

क) (सिन्ध नदी किनाराको) सिन्धुघाटी सभ्यता (हडप्पा र महेन्जोदारो)को समाजमा (मुन्धुम नभनेर) ‘वेद (Knowledge)’ भनेर निम्न कुराहरू समेटेको पाइन्छ । जस्तैः १) अदृश्य शक्ती (देउता?) या उर्जा र धर्ती(भूगोल)को गाथाहरू समेटियो जसलाई ऋृगवेद वेद भनियो; २) यज्ञ र पुजापाठ (कर्मकाण्ड)का विधीहरू र जीवन तथा जगतका केही दार्शनिक पक्ष संग्रहित गरियो जसलाई यजुर्वेद नै भनियो; ३) आयु(स्वस्थ्य र उपचार) र जादूटुना (मनो चिकित्साः झारफुक) सम्बन्धी विधि-विधानहरू समेटियो जसलाई अथर्ववेद भनियो; अनि ४) शक्तीहरूको उपासना, पुजा तथा भक्ती-गाथा गाउँने गेयात्मक श्लोक(भजन?)हरू र तिनकै विधी-विधान-शुत्र (मन्त्र) हरू समेटिएको संग्रहलाई सामवेद भनियो ।

नोटः जसरी कथा या विवरण या प्रकृया या विधीविधानहरुको नाममा ‘मुन्धुम’ जोडेर (जस्तैः तङसिङ तक्मा + मुन्धुम = तङसिङतक्मा मुन्धुम) नामाकरण गरियो यहाँ पनि वेद जोडेर (ऋृग + वेद = ऋृगवेद, साम + वेद = सामवेद) नामाकरण गरेको देखिन्छ ।

ख) चिनीया समाजको व्यवस्थापनको निम्ती (सबैभन्दा प्रभावशाली) दार्शनिक कन्फ्युसीयसले जारी गरेका (सन्साभरिका चिनीया-मंगोल नश्लहरू समेतलाई प्रभावित गरिरहेका) शुत्र या उपदेश तथा नियमहरूलाई चिनिया भाषामा Lunyu (अंग्रेजीमा Analects भनेर एक शब्दमा अनुवाद गरेर व्याख्या गर्दा “Selected Sayings (of Confucius?)” भनियो । अर्थात, Analects हरू पनि चिनीया समाज सन्चालनका निम्ती कन्फ्युशीयसले विकास गरेका नियम तथा प्रणाली र विधीविधानहरूलाई (मुन्धुम भनेजस्तै) Lunyu नामाकरण गरी संग्रहित गरियो ।

ग) प्राचीन (मुस्लीम धर्ममा प्रवेश गर्नु अधि) जोरोष्ट्रियन (फारसी, पर्सी, अरवी) हरूले Avesta नामक ग्रन्थमा उक्त समाजको खगोल संबन्धी ज्ञानगुन, समाज सन्चालनका कानुन र तिनका दफा र उपदफाहरू, विवाह-जन्म-जीवनमा र मृत्यू हुँदा गरिने विधीविधान पुजा र भजनहरू, जरथ्रुस्ट नामक सुत्रधारले सुनाएका सन्देश-शुत्रहरूमा समेटिएका छन् ।
यसरी हेर्दा कतै वेद भनेर, कतै Lunyu (Analects) भनेर, कतै Avesta भनेर त कतै मुन्धुम भनेर प्राचीन कालका फरकफरक सभ्यता र समाजका लोकले नै विकास गरेका लोकायती ज्ञानगुनहरू तथा विश्वासहरू र नीति तथा विधि-विधान र पध्दति-विवरण तथा स्तुती-भजनहरु श्रुती परम्परामा बचाएर ल्याइयो । कालान्तरमा तिनै प्राचीन ज्ञानगुनका कुराहरुलाई कतै बाइबल (ईशाई), कतै कुरान (ईस्लाम), कतै त्रिपिटक (बुध्दका उपदेश, निर्देशन या अनुशासन), कतै गुरु ग्रन्थ साहिब (सिख), कतै आगमशास्त्र (शिवका शुत्र), समण सुत्तं (जैन), कतै मुन्धुम आदि अनेक नाममा पुस्तकका रुपमा संग्रहित गरिए । अध्येताहरूका अनुसार यी सबै ग्रन्थहरू पटकपटक थपथाप गर्दै युग र परिस्थिती अनुसार सुधार गर्दै ल्याइएका छन्;

११. खोज गरेर नयाँ, रोचक सत्यतथ्य फेसबुक (सोसल मिडिया) मा राख्नुहुन्छ र सबैभन्दा बहूमूल्य फेसबुक एकाउन्ट तपाईको हो पनि भनिन्छ । ति खोज, अनुवाद गर्नुभएको लेखहरुको संग्रह पुस्तकको रुपमा आउछ की?

उत्तरः हो, Retired life मा बस्न थालेपछि मेरो काम नै मलाई चाख लाग्ने पुस्तकहरू पढ्नु हुन थाल्यो । पढ्दै गएपछि थाहा पाएका कुराहरु अरुसंग पनि शेयर गर्न मन लाग्यो । त्यसैले मैले लेखेका रचनाहरू Blog मा (https://bikramsubba1.blogspot.com) मा निबन्धहरु र मेरा सबै कविताहरू चाही (https://bikramsubbapoems.blogspot.com) मा राख्न थाले । सौभाग्य, त्यति नै बेला फेसबुक आयो । र, मेरा लेख तथा कविताहरु बेला बेला शेयर गर्ने Data base जस्तै मेरा Blog हरू बने । पछिपछि त दैनिक फेसबुकमा लेख्दै शेयर गर्न थाल्दा संख्या बढ्दै गएकाछन् । तर, तिनलाई संगालेर पुस्तकको रुपमा निकाल्ने कुरामा तपाइँले नै सम्झाएपछि ‘गरे त हुने हो’ भन्ने लागेको छ । तर, अब सबैलाई फेरि सम्पादन गरेर पुस्तक निकाल्ने जाँगर त छैन ।

१२. तपाईका कति कृतिहरु र आउने कृतिहरु के के हुन?

उत्तरः प्रकाशन भएकाहरू: २ वटा खण्डकाव्य, ५ वटा कवितासंग्रह (पछिल्लो संग्रह: रोज्जा कविता, २०७४); गैरसाहित्यिक: लिम्बू भाषा व्यारण र शब्दकोश (Concise Limbu Grammar and Dictionary, सहलेखनमा), सामुदायिक रेडियोहरूको रणनैतिक योजना तर्जुमा निर्देशिका, सामुदायिक रेडियोहरूको कार्य सम्पादन मुल्यांकन प्रणाली निर्देशिका, आदि । मदन पुरस्कार पुस्तकालयको Monograph (https://madanpuraskar.org/monographs/) मा पनि मेरा केही पुस्तकका सूचि हेर्न सकिन्छ ।

१३. तपाई स्वास्थ्यमा पनि त्यति नै संचेत हुनुहुन्छ तपाईको दैनिकी कस्तो छ र वास्तवमा जीबन के रहेछ?

उत्तरः म स्कूले जीवन सम्म आमा र गुरुहरूको आदेश पालक ज्ञानी थिएँ । आमाले पकाएको सादा खाना, सागसब्जी र कहिलेकाहीं मासु र फलफुल खान्थें, जाँडरक्सी चिया खन्नथें । ८-९-१० क्लास पढ्दा रंगेली (मोरङ) को होस्टलमा बस्दा खाना नमिलेर पेट बिग्रिन थाल्यो । बा-आमाले होस्टलबाट निकालेर मलाई हेड मास्टरको घरमा राख्नु भयो । हेड मास्टरसंग अंग्रेजी पनि सिक्ने र उनकै भान्सामा पाक्ने उसिना चामलको भात र दाल सब्जी खान थालेपछि मेरो पेट विग्रन छोड्यो । SLC सकेपछि जब म २०२८ सालमा काठमाण्डु आएँ तब खाना नमिलेर पेटको रोगी भएँ । हुँदाहुँदा जन्डिस रोग लाग्यो जसले लिभरको शक्तीलाई कमजोर बनाई दियो । खाना पचाउँन नसक्ने । जब मैले आफै कमाएर खान थालें त्यसपछि आफ्नो टीमका साथीहरूको संगतले रक्सी-जाँड, कफी र दिनैजसो मासु खान थालें । यसरी Life style परिवर्तन भएपछि उसै मुताबिक मुटुको रोग लाग्यो । मुटुको नशामा Stenting लगाउँनु पर्‍यो ।

त्यसपछि म डक्टरहरूको सल्लाह अनुसार र आयुर्वेदका कविराजहरुको सल्लाह अनुसार नियमित औषधी खाने गर्छु । तेस्तै, बेलुका ६ बजेतिर हल्का (प्राय भेजिटेवल सूप या Hot lemon with honey) मात्र खाएर बेलुका खाने औषधीहरू खान्छु र ७ बजेदेखि म मेरो कोठा बन्द गरेर बस्छु – कहिले ध्यान गर्छु, कहिले रमाइला हँसाउँने कार्यक्रमहरू हेरेर मज्जाले हाँस्छु । ८ बजेतिर ओछ्यान पस्छु । बिहान ६ बजे तिर उठछु र केही क्षण ध्यान-योग गर्छु । ७ बजे मात्र मेरो कोठाको ढोका खुल्छ । उठनासाथ आधालिटर जति तातो पानी खान्छु – ट्वाइलेट जाने बानी पनि छ । त्यसपछि फेसबुकमा स्टाटस लेख्छु । बिहान ८ बजे खिचडी खान्छु र Morning walk मा निस्कन्छु । Walk बाट फर्केपछि नुहाउँछु र फलफुल खान्छु र मनपरेको विषय पढ्छु जसले मलाई ध्यान गरेजस्तै तल्लिन बनाउँछ । दिउँसो १ बजे खाना खान्छु । तेसपछि फेरि घुम्न १०-२० मिनेट निस्कन्छु (दिउँसो सुत्न नपरोस भनेर) । फर्केर आएपछि सन्सारभरिका खबरहरू हेरेर Updated हुन्छु र केही लेख्ने पढ्ने गर्छु । सामान्यता यो मेरो रुटिन हो । तर कहिलेकाही Dentist कोमा जाने, ENT डक्टरकोमा जाने, आँखा अस्पताल जाने र मुटुको डक्टरकोमा ६-६ महिनामा जाने, Visitors आए Entrtain गर्न गफसफ गर्नै पर्ने हुन्छ । कहिले काहीं घुम्ने ब्रेक (Sabatical) लिएर पोखरा, चितवन, लुम्बिनी पनि परिवारसँगै जान्छु । यसरी मेरा दिनहरुलाई आफु अनुकुल बनाएर चल्छु । घरको धेरै जिम्मेवारी छोरीले लिईसकेकोले घरेलु Pressure कम छ । किनभने अब Pressure/tensions हरूसँग Cope गर्ने उमेर र उर्जा रहेन् । टाउकोमा ऋृण छैन । छोराछोरीहरु आफै गरिखाने भइसकेकोले तिनलाई पढाउँने जिम्मा पनि सकियो ।

अब एउटै इच्छा छ – कसैलाई दुख दिने गरि लामो रोगले थलिएर मर्न नपरोस् । मुटुको डक्टरले मेरो मृत्यू बारे Sudden death हुन्छ भनिसक्यो । त्यसैले खुशी लागेको छ । तैपनि केही दिन केही मानिसले दुःख दिन नपर्ने उपाय के होला भनेर सम्झिरहेछु । सत्यमोहन जोशी दाइले केही वर्ष अघि नै भेटघाटमा – आफ्नो र श्रीमती दुबैजनाले शरिर दान गर्ने निर्णय गरेको सुनाउँनु भएको थियो । सोही अनुरुप गरेपछि परिवारका कसैले दुख पाउँदैनन । यो जीवनलाई विसर्जन गर्ने एक उपयुक्त Model हो जस्तो लागेको छ । डोरबहादुर बिष्ट कतै हराए – कसैलाई दुख दिएनन । यो पनि जीवन विसर्जनको एक Model हो । विपी कोइराला मरेपछि मेरो करिया नगर्नु भनेबमोजिम किरिया गरेनन । यो पनि मरिसकेपछिको आडम्बरलाई बहिस्कार गर्ने एक तरिका हो । मैले कसरी जीवन विसर्जन गर्ने? निर्णय गरिसकेको छैन ।

जीवनको अर्थ वैज्ञानिकहरूले जन्मनु, हुर्कनु, सन्तान फैलाउँनु र मर्नु हो भन्छन् । फरकफरक धार्मिक संप्रदायले जीवनलाई उद्देश्यको आधारमा फरकफरक किसिमले परिभाषित गर्छन् । जस्तैः सनातनीले जीवनको उद्देश्य मोक्षप्ती हो भन्छन् । मुस्लीमहरूले अल्लाहले तोके बमोजिम काम गरे जन्नत (स्वर्ग) गइन्छ नत्र जहन्नुम (नर्क) गइन्छ भन्छन् । ईशाई धर्माबलम्बीहरू जीवनको उद्देश्य सुख प्राप्ती हो भन्छन् । बुध्दिष्टहरू निर्वाण प्राप्तीको कुरा गर्छन् भने UN ले Happiness Index अनुसार जीवन सफल भएको या नभएको मापन गर्छ । मेरो निम्ती जीवन भनेको मानव जाति, मेरा आफ्नै पूर्खा, मेरो समाज र मेरा सन्तानहरूको सृंखलामा एउटा सानो कडी-बिन्दु हो । मेरो अस्तित्व यिनैसँग गाँसिएकोले यी सबैको सकेसम्म भलो गर्नु मेरो जिवनको उद्देश्य हो ।

१४. हामी मानिसको जीबन कुनैपनि बिन्दुमा पुगेर अन्त हुन्छ नै यो अकाट्य छ, कुनैबेला शसरिर अन्त हुनु अगावै के के गर्न पाए चाहि हुनेथियो भन्ने लाग्छ की?

उत्तरः अब सन्चोसंग बाँच्ने र एकदिन विसर्जित हुने बाहेक कुनै अतिरिक्त चाहना (Desires) छैनन । मैले बुध्दबाट सिकेको यही हो – जति चाहना (Desire) बढायो उति दुख बढ्छ । मेरा फुटकर लेख-रचनाहरुको किताब निकालौं भनेर तपाइँले नै भनेपछि झसंग त भएँ । तर ती सबै पुनः संकलन गरेर सम्पादन गरेर छपाउँने Energy मसंग छ त भन्दा छैन । तेसैले कसैले संकलन गरेर पुस्तकको रुपमा निकाले संभव होला नत्र यो काम पनि म बाट हुँदैन भनेर मानसिक रुपमा आफैलाई सम्झाएँ । चिन्ता छैन । मेरो धेरै अघिदेखिको सोचाई थियो – म एक असल नागरिक रहेर मर्छु । मलाई कसैले सम्झँदा Positivity नै अनुभूत गरुन् भन्ने थियो । यही जवीन दर्शनको चारकिल्ला भित्र म बाँचेकोमा ‘मैले जे चाहें त्यही भयो’ भन्ने लागेको छ ।

—————————- ————-
अनुसूचि १ः त्रिविविको MA नेपालीमा के के पढाइन्छ ? हेरौंः

पहिलो सेमेष्टरमा
१) ऐतिहासिक तथा समाज भाषाविज्ञान – ३ क्रडिट
२) संस्कृत काव्यशास्त्र – ३ क्रडिट
३) पाश्चात्य समालोचना सिध्दान्त र नेपालि समालोचना – ३ क्रेडिट
४) आधुनिक नेपाली निबन्ध र लोक साहित्य – ४ क्रेडिट
५) आधुनिक नेपाली पुटकर कविता – ३ क्रेडिट = कूल १६ क्रेडिट ।

दोस्रो सेमेष्टर
१) सामान्य भाषाविज्ञान – ३ क्रेडिट
२) पाश्चात्य साहित्यका वाद र समालोचना पध्दति – ३ क्रेडिट
३) पूर्व आधुनिक नेपाली साहित्य – ३ क्रेडिट
४) आधुनिक नेपाली नाटक र चलचित्र सिध्दान्त – ४ क्रेडिट
५) आधुनिक नेपाली खण्डकाव्य – ३ क्रेडिट = कुल १६ क्रेडिट

तेस्रो सेमेष्टर
१) आधुनिक नेपाली कथा – ३ क्रेडिट
२) आधुनिक नेपाली महाकाव्य – ३ क्रेडिट
३) साहित्येतिहास सिध्दान्त र नेपाली साहित्यको ईतिहास लेखन – ३ क्रेडिट
४) भाषिक अध्ययन परम्परा – ४ क्रेडिट
५) नाटककार बालकृष्ण सम र उनका नाट्यकृति, महाकवि लक्ष्मीप्रसाद देवकोटा र उनका कविताकरति, नाटककार विजय मल्ल र उनका नाट्यकृति, कवि मोहन कोइराला र उनका कविताकृति, शोध तथा सृजना विधि – ४ क्रेडिट = १६ क्रेडिट(थप, विस्तृत यहाँ पनि हेरौंः https://tucded.edu.np/index.php?route=product/category&path=284_295)

Leave a Reply

Your email address will not be published. Required fields are marked *