धरान बुढासुब्बा मन्दिरको इतिहास तथा लोककथा -स्व. लोकेन्द्र तिगेला
पूर्वी नेपालको सुन्दर शहर धरानको शिरमा बुढासुब्बा मन्दिर रहेको छ । प्रेमी, प्रेमिकाहरु आफ्नो प्रेम सफल बनोस भन्ने कामना गर्न सो मन्दिरमा गई धागोको डोरो मन्दिरमा बाँध्ने र मन्दिरकै आँगनमा बाँसको झ्याङ छ, तिनै बाँसहरुमा प्रेमप्रणय लेख्ने गरेका छन । सो झ्याङमा टुसाउने बाँसको टुप्पो हुदैन र छैन । त्यसको कारण हो बाँसले बनेको शिकारी बुढासुब्बाको धनुषकाँड राखिएको ठाँउ अर्थात धनुष काँड नै पलाएर टुप्पो नहुने बाँस उम्रिएको विश्वास गरिन्छ । टुप्पो नभएको बाँस अन्यत्र कतै पाइन्दैन र यसलाई दैविक शक्तिकै रुपमा लिने गरिन्छ । यो मन्दिर र धनुषकाँडको बारेमा विभिन्न किम्बदन्तिहरु छन तर यसको इतिहास चाहि यस्तो छ ।
हालको छथर जोरपाटी १, हात्तिखर्कमा इल्लिहाँङ खेवाहाँङ र मङयाक थरकी श्रीमतिको कोखबाट जेष्ठ सुपुत्रको रुपमा भर्तवीर खेवाहाँङ जन्मिए । उनको जन्म वि.स. १८१२ ताका भएको र उनी शिकार खेल्नमा निपूर्ण र दैवशक्ति प्राप्त ब्यक्ति थिए । उनको बाँसबाट बनेका लामालामा धनुषकाँडहरु थिए । धनुषकाँड लिएर भतिज जाहानपिर, चेलि पद्मावति र गाँउकै छिमेकी सहयोगीद्धय डुक्सिङ र बाक्सिङ रानामगरलाई लिएर हात्तिखर्क र सान्ने बीचमा रहेको ओख्रेखोला हुदै, माङमाया दोभान हुदै अरुण पुगेर कोकाखोला हुदै धरानको विजयपुरमा शिकार खेल्न पुगे । भोलिपल्ट बिहान भतिज जहानपिरलाई लिएर भर्तवीर शिकार खेल्न निस्किए । उनले हानेको धनुषकाँडले शिकार नमरेको कारण आश्र्चयचकित हुदै उनले केहीबेरमा कलियुगको अन्तहुनैै लागेको पत्ता पाए । त्यसपछि उनले भने अब म यसै ठाँउमा मेरो शिकारी आत्मा र धनुषकाँड राखेर अन्त्य हुनेछु । भतिज तिमी घर जाँउ भन्दै उनी कलियुगको अन्त संगसंगै त्यहि अल्पिए । भर्तवीर अल्पिएको ठाँउ नै अहिलेको बुढासुब्बा मन्दिर हो अर्थात कलियुग अन्तको जनाउ स्वरुपको मन्दिर हो । भर्तवीरलाई बुढासुब्बा पनि भनिन्थ्यो ।
बुढासुब्बाले चलाउने एकाध धनुषकाँड र केही मटेङ्ग्रा अहिले पनि उनको छैठौ पुस्ते सन्तानको घर हात्तिखर्कमा सुरक्षित छ । अल्पिएका बुढासुब्बाको नाममा अहिले पनि वंशको उधौली, उभौलीमा पुजा गर्ने चलन छ । बुढासुब्बा संगै गएका डुक्सिङ र बाक्सिङ मगरको सन्तान अहिले पनि धरानको बुढासुब्बा मन्दिरमा पुजारी छन् । हालका पुजारीद्धय मगरको पूख्र्यौली थात्थलो हात्तिखर्कको मगर गाँउ र सान्नेको रमिते डाँडा हो र त्यहा उनीहरुको दाजुभाई आफन्तहरु छन् । बुढासुब्बाको जन्मघर नजिकै हात्तिखर्कमा पनि अर्को बुढासुब्बाको मन्दिर रहेको छ । पछिल्लो समय सम्म धरानको बुढासुब्बा मन्दिर भित्र रहेको ढिस्कोमा पंक्षि अर्थात कुखुराको भालेको भोग चढाइन्दैन्थ्यो किन की बुढासुब्बा खेवा थिए र खेवाले दुईखुट्टे पंक्षी खादैनन् । मन्दिर भित्र रहेको दुई ढिस्का मध्ये बुढासुब्बाको मूर्तिको रुपमा रहेको ढिस्कोमा सुगुरको मात्र बलि चढाइन्छ भने सहयोगी डुक्सिङ र बाक्सिङको रुपमा रहेको अर्को ढिस्कोमा भने भाले चढाईन्छ । अझै पनि ठूलो ढिस्कोमा पंक्षी नचढाउनु शुभ हुने मानिन्छ तर दुवै ढिस्कोमा चढाउन थालिएको पाइन्छ ।
आफ्नो माइती बुढासुब्बा अल्पिएको कारण विछिप्त भई चेली पद्मावती पनि नजिकै अल्पिइन र उक्त ठाँउमा गौरी मन्दिर बनाईएको पाइन्छ ।
एफ ह्यामिल्टनले उनको ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ पुस्तकमा लेखेका छनः विचित्र चन्द्र रायको छोरा हाँङ बुद्धिकर्ण राय खेवाहाङलाई प्रतापसिंह शाहले आठ बर्ष अघि कामदत्त सेनको हत्या गरेको अभियोगमा सन् १७७७ मा विजयपुरको एक रुखमा बाँधि दण्ड दिएका थिए । उनको प्राण जान तिन दिन लागेको थियो । उनको प्राण गएको ठाँउमै समाधि गरियो र सोहि ठाँउलाई नै बुढासुब्बा भनियो । ह्यामिल्टनले लेखेको भन्दा ’मानव उत्पति र खेवा वंश २०५५’ नामक पुस्तकमा उल्लेख गरिएको दैविक शक्तिका भर्तवीर अल्पिएको इतिहाँस चाहि बढि नजिक देखिन्छ । बाँसको टुप्पा नआउनुमा जसरी दैवी शक्तिको रुपमा मानिन्छ त्यसरी नै दैवी शक्ति भएका भर्तवीर अल्पिएको ठाँउलाई पवित्र र शक्तिपीठको रुपमा मानिन्छ । टुप्पा नभएको बाँसझ्याङमा चराचुरुङ्गी नबस्नु र त्यहाको जंगलमा बन्यन्तुहरु नहुनुलाई पनि बुढासुब्बाको शक्तिको रुपमा लिइन्छ ।
धरान शहर संगै जोडिएको सुन्दर र रमणिय डाँडामा रहेको यस मन्दिरमा धरान घुम्न आउने यात्रुहरु दर्शन गर्न अनिवार्य पुगेकै हुन्छन अर्थात बुढासुब्बा मन्दिर धरानको मुख्य पनि आकर्षण पनि हो । पूर्वी नेपालको शक्तिपीठहरु मध्ये एक महत्वपूर्ण मानिने बुढासुब्बालाई भाकल गरेर धेरै टाढाटाढाबाट तिर्थालुहरु आउने गर्दछन र बुढासुब्बाको पुजा, दर्शन गरेको खण्डमा मनोकामना पुरा हुदै आएको विश्वास गरिन्छ ।
स्रोतः मानव उत्पति र खेवा वंश २०५५, वंशावली पुस्तकबाट