अङ्गुर अमिलो हुन्छ – पञ्च विस्मृत

अझै कन्ट्रयाक्ट बढाऊ
नेपालमा त के छ र ?
अभाव छ
गरिबी छ
रोग र भोक छ ।

विदेशको माटोमै आफूलाई सक †
नेपालको माटो ठीक छैन
त्यहाँको हावापानी ठीक छैन
त्यहाँको संस्कृति ठीक छैन
त्यहाँका मान्छेको चेतना सही छैन ।

कवि पञ्च विस्मृत


त्यहाँको राजनीति अस्थिर छ
नेताहरु ठीक छैनन्
गरिखाने ठाउँ छैन
मर्नेलाई माटो पुग्दो छैन
बाँच्नेलाई भविष्य उज्यालो छैन
द्वन्द्व छ, अराजकता छ
चाकरी चाप्लुसीको खेल छ ।

त्यहाँका सडक फोहर छन्
धुवाँ धूलोको उत्सव चल्छ
त्यहाँका जनता फोहरी छन्
फूड सेफ्टीको नियम थाहा छैन
अशिक्षित छन्, बलात्कार गर्छन्
हत्याहिंसा गर्छन् ।

माग्नेहरु छ्यापछ्यापती छन्
कहीँ विचार र सिद्धान्तको नाममा
कहीँ संस्कृतिको नाममा
कहीँ बन्दुकको नाममा
कहीँ क्रान्तिको नाममा
कहीँ बेपत्ता बुबाआमाको नाममा ।

फर्किनु पर्दैन स्वदेश
अरु बस, परिवारका सपनाहरु पूरा गर्दैजाऊ
रुखबाट पैसा टिप्दै पठाऊ
आफ्नो कर्तव्य पूरा गर
छोराछोरीको भविष्य अन्धकार हुन नदेऊ
स्कुलको चर्को फी तिर
चार पैसाको समाजसेवा गर ।

कपाल फुलुन्जेल विदेशमै बस
परिवार भन्ने चीजमा के छ ?
मनमुटाव छ
झगडा छ
पारिवारिक सुख, स्वदेशको माया
त अङ्गुरजस्तो हुन्छ
अङ्गुर अमिलो हुन्छ ।

श्वास रहुन्जेल
शक्ति रहुन्जेल
कन्ट्रयाक्ट बढाऊ, सारा जिन्दगी घोट्दै रह
नेपालमा त के छ र ?
अभाव छ
गरिबी छ
रोग र भोक छ ।

०००

२१ नोभेम्बर, २०२०
दम्माम, केएसए

Leave a Reply

Your email address will not be published. Required fields are marked *