अपमान (उपन्यास भाग–१) -देश सुब्बा
बुढासुब्बा माङ्हिम् उत्पत्तिको कथा
धरान बजारको उत्तरमा विजयपुर डाँडो छ । यहाँ किरात जातिको अन्तिम राजा बुद्धिकर्ण रायको जिर्ण भएको भताभुङ्गे दरबारको अवशेष छ । नजिकै किरातीको सबैभन्दा प्रसिद्ध ‘माङ्हिम्’ “बूढासुब्बा” रहेको छ । जसलाई बुद्धिकर्ण रायको समाधिस्थल भन्ने गरिन्छ ।
बिहानीको कलिलो घामले बुढासुब्बा माङ्हिम्मा न्यानो छरिरहेको थियो । तलतिर प्रेमीप्रेमीकाका नामहरू कोरिएका टुप्पो नभएका बाँसहरू मन्द गतिको हावामा सङ्गीत भरिरहेका थिए । नजिकैको जंगलमा चराचुरुङ्गी चिर्रबिर्र गरिरहेका थिए । डाडाँबाट सुन्दर धरानको मनमोहक दृश्य देखिइरहेको थियो । धरान बजार भर्खर बिउँझेर सल्बलाउन थाल्यो । चारकोशे झाडी पनि भर्खर बिहानीको घाममा आङ तन्काउँदै थियो ।
लिबाङ् र यलुङ एकसरो माङ्हिम् वरिपरि घुमे । यलुङ माङ्हिम् भित्र पस्यो । उसले पूजा ग¥यो । यलुङले पूजा गरुन्ञ्जेल लिबाङ् माङ्हिम्मा न्यानो घाम ताप्दै दृश्यपान गरिरह्यो । दश मिनेटजति यलुङले माङ्को प्रार्थना ग¥यो । ढोग्यो, कहीँ गुनगुनायो । अनि बाहिर निस्कियो ।
“माङ्सँग के माग्यौ त यलुङ ?” भताभुङ्गे दरबारतिर उकालो लाग्दै लिबाङ््ले यलुङलाई जिस्कायो । “मान्छे माग्न मात्र माङ्हिम् आउँछ भन्ठान्छौ तिमी ?” यलुङले उल्टै प्र्रश्न ग¥यो । “हो त । नत्र यहाँ आएर माटोको ढिस्कालाई निधार राखिराखि ढोगेर के हुन्छ त ?” लिबाङ्््को तर्क यलुङलाई त्यति ठीक लागेन । यलुङका लागि यो तर्क निक्कै अप्रिय थियो । त्यसैले उसले पनि तर्क गर्ने सुर कस्दै भन्यो, “यो माटोको ढिस्का मात्र होइन । यो त हाम्रो जातिको पहिचान र पुर्खाले छोडेको चिनो हो । हाम्रो आस्थाको दियो हो ।”
“ए हो र ?” अघिदेखि ठट्टा गरिरहेको लिबाङ्् फेरि जिस्किँदै भन्यो, “अनि हाम्रा पुर्खाहरूसँग आफ्ना सन्तानलाई छोड्ने यही माटोका ढिस्कामात्र रहेछ त ?”
“अहो लिबाङ्् ! तिमी त माक्र्सबाजेका किताब पढ्दापढ्दा हाम्रो कुरै नबुझ्ने पो भयौ कि के हो ?” यलुङले पनि लिबाङ््लाई मज्जैले जवाफ दियो, “तिमीलाई थाहा छैन हाम्रो पुर्खामाथि भएको षडयन्त्र र बुद्धिकर्ण रायको कथा ? यो माङ्हिम् र दरबार त्यसैको प्रमाण स्वरूप यहाँ रहिरहेकाछन् ।” यतिबेला उनीहरू अवशेष मात्र बाँकी भएको भताभुङ्गे दरबार अगाडि आइपुगेका थिए । लिबाङ्््ले कथा सुन्ने सुर कसेर भन्यो, “सुनाउन त यलुङ हाम्रा पुर्खाको इतिहास ।”
मौकामा यलुङले पनि लिबाङ््प्रति व्यङ्ग्य ग¥यो, “तिमी सुन्छौ र ? यो इतिहास न फ्रान्सेलि राज्य क्रान्ति जस्तो छ, न अक्टोबर क्रान्ति जस्तो रोचक छ । यो चीनको दीर्घकालीन जनयुद्ध जस्तो बहादुरीपूर्ण पनि छैन । यो त हाम्रा पुर्खालाई शाहहरूले कायरतापुर्व षडयन्त्र गरेर हराएको कथा हो । तिमी सुन्छौ भने म सुनाउँछु यो षडयन्त्रको कथा ।” भग्नावशेषको रूपमा बाँकी रहेको दरबारको ढुङ्गा पुछेर दुवैैजना बसे । यलुङले बुद्धिकर्ण रायको इतिहास सुनाउन थाल्यो ।
“बुद्धिकर्ण राय विजयपुरका अन्तिम राजा हुन् । त्यतिबेला सेन राजाहरूले विजयपुरलाई स्वायत्त राज्यको रूपमा स्वीकारेका थिए । उनीभन्दा अघि त्यहाँ कामदत्तसेन राजा थिए । उनको हत्या भएपछि त्यहाँका चौतारीया (प्रधानमन्त्री) रहेका बुद्धिकर्ण राय राजा भए । यो गोर्खाली राजा पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्दाको समय हो । त्यतिबेला बुद्धिकर्ण रायको दरबारमा सुब्बा जयरुद्र पाध्याय काम गर्थे । उनले पृथ्वीनारायण शाहलाई विजयपुरमाथि आक्रमण गर्न उकासेर लेखिपठाए ।
लिम्बुवान राज्यमाथि पटकपटकको आक्रमणमा पनि पराजित भएपछि पृथ्वीनारायण शाहले लिम्बुहरूलाई फकाइफुल्याई हात लिने उपाय रच्न थाले । यता विजयपुर राज्यका मन्त्रीहरू श्रीसुन राय, श्रीफुङ्ग राय र श्रीजङ्ग रायसँग राजा बुद्धिकर्ण रायको राम्रो सम्बन्ध थिएन । यी नै मन्त्रीहरूले गोर्खाली राजाका प्रतिनिधि काजी अभिमानसिहं, पार्थ भण्डारी, किर्तसिहं खवास र बलि बानियाँसँग पृथ्वीनारायण शाहलाई महाराजधिराज मान्ने भनी सम्झौता गरे । यसले गर्दा बुद्धिकर्ण राय अप्ठ्यारोमा परे । मन्त्रीहरूले समेत आफूलाई धोका दिएपछि उनी राज्य छोडेर भाग्न बाध्य भए । बुद्धिकर्ण भागे पनि उनले फेरि राज्य फिर्ता लिन सक्छन् भन्ने डर गोर्खालीहरूलाई थियो । त्यसैले उनलाई मार्न भनी गोर्खाली सेनाहरूले पूर्णिया र मोरङमा भेष बदलेर खोज्न थाले । तर बुद्धिकर्ण राय भने गोर्खाली राजासँग लडाई गरी आफ्नो राज्य फिर्ता गर्न सैन्य सहयोग माग्न तिब्बतको राजधानी ल्हासा पुगेका थिए । यतिबेलै बुद्धिकर्ण राय पनि गोर्खा विरुद्ध लडाईं गर्न सिक्किमलाई उचालिरहेका थिए । सिक्किमसँगको युद्धमा गोर्खा १८ पटक पराजित भयो ।
“पृथ्वीनारायण शाह पछि उनका छोरा प्रतापसिहं शाह गोर्खाका राजा भए । उनले पनि बुद्धिकर्ण रायलाई खोज्न तराईका गाउँगाउँमा मान्छे पठाए । प्रतापसिहं शाहका सेनाले राय लुकेको कोठा दक्षिणी भुटानको चमर्ची छेउको चिलमानी गाउँमा भेट्टाए । शाहका सेनाले राती उनी बसेको घर डाकाका रूपमा घेरा हाली रायलाई लछारपछार गर्दै बाहिर निकाले । उनीहरूले उनलाई विजयपुरमा लिएर आए ।
“विजयपुरको डाँडामा ल्याएर एउटा रूखमा बाँधेर निर्मम यातना दिए । रायलाई कामदत्त सेनको हत्याको आरोप लगाइएको थियो । यसरी गोर्खालीहरूले उनलाई अर्धमृत बनाएर छोडे । रूखमा बाँधिएको अवस्थामा उनको सास जान तीन दिन लागेको थियो भनिन्छ । पछि विजयपुरका मानिसले उनको प्रेतआत्माले मानिसहरूलाई काममा मद्दत गरेको थाहा पाए । त्यसैले बुर्हासुभालाई मानिसहरूले कुखुराको बलि दिन थाले । यही बुर्हासुभा अहिलेको बुढासुब्बा हो ।”
यलुङले कथा भन्दा लिबाङ्् ध्यानमग्न भएर सुनिरहेको थियो । इतिहास वा किंवदन्ती सुन्न र पढ्न यलुङलाई खुब मज्जा लाग्छ । उसले यलुङको अनुहारमा हेर्दै भन्यो, “ए त्यसो भए माङ्हिम्मा हामीले पुजेको ढिस्को त बुद्धिकर्ण राय पो रहेछ है ।” ऊ खितिति हाँस्यो ।
यलुङ एकदमै गम्भीर थियो । उसले लिबाङ््लाई भन्यो, “यो हाँसेर उडाउने कुरा होइन लिबाङ्् । यो त बाहुनवादीहरूले हामीमाथि गरेको अपमानको साक्षी हो । त्यही भएर म माङ्हिम्लाई श्रद्धा गर्छु ।”
उनीहरू दुवैैजना धरान बजारतिर ओरालो लागे । To Be Continue…

(सिद्धान्तकार देश सुब्बाद्वारा लिखित अपमान उपन्यासको पहिलो संस्करण २०५२ सालमा जनजाति साहित्यिक समूह, हङकङद्वारा प्रकाशित भएको थियो। १,००० प्रति प्रकाशित पहिलो संस्करणपछि २०६० सालमा दोस्रो संस्करण पनि १,००० प्रति प्रकाशित गरिएको हो। हङकङमा प्रकाशित यस कृतिले अपमान, अस्तित्व, पहिचान र मानवीय अनुभूतिका विषयलाई साहित्यिक विमर्शमा उठाएको छ।— सम्पादक)






