ताप्लेजुङ जिल्लामा प्रचलित लोकनृत्यहरूको अध्ययन-सह–प्रा.डा.कुलराज निरौला
विषय परिचय
ताप्लेजुङ जिल्ला अहिलेको राजनीतिक विभाजन अनुसार कोसी प्रदेशको उत्तर पूर्वी भूभागमा अवस्थित हिमाली तथा पहाडी भूबनौट भएको नेपालका सतहत्तर जिल्लामध्ये एक हो । ताप्लेजुङ जिल्ला प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पन्नताले परिपूर्ण रहेको छ । यहाँ कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता उच्च शैलशिखरहरूले सुशोभित यस जिल्लामा तमोर, काबेली मुख्य नदीहरूका साथै मेवाखोला, मैवाखोला, फावाखोला र इन्द्रावती जस्ता नदीहरूबाट सिञ्चित भई यो जिल्ला उर्वर बन्न पुगेको छ । यस जिल्लामा विश्वमा दुर्लभ मानिने काँडे भ्याकुर, डाँफे मुनाल, चिलिमेजस्ता पशुपन्छीको बासस्थान पनि रहेकाले यो जिल्ला प्राकृतिक सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको छ । यहाँ विभिन्न जातजातिका मानिसहरूको बसोवास रहेकाले उनीहरूका त्यस्ता आआफ्नै सांसकृतिक परम्परा रहेका छन् जसले यहाँका सामाजिक तथा सांस्कृतिक सम्पन्नतालाई पुष्टि गर्दछन् ।
ताप्लेजुङ जिल्लामा विभिन्न समुदायका मानिसहरूको बसोबास रहेको छ । यस जिल्लाका भूबनोटलाई हिमाली र पहाडी दुईभागमा बाँड्न सकिन्छ । यस जिल्लाको हिमाली क्षेत्रमा शेर्पा, वालुङ, तोक्पे, भोटे जातिको बसोबास रहेको छ भने पहाडी क्षेत्रमा राई, लिम्बू, मगर, तामाङ, नेवार, याख्खा, सुनुवार, लेप्चा, माझी, ब्राह्मण, क्षत्री, कामी, दमार्इँ, सार्की, जोगी आदि जातिको बसोबास रहेको छ । यहाँका लोकसांस्कृतिक परम्परालाई आर्यसंस्कृति एवं मङ्गोलसंस्कृति दुवैको प्रभाव रहेको पाइन्छ । यस जिल्लामा ब्राम्हण, क्षत्री कामी, दमाइर्, जोगी, सार्की आदि जातिमा आर्यसंस्कृतिको प्रभाव रहेको छ भने राइर्, लिम्बु,तामाङ, गुरुङ, भुजेल, मगर, सुनुवार, याख्खा, आदि जातिमा मङ्गोलसंस्कृतिको प्रभाव रहेको छ । यहाँ बसोवास गर्ने सबै जातजातिका आआफ्नै भाषा, संस्कृति, रीतिरिवाज, परम्परा, चालचलन, भेषभूषा, खानपान, पूजाआजा, देवीदेवता, रहनसहनका साथै सांस्कृतिक परम्परा सबै जातजातिका पहिचानका रूपमा रहेका छन् । यिनीहरूले प्रयोग गर्दै आएका सांस्कृतिक परम्परालाई अनुशीलन गर्दा मङ्गोलसंस्कृतिभित्र राई लिम्बू सुनुवार जातिमा लोकनृत्यका रूपमा साकेला, पालम, हाकपारे, ख्याली, सेलो जस्ता नृत्य र आर्यसंस्कृतिभित्र भने सँगिनी, बालुन, द्यौसी, भौलो, रोपाइँ, रत्यौली, दमाइँ सरदेवी आदि नृत्यहरू प्रचलनमा छन् । लोकनृत्यतर्फ लिम्बूजाति च्याव्रुङनाच, धाननाच, राई जातिको साकेला नृत्य, मगर जातिको कौरा तथा हुर्रे नृत्य प्रचालनमा रहेका भए पनि केहीका अवशेष मात्र रहेका छन् तर केही नृत्यहरूको प्रदर्शन हुन छोडेकाले ती लोप हुने अवस्थामा पुगेका छन् । सुनुवार जातिको छयोदर नृत्य प्रदर्शन गर्न छोडिएको छ । यस जिल्लामा तामाङ जातिको सेलो नृत्य, नेवार जातिको लाखेनाच पनि प्रचलनमा रहेका छन् । यसैगरी लोकवाजाको साझा बाजाका रूपमा झ्याली र मादल बजाउने गरेको पाइन्छ । ती सबैका लोकसांस्कृतिक परम्पराको अध्ययन अनुसन्धान हुन अझै बाँकी नै छ । लोकजीवनमा परम्परादेखि प्रवाहित हुँदै आएको र प्रदर्शनकारी कलाका रूपमा रहेको लोकनृत्यलाई प्रासङ्गिक रूपमा अध्ययन गरिए पनि व्यवस्थित रूपमा अध्ययन हुन भने बाँकी रहेको छ । तसर्थ, ताप्तेजुङ जिल्लामा बसोवास गर्ने जातिजातिमा केकस्ता लोकनृत्य प्रस्तुत हुँदै आएका छन् र के कस्ता प्रकारका लोकनृत्यहरू प्रचलनमा रहेका छन्, तिनीहरूको प्रस्तुति के कसरी गरिन्छ भन्ने विषयलाई यहाँ मूल जिज्ञासा बनाई प्राज्ञिक समाधान गर्नु उद्देश्य हो ।
अध्ययन विधि
प्रस्तुत अध्ययनका लागि सामग्रीको सङ्कलन क्षेत्रकार्यका साथै पुस्तकालाय कार्यबाट गरिएको छ । यस क्रममा ताप्लेजुङ जिल्लामा २०७८ र २०७९ सालमा आयोजना गरिएका धार्मिक, सामाजिक, उत्सवका साथै पर्वविशेषमा आयोजना गरिएका अवस्थामा अध्ययनीय नृत्यहरूको सामग्री सङ्कलन भिडियो क्यामरा, क्यामराका साथै अन्य विद्युतीय श्रव्यदृश्यका सामग्रीको समेत उपयोग गरी सङ्कलन गरिएको छ । नृत्यहरूकोे सङ्कलन गर्दा म आफू स्वयम् तथा सहयोगीका रूपमा दीपक गौतम (नाङखोल्याङ), भरत गुरुङ (ताप्लेजुङ बजार), कुलमाणि दाहाल (लिङखिम), पुन्यप्रसाद न्यौपाने (फुलबारी) तथा सन्तोष सिग्देल (सावा) तारा दाहाल र जीवनकला अधिकारी (खेबाङ) का साथै दिलविक्रम आङदेम्बे (पाँचथर) तथा कतिपय सामग्रीका लागि विद्युतीय सञ्चार माध्यमका सूचनालाई समेत यहाँ उपयोग गरिएको छ । यसरी सामग्री सङ्कलन गर्दा टेप रेकर्डर, क्यामरा, मोवायलका साथै आवश्यकताअनुसार नृत्यको सैद्धन्तिक परिचयका लागि पुस्तकालयीय कार्यबाट द्वितीयक सामग्रीको उपयोग गरिएको छ । कुन जातिको लोकनृत्य कुन बेला के कसरी कस कसको सहभागितामा सम्पन्न गरिन्छन् र त्यस प्रकारका नृत्यहरू कुन कुन हुन् भन्ने विषयलाई विवेचना गरी प्रस्ट पारिएको छ ।
सैद्धान्तिक आधार
लोकनृत्य शब्द ‘लोक’ र ‘नृत्य’ शब्दको योगबाट संयोजनबाट बनेको हो । ‘लोक’को अर्थ चराचर जगत् हुन्छ भने ‘नृत्य’ले अभिनय गर्नु भन्ने जनाउँछ । विषयवस्तुले भनेका भावनालाई शरीरका अङ्गहरूद्वारा सूक्ष्म अभिनयका माध्यमले कलात्मक ढङ्गबाट मनोरञ्जनका लागि प्रस्तुत गरिने कार्य नृत्य हो (पराजुली,२०६३, पृ. ५ ) । तसर्थ, यसले लोकजीवनमा प्रदर्शन गरिने शारीरिक अभिनयलाई बुझाउँदछ । शारीरिक चेष्टाद्वारा कुनै भावलाई प्रस्तुत गर्नु नै नृत्य हो भन्न सकिन्छ । नृत्यले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै आनन्दानुभूतिसमेत प्रदान गर्दछ । लोकनृत्यलाई धेरै पहिलेदेखि जनजीवनमा प्रचलित राष्ट्रिय पर्व, उत्सव, मेलापर्व, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका नाचलाई लोकनृत्य हो (जस्तै धाननाच, साकेला नाच, मारुनी नाच, घाटुनाच आदि) भनिएको छ (अधिकारी र भट्टराई , २०६१,पृ. ८८७)। यसरी लोकनृत्य शब्द नृत्य शब्दकै पर्यायवाची शब्दका रूपमा प्रयोग गरेको पाइन्छ । लोकनृत्य, लोकनाच र लोकनाटक शब्द नेपाली लोकजीवनमा समानार्थी शब्दका रूपमा प्रयोग हुँदै आएका भए पनि प्रस्तुतीकरणका आधारमा यिनीहरूका बिच भिन्नता रहेको छ । लोकजीवनका आस्था विश्वास, परम्परा, विधि, व्यवहार, रीतिरिवाज, चालचलन, सांस्कृतिक परम्परा आदिमा विश्वास राखेर चरित्रनायकको हाउभाउ गर्दै संवादात्मक रूपमा प्रस्तुत भए त्यो लोकनाटक कहलाउँछ भने लोकनृत्यमा आख्यान आउन पनि सक्दछ नआउन पनि सक्दछ । लोकनृत्य गीतरहित र गीतसहित या वाद्यवादनसहित या वाद्यवादनरहित जे जसरी प्रस्तुत पनि ती नृत्य लोकनृत्य हुन् भनिएको छ (शर्मा, २०७७, पृ. ८)। यिनीहरूमा जे जस्ता विषय जे जसरी प्रस्तुत भए पनि अभिनयात्मक रूपमा प्रस्तुत हुनु यिनीहरूको मूल विशेषता हो । शास्त्रीय नृत्य र लोकनृत्यमा पनि प्रस्तुतिगत भिन्नता रहेको छ शास्त्रीय नृत्यमा गायक, वादक र अभिनय कर्तामा शास्त्रीय सङ्गीतको ज्ञान हुनु आवश्यक हुन्छ भने लोकनृत्य समाजमा परम्परागत रूपमा विकसित नृत्यका रूपमा रहेको पाइन्छ । तसर्थ, यस्ता नृत्यमा विषयवस्तु, प्रस्तुत गरिने शैली, प्रस्तुतिको अवसर, भाषा, संस्कृति, स्थान, जातिगत विशेषता आदिका आधारमा भिन्नता आउन सक्दछ । यिनै शैलीगत भिन्नतालाई मध्यनजर गर्दै अध्ययनीय क्षेत्र र त्यस क्षेत्रमा प्रचलनमा रहेका लोकनृत्यका बारेमा चर्चा गरिएको छ । ताप्लेजुङ जिल्लामा प्रचलनमा रहेका लोकनृत्यहरूको मात्र परिचयात्मक रूपमा अध्ययन गरिनु यस शोधको सीमा हो ।
साकेला नाच
ताप्लेजुङ जिल्लामा बसोबास गर्ने राई जातिमा प्रचलनमा रहेको साकेला नाच वैशाख शुक्लपक्षको पूर्णिमा (चण्डी पूर्णिमा) मा प्रस्तुत गरिने नृत्य हो (पराजुली, २०६३, ११२)। राईहरू बुद्धका उपासक भएका र यस दिन बुद्धको जन्मोत्सव मनाउने क्रममा बुद्धजयन्तीकै सिलसिलामा यो पर्व पर्ने र त्यसै पर्वमा नृत्यका साथ बुद्धउत्सवका रूपमा प्रचलनमा रहेको हो भन्ने एकथरी मत पाइन्छ भने अर्कोथरी मतअनुसार राईहरू शक्तिका उपासक हुन् । त्यसैले उनीहरू काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ लाग्दा त्यहाँबाट साथमा लगिएकी देवीलाई आफ्नो कुलदेवी मानी उनैको पूजाअर्चनाको क्रममा साकेला नाचको सुरुवात भएको हो भन्ने मान्यता रहेको छ । किंवदन्तीअनुसार राईहरू शिवपार्वतीका उपासक हुन् । उनीहरू शिवलाई पारुहाङ पार्वतीलाई सुम्निमाका रूपमा मान्दछन् । तिनै पार्वतीलाई कुलदेवीका रूपमा मानेर वर्षको दुईपटक उँधौली–उँभौलीमा पूजा गर्ने चलन रह्यो । चण्डीपूर्णिमा उँभौली पूजाका रूपमा रहेकाले त्यस दिन पार्वती वा देवीको उँभौली पूजा हुन्छ । यही उँभौली पूजाको अङ्गका रूपमा साकेला नाच यहाँ बसोबास गर्ने जातिमा पनि प्रचलित छ ।
चण्डी पूर्णिमाका दिन साकेलाथानमा राई जातिका मानिसहरू जम्मा भई आफ्नो कुलपरम्पराअनुसार चण्डीको पूजा गर्दछन् र त्यहाँ जम्मा भएका नरनारीहरूले आआफ्नो कुल परम्पराअनुसार पहिरनमा सजिएर सांस्कृतिक कार्यक्रमहरू गरी मनोरञ्जन गर्दै नाच्दछन् । त्यस अवसरमा नरनारीहरू गोलोघेरामा बस्छन् र उनीहरूका बिचमा कुनै रुख फेद वा लिङ्गो गाडिएको हुन्छ । त्यसको सामान्य विधिविधानसहित पूजा गरिन्छ । त्यसमा ध्वजा बाँधिन्छ त्यसपछि ढोल बाजाउन प्रारम्भ गरिन्छ । नृत्यकर्ताहरूले ढोलका तालमा समूह नृत्य गर्दछन् । त्यस नृत्यमा भागलिने बुढापाका व्यक्तिहरूले धनुवाण भिरेका हुन्छन् भने युवायुवतीहरूले हातमा स्याउला लिएका हुन्छन् । यी सबै नर्तकनर्तकीहरू आफ्नै सांसकृतिक परम्पराअनुसारको स्थानीय भेषभूषामा सजिएको हुन्छन् । ढोल वा च्याब्रुङ बाजा लिएकाहरूद्वारा जब बजाउन सुरु गरिन्छ, तब सबै नर्तकनर्तकीहरू त्यसै वाद्यका तालमा अभिनय प्रारम्भ गर्दछन् । यस नृत्यमा पालाम गीतबाट सुरु गरे पनि अन्य विभिन्न प्रकारका लोकगीतहरू गाउँदै नाचिन्छ । नृत्य गर्दा वाद्यका तालअनुसार नै एक कदमअगाडि र एक कदमपछाडि सर्दै दाहिनेतिरबाट नृत्य अगाडि बढाइन्छ । एक घेरा (फन्को) पूरा भएपछि नृत्य द्रुतगतिमा अगाडि बढ्छ । सङ्गीतको तोकिएको ताल पूरा भएपछि नृत्य समाप्त हुन्छ । ताप्लेजुङ जिल्लामा बसोवास गर्ने राई जातिहरूको महत्त्वपूर्ण सांस्कृतिक नृत्यका रूपमा साकेला नाचको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ ।
च्याबु्रङनाच
ताप्लेजुङमा बसोवास गर्ने लिम्बु जाति नृत्यप्रेमी जातिका रूपमा परिचित छन् । च्याबु्रङनृत्य ताल नृत्य हो । च्याबु्रङ पहिला पहिला ठुलाबडाका घरमा नाचिने गरेको पाइए पनि अहिले विवाह, शुभमाङ्गलिक कार्यहरूका साथै पर्व, उत्सव र मेलमा समेत नचाउने गरिन्छ (पराजुली, २०६३? पृ. ११६) । यो नाच पर्व उत्सवका शुभमङगलका अवसरमा समेत च्याब्रुङ बजाउँदै नाचिन्छ । दुबै हातले एकै साथ च्याब्रुङ बजाउँदा आवाज सुनिने हुँदा यसको नाम च्याब्रुङ रहन गएको हो ( खजुम, २०७१, पृ. ३१) यस जातिमा प्रचलनमा रहेका लोकनृत्यरू परम्परागत विश्वासमा आधारित छन् । त्यसैले यो नृत्य पनि लोकविश्वासमा आधारित रहेको छ । यस नृत्यको प्रचलनका बारेमा एउटा किम्बदन्तीअनुसार परापूर्वकालमा कुनै एउटा गाउँमा सोधुङगेन लेप्मुहाङ नाम गरेको एकजना लिम्बु बस्तथ्यो । उसको पाजाइबा तेन्दुम्याङ नामक एक छोरो थियो । उसले उमेर पुगेपछि विवाह ग¥यो र नयाँ घर बनाई आफ्नी दुलहीलाई साथमा लिएर बाबुआमादेखि भिन्नै घरमा बस्न थाल्यो । उसको घर काठैकाठले बनेको थियो । एक वर्ष बित्न नपाउँदै काठमा धमिरा लागेर घरमा बस्नै नहुने भयो । उसले फेरि अर्को घर बनायो । यसरी हरेक वर्ष नयाँ घर बनाउनु पर्ने झन्झटले गर्दा ऊ दिक्क भयो र गाउँको जान्ने मान्छे कहाँ गएर आफ्नो समस्या बतायो । गाउँ बूढाले भन्यो ‘‘ तिमी नाम्सानिसा कहाँ जाऊ र हाङसी र साङसी काठको च्याब्रुङ बनाउन लगाऊ । त्यसपछि त्यो बाजा बजाएर हाक्पारे गाउँदै नृत्य गर, त्यसो गरेमा तिम्रो घरको काठमा धमिरा लाग्ने छैन’’ । पाजाइबा तेन्दुम्याङ नाम्सानिसा कहाँ गयो र च्याब्रुङ बनाउन लगायो । त्यसपछि च्याब्रुङ बाजाका तालमा हाक्पारे गाउँदै घरमा नृत्योत्सव ग¥यो । त्यस दिनदेखि उसका घरका काठमा धमिरा लाग्न छोड्यो । त्यसै समयदेखि लिम्बुहरूले नयाँ घर बनाउँदा च्याब्रुङनाच नाचिने परम्पराको प्रारम्भ भयो भन्ने जनविश्वास छ । यसैगरी विवाहमा, शुभ–माङ्गलिक कार्यहरूमा र मेला, पर्वउत्सवहरूमा पनि च्याब्रुङनाच नाच्ने नचाउने प्रचलन छ ।
धाननाच
ताप्लेजुङ जिल्लामा बसोवास गर्ने लिम्बु जातिमा प्रचलित ऋतुसापेक्ष सामूहिक नृत्य धाननाच हो । यो नृत्य मूलतः धान्यश्रीको समय अर्थात् मङ्सिर महिनामा नाचिने नृत्यमिश्रित गीत हो ( थापा र सुवेदी , २०४१, १९३) कार्तिक मङ्सिर महिनामा नाच्ने नचाउने प्रचलन भए पनि मेलापर्वहरू र अन्य रमाइला चाडवार्डका साथै कसैका घरमा पाहुना गएका अवसरमा समेत यो नाचिन्छ । लोकअनुश्रुतिअनुसार प्राचीन समयमा किरातका आदि पुर्खाले अन्न बाली लगाउन जान्दैनथे । उनीहरूलाई चराले अन्नको बीउ दियो र अन्न बाली लगाउन पनि सिकाइदियो तर पहिलो बाली चराले खाएमा धपाउन नपाउने सर्त राख्यो । बाली पाकेपछि चराहरू आएर धान तथा अन्न खान थाले । पूर्वसर्तअनुसार किरातहरूले चराहरूलाई धपाउन पाएनन् । त्यसैले उनीहरू सबै मिलेर धानबाली भएको ठाउँमा नृत्यगान गरी बसे । नृत्यगान गरी मानिसहरू बसेका ठाउँमा चराहरू आउन सकेनन् र धानबाली जोगियो । चराहरूसँग लिम्बुहरूले गरेको बाचा (सर्त) पनि पूरा भयो । त्यस समयदेखि प्रत्येक वर्ष धान पाक्ने समयमा धाननाच नाचिन थालियो । कालान्तरमा आमोदप्रमोद तथा खुसियालीमा पनि यो नृत्य गरेर मनोरञ्जन प्रदान गर्ने परम्परा नै बस्यो । त्यसैले किरात जातिमा यो नृत्य निकै लोकप्रिय रहेको छ ।
आँगन वा मैदानमा युवक र युवतीहरू वा स्त्री–पुरुषहरू गोलघेरामा नारी–पुरुषहरू लहरै उभिन्छन् र नृत्यको तयारी गर्दछन् । पालम गीतका भाकामा क्यासिङ बाजाका तालमा नृत्याभिनय प्रारम्भ हुन्छ । एक पाइलाअगाडि र एक पाइलापछाडि सर्दै घुम्दै नृत्याभिनय अगाडि बढ्दछ । यस नृत्यमा अनुशासनलाई बढी ख्याल गरिन्छ । विवाह हुन नसक्ने नाताभित्रका स्त्री–पुरुषले सँगै नृत्य गर्न नहुने, युवक–युवतीले एकै लहरमा नृत्य गर्ने र नाच्दा एक अर्काले खुट्टाका औँलाहरू छुन नहुने, खुट्टाहरू छोइएमा घेराबाट बाहिर निस्की एकअर्काको खुट्टामा छोई हात उठाएर नमस्कार गरी माफी मागेर पुनः नृत्यमा सहभागी हुन सकिने आदि नियमहरू यस नृत्यमा पालना गरिन्छन् । यस नृत्यमा पालम गीतहरू गाइन्छन् । यी गीतहरू शृङ्गार प्रधान तथा जुहारी प्रकृतिका हुन्छन् । यस नृत्यमा किरात जातिमा प्रचलित प्राचीन जातीय पहिरनको उपयोग गरिन्छ तर हिजोआज भने यसको पालना गरिएको पाइँदैन । यो नृत्य धेरै पुरानो भएको र यसका उपयोगकर्ताहरू पनि धेरै फराकिलो क्षेत्रमा बसोबास गर्ने गरेका हुनाले यी नृत्यहरू पनि धेरै किसिमका छन् भन्ने नृत्यशास्त्रीहरूको भनाइ छ । यहाँ नाचिने धाननाचमध्ये तमोरखोले धाननाच प्रसिद्ध छ ।
सेलो नृत्य
ताप्लेजङमा बसोबास गर्ने तामाङ र शेर्पा जातिहरूको लोकप्रिय नृत्य भए पनि अन्य जातजातिका मानिसहरू पनि सेलो नृत्य गर्दछन् । यो नाच तामाङ समुदायमा बाह्रै महिना नाच्ने गरिन्छ । यो तामाङ र शेर्पा जातिको बसोबास भएका नेपालका सबै स्थानमा नृत्य प्रस्तुत गरेको पाइन्छ । यसलाई डम्फू नाचका साथै व्हाईस्यावा, फावरनाच पनि भनिन्छ तर पनि यहाँ सेलो नामले नै यो नाच परिचित छ । सेलोका व्युत्पत्ति गत अर्थ नभए पनि ‘से’ र ‘लो’ अक्षरबाट बनेका ‘सेलो’ शब्दको अर्थ सिक्नु पर्ने र रमाइलो गर्नु पर्ने कुरा भन्ने भनाइ रहेको पाइन्छ । यो पुराकथात्मक विषयमा आधारित हुने गर्र्दछ ( पराजुली, २०६३, पृ. १३०) । तामाङ र शेर्पा समुदायमा सेलो नृत्य छेवर, विवाह, जात्रा, पूजा एवम् उत्सवहरूका साथै देवीदेवताका मुन्धुममा पनि आधारित भई नाच्ने गरेको पाइन्छ (पराजुली र गिरी, २०६८, पृ. ९१) । विशेषतः ताप्लेजुङ जिल्लामा बसोबास गर्ने तामाङ र शेर्पा जातिहरूले आफ्ना घरमा उत्सवका अवसरका साथै विभिन्न सभासमारोहमा समेत नृत्य प्रस्तुत गर्दछन् । तामाङ जातिको परम्परागत भेषमा सजिएर नाचिने यस नाचमा मनोरञ्जनको प्रधानता रहन्छ । यसमा युवायुवतीका बिचमा प्रेम पिरती र व्यङ्ग्य भाव भरिएका गीत गाउँदै सेलो नृत्य नाचिन्छ । यस नृत्यमा युवायुवतीहरू नै नायिका रूपमा आएका हुन्छन् ।
दमाईँ नृत्य
ताप्लेजुङ जिल्लामा नाचिने नृत्यहरूमध्ये दमाईँ नृत्य विशेषतः विवाह व्रतबन्धका साथै विशेष पर्वका अवसरमा पनि गाउँदै नाचिन्छ । दमाइँ जातिका मानिसहरूले नाच्ने नाचलाई दमाइँ नाच भन्ने गरिन्छ ( पराजुली, २०६३, पृ.१०४) । यसलाई दमार्इँ जातिको नृत्यका रूपमा चिनिए पनि नौमती बाजा बजाएपछि सबैका मनमा उमङ्ग जागेर आउँछ । विशेष गरी दमाईं नृत्य विवाह संस्कारका बेलामा गाइने गीत र नृत्य भएको हुँदा विवाहको समयमा दमाईंहरूले पन्चेबाजा र नौमती बाजाका साथ गाइने गीतका साथै नृत्यका रूपमा परिचित छ (थापा, २०७१, पृ. ३४) । पूर्वी पहाडीका अधिकांश जिल्लाहरूमा पन्चेबाजा र नौमती बाजा बजाएर विवाह गर्ने चलन रहेको हुँदा यस्ता गीतहरू बेहुली लिन जाँदा बाटोमा, बेहुलीका घरमा, बेहुली लिएर फर्कँदा बाटोमा र बेहुलाको घरमा सन्ध्या जगाउने बेलामा समेत गीत गाउँदै नाच्ने गर्दछन् । यस नृत्यमा दुलाहले दुलहीलाई घरमा ल्याई सकेपछि यस घरमा लक्ष्मीजस्ती बुहारी आएकी छन् त्यसैले ताकेको पुगोस् भनी आशीर्वाद दिँदै गीतहरू गाउँदै नाच्दछन् । यो नाचले त्यहाँको वातावरण मनोरञ्जनात्मक बन्न पुग्दछ ।
भैलेनी नृत्य
ताप्लेजुङ जिल्लामा पाइने विभिन्न नृत्यहरूमध्ये भैलिनी पनि एक हो । नेपालभरि नै नाचिने र गाइने भए पनि यो ताप्लेजुङ जिल्लामा पनि रामरमाइलोका साथ गाउँदै नाचिन्छ । भैलिनी नृत्य हिन्दूहरूको दोस्रो ठुलो पर्व तिहारमा गाउँदै नाचिने गरिन्छ । शरद् ऋतुको हरियालीसँगै कात्तिक महिनाको औँसीका दिन लक्ष्मीपूजाका अवसरमा घरआँगन, चोटा, लिपीपोत गरी सफा सुग्घर बनाएर साँझमा धनधान्यकी देवी लक्ष्मीको धुमधामका साथ पूजाआराधाना गरी साँझपख जताततै रङ्गीचङ्गी पूmल र बत्तीले झिलिमिली पारेपछि भैलिनी गाउँदै नृत्य गरिन्छ ( थापा, २०७१, पृ. ५१) । यहाँ लक्ष्मी पूजाका दिन जताततै बत्तीको झिलिमिली र रङ्गीचङ्गी पूmलले सझाएको खण्डमा लक्ष्मीले सबैका घरमा बास गर्छिन् भन्ने मान्यता छ । यसै दिन गाउँघरका किशोरी वा युवतीहरू साँझदेखि रातिसम्म नै लाइट, राँको, खरका मुठा, लालटिनका साथै पेट्रोलमेक्स बाल्दै घरघरमा डुलेर भैलेनी खेल्दै गाउँघर डुल्दछन् । यिनै भैलेनी केटीहरूलाई भैलिनी र उनीहरूले नाचने नृत्य नै भैलिनी नृत्य हो । यो नाच लक्ष्मी पूजाका दिन चेलीबेटीहरूबाट खेलिन्छ (थापा र सुवेदी, २०४१, पृ. १६६) यसरी लक्ष्मीको पूजा गरि सकेपछि भैलिनी खेल्दै भैलिनीहरूले धनधान्यले परिपूर्ण होस्, आँटेको पुगोस् भन्दै भैलेनी गीत गाउने गर्दछन् जुन घरमा भैलिनी खेलिन्छ त्यस घरमा धनधान्यले पूर्ण होस् भनेर आशीर्वादसमेत दिइन्छ । विभिन्न धार्मिक र पौराणिक मान्यतासँग गाँसिएको भैलेनी गीत गाउँदै भैलेनीहरू आपूmहरू त्यस दिन बलिराजाको हुकुमले खेल्न आएका हाँै भनी भैलेनी गीत गाउँदै नृत्य गर्दछन् । भैलिनी खेल्दा पुराणहरूमा वर्णन गरिएका कथावस्तुका साथै भैलिनी खेलिएको घरको वातावरण, त्यस घरको सम्पन्नता, घर परिवारका व्यक्तिको प्रशंसा र गुणगान भैलेनी नृत्यका विषयवस्तु बन्न सक्दछन् । आफ्नै प्रकारको शैलीमा खेलिने भैलिनी नेपाली समाजको आफ्नै विशिष्ट परम्परा हो । नारीहरूले मात्र खेल्ने यो भैलिनीमा आजभोलि केही विकृतिहरू पनि देखा पर्न थालेका छन् ।
सँगिनी नृत्य
ताप्लेजुङ जिल्लामा गाइदै र नाचिदै प्रस्तुत गरिने सँगिनी लोकप्रिय नृत्य हो । यो गाएर प्रस्तुत गरिए सँगिनी गाउने र नृत्यका साथ प्रस्तुत गरिए सँगिनी खेल्ने भनिन्छ । सँगिनी बाह्रैमास गाइने र नाचिने गर्दछ यसमा नारीहरूका वेदना व्यथाहरू व्यक्त हुन्छन् ( शर्मा र लुइटेल, २०६३, पृ. ८८) ।नारीहरूद्वारा पुराणका अवसरमा जागृत बस्दा या सत्यनारायणको पूजा लागाएका बेलामा सुमधुर स्वरका माध्यमद्वारा गाइदे सँगिनी नाचिन्छ । सँगिनीमा अन्य गीतमा जस्तो अभिनय नगरिए पनि भावात्मक रूपमा मन्दमन्द गतिमा सँगिनी नृत्य प्रस्तुत गरिन्छ । आफैँ गाइँदै नाचिने यो नृत्य सामूहिक रूपमा प्रस्तुत गरिन्छ र दुईभन्दा बढी सँगिनीहरू भेला भएर गाउन थाले दायाँबाट बायाँ बायाँबाट दायाँ फर्किई घुमेर नृत्य गरेको पाइन्छ ( निरौला, २०७१,पृ. २३) । सँगिनी नृत्यका अवसरमा शिरमा कलश र हातमा दियो लिएर नृत्य गर्दछन् तर अहिले यो परम्परा आंंशिक रूपमा देखिन थालेको छ । सँगिनीका प्रस्तुत कर्ताले सबै सँगिनीको नृत्यमा यसरी प्रस्तुत गरेको नपाइए पनि सामान्य रूपमा नृत्यका साथ नै सँगिनी प्रस्तुत गर्दछन् । ताप्लेजुङ जिल्लामा सँगिनीका नृत्यकर्ताहरूले साडी चोलोका साथै शिरमा आफ्नो शिर ढाक्नका लागि मजेत्रो हातमा सुन या चाँदीको बाला, पाउमा पाउजुका साथै सिन्दूर पोते तथा अन्य सौभाग्यका सामग्रीको पहिरनमा सजिएर नृत्य प्रस्तुत गर्दछन् । सँगिनी नृत्य मूलतः नारीहरूले सप्ताह पुराणका साथै सत्यनारायणको पूजा, स्वस्थानीका व्रतको समाप्तिका अवसरमा जागृत बस्दा, वरपीपलको विवाहमा जागृत बस्दा, धार्मिक स्थलमा जागृत बस्दा या सभा समारोहमा आयोजना गरिएका स्थलमा समेत नृत्याभिनयका साथ गाउँदै प्रस्तुत गरिने सँगिनीमा नारीहरूले आफ्ना भावनाहरू पोख्ने सरल माध्यमका रूपमा सँगिनीलाई लिइन्छ ।
देउसी नृत्य
देशका सबै ठाउँमा लोकजीवन प्रचलनमा रहेको देउसी नृत्य ताप्लेजुङ जिल्लामा लोकप्रिय नाचका रूपमा प्रचलित छ । कार्तिकशुक्ल प्रतिपदा तथा भाइटीकाका दिनमा पुरुषहरूद्वारा गरिने नृत्यलाई नै देउसी नाच भनिन्छ ( पराजुली, २०६३, पृ. १४२) । का दिन यस जिल्लामा लोकप्रिय नृत्यका रूपमा यो परिचित छ । यहाँ सबै जातजातिका मानिसहरूले गाउँदै नृत्यका साथ देउसी खेलेको पाइन्छ । देउसी खेल्न निस्किएका पुरुष या महिलाहरूलाई देउसे भन्ने गरिन्छ । विविध जातजातिका सबै उमेर समूहका पुरुषहरूले महान् चाड तिहारको गोरु वा गोवर्धन पूजा र यमद्वितीया भाइटीकाका दिन भट्याउँदे गाउदै नृत्य गर्दछन् । देउसी खेल्दा रामायण, महाभारत, पुराणका साथै विभिन्न सामाजिक विषयवस्तुमा आधारित कथनक पनि जोडिन्छन् र गाइँदै नाचिन्छ । नेपाली समाजमा देउसीको परम्परा वीरतासँग जोडिएको छ भने यसका कथाको आरम्भ वामन भगवान्ले बलीराजालाई भिक्षा मागेको घटनासँग जोडेर हेरिन्छ (पराजुली, २०५७ ः १९८) । देउसी पर्वका अवसरमा गाइने देउसी नाच नेपाली समाजमा ज्यादै प्रचलित नाचहरूमध्ये लोकप्रिय नाच हो । देउसीमा पहिला पहिला भट्याएर मात्र खेलेको पाइन्थ्यो तर अहिले आएर अहिले नारीहरूले पुरुषहरूसँगै गाउँदै नृत्यका साथ प्रस्तुत गरेको पाइन्छ । भाइटीकाको अघिल्लो दिन र भाइटीकाका दिन देउसी नृत्य टोलीका सदस्यहरू जम्मा भएर बेलैमा खानपिन गरी हातमा मादल, झ्याली, मुजुरा, करताल, बाँसुरी, खैँजडी जस्ता बाजागाजाहरू बोकेर देउसी खेल्न गाउँघरमा निस्कन्छन् । यसरी निस्किएका देउसे टोलीहरूले प्रत्येक घरघर, गाउँगाउँ डुल्दै देउसी खेल्ने गर्दछन् । त्यसमा एकजना भट्याउने गर्दछ भने अरूले सामूहिक स्वरमा ‘देउसुरे’ भन्दछन् तर देउसी नृत्यचमा भने गायन गर्ने समूह छुट्टै र नृत्यने समुह छुट्टै हुन्छन् । देउसी खेल्न विभिन्न घरमा पुगेपछि गीत गाउँदै तिहारको वातावरणका साथै यसको महत्त्व, घरधनीका विशेषता, उसको दानशीलता र छिट्टै बिदा पाउनु पर्ने अवस्था, अरूतिर पनि आफू खेल्न पुग्नु पर्ने र आसिक आदि मिसिएका गीत गाउदै नृत्यने गर्दछन् । यसरी देउसेले गीत गाउँदै नाचिसकेपछि उनीहरूलाई फलपूmल, रोटी र भेटी दिइन्छ । त्यसपछि उनीहरू खुसी हुँदै आफ्नो बाटो लाग्छन् ।
३.९ रोपाइँ नृत्य
ताप्लेजुङ जिल्लामा रोपाइँ नृत्य रोपाइँका अवसरमा नभएर मेलाका अवसरमा प्रस्तुत गरिने नृत्य हो । ताप्लेजुङका नेवारहरूका पुराना बस्तीमा देखाउने चलन रहेकाले यो नेवारी समुदायको संस्कृतिभित्र पर्दछ । ताप्लेजुङमा बाह्रै महिना कृषकहरूले आफ्ना कृषि कर्म गर्ने गर्दछन् । भाद्रकृष्ण प्रतिपदाका दिन रोपाइँ जात्राका अवसरमा कृषकहरूका क्रियाकलापलाई उमङ्गका साथ अभिनय गर्दै रोपाइँ नृत्य प्रस्तुत गरिन्छ । ताप्लेजुङ बजारका साथै दोभान, सिँवा आदि स्थानमा पनि मनाइने गरेको सुन्नमा आए पनि अहिले यो नृत्य ताप्लेजुङ बजारमा मात्र देख्न पाइन्छ । यो नृत्य लाखेजात्रा अर्थात् ऋषितर्पणीका भोलिपल्ट ताप्लेजुङ बजारमा अयोजना गरिन्छ । यो नृत्य सामूहिक नृत्यका रूपमा देखा पर्दछ । यसमा मानिसले हलोजुवामा नारिएर सजिनुका साथै रोपाहार, बाउस,े हली, साधु, ढँटुवारे, लाखे, मुखुन्डे, नृत्यकर्ताहरू, वाद्यवादकको प्रत्यक्ष सहभागिता रहेको हुन्छ । मेलाका अवसरमा प्रस्तुत गरिने हुँदा यस नृत्यले मनोरञ्जन प्रदान गर्नुृका साथै कृषिव्यवसायलाई समेत प्रोत्साहन गरेको अनुमान गर्न सकिन्छ । बिहान नौ दस बजेको समयमा प्रारम्भ भई साँझ छ सात बजेसम्म चल्छ । वल्लो बजारदेदि पल्लो बजारसम्म नाचिने यो नृत्यमा मूलतः असार मासको नि दब्दबे हिलो छुप्छुपी रोपुँला, रोपार गर्ने रोपार्नी बैनी हातैमा बिऊ दिउँला भन्दै लोकबाजाहरूका साथै हातमा धानको बिउ लिएर नृत्य गर्दै मनोरञ्जन प्रदान गर्दछन् ।
लाखे नृत्य
ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारका साथै नेवार समुदायमा प्रचलनमा रहेको नाच हो । यो नेवार जातिका बिच बहुप्रचलित तथा मनोरञ्जनात्मक रौद्ररस प्रधान नृत्यका रूपमा काठमाडौँ उपत्यकाका साथै नेपालभरि नै देशका अधिकांश भूभागमा नाचिन्छ । लाखेनृत्यलाई नेवारी समुदायमा राक्षसका प्रतीकका रूपमा लिइन्छर यो नाच झ्याली, ढोलक र झ्याम्टा बजाउँदै नाचिन्छ (थापा, २०७५, पृ.७२) । । ताप्लेजुङ बजारमा रहेको भीमसेन स्थानमा सबै नेवार समुदाय उपस्थित भएपछि विधिवत् रूपमा भीमसेनको पूजा गरी लाखेनाच प्रारम्भ हुन्छ । यो समाजमा बलियो पुरुषद्वारा मखुन्डोका साथै घाँधरको पहिरनमा सजिएर नाचिने नाच हो । सामान्य मानिसका लागि देख्दै डरलाग्दो लाग्ने लाखेले सबैलाई नाचेर मनोरञ्जन प्रदान गर्दै केही रकमसमेत मागेको देख्न पाइन्छ । यो नाच ताप्लेजुङ बजारमा नागपञ्चमी अघिल्ला दिनदेखि प्रारम्भ भई कृष्णजन्माष्टमीसम्म नचाउने परम्परा छ ताप्लेजुङमा लाखेको प्रचलन भक्तपुरबाट बसाइँ यहाँ बसोवास गर्दै आएका नेवारहरूले प्रारम्भ गरेको विश्वास गरिए पनि अहिले आएर यो साझा नाचका रूपमा विकास भएको छ ।
रत्यौली नृत्य
ताप्लेजुङ जिल्लामा मात्र नभएर नेपालका सबै क्षेत्रमा गीत गाउँदै नारीहरूद्वारा नाचिने रत्यौली नृत्य ज्यादै प्रचलित नृत्य हो । विवाहका दिन बेहुलो अन्माएर बेहुलीका घरतिर लागेपछि बेहुलाका घरमा गाउँघर, नाता र छिमेकका महिलाहरू जम्मा भई गीत गाउँदै नाचिने नृत्य नै रत्यौली हो दुलाहाका घरमा पुरुषहरूको अभाव भएका अवसरमा महिलावर्गद्वारा रत्यौली खेलिन्छ े ( थापा र सुवेदी , २०४१, १८६)। नेपाली समाजमा प्रचलित नृत्यहरूमध्ये विवाहका अवसरमा नाचिने रत्यौली नृत्य निकै प्रसिद्ध रहेको छ ‘रात’ वा ‘राति’ शब्दबाट नै रतेली वा रत्यौली शब्दहरू निर्माण भएको देखिन्छ । दुलहा अन्माएपछि उसका घरमा नारी समाजले मात्र गाउँदै नाचिने नृत्यलाई रत्यौली भनिन्छ (बन्धु, २०५८ ः १६१) । तसर्थ, दुलहा दुलही लिन जन्तीसहित दुलहीका घरतर्पm प्रस्थान गरेपछि दुलाहाको घरमा सबै महिलाहरू भेला भई रातभर जाग्राम बसी मनोरञ्जनका लागि गाइने÷नाचिने हास्यव्यङ्ग्यात्मक नृत्य वा नाच रत्यौली नृत्य भएकाले रत्यौली महिलाहरूले मात्र गाउदै नाच्ने सामूहिक नृत्य हो । रत्यौलीमा पुरुषको प्रवेश वर्जित गरिएको हुन्थ्यो तर अहिले यो चलन समाजमा हराउँदै गएको पाइन्छ । रत्यौली विशेषतः बहुनक्षत्रीका विवाहका अवसरमा बेहुली लिन पुरुष वर्ग बेहुलीका घरतर्फ लागेपछि रातभर रत्यौली नृत्य प्रस्तुत गरिन्छ ।
बालन नृत्य
बाहुन क्षत्रीहरूका समुदायमा प्रचलित बालुन एक प्रकारको लोकनाटक वा लोकनृत्य हो । ‘बाल’ शब्दमा ‘अन’ प्रत्यय लागेर ‘बालन’ यो शब्द निर्मित हुन्छ । नेपाली लोकजीवनमा बालन या बालुनको भनिने शब्दको व्युत्पत्ति बाल÷ बाला+अयनबालायनबालन÷बालुन हुन सक्छ भने अनुमान गर्न सकिन्छ । यसरी हेर्दा बालुन शब्दको अर्थ बालकसँग सम्बन्धित विषयवस्तु नै बालन हो भन्ने देखिन्छ तर लोकजीवनमा प्रचलित बालन भने विभिन्न धार्मिक, पौराणिक घटना वा पात्रसँग सम्बन्धित रहेका पाइन्छन् । यसमा रामलीला, कृष्णलीलाका साथै अठार पुराणका कथावस्तुलाई समेत विषयवस्तु बनाइल बालनको विषय या कथावस्तु गाउँदै नृत्य गर्ने गर्दछन् । बालन लोकनृत्य ताप्लेजुङ जिल्लामा पुराण लगाएका बेलामा जागृत बस्दा ठुलो एकादशी, चण्डीपूर्णिमा, बालाचतुर्दशी, सत्यनारायण पूजा, स्वास्थानी व्रतको साङ्गे आदि धार्मिक चाडपर्वका अवसरमा पुत्रप्राप्तिका लागि अभिनयका साथ प्रस्तुत गरेको पाइन्छ । बालनमा रामायण, महाभारत, कृष्णचरित्र, भागवत्, दशावतार चरित्र आदिका साथै बालन खेल्नेहरूद्वारा चरित्र गाथा एवम् पात्र सम्बन्धी लोकगाथा गाउँदै नृत्यका साथ भगवान्का चरित्रलाई प्रस्तुत गर्दछन् । यस गाथालाई आठ जोडी वा सोह्र जनासम्मको समूह बनाइ गाउने र नृत्य अभिनयका साथ प्रस्तुत गरिन्छ ( पराजुली, २०५७ः ३४४) । नेपाली लोक साहित्यको भण्डारमा बालन निकै महत्त्वपूूर्ण मानिन्छ । ‘भगवत् अवतारका जीवत कहानीलाई भजन वा गीतका रूपमा गाएर लीलामृत स्वरूप नाट्य प्रदर्शन गर्ने परम्पराको जीवित रूप नै नेपाली लोक जीवनमा प्रचलित बालन हो । (पराजुली र गिरी, २०६८ः२६१) । बालन खेल्ने बालनेहरूको पहिरन पनि आफ्नै प्रकारको हुन्छ । उनीहरूले सेता दौरा सुरुवाल, ढाकाटोपी, फेटा गुथी कम्मरमा पटुका बाँधेर चिटिक्क परेर बालन खेलेको पाइन्छ ताप्लेजुङ जिल्लामा पनि बालनको प्रस्तुति प्रसस्त मात्रामा भएको पाइए पनि अहिले हराउँदै गएको छ ।
बिजुवा नृत्य
ताप्लेजुङ जिल्लामा बसोबास गर्ने लिम्बु समुदायमा प्रचलनमा रहेकको बिजुवा नृत्य धार्मिक तथा सांस्कृतिक परम्परामा आधारित तन्त्रसँग सम्बन्धित नृत्य हो । लिम्बु समाजमा अनेक प्रकारका जनविश्वासहरू रहेका छन् । यस जिल्लामा बसोबास गर्ने लिम्बू समुदायमा प्रचलित बिजुवा नृत्य अतृप्त आत्माको मुक्ति र आत्मालाई अनेक प्रकारका प्रताडनाबाट मुक्ति दिलाउन तथा भूतप्रेत भगाउन र त्यसबाट आत्मालाई छुट्कारा दिलाउन यसको आयोजना गरिन्छ । मूलतः लिम्बू समाजमा अकालमा मृत्यु भएमा त्यस्ताको मुक्तिका लागि यसको आयोजना गरिने परम्परा रहेको छ । लिम्बु समाजको कोही व्यक्ति पानीमा डुबेर, महिलाले सुत्केरी हुन नसकेर, भीरबाट लडेर वा अन्य कारणले अपगतिमा परेर मृत्यु भएको ठानेमा मृतात्माको चीर शान्तिका लागि यसको आयोजना गरिन्छ ।
ताप्लेजुङ जिल्लामा यस प्रकारको बिजुवा नृत्य मृतात्माको शान्तिका लागि विशेष रूपमा आयोजना गरिने नृत्य हो । गीतहरूका साथै मन्त्रहरू फलाक्दै विधिविधान पूर्वक बिजुवा नाच नाचिन्छ । यसरी बिजुवानाच नाच्दा सेतो धाँघर, टोपी, हातमा ढ्याङ्ग्रो लिएर चारजनाको समूहले यो नाच नाच्दछन् । उनीहरूको एकजना सहयोगी समेत त्यहाँ उपस्थित हुन्छ र सोही पहिरनमा सजिएर नाचेको पाइन्छ ।
सरदेवी नृत्य
ताप्लेजुङ जिल्लाको विशिष्ट पहिचानका रूपमा रहेको सरदेवी नृत्य सिरिजङ्गा गाउँ पालिका वार्ड नम्बर ७, खेवाङमा मात्र गाइँदै र नाचिँदै आएको छ । यो नृत्य नारी समुदायको विशेष पर्व तिजका अवसरमा नाचिने नृत्य हो । यसमा नारी समुदायद्वारा भाद्रकृष्ण तृतीया अर्थात् तिजको व्रत बसेका दिन नारीहरू एक ठाउँ जम्मामा भएर यो नृत्य प्रस्तुत गरिन्छ । यो सामूहिक रूपमा प्रस्तुत गरिने नृत्य हो । सरदेवी अर्थात् सतीदेवीसँग सम्बन्धित भनेर अनुमान गरिएको पाइए पनि स्थनीय रूपमा सरदेवी भिनेर नै चिनिने यस नृत्यमा भगवान् शङ्करलाई वरका रूपमा र हिमालयकी पुत्री पार्वतीलाई वधूका रूपमा तयार पारिन्छ । यसरी शिवपार्वतीका रूपमा तयार पारिने गाउँका बालबालिकालाई दुलाहा दुलही तयार पर्दा दौरा, सुरवाल, कोट जुत्ता, मोजाका साथै टोपी र अन्य शृङ्गारका साधन दुलाहालाई र वधू अर्थात् पार्वतीलाई साडी चोलो पछ्यौरा, मजेत्रो चप्पल मोजा घडी, सुनको बाला, कन्ठ, कानढुङ्ग्रीका साथै अन्य शृङ्गारका सामग्रीले सजाएर दुईतर्फ राखिन्छ । त्यहाँ वर पक्ष र वधू पक्षमा गरी दुई पक्षमा विभाजन गरेर एकातर्फ वरपक्षका र अर्कातर्फ वधू पक्षका सात सात जनासम्मका दरले विभाजन गरेर सरदेवी गाइँदै नाचिन्छ । यसमा गायक र वादकको पनि सहभागिता रहन्छ । त्यस समयमा सरदेवीको नृत्य हेर्नका लागि गाउँका ठुलो जनसमुदायको सहभागिता रहन्छ । गायकहरूले गाउन प्रारम्भ गरेपछि स्वरमा स्वर मिलाएर नृत्य गर्नेहरू पनि तालीका साथै नृत्य गर्दछन् । त्यहाँ नेपाली सांस्कृतिक परम्पराअनुसार विवाहमा आफ्ना नजिकका नातेदार र सासूससुरा, सम्धी सम्धिनाका साथै अन्य परिवारका सदस्यहरूको समेत उपस्थिति रहेको देखिने हुँदा त्यहाँ विवाहको नै वातावरण सिजृना हुन्छ । यो संवादात्मक रूपमा दुई समूहका बिचमा सवालजवाफ गर्दै नृत्य प्रस्तुत गर्दै अन्त्यमा दुलहीलाई वरले जितेर लानु यसको विशेषता हो ।
निष्कर्ष
प्रस्तुत अध्ययनबाट ताप्लेजुङ जिल्लामा प्रचलनमा रहेका लोकनृत्यहरू यहाँ बसोवास गर्दै आएका अधिकांश जनसमुदायले सांस्कृतिक, पार्विक तथा अन्य अवसरहरूमा समेत प्रस्तुत गर्दै आएको कुरा प्रस्ट हुन्छ । यहाँ बसोबास गर्ने समुदायमा आर्यसंस्कृति र मङ्गोलसंस्कृतिको प्रभाव रहेका कारण यहाँ प्रचलित लोकनृत्यहरूमा दुवैको प्रभाव रहेको छ भन्ने सबैको सहभागिताले पनि पुष्टि गर्दछ । यहाँका लोकनृत्य प्रस्तुतिका अवसरमा सबै समुदायका मानिसको उपस्थिति रहने हँुदा आआफ्ना सांस्कृतिक परम्पराअनुसार नै पर्वहरूका अवसरमा लोकनृत्यहरू प्रस्तुत हुँदै आएका छन् । यहाँ प्रस्तुत गरिने लोकनृत्यमा महिला तथा पुरुषको समान उपस्थिति रहन्छ भने केहीमा महिलाको मात्र उपस्थिति रहन्छ । ताप्लेजुङ जिल्लामा प्रस्तुत गरिने लोकनृत्यहरू सांस्कृतिक तथा पार्विक अवसरमा प्रस्तुत गरिने भए पनि लोप हुने अवस्थामा पुगेका छन् । युवापुस्ताले पुराना सांंस्कृतिक परम्पराप्रति चासो नदिनु, नयाँ प्रविधितर्फ आकृष्ट हुनु र बसाइँसराइका कारणले आफ्नो संस्कृति भुल्दै गएकाले पनि यस्तो अवस्थाको आएको मान्नु पर्दछ । यहाँ प्रस्तुत गरिने लोकनृत्यहरू केही आख्यानबद्ध केही आख्यानमुक्त छन् भने केही सांस्कृतिक पर्वका अवसरमा र केही अन्य अवसरमा समेत प्रस्तुत गरिन्छन् भन्ने यस अध्ययनबाट प्रस्ट भएको छ । यहाँ प्रचलनमा रहेका लोकनृत्यहरू केही आजभोलि पनि प्रशस्त मात्रामा प्रस्तुत हुँदै आएका छन् भने केही लोकनृत्यहरू लोप हुने अवस्थामा पुगेका छन् । यसरी लोपोन्मुख अवस्थामा पुगेका लोकनृत्यहरूको सम्बन्धित निकायबाट संरक्षणका उपाय अवलम्बन गरिनु आवश्यक छ भन्ने कुरा यस अध्ययनबाट पुष्टि हुन आएको छ ।
सन्दर्भ सामग्री
अधिकारी, हेमाङ्गराज र भट्टराई, बद्रीविशाल (२०६१), सम्पा. प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौँ ः विद्यार्थी प्रकाशन प्रा. लि ।
खजुम, आइत (२०७१) च्याब्रुङको नालीबेली, सुनसरीः विश्व याक्थुङ मुन्धुम समाज ।
थापा, धर्मराज र सुवेदी, हंसपुरे (२०४१), नेपाली लोकसाहित्यको विवेचना, काठमाडौँ ः त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र ।
थापा, निर्मला (२०७१), ‘‘ अरुण उपत्यकामा प्रचलित लोकगतिको तत्त्वगत अध्ययन’’ ,अप्रकाशित स्नातकोत्तर तह शोधपत्र, नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर ।
थापा, राजेश्वर ( २०७५), ताप्लेजुङका नेवारहरू, ताप्लेजुङः लेखक स्वयम् ।
निरौला, कुलराज (२०७१), ‘‘सँगिनी लोकगाथाको सन्दर्भपरक अध्ययन’’, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।
पराजुली, कृष्णप्रसाद (२०५७), नेपाली लोकगीतको आलोक,. काठमाडौँः वीणा प्रकाशन ।
पराजुली , मोतीलाल ( २०६३ ), नेपालमा प्रचलित नृत्य र नृत्यनाटिकाहरू , ललितपुरः साझा प्रकाशन ।
पराजुली,मोतीलाल र गिरी, जीवेन्द्रदेव (२०६८), नेपाली लोकसाहित्यको रूपरेखा,. ललितपुरः साझा प्रकाशन ।
बन्धु, चूडामणि ( २०५८), नेपाली लोकसाहित्य, काठमाडौँः एकता प्रकाशन ।
शर्मा , मुकुन्द ( २०७७), गण्डकी प्रदेशका लोकनृत्यहरूको अध्ययन, अप्रकाशित परियोजना पत्र, नेपाल
सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान ।
शमार्, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद ( २०६३), लोकवार्ता विज्ञान र लोकसाहित्य , काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।






