गजल – चबेगु राज “सानु”
कोही बाँच्छन् चोक चोकमा पानी बेचेर
बाँचिरहेछ उ सहरमा जवानी बेचेर
तरिका मात्र फरक हो, उ हेर्नुस् त्यहाँ
नेता बाँचीरहन्छ सधै सुनखानी बेचेर
मरुभूमिको घामबाटै आमालाई सम्झियो
आमाको खुशी किन्दैछ, ऊ जिन्दगानी बेचेर
आहा ! कति राम्री देखिएको नयाँ साडीमा
श्रीमानले ल्याईदिएको खोर्सानी बेचेर
मर्नु अघि बाबाले अन्तिम पल्ट भन्नु भयो
तिमी बाँच्न सक्नु पर्छ अब खरानी बेचेर ।
- केराबारी १,पाटिगाउँ