लोकसंस्कृतिमा मिथक-बद्रीप्रसाद ढकाल(पिएच डी स्कलर)
अध्ययनसार :
लोकपरम्परामा लोकसंस्कृति र मिथक दुवै एकै परम्पराबाट विकसित हुँदै आएका विषय हुन् । वैदिक पौराणिक आधारभूमिमा मिथक र लोकसाहित्य बन्दछन् भने यो लेख्य तथा श्रुति परम्परागत रूपमा चलिरहन्छन् । लोककथा, लोकगाथा, लोककाव्य वा कुनै पनि लोकसाहित्यको मूल नै मिथक हो । मिथकको सत्य लोकसँग सम्बन्धित हुन्छ हो भने लोकवार्ताको एक परम्परा नै लोकसंस्कृति हो । लोकले आफ्नो पुरानो पुस्ताबाट प्राप्त गरेको र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समस्त भौतिक र अभौतिक वस्तुको वर्तमानमा विशेष भूमिका रहन्छ । वर्तमानले आफ्नो पहिचान यिनै माध्यमबाट दिन्छ, यिनै माध्यमबाट ऊ चिनिन्छ र अरूलाई चिनाउँदा यिनै आफ्ना गीत, कथा, कला र शिल्पका सामग्रीलाई अघि सार्छ । जसलाई लोकवार्ता र मिथक दुवैले आ–आफ्नो विषयमा समावेश गरेका छन् । उसको पहिचान जनाउने समस्त भाषिक कला, शिल्पकला र दैनिक व्यवहारका क्रियाकलापहरू महŒवपूर्ण छन् । मिथक र लोकसंस्कृति एकअर्कामा सम्बन्धित छन् भन्ने निष्कर्ष निकालिएको छ ।
मुख्य शब्दावली :
मिथक, लोकवार्ता, भौतिक, पहिचान, लोकसंस्कृति ।
१. विषयपरिचय :
लोकवार्ताको प्रारम्भ लोकको परम्परा र लोककल्पनाबाट भएको हो । केही सत्यतथ्यको कथात्मक प्रस्तुति लोकवार्तामा रहन्छ । जसरी मिथक आदिम मानवको अभिव्यक्ति हो । लोकसाहित्यमा परम्परागत रूपमा रहेका प्राचीन दर्शनका आश्चर्य, चमत्कार, जादू आदिका बारेमा मिथकीय आख्यान हुन्छन् । वैदिक पौराणिक आधारभूमिमा मिथक र लोकसाहित्य बन्दछन् भने लेख्य तथा श्रुति परम्परागत रूपमा चलिरहन्छन् । लोककथा, लोकगाथा, लोककाव्य वा कुनै पनि लोकसाहित्यको मूल नै मिथक हो । मिथकको सत्य लोकसँग सम्बन्धित हुन्छ । लोकवार्ताको अर्को नाम लोकसंस्कृति हो । लोकले आफ्नो पुरानो पुस्ताबाट प्राप्त गरेको र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समस्त भौतिक र अभौतिक वस्तुको वर्तमानमा विशेष भूमिका रहन्छ । वर्तमानले आफ्नो पहिचान यिनै माध्यमबाट दिन्छ, यिनै माध्यमबाट लोकवार्ताले औनो पहिचान स्पष्ट पारेको छ । लोकवार्ता भित्र लोकसंस्कृति, लोकसाहित्य, लोक उपचार, लोकपरम्परा चिनिन्छ लगायत कला र शिल्पका सामग्रीलाई प्रस्तुत गरिएको हुन्छ । लोकवार्ताको पहिचान जनाउने समस्त भाषिक कला, शिल्पकला र दैनिक व्यवहारका क्रियाकलापहरू महŒवपूर्ण छन् । त्यसैले लोकवार्ता मानव विकासको अलिखित दस्तावेज हो जोसँग आफूलाई त्यस मानवसभ्यता र लोकसंस्कृतिको बाहक बताउँछ ।
२. लोकसंस्कृति :
संस्कृति समाजमै प्रचलित हुन्छ । संस्कृतिमा सामाजिक रितिस्थिति, परम्पराको वर्णन पाइन्छ त्यसैले संस्कृतिमा वर्णित भिन्न परिवेशका कार्यहरू नै लोकसंस्कार हुन् । संस्कृति र समाजको आस्था तथा विश्वासका प्रचलित व्यवहारले लोकसंस्कृतिको निर्माण गर्दछ । भौगोलिक वा जातीय परिवेशअनुसारका देवीदेवताका प्रार्थना अनुष्ठान तथा कार्यहरू प्राचीनकालदेखि निरन्तर चलिआएका छन् । प्राचीन समाजको धर्म, विधि, नैतिकता र सामाजिक प्रचलनका बारेमा संस्कृतिले वर्णन गर्र्दछ । यो परम्परित हुँदै जाने भएकाले लोकसंस्कृतिको रूपमा विकसित हुँदै जान्छ जसलाई लोकवार्ताले अध्ययन गरेको छ । संस्कृतिले सामाजिक विश्वास, क्रिया, अनुष्ठान र नैतिकआचरणलाई निरन्तरता दिने कार्य गर्दछ जसले गर्दा लोकसंस्कार तथा लोकसंस्कृतिको निर्माण गर्दछन् । संस्कृतिय वृत्त, सांस्कृतिक मान्यतालाई संस्कृतिले व्यवस्थित गरी अगाडि बढाउँछ । संस्कृतिमा सांस्कृतिक सत्यतथ्यको उद्घाटन गरिएको हुन्छ र लोकसाहित्यको निर्माण हुन पुग्छ । लोकले मानेका कुरालाई आधार लिएर लोकवार्ता निर्माण हुन्छ र जसको वर्णनमा लोकसाहित्यको रचना हुन्छ । लोकसाहित्य परम्परित रहने हुनाले प्राचीन तथ्यको वर्णन मिथकमा पाइन्छ ।
मिथक र लोकसंस्कृतिमा सांस्कृतिक सत्य उद्घाटित भएका हुन्छन् । त्यो सत्यलाई लोकसाहित्यले लेख्य बनाउँछ र लोकपरम्परा लगाडि बढ्छ । संस्कृतिका माध्यमबाट संस्कृतिअन्तर्गतको सामाजिक अवस्थाहरूको खोजी गर्न सकिन्छ त्यसैले साहित्यमा संस्कृति अतीत र वर्तमानको सामाजिक पक्षलाई उद्घाटित गरिएको हुन्छ । समयको परिवेशसँगै सामाजिक आर्थिक अवस्थामा पनि परिवर्तन हुन्छ । मानव जीवन क्रममा आइपरेका यावत् क्रियाकलापलाई समष्टि रूप ग्रहण गरी हामी संस्कृतिको चिनारी दिदै भन्न सक्तछौं– संस्कृति मानिसका जीवनयात्राको ढङ्ग हो अर्थात् आफ्नो बाँच्ने क्रममा व्यवहार सञ्चालन गर्न जे क्रियाकलाप अपनाइन्छ सोझो शब्दमा संस्कृति भन्नु त्यही हो संस्कृतिलाई विभिन्न विद्वान्हरूले विविधरूपमा परिभाषित गरेका छन् साहित्यिक दृष्टिकोण लिई कतिपय विद्वान्द्वारा मानव जीवन उजिल्याउने क्रियाकलाप आदिलाई संस्कृतिको क्षेत्रमा ती तदनुकूल परिभाषित रूपमा प्रस्तुत गरिएको छ भने आध्यात्मिक (धार्मिक) तवरबाट यसलाई आफ्नै प्रकारको परिभाषा दिइएको छ । जसअनुसार हिन्दु जीवनलाई संस्कारित गर्न विभिन्न संस्कारकर्महरू गरिएको हुन्छ यही कुरा नै मिथकसँग जोडिएर आएको हुन्छ । यसैले जन्मदेखि मृत्युसम्म गरिने संस्कार कार्यहरूको सामूहिक विधि मिथकीय परम्परासँग जोडिएर नै संस्कृति बन्न पुग्दछ । त्यस्तै इतिहासज्ञहरूको परिभाषा आफ्नै प्रकारको छ ।
जेहोस्, ज्ञानविज्ञान, आचारविचार र कला आदि मानवजीवन पद्धतिको समग्रता नै लोकवार्ता हो, जसको सहाराद्वारा मानव. जीवन पालित पोषित बनी विकसित हुन पुग्छ । यही कुरालाई अको प्रकारले भन्ने हो भने जुन तौर तरिकाले, जुन ढङ्ग वा प्रकारले त्यस जातिको समाज सञ्चालित छ, त्यही समाज सञ्चालित भएको ढङ्गको नाम लोकसंस्कृति हो । यसरी मोटामोटी रूपमा मानव जीवनको दैनन्दिन व्यवहार संस्कृति हो र मानिसका समस्त सामाजिक क्रिया नै यसअन्तर्गत पर्दछन् वस्तुतः यही मानवीय क्रियाले नै मानिसलाई पशुत्वबाट पृथक् पनि गरेको छ यहाँ संस्कृतिको प्रसङ्गमा विशेष विवेचना गर्नेतर्फ नलागी मोटामोटी रूपमा लोकवार्ता र मिथकलाई विशद् मानवीय जीवनको आधारलाई अपेक्षित गर्दै प्रकारको लोकोत्तर ज्ञान तथा परम्परागत व्यवहार पद्धति, अनि साहित्य एवं नैतिक विचार आदि समष्टि रूपमा सांस्कृतिक परम्पराभित्र ग्रहण गर्न सकिन्छ ।
मानव सभ्यताको विकाससँगै सबैभन्दा पहिले मान्दै त्यसको हस्तान्तरण हुँदै आएको वा मानिआएको संस्कृति नै लोक वा परम्परित संस्कृति हो । सृष्टिसँगै भएको विश्वास र त्यसले पारेको प्रभावलाई आत्मसात् गर्दै देवी देवता, भूतप्रेत, ग्रहगोचरजस्ता विश्वास र प्रभाव लोक वा परम्परित संस्कृतिसँगै जोडिएर आएका हुन्छन् । यसका साथसाथै कुनै क्षेत्र विशेषले विभिन्न आस्थाका रूपमा मानिआएका परम्पराबाट लोकसंस्कृतिको विकास भएको हुन्छ । निश्चित भूगोल र त्यहाँ बसोबास गर्ने आदिवासीले आआफ्नै संस्कृतिको पालना गर्दछन् । त्यसरी बनेको, लोक वा समाजले कुनै न कुनै रूपमा मान्दै आएको विश्वास वा त्यसले बसालेको परम्परा नै लोकसंस्कृति हो । मानिसको अस्तित्व समाजभन्दा बाहिर हुन सक्दैन । समाजभित्र मानिस अस्तित्वमा आउनका लागि समाजले स्वीकृति दिएका सीमा र बन्धनहरू हुन्छन् ती बन्धनहरूलाई स्वीकार गर्न मानिस सामाजिक हुन सक्दैन सामजिक हुनका लागि समाजसँग निकट रहेर समाज अनुकूल व्यवहार गर्नुपर्दछ ।
मानिस समाजमा बस्ने तथा घुलमिल हुने आवश्यकताले गर्भावस्थादेखि नै मृत्यु नहुँदासम्म उसले गरेका सामाजिक चालचलनबाट नै लोकसंस्कृतिको निर्माण हुन पुग्दछ । संस्कृतिका बारेमा वासुदेव भाइसापका अनुसार –संस्कृति अर्थात् सम्यक्कृति यसको अर्थ असल कार्य हो । त्यसैले सद्गुणहरूको समष्टि रूप हो, संस्कृति । सुधारिएको अवस्था नै संस्कृति हो । अतः मानिसले जुन साहित्य, सङ्गीत, दर्शन, कला, मनोरञ्जन, रहनसहन र वेशभूषाको सृजना गरे त्यो नै संस्कृति हो । इतिहासका अनेक कालखण्डले जन्माएका जनताका आस्था र ढुकढुकी नै लोकसंस्कृति हुन भन्ने उनको धारणा रहेको छ । लोकसंस्कृतिका बारेमा देवीप्रसाद वनबासीले यसो भनेका छन्ः– लोकसंस्कृति इतिहास र संस्कृतिभन्दा पुरानो हो । लोकसंस्कृतिका गेडाहरू ज्यादै मसिना हुन्छन् । लोकसंस्कृति किसानहरूको संस्कृति हो । लोकसंस्कृति मानवसभ्यताका मूल तŒव– इतिहास, धर्म, संस्कृति, भाषा, साहित्य र कलाको ब्याड हो भने पनि अत्युक्ति हुँदैन । किसानका जनजीवन र लोकसंस्कृति एकअर्काको सापेक्षतामा बाँचेका, हुर्केका र रमाएका हुन्छन् । लोकपरम्परामा प्रयोग गरिने र गरिएका वस्तुहरू पनि यसमा पाइन्छ । हामीले कुनै समयमा दैनिक जीवनमा प्रयोग गरिएका वस्तुहरू लोक तथा परम्परित संस्कृति हुन् । ढिकी, जाँतो, हलो, डोको, नाम्लो, डालो, खुर्पेटो, खुकुरी, कर्द, कुटो, कोदालो, कोदाली, चुलो, चौको, अगेनुजस्ता वस्तुहरू बिस्तारै विस्थापित हुँदै गइरहेका छन् ।
हाम्रा प्राचीन वेशभूषामा रहेका दौरा, भोटो, धोती, चोलो, चौबन्दी, पटुकी, कमिज, थैली, टोपीजस्ता पोशाक पनि फेसन संस्कृतिबाट बदलिंंदै गइरहेका छन् । हाम्रा लोकसंस्कृतिका वस्तुहरूको जगेर्ना र संरक्षण पनि हाम्रो दायित्व हो । समय अनुकूल जीवन पद्धति परिवर्तन हुँदा प्रयोग गरिने वस्तु स्वतः परिवर्तन हुन्छ । यस्तै संस्कृति नै लोकसंस्कृतिको निरन्तरता हो भने विचार, चेतना, धारणा, मान्यता, विश्वासहरूको कलात्मक र क्रियात्मक स्वरूप पनि हो । कला र क्रियाहरू बाहिर देखिन्छन् । तर तिनको मुहान आन्तरिक भावजगत्मा निर्मित हुन्छ, बाहिर देखिंदैन । तिनै सांस्कृतिक रीतिविधिहरूको मूल प्रेरणा भएर व्यवहारमा बाहिर प्रकट हुन्छ– भनी उत्तरबङ्ग विश्वविद्यालय भारतका शान्तिराज शर्माले उल्लेख गरेका छन् । भिन्न भूगोलमा बसोबास गर्ने व्यक्तिहरूको जीवन जिउने कला भिन्नाभिन्न हुन्छ । डार्बिनको प्रकृति छनोटको सिद्धान्तअनुसार बाँच्नका लागि गरेका भिन्न सङ्घर्ष वा जीवन जिउने प्रयास गर्दागर्दै मानवले निर्माण गरेको भौतिक संरचनासँग आफ्नै श्रमबाट सिर्जना गरेका विषयहरू संस्कृतिको रूपमा विकास भएको पाइन्छ । त्यसैले संस्कृतिको अस्तित्व समाजबिना हुन सक्दैन । कुनै पनि जातजातिको विकास क्रिया हेर्ने हो भने लामो समयसम्म प्रयोग–परीक्षण गर्दै जाँदा संस्कार, पद्धति, खानपान, वेशभूषा, प्रथा, परम्परा, सामाजिक मूल्यमान्यतालाई पुस्ताँैपुस्ताबाट परम्परित, हस्तान्तरण वा ग्रहण गर्दै आइरहेका हुन्छन् ।
व्यक्ति जुन समाजमा बस्दछ त्यही समाजबाट राम्रा–नराम्रा कामहरू सिक्दै जाँदा राम्रा र उपयोगी कुरालाई ग्रहण गर्ने क्रममा लोकसंस्कृति निर्माण हुन पुगेको देखिन्छ । यसरी प्रयोगमा ल्याइने लोकव्यवहार नै संस्कृतिको रूपमा निर्मित हुँदा समाजमा बस्ने मानिसहरूका लागि अपनत्व झल्काउने र एकसूत्रमा बाँधी समाज विकासको नैतिक कानूनका रूपमा पनि संस्कृतिलाई लिन सकिन्छ । यसरी मानिसले जुन स्थानमा आफूलाई समर्पण गर्दछ त्यस स्थानमा उसले आफ्नो संस्कृतिको प्रभाव वा गतिलाई छाडेको हुन्छ । घरपरिवार, काम गर्ने स्थान, स्कुल, कलेज आदि जहाँ संलग्न हुन्छ क्षमतानुसार आफ्नो संस्कृतिको पहिचान दिन सक्दछ । विभिन्न व्यक्तिको कार्यक्षेत्र फरकफरक भएको कारण पनि विभिन्न जातजाति र समाजबाट आएको पहिचानबाट उसको संस्कृतिको प्रभाव परेकाले नै हो भन्न सकिने आधार पनि यही हो । आफ्ना अग्रजबाट सिकेका व्यवहारले उसले कार्यकुशलतामा र सोचमा समेत प्रभाव पार्ने भएकाले उसको व्यवहारले सजिलै उसले पाएको संस्कार र उसले सिकेको संस्कृतिले पहिचान दिन्छ ।अतः लामो समयदेखि चलेको लोकसंस्कृति, लोकरीति, चालचलन, व्यवहार आदिले सांस्कृतिक पहिचान दिई समाजलाई एकसूत्रमा बाँध्न सकेको पाइन्छ । जनताको पक्षपोषक लोकसंस्कृतिलाई जनसंस्कृति पनि भनिन्छ तर यो भीड भने होइन ।
मानिसका सामान्यीकृत अनुभूतिको रूपमा रहने बौद्धिक संस्कृति अभौतिक संस्कृति एवं अमूर्त संस्कृति पनि भन्ने गरिएको छ । विभिन्न रीतिथिति, कर्मका अनुष्ठान, धर्म–दर्शन, विज्ञान–प्रविधि, व्यापार, विनिमय, सङ्गीत साहित्य, कला र अभिनय, आमोद–प्रमोद, बाजा र नाचगानजस्ता विषयगत सांस्कृतिक तŒवहरूलाई पनि हामीले आफ्नो संस्कृतिभित्र समेटेका छौं । मूर्त लोकसंस्कृतिमा मठ–मन्दिर निर्माण, गुम्बा, विहार र घ्याङको व्यवस्था, प्राचीन दरबारहरू स्मारक, गढी र किल्ला, गृहनिर्माणको कला, सडक यातायात, मूर्ति, अभिलेख उत्पादन उपकरणहरू मानिएका छन् । लोकसंस्कृति रक्षाको सन्दर्भमा यस्तै विषयलाई संरक्षण गर्ने प्रयत्न पनि हामीले गर्दै आएका छौं । शिक्षा व्यवस्था, काल या संख्या गणना पद्धतिको पञ्चाङ्ग निर्माण आदि पनि लोकसंस्कृति नै हुन् । वास्तवमा संस्कृति मानवताको गुण प्रवद्र्धन गर्ने सुसङ्गत सोच हो, सहजीवनको पद्धति र कला हो, रीतिरिवाज र विश्वासको बन्धन हो । लोकहितका निम्ति बनाइने विधि–व्यवस्था, नैतिक मूल्य, प्रविधि र जीवनदृष्टि पनि संस्कृति हो । त्यसैले संस्कृतिलाई सङ्कीर्ण अर्थमा हेर्ने, बुझ्ने, विवेचना गर्ने र स्थिर मान्ने पुरानो सोच एवं पद्धति हो । लोकसंस्कृतिका धेरै कुराहरू समाजले स्वीकारेका विषयसँग सम्बन्धित छन् । तर संस्कृति आफैंमा परिवर्तनीय कुरा भएकाले समयसापेक्ष लोकसंस्कृति पनि रूपान्तरण भइरहन्छ । समाज निर्माणको लामो यात्रामा जसरी समाज गतिशील छ त्यसरी नै लोकसंस्कृति पनि गतिशील देखिन्छ । संस्कृतिको गति रोकिनु भनेको संस्कृति लोप हुनु हो ।
संस्कृति समाजकै निधि हो र समाजलाई आवश्यक नपर्ने विषयवस्तुलाई समाजले नै फेर्दै, परिमार्जन र परिष्कृत पार्दै लैजान्छ । यसरी संस्कृति पनि रूपान्तरित हुन पुग्दछ तथापि लोकमय संस्कृतिहरू परिमार्जन वा रूपान्तरण हुँदै जान्छन् । विश्वमा देखिएका विभिन्न परिवर्तनले सांस्कृतिक रूपान्तरणको प्रक्रियामा ठोस भूमिका निर्वाह गरेको पाइन्छ । समय–समयमा भएका राजनीतिक परिवर्तनले राज्य वा समाजमा चलेका परम्परा, चलन, लोकमान्यता आदिमा परिवर्तनहरू भएको पाउँदछौं । यसलाई नै सामाजिक रूपान्तरण भनिन्छ । सांस्कृतिक रूपान्तरणको प्रक्रिया जटिल भए पनि समाजले भने त्यस्ता व्यवहारलाई क्रमशः परिवर्तन गरिरहेको हुन्छ जुन थाहा नै नभएर क्रमशः पुरानोबाट नयाँ संस्कृति निर्माण भइरहेको हुन्छ । यसरी हेर्दा के देखिन्छ भने संस्कृति आफैँ बन्दैन, संस्कृतिको निर्माता मानिस नै हो । मानिस समाजमा बस्दछ र तत्कालीन समाजमा आवश्यक पर्ने कुरालाई प्रचलनमा ल्याउँदा निर्मित भएको संस्कृति पुस्तौँपुस्तासम्म सजिलै हस्तान्तरण भएको पाइन्छ र मानवीय जीवनको अभिन्न अङ्ग बनी मानिस स्वयंले यसलाई समयसापेक्ष बनाउँदै जान्छ ।
लोकसंस्कृति लामो समयसम्म प्रचलन रहिआएको भए पनि मानिसमा आउने राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभाव, वेशभूषा, शिक्षा आदिका कारणले क्रमशः ओझेलमा पर्न थाल्दछ र नयाँनयाँ विचारले समाजमा प्रभाव पार्ने भएको र तिनै प्रभावित व्यक्ति वा समाजले प्रचलित संस्कृतिलाई आत्मसात् गरेको पाइन्छ । आजको विश्व विज्ञान र प्रविधिले सानो समाजका रूपमा परिवर्तन भइसकेकाले एक ठाउँका संस्कृति अर्को ठाउँमा पुगिसकेको छ । समाजका सदस्यहरू आफ्नो बहुआयामिक विकासका लागि एउटै ठाउँमा बसेर नपुग्ने भएकाले विश्व नै सानो वृत्तमा रहेको वर्तमानको समयमा मानिस विभिन्न स्थानमा जाने–आउने, बसाइँ सर्ने हुनाले यसबाट पनि मानिसले अरूबाट राम्रा र सरल कुराहरू सिक्दै जाँदा सांस्कृतिक रूपान्तरण भएको पाइन्छ ।
लोकसंस्कृतिको सम्बन्धमा पाइने विभिन्न अभिव्यक्ति एवं मन्तव्यहरू मध्येमा भारतीय विद्वान् हजारीप्रसाद द्विवेदीको भनाइ छ– “विभिन्न धार्मिक साधनहरू, कलात्मक प्रयत्नहरू, सेवा भक्ति र योगमूलक अनुभूतिहरू आदिबाट निःसृत धात्मिक उपलब्धिद्वारा मनुष्यले सत्यको व्यापक र परिपूर्णरूप प्रकाश पाउँदै जान्छ, जसलाई संस्कृति शब्दद्वारा व्यवहार गरिन्छ“ यसरी द्विवेदीले संस्कृतिको जीवनमूलक व्यावहारिक पक्षतर्फ त्यति नबढी भावनात्मक पक्षको गहिराइमा पसी विचार पोखेको जस्तो बुझिन्छ । जसमा लोक जीवन पद्धति र परम्परा आएका हुन्छन् । तिनीहरू मिथक र लोकवार्तासँग परिपूरक सम्बन्ध राख्दछन् । मानिसको जन्मदेखि मृत्युपर्यन्तका जीवनयात्राका हरेक पद्धति, परम्पराहरू– जो समय र इतिहासको गतिअनुसार थपघट र संस्कृत हुँदै आएका हुन्छन्, तिनै परिष्कृत तथा परिवर्तित हुँदै आएका जीवन– मूलक पद्धति तथा संस्कारहरूलाई नै हामी संस्कृति भन्न सक्तछौं । ती परम्परित अवधारणा हुन् ।
प्रस्तुत प्रसङ्गमा विवेच्य– विषय लोकवार्ता र मिथक भएकाले जसमा स्वत लोकसंस्कृति र लोकसाहित्यको जोडिएर आएको छ । लोकसमाजमा घटेका ऐतिहासिक विकास प्रक्रियालाई कथ्य रूपमा ग्रहण गर्दै लोकपरम्परालाई अगाडि बढाउने कार्य संस्कृतिका माध्यमबाट भएकाले संस्कृति र लोकसंस्कृति तथा लोकसाहित्यको भूमिका रहेको छ । संस्कृतिमा कुनै निश्चित परिवेशमा घटेका घटना, जीवनको भोगाई अनुभूति, आस्था र विश्वासलाई समेटिएको हुन्छ जुन लोकपरम्परा बन्छ, लोकसंस्कृति बन्छ । त्यसैले सामाजिक विकासमा संस्कार र लोकसंस्कृतिको परिपूरक सम्बन्ध रहन्छ ।
लोकसंस्कृति र लोकसाहित्य दुवैको प्रारम्भ लोककल्पनाबाट भएको हो । केही सत्यतथ्यको कथात्मक प्रस्तुति लोकसंस्कृति र लोकसाहित्यमा दुवैमा रहन्छ । जसरी संस्कृति वा मिथक आदिम मानवको अभिव्यक्ति हो । लोकसाहित्यमा परम्परागत रूपमा रहेका प्राचीन दर्शनका आश्चर्य, चमत्कार, जादू आदिका बारेमा आख्यान हुन्छन् । वैदिक पौराणिक आधारभूमिमा मिथक र लोकसाहित्य बन्दछन् भने लेख्य तथा श्रुति परम्परागत रूपमा चलिरहन्छन् । लोककथा, लोकगाथा, लोककाव्य वा कुनै पनि लोकसाहित्यको मूल नै मिथक हो ।
३. मिथक :
अङग्रेजी शब्द मिथ ९ःथतज० को रूपान्तरण मिथक हो । मिथ ग्रिसेली मुथोस ९ःगतजयक० बाट विकसित भएको शब्द हो । ग्रिसेली मूल शब्द मुथोसको अर्थ मुखले शब्दका माध्यमबाट केही कुरा भनिएको (कडन, सन् १९९२ पृ.५६२) भन्ने हुन्थ्यो । प्लेटोले सम्पूर्ण रूपले असत्य नभएको आख्यानको एक भागका रूपमा मुथोस शब्दलाई अथ्र्याएका छन् । ग्रिसेलीको मुथोस ल्याटिन र जर्मनी हुँदै अङ्ग्रेजीमा मिथका रूपमा प्रयोग हुन थालेको हो । अङ्ग्रेजीमा मिथ शब्दको प्रयोग देवीदेवताहरू अथवा अतिप्राकृतिक पात्रहरू र मानव जीवनको अनुभव भन्दापर कुनै समयको असाधारण घटना एवम् परिस्थितिसँग सम्बद्ध आख्यानका लागि हुन्थ्यो (वेन्टन,सन् १९७३ पृ.१५४) । मिथमा वस्तु र जगत्प्रतिको प्रतीकात्मक अभिव्यक्ति पाइन्छ । तसर्थ सृष्टि अथवा व्यक्तिको प्रतीकात्मक आख्यान नै मिथको व्यापक अर्थ हो ।
अङ्ग्रेजी ‘मिथ’ शब्दको समानार्थी वा पर्यायका रूपमा नेपाली पुराकथा, पुराण, विद्या र आदिमता जस्ता शब्दको प्रयोग छिटफुट रूपमा नेपाली वाङ्मयमा भएको पाइन्छ । हिन्दी साहित्यमा भने मिथक शब्दको चलन हजारीप्रसाद द्विवेदीले चलाएका हुन् । उनले मिथमा ‘क’ प्रत्यय जोडेर मिथक शब्द बनाएका हुन्,(सिंह, सन् १९९९,पृ.१२) मिथक भन्नाले त्यस्तो कुराको बोध हुन्छ जसमा देवी,देवता, राक्षस आदि अतिप्राकृतिक तŒवको ठूलो भूमिका रहन्छ । नेपाली बृहत् शब्दकोशले मिथकलाई पुराकथाका रूपमा चिनाएको छ । नेपाली साहित्यमा जगदीशशम्शेर राणाले दश दृष्टिकोण नामक कृतिमा मिथका ठाउँमा मिथक शब्दको प्रयोग उपयुक्त हुने विचार प्रस्तुत गरेका छन् (राणा, २०४५ ः २९८) ।
मिथक संस्कृत शब्द नभए पनि यससंग मिल्दा जुल्दा शब्दका रूपमा मिथस वा मिथ र मिथ्यालाई मानिन्छ । परस्पर र असत्यको अर्थका रूपमा क्रमशः मिथस र मिथ्यालाई लिइन्छ । मिथकलाई मिथससँग सम्बन्धित गरेर हेर्ने हो भने सत्य र कल्पनाको परस्पर अभिन्न सम्बन्ध भन्ने बुझिन्छ भने मिथ्यासँग सम्बन्धित गरेर हेर्दा कपोल कथा भन्ने बुझिन्छ । सारमा भन्नुपर्दा अङ्ग्रेजी शब्द मिथको ध्वनि र अर्थका साम्यताका आधारमा मिथकको प्रयोग गरिएको हुनाले मिथ शब्दले वहन गर्ने अर्थका आधारमा नै मिथक शब्दलाई व्यवहारमा प्रयोग गरिनु पर्दछ ।
मिथक प्राचीन वा अतिप्राकृत घटना र भावनासँग सम्बन्धित पुरा कथा हो । मानव सभ्यताका विभिन्न चरणमा, मानव विकासका विभिन्न युग, परिवेश तथा सृष्टिसँग सम्बन्धित आरोह–अवरोहको इतिहास हो । त्यसैले मानव सृष्टिसँगै जोडिएको समष्टि इतिहास, कला संस्कृति धर्मको मूल नै मिथक हो । अङ्ग्रेजी मिथक शब्दको समानान्तर रूपमा नेपाली भाषामा रूपान्तरित पुरा कथा, पुरानो कथा, प्राचीन कथा, पुराणको कथा, कल्प कथा, पुरा आख्यान, श्रुतिस्मृति कथा, आदिम कथा, आद्य कथा, आद्य आख्यान जस्ता शब्दको प्रयोग गरिएको छ । वास्तवमा मिथक वा मिथ शब्दले प्राचीन मानव सभ्यताको इतिहास बोकेको छ । मानव सभ्यता, संस्कार, संस्कृतिलाई आत्मसात् गर्दै प्राचीन समयमा घटेका घटनाहरूलाई अनुभव र व्यवहारका माध्यमबाट प्रस्ट्याउने, चिनाउने कार्य मिथकले गरेको छ । मानव मनका प्राकृतिक तŒव र घटनाहरूलाई परिवेशीकरणद्वारा मानव सभ्यतासँग जोडेर चेतन÷अचेतन प्रक्रियाका माध्यमबाट प्रस्ट्याउने कार्य मिथकले गर्दछ ।
४. मिथक र लोकसंस्कृतिको अन्तरसम्बन्ध
संस्कृति समाजमै प्रचलित हुन्छ । मिथकमा सामाजिक रितिस्थिति, परम्पराको वर्णन पाइन्छ त्यसैले मिथकमा वर्णित भिन्न परिवेशका कार्यहरू लोकसंस्कार हुन् । मिथक र समाजको आस्था तथा विश्वासका प्रचलित व्यवहारले लोकसंस्कृतिको निर्माण गर्दछ । भौगोलिक वा जातिय परिवेशअनुसारका देवीदेवताका प्रार्थना अनुष्ठान तथा कार्यहरू प्राचीन कालदेखि निरन्तर चलिआएका छन् । प्राचीन समाजको धर्म, विधि, नैतिकता र सामाजिक प्रचलनका बारेमा मिथकले वर्णन गर्र्दछ । मिथकले सामाजिक विश्वास, क्रिया, अनुष्ठान र नैतिकआचरणलाई निरन्तरता दिने कार्य गर्दछ जसले गर्दा लोकसंस्कार तथा लोकसंस्कृतिको निर्माण गर्दछन् । मिथकीय वृत्त, सांस्कृतिक मान्यतालाई मिथकले व्यवस्थित गरी अगाडि बढाउँछ । मिथकमा सांस्कृतिक सत्यतथ्यको उद्घाटन गरिएको हुन्छ । जसको वर्णनमा लोकसाहित्यको निर्माण हुन्छ ।
लोकसाहित्य परम्परित रहने हुनाले प्राचीन तथ्यको वर्णन मिथकमा पाइन्छ । मिथकमा सांस्कृतिक सत्य उद्घाटित हुन्छ । त्यो सत्यलाई लोकसाहित्यले लेख्य बनाउँछ र लोकपरम्परा लगाडि बढ्छ । मिथकका माध्यमबाट संस्कृति अन्तर्गतको सामाजिक अवस्थाहरूको खोजी गर्न सकिन्छ त्यसैले साहित्यमा मिथक अतीत र वर्तमानको सामाजिक पक्षलाई उद्भाषित हुन्छ । समयको परिवेशसँगै सामाजिक आर्थिक अवस्थामा पनि परिवर्तन घटित हुन्छ । लोकसमाजमा घटेका ऐतिहासिक विकास प्रक्रियालाई कथ्य रूपमा ग्रहण गर्दै लोकपरम्परालाई अगाडि बढाउने कार्य मिथकका माध्यमबाट भएकाले मिथक र लोकसंस्कृति तथा लोक साहित्यको भूमिका रहेको छ । मिथकमा कुनै निश्चित परिवेशमा घटेका घटना, जीवनको भोगाई अनुभूति, आस्था र विश्वासलाई समेटिएको हुन्छ जुन लोकपरम्परामा आधारित छ ।
मिथक प्रतीकात्मक हुन्छ । लोकसंस्कृतिमा विभिन्न प्रतीकको प्रयोग गरिएको हुन्छ । लोकसंस्कृति र मिथकमा प्रतीकको सम्बन्धद्वारा कथावस्तु वा कथानकको आधार बन्दछ । लोकसंस्कृतिमा कुनै सूक्ष्म भाव वा विचारलाई अभिव्यक्त गर्न प्रतीकको प्रयोग गरिन्छ । मिथकलाई स्पष्ट पार्नका लागि प्रतीकको प्रयोग गरिन्छ । मिथकमा लोकसंस्कृति मिलेर नै यथार्थ वा सत्यको उद्घाटन गर्दछन् । अगस्ति, दुर्वासा जस्ता प्रतीकद्वारा पात्र र प्रवृत्ति दुवैलाई प्रष्टाउन सकिने हुनाले प्रतीक मिथकको शक्ति हो । मिथक बिम्बको माध्यमबाट पनि व्यक्त भएको हुन्छ । शब्दचित्रको माध्यमबाट सूक्ष्म तर गम्भीर भाव बिम्बमा पाइन्छ । बिम्ब प्रतीकभन्दा बढी प्रभावशाली हुन्छ । बिम्ब भाव चित्र हो । मिथक आदिम मानवको तीव्र अनुभूतिको रूपलाई अतिप्राकृतिक तथा अलौकिक दैवीरचनाको लौकिक सन्दर्भमा बनेको मानसिक बिम्ब हो भने लोकसंस्कृति आफैं एक विशिष्ट बिम्ब हो ।
पवित्रता र काल्पनिकताको अंश बढी मात्रामा हुने कारणले मिथकहरू अरू भन्दा भिन्न छन् । तर आख्यान गद्यमा मात्र होइन पद्यमा पनि हुन्छ । गद्यात्मक आख्यानबारे कथाका सम्बन्धमा छलफल गर्दा चर्चा गरिनेछ भने पद्यात्मक आख्यानबारे लोकगाथा र लोककाव्यका प्रसङ्गमा चर्चा गरिएको छ । यसरी केही कथा मात्र होइन गाथा र काव्यहरूलाई मिथकका रूपमा राख्न सकिन्छ । केही लोकनाटकले पनि मिथकका विशेषता लिएका पाइन्छन् । मिथकहरूलाई पुराकथा र पौराणिक कथा भनेको पनि पाइन्छ । शास्त्रीय अर्थमा पुराण भनिने विषयभन्दा भिन्न लौकिक अर्थमा लोकजीवनका आस्थामूलक अभिव्यक्तिलाई मिथक भन्नु उपयुक्त भएकाले यहाँ यसै शब्दको प्रयोग भएको छ ।
मिथकशास्त्रलाई केही विद्वान् लोकवार्ताभन्दा भिन्न मानेर छुट्टै पनि राख्छन् । पवित्रताको बढी अंश भएकाले यसको सम्बन्ध धर्मशास्त्रसँग पनि जोडिन्छ । शास्त्रीय पुराणहरूबाट लोकजीवनमा आएका मिथकहरू पनि पाइने हुँदा पुराणसँग यसको सम्बन्ध त छँदै छ। पुराणहरूलाई पवित्र मानेजस्तै मिथकहरूलाई पनि पवित्र मानिन्छ । मिथकलाई लोकले सत्यका रूपमा ग्रहण गरेको हुन्छ र आस्थापूर्ण मनले स्वीकार गरेको हुन्छ । पुराणहरू जस्तै मिथकहरू पनि अनुष्ठानहरूसँग सम्बन्धित हुन्छन् । पुराणका पात्रहरूलाई जस्तै मिथकका पात्रहरूलाई पनि आदरार्थी प्रयोगहरू गरिन्छन् । बहुभाषिक समाजमा जहाँ विभिन्न भाषा–भाषीका आआफ्ना मिथकहरू छन्, त्यहाँ एक–अर्काका आस्था र विश्वासको समुचित सम्मान गर्दै तिनको सही पहिचान, वर्गीकरण र विवेचना गर्नु आवश्यक छ । लोककथा, लोकगाथा, लोककाव्य र लोकनाटकका चर्चाका क्रममा मिथकबारे पनि प्रासङ्गिक चर्चा गरिएको छ ।
५. निष्कर्ष :
अङग्रेजी शब्द मिथ ९ःथतज० को हिन्दी रूपान्तरण मिथक हो । मिथ ग्रिसेली मुथोस ९ःगतजयक० बाट विकसित भएको शब्द हो । मिथक प्राचीन इतिहासको प्रामाणिक वर्णन हो, जसले घटना र स्थितिको दर्पणको आभाष दिलाउँछ । यसरी विभिन्न विद्वान्का परिभाषालाई केलाउँदा मिथक भन्नाले आदिम मानवका सामूहिक अनुभूतिको सार्वभौम कल्पनाद्वारा निर्मित लौकिक वा अलौकिक कथा हो भन्न सकिन्छ । जसका माध्यमबाट मानव सृष्टि र सभ्यताको जड्सम्म पुग्न सकिन्छ । मिथक प्राचीन, अतिप्राचीन विम्ब हो, आद्यविम्ब हो जुन मानव चेतना वा अचेतनमा सुरक्षित रहेको छ । मिथक कुनै भौगोलिक परिवेशमा बसोबास गर्ने जाति, तिनका संस्कार वा संस्कृति र चेतनालाई चिनाउने महङ्खवपूर्ण साधन हो ।
मिथकमा समग्र मानवको अनुभव रहेकाले त्यसले मानव जीवनका विभिन्न पक्षसँग सम्बन्ध राख्दछ । मानव सभ्यताको विकाससँगै मानव मनोविज्ञानमा आएको परिवर्तन त्यसले पारेको सामाजिक प्रभावलाई तुलना गर्न सकिन्छ । विभिन्न समयमा भएका युद्ध, प्राकृतिक विनाश र त्यसले पारेको मानसिक प्रभाव अनुसारको मनोविज्ञानको चित्रण मिथकका आख्यानमा पाइन्छन् । त्यसैले मिथकलाई मानव सभ्यताको इतिहाससँगसँगै मानव चेतनाको दस्तावेज, मानव ज्ञानको प्रतिकात्मक रूप भन्न सकिन्छ । विभिन्न समयका शासक तिनका शासनकला, घटना, दुर्घटनामा मानव मनोविज्ञानकै भूमिका रहेकोले मिथकमा मनोविज्ञानको चित्रण रहेको हुन्छ । यी कुराहरूलाई छुट्ट्याउन नसकिने हुँदा पुराण वा मिथकहरू लोकवार्ताका अध्ययनका विषय बनेका छन् । एक थरी पुराणशास्त्रमा मात्र लागेर त्यसैको अध्ययन गरी धर्मशास्त्रलाई पनि यसैसँग जोड्छन् । लिखित परम्परा भएका समाजमा पुराण र धर्मशास्त्रको लिखित परम्परामा आधारित शास्त्रीय धाराले लोकधाराले पनि समानान्तर गति लिएको स्वाभाविकै हो । बहुसांस्कृतिक राष्ट्रमा लोकपरम्पराका पुराशास्त्रका विविधता पनि हुन्छन् । नेपालमा विभिन्न समुदाय आ–आफ्ना पुराशास्त्र वा मिथक पनि छन् तर यहाँ संस्कृत भाषाका पुराणहरूले पनि उत्तिकै प्रभावकारी भूमिका खेलेका छन् ।
लोकको मानसिक संस्कृतिभन्दा भिन्न अमानसिक तथा भौतिक संस्कृति पनि मिथककै रूपमा लोकवार्ताको एउटा महŒवपूर्ण पक्ष बन्दछ । परम्परागत कौशल, तन्त्रमन्त्रद्वारा उपचार गर्ने पद्धति तथा अन्य कामलाई परम्परागत प्रविधि अर्थात् लोकउपचार पद्धति पनि मिथकसागै जोडिएर आएको पाइन्छ । समग्रमा भन्नुपर्दा लोकवार्ताका विभिन्न कुराहरू मिथकसँग जोडिएर आएका हुन्छन । त्यसैले लोकवार्ता, लोकसंस्क र मिथक एकअर्कासँग अन्तरसम्बन्धित भएर आएका छन् ।
सन्दर्भ सामग्री सूची :
ढकाल, बद्रीप्रसाद (२०७५) मिथक सिद्धान्त र प्रयोग, काठमाडौं ः ओरिएन्टल प्रकाशन गृह ।
बन्धु, चूडामणि ( २०५८) नेपाली लोकसाहित्य, काठमाडौं ः एकता बुक्स ।
राणा, जगदीश नरसिंह ( २०३७) दश दृष्टिकोण, काठमाडौं ः श्रीमती भुवन राणा ।
लुइटेल, खगेन्द्रप्रसाद ( २०६८) लोकसाहित्य परिचय, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।






