प्यारो ओखलढुङ्गा ! (नियात्रा) -प्रा.डा. कपिल लामिछाने
हामी लोकज्ञानका भोका छौँ । भोकले सुत्न दिँदैन, जगाइरहन्छ, हिँडाइरहन्छ, दौडाइरहन्छ । ओखलढुङ्गाको कार्यक्रम भेटाउन जेठ १ गते म बिहान तीन बजे नै जागेँ । चार बजे कलङ्की पुग्नु थियो, अनुबन्धित गुडीयान भेट्न । ढिलो गरी पुगी गुडीयान छुटे आफैँ व्यवस्था गरी जानुपर्ने रे ! उर्दी कड़ा थियो, संयोजक प्रवीण पुमाको । तयार भएर पठाओ खोजेँ । कुनै भेटिएन, कुनै आएन । यति बिहानै को पो उठ्थ्यो र ? भोकोबाहेक । सतुङ्गल निवासबाट छामछुम गर्दै मूल सडक राजमार्गमा निक्लेँ । संयोगवश नागढुङ्गा-रत्नपार्क चल्ने स्थानीय गुडीयान (लोकल बस) भेटाइहालेँ । तेजप्रकाश श्रेष्ठ तीनथानाबाट त्यसमै चढ्नुभयो । समयमै पुग्ने भयौँ भनेर लामो सास फेर्यौँ । कलङ्कीमा ओर्लिंदा भरखर चार बज्दै रहेछ । हामी खसी बजारतिर लम्कियौँ । षडानन्द पौड्याललाई हामी पुगेको जानकारी गरायौँ । उहाँ पनि हस्याङफस्याङ गर्दै ओर्लिनुभयो । पौड्यालको निवास त्यहीँ नजिकै छ ।
तीन भाइ जम्मा भएपछि गुडीयानलाई चलभाष ९८६०८९३७८३ मा सम्पर्क गरेको ऊ त अझै गोगँबु गुडीगोठ (बसपार्क) मै रहेछ । हामीले यत्रो हतारो गरेको व्यर्थ गए झैँ लाग्यो ।
गुडीयान पूर्वपरिचित रहेछ । चालक सुरेश लामिछाने गुडी नम्बर बागमती प्रदेश ०१, ००६ ख ६७६५ को गुडीयान लिएर हामीछेउ आउँदा पाँच बजेको थियो । हामी गुडीयानको उदरस्थ भयौँ । परिषद्का पूर्वअध्यक्ष प्रा.डा. प्रेमकुमार खत्री अग्रासनस्थ हुनुहुन्थ्यो भने डा. शशी थापा पण्डित पश्चासनबाट मुस्कान छर्दै हुनुहुन्थ्यो । अल्लि परबाट प्रा.डा. भवेश्वर पंगेनी र प्रा. हुमकान्त पाण्डे, बल्खुबाट प्रा.डा. ध्रुवकुमार घिमिरे, प्रा.डा. रामचन्द्र पोखरेल, दिलविक्रम आङ्दम्बे, सातदोबाटोबाट प्रा.डा. ध्रुवप्रसाद भट्टराई, डा. प्रवीण पुमा, सञ्चारकर्मी चन्द्र वाम्बुले र देवी सरई, ग्वार्कोबाट डा. गणेशप्रसाद घिमिरे, कोटेश्वरबाट अम्बादत्त भट्ट, गायत्री पराजुली, जडीबुटीबाट राजेन्द्रकुमार आचार्य, लोकन्थलीबाट डा. यज्ञेश्वर निरौला, सल्लाघारीबाट डा. धनप्रसाद सुवेदी, सूर्यविनायकबाट डा. कुलराज निरौला चढिसकेपछि हामीले भक्तपुर छाड्दा साडे ६ बजिसकेको थियो । गुडीमा चालकसहित हामी २२ भाइ जम्मा भयौँ । वाम्बुले राई भाषा र संस्कृतिविद् गणेश वाम्बुले राई यसअघि नै जानुभएको जानकारी पनि पाएँ ।
महासचिव भट्टराईलाई सोधेँ, ” डा.भक्त राई खै ?”
“उहाँ ‘यथास्थान’मा हुनुहुन्छ ।” महासचिवले भन्नुभयो । पोहोर कर्णाली गएका सबै गलल्ल हाँसे ।
अरनिको राजमार्गको स्तरोन्नति हुँदै रहेछ । साँगा भन्ज्याङनेर तलमार्ग (अन्डरपास) बन्दै रहेछ । बनेपा र धुलिखेलले काँचुली फेर्दै रहेछन् । बनेपा कट्दै गर्दा जनमत अर्थात् मोहन दुवाल झलझली सम्झनामा आइरहनुभयो । संवादका लागि समय थिएन । बनेपा-बर्दिबास सडक अर्थात् बीपी राजमार्गमा भएको क्षतिका कारण बाटो बन्द छ भन्ने हल्लाले व्याकुल थियो मन । संयोग बिहान आठ बजेबाट साँझ पाँच बजेसम्मका लागि खुल्ला गरिएको रहेछ, सो मार्ग । हाम्रो गुडीयान अरनिको राजमार्ग र धुलिखेल बजार छोडेर फुर्किँदै भकुन्डेबेसीतिर सुइँकियो ।
गत २०८१ साल असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण सो राजमार्गलाई रोसी खोलाले ठुलो क्षति पुर्याएको थियो । काभ्रेपलान्चोक जिल्लामा पर्ने सो सडक खण्डमा रोसी खोलाले सडकको नामोनिसान मेटाएकाले बगरै बगार २२ किलोमिटर जति गुडीयान गुडाउँदा आधा घण्टाको बाटो काट्न तीन घण्टा लाग्यो । उचालिने र थेचारिने कुरा सामान्य जस्तो भयो, हामीलाई । ज्यान थिलो थिलो भएपछि केको ज्ञान ? केको ध्यान ?
रोसी खोलाले खुब रोष देखाएछ । अरबौँको क्षति गरेछ । सडकमात्र होइन, कतिको ज्यान र कति त बस्ती नै उडाएछ । नदी किनारको लोकसंस्कृति नासेछ । गुडिरहँदा यसैको चर्चा भयो । बेला बेलामा रोष देखाउने भएकाले यसको नाम रोषी र पछि रोसी त भएको होइन ? हामी अडकल लगाउँदै थियौँ ।
सुरुमा रसिला पर्वतमाला देखिए । मन रसायो । तर पछि त पारि देखिने रामेछाप जिल्लाको भिरालो र रुखा पाखापखेराले उदास बन्यो मन । तल त्यत्रो सुनकोसी छ, माथि त्यस्तो बैराक लाग्ने भूभाग !
वीरबहादुर महतो सर्लाहीबाट खुर्कोट पुगिसक्नुभएको रहेछ । एक छिन पर्खेपछि उहाँ पनि गुडीयानमा उदरस्थ हुनुभयो । खुर्कोटबाट सुनकोसी तरेर एउटा बाटो लुसुक्क उत्तर रामेछापतिर गयो । अर्को बाटो दक्षिण सिन्धुलीमाडी हुँदै बर्दिबासतिर बसाइँ सर्यो । हामी सुनकोसीलाई बायाँ पारेर पूर्व उदयपुरको घुर्मीतिर लाग्यौँ । घुर्मीमा सिद्धिचरण राजमार्ग भेटियो । उत्तर-दक्षिण १२० किलोमिटर लामो यस राजमार्गले सिराहा, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लालाई जोडेको रहेछ । घुर्मीबाट सुनकोसी तरेपछि हामी यही सडक हुँदै ओखलढुङ्गाको हर्कपुर पुग्दै छौँ । लिखु कुदेर सुनकोसीमा मिसिएदेखि नै ओखलढुङ्गाको सीमा सुरु भएको हामीले वारिबाटै देख्यौ र हर्षित भयौँ । यस धराका बारेमा युगकवि सिद्धिचरण श्रेष्ठले उहिल्यै लेखेथे –
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षःस्थलमा
यो कविको शैशवकाल बित्यो,
हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुङ्गा !
Picture : Praveen Puma(2028)
यही पावन भूमिमा हामी फेरि आइपुगेका छौँ, हाँस्न, खेल्न, वन कुञ्जमा घुम्न रम्न र लोकज्ञान सम्मेलन गर्न । अब त यो हाम्रो प्यारो ओखलढुङ्गा पो भयो !
हामी चौधौँ लोकवार्ता राष्ट्रिय सङ्गोष्ठीका लागि ओखलढुङ्गा र खोटाङ जाने क्रममा थियौँ । २०८३ जेठ १ र २ गतेका कार्यक्रम ओखलढुङ्गामा हुनु थियो । पोखरा, भैरहवा, धनगढीलगायत सुदूरपश्चिम, दाङ, सल्यान, ताप्लेजुङ, भोजपुर, बागलुङ-म्याग्दी, कर्णाली हुँदै चौधौँ राष्ट्रिय सङ्गोष्ठी ओखलढुङ्गा र खोटाङमा गर्न लागिएको हो । सुरुका दुई दिनका कार्यक्रम वल्लो किरातको यही पावनभूमि ओखलढुङ्गामा हुनेछन् ।
हाम्रा पाइला ओखलढुङ्गामा परे । राजेन्द्रकुमार आचार्यले भन्नुभयो, “ओखलढुङ्गा उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको छ । यस जिल्लालाई पूर्वमा खोटाङ जिल्लासँग दुधकोसीले र पश्चिममा रामेछाप जिल्लासँग लिखु नदीले छुट्याएका छन् ।”
यस जिल्लाको नामकरणका बारेमा मुख्य दुई धारणा रहेछन् । महाभारत कालमा भीमले ओखल जस्तो गहिरो खोपिल्टे ढुङ्गामा धान कुटेकाले यसको नाम ओखलढुङ्गा रहेको एक जनविश्वास छ । दोस्रो, मल्लकालमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारका क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले किरातहरूलाई लखेटी लुटेको धान ढुङ्गाको ओखलमा कुटेर खाएकाले यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको हो ।
कारण जे होस्, उक्त ओखल ओखलढुङ्गाको सिद्धिचरण पार्कसँगै सुरक्षित राखिएको छ ।
तेजप्रकाश श्रेष्ठले भन्नुभयो, “यस जिल्लामा राई, लिम्बु, मगर, गुरुङ, शेर्पा, क्षेत्री, बाहुन, कामी (विश्वकर्मा), दमाई (परियार), वाहिङ, सुनुवार, तामाङ, घर्ती, भुजेल, नेवार आदि जातजातिको बसोबास रहेको छ भने यहाँ नेपाली, राई, बाहिङ, सुनुवार (कोँइच), गुरुङ, शेर्पा, तामाङ, मगर आदि भाषा बोलिन्छन् ।”
तेजप्रकाश श्रेष्ठले यो राजमार्ग नबन्दै धेरैचोटि ओखलढुङ्गा भएर पैदलै सोलुखुम्बु आउजाउ गर्नुभएको थियो । त्यस बेलाका अनुभव सुन्यौँ हामीले ।
इतिहासकार भवेश्वर पंगेनी भन्दै हुनुहुन्थ्यो, “प्राचीन कालमा यहाँ आभीर, गोपाल र किरातवंशी राजाहरूले राज्य गरेको पाइन्छ । पछि किरातलाई विस्थापन गरेर मल्लहरूले शासन गरे । पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि भीमसेन थापाको प्रशासनिक विभाजनअन्तर्गत ३९ जिल्लामध्ये ‘पूर्व ३ नम्बर ओखलढुङ्गा’को नामले यस जिल्लाको जन्म भएको हो । विसं २०१८ सालको प्रशासनिक विभाजनपूर्व हालका सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्ला ‘पूर्व ३ नम्बर ओखलढुङ्गा’मा पर्दथे । …”
ख्वाप्लाक्कै आयो, इतिहास । इतिहासमा जे भए पनि अहिले त यो गायिका मेलवा देवी, युगकवि सिद्धिचरण श्रेष्ठ, समाजसेवी अनुराधा कोइराला, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, राष्ट्रगानका रचयिता व्याकुल माइला आदिको जन्मभूमि भनेर पो चिनिन्छ । मान्छेले स्थानलाई र स्थानले मान्छेलाई चिनाउँदा रहेछन् । प्रकृति र मान्छेको चिनारी प्रकृति र मान्छेसित जोडेर नै बनेको हुँदो रहेछ ।
हाम्रो यात्रा यात्राका लागि हुँदैन । केही पाउनका लागि, केही जान्नका लागि हुने गर्छ । लोकमा रहेको विपुल संस्कृति खोज्नु, पढ्नु, मौका परे त्यसका बारेमा लेखेर अनुसन्धान गरेर त्यसको जगेर्ना गर्नु हाम्रो उद्देश्य हो । लोकको ज्ञान लोकमै पुगेर वा गाउँ गाउँमा पुगेर खोज्नु, संरक्षण गर्नु सहज छैन । ज्ञानको बाटो यसै पनि कष्टसाध्य नै हुन्छ ।
गुडीयानमा गुडिरहँदा ज्ञानका कुरा भए । धुलिखेलबाट बाटो सोझिनेबित्तिकै गुडीगोष्ठी सुरु भयो । आयोजक संस्था लोकवार्ता परिषद्का महासचिव ध्रुवप्रसाद भट्टराईले परम्पराको स्मरण गराउँदै गुडीगोष्ठीमा व्यासासनको आरम्भ गर्नुभयो । व्यासासनमा बसेर प्रेमकुमार खत्री, गणेशप्रसाद घिमिरे, षडानन्द पैड्याल, प्रवीण पुमा, शशी थापा पण्डित, अम्बादत्त भट्ट, चन्द्र वाम्बुले, ध्रुवकुमार घिमिरे, हुमकान्त पाण्डे, राजेन्द्रकुमार आचार्य आदिले आआफ्नो ज्ञानको प्रस्तुति गर्नुभयो । तन्त्र, संस्कृति, लोकगीत, लोकभजन, लोकप्रथा, लोकजीवन, लोकविश्वास, चुटकिला जस्ता अनेक विषय प्रस्तुत भए । मैले केही गाउँखाने कथा हालेर केही अड्काएँ, केही गाउँ खाएँ, पाएँ । यसबाट ज्ञान, मनोरञ्जन वा समयकटनी भयो । साथै वक्ताले बोल्दा अङ्ग्रेजी शब्द घुसाएमा प्रतिशब्दको पचास रुपियाँ दान गर्नुपर्ने मान्यता बनाइएको थियो । अम्बादत्त भट्ट परिषद्का कोषाध्यक्षका हैसियतले बहीखाता लिएर बस्नुभएको थियो । हामी कुरा त गर्छौं, तर कति आसावधान छौँ भने अङ्ग्रेजी शब्द बोलिहाल्दा रहेछौँ । मैले दुई शब्द बोलेछु । कसैले तीन, कसैले चार, कसैले पाँच, कसैले सात-आठ-दश-एघार पनि । कोही भने शून्य । गत वर्ष कर्णाली जाँदा-आउँदा यसबाट ७,५००।- आमदानी भएको थियो सायद । त्यस बेला भक्त राई, माधवप्रसाद पोखरेल, राजेन्द्र कुँवर पनि हुनुहुन्थ्यो । बाटो यसभन्दा धेरै राम्रो थियो । यसपल्ट बाटो सहज थिएन । गुडीगोष्ठीमा व्यासासनले निरन्तरता पाइरहन पनि सकेन । त्यसैले अङ्ग्रेजी शब्द धेरै फुत्किन पाएनन् । अङ्ग्रेजी शब्द बोलिएला भनेर कति त चुपचाप ! चुपचाप !! मौनव्रत !!!
सेउली शौच, बाटाको अवस्था-दुर्दशाले गर्दा गुडीगोष्ठी सुचारु भइरहन सकेन । बेला बेलामा स्वल्प भए पनि पेटपूजा पनि हुनैपर्ने !
Picture : Praveen Puma
ओखलढुङ्गाको हर्कपुर पुगेपछि भोजनको समय भयो । पुलको मुखमै गुडी रोकेर हात जोड्दै एक जना भद्र व्यक्तिको आबाज गुन्जियो, “म दिलीप राई, यहाँहरूलाई स्वागत छ, यहाँ ।” दिलीप राईले स्वागत गर्नुभयो र हामीलाई अमिसा होटलमा लग्नुभयो । पहिले कहीँ देखे देखे जस्तो लाग्ने सरल व्यक्तित्व दिलीप राईसँग परिचित भयौँ । उहाँले आफू व्याकुल माइलाको भाइ भएको र पेसाले शिक्षक भएको बताउनुभयो । व्याकुल माइलाका भाइसँग भेट्दामात्र पनि हामीलाई खुसीको अनुभूति भयो, “आहा ! व्याकुल माइलाको भाइ !?”
खाना खाँदा दिनको एक बजेको हुँदो हो ।
कतिखेर भेट्न पाइएला व्याकुल माइलालाई ? यस प्रश्नले हामी अधिकांशलाई आकुल-व्याकुल बनाइरह्यो । खाना खाईवरी हामी उही गुडीमा आआफ्नो आसनस्थ भयौँ । गुडी सुनकोसीलाई तल तल पार्दै आफू उँभो उँभो लाग्यो । अनेक घुम्ती र घमाउरो बाटो काट्दै अलिक उकालोमै पुगेपछि हलेसी (खोटाङ) जाने बाटो दुधकोसीतिर ओरालियो । हामी ओखलढुङ्गा र सोलुखुम्बु जाने सिद्धिचरण मार्ग नछाडी अझ उँभोतिर लाग्यौँ ।
मानेभन्ज्याङ-६, हिलेपानीमा पुग्दा बाटोमा आकासे निलो रङको पोसाक लगाएका एक हुल विद्यार्थी भेटिए । केही शिक्षक जस्ता लाग्नेहरू पनि त्यहीँ थिए । “रोक ! रोक !! रोक !!!” प्रवीण पुमाले गुडी रोकाउनुभयो । हामी त्यहीँ ओर्लियौँ । त्यहीँ भेटायौँ, सयौँ थुँगा फूललाई, करोडौँ नेपाली धुकधुकीलाई । “सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली….!” हाम्रो अहिलेको राष्ट्रगानका रचयिता प्रदीपकुमार राई अर्थात् व्याकुल माइला हामीलाई स्वागत गर्न पर्खेर बस्नुभएको रहेछ । ओखलढुङ्गाको मानेभन्ज्याङ, थाक्लेमा २०२९ चैत २५ गते जन्मनुभएको व्याकुल माइलाले नै सङ्घीय गणतन्त्र नेपालको यो राष्ट्रगानको रचना गर्नुभएको हो । आमा धनलक्ष्मी र बुबा मानबहादुर राईका माइला छोरा व्याकुल माइलाका एक दाजु, एक दिदी र एक भाइ छन् । एक श्रीमती र दुई छोरी छन् । “दाइ नरेश राई पढ्न लेख्नमा भन्दा खेतीकिसानीमा जोड दिनुहुन्छ ।” यो भनाइ व्याकुल माइलाको हो । वाम्बुले राई मातृभाषी व्याकुल माइलाले कानुनमा स्नातक र जनप्रशासनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँको लेखन यात्रा २०४६ सालबाट सुरु भएको भए पनि उहाँको पहिलो कविता समीक्षा साप्ताहिक पत्रिकामा २०४८ मा छापिएको थियो । त्यसपछि उहाँका नेपाली र वाम्बुले राई भाषामा गरी सयौँ रचना प्रकाशित भएका छन् । अन्तरिम संसद्का सभामुख सुवासचन्द्र नेम्वाङको सभापतित्वमा बसेको संसद्ले २०६४ साउन १८ मा उहाँको रचनालाई राष्ट्रगानको औपचारिक घोषणा गरेको थियो । त्यहाँदेखि यता करोडौँ नेपालीले लाखौँपटक राष्ट्रगान गाउँदै आएका छन् । यसलाई अम्बर गुरुङले सङ्गीत दिनुभएको छ । २०७२ को संविधानले पनि यसैलाई नेपालको राष्ट्रगान स्वीकार गरको छ । यस्तो गीतका रचनाकार करोडौँ नेपालीका धुकधुकी व्याकुल माइला स्वयम् हाम्रो स्वागतमा दलबलसहित उपस्थित भएको पाउँदा हाम्रो खुसीको सीमा नै रहेन ।
मैले पनि व्याकुल माइलालाई प्रत्यक्षतः भेटेको बल्लै हो ।
मूल सडक ओखलढुङ्गाको सदरमुकाम हुँदै सोलुतिर सुइँकियो । हामी यहीँ रोकियौँ एक छिन, अनि उकालो लाग्यौँ, सिरानगाउँतिर । व्याकुल माइलाको घर (अब प्रतिष्ठान) मूल सडकदेखि थोरै माथ्थेर रहेछ । करिब एक किलोमिटर जति उकालो हिँड्यौँ । डोबेका मकै भरखर उम्रिँदै थिए । कान्ला र छेउकुनामा निउराहरू मुन्टो निकाल्दै थिए । सिस्नो घारीले हामीलाई हेर्दै थिए, नौलो मानेर । हामी स्थानीय पाखापखेरा र वृक्षवनस्पति नियाल्दै उक्लिँदै गर्दा प्रतिष्ठानको आँगनमै पुगेछौँ । आँगनमा व्याकुल माइला प्रतिष्ठान (फाउन्डेसन) का पदाधिकारी, विद्यार्थी, आमा समूह, युवा समूह र ग्रामीण नरनारीहरूको बाक्लो जमघट थियो । हामी हरेकलाई फूलमाला लगाइदिएर हाम्रो भव्य स्वागत-सत्कार गरियो । त्यो आफ्नो ठाउँमा छ । व्याकुल माइलाकै घरआँगन र गाउँठाउँमा पुग्दा झनै खुसी लाग्यो । सो ठाउँको घरजग्गा उहाँले व्याकुल माइला प्रतिष्ठानलाई समर्पण गर्नुभएको रहेछ । घर अहिले सङ्ग्रहालय भएछ । घरको छेउमा सभाकक्ष र विश्राम कक्ष बनाउने योजना रहेछ । यो अर्को खुसीको विषय हो ।
Pictutre : Praveen Puma
व्याकुल माइला प्रतिष्ठानको अवलोकन गरेपछि मलाई लाग्यो, यो व्याकुल माइलाको महानता हो । तर प्रतिष्ठानका लागि १४ आना जमिन अत्यन्त न्यून हुन्छ । त्यसैले यसको क्षेत्र विस्तार गर्नु, भौतिक विकास गरेर यहाँसम्म आउने बाटो सहज बनाएर यसलाई एक साहित्यिक-सांस्कृतिक तीर्थ वा पर्यटन क्षेत्र बनाउनु जरुरी छ । यसबाट पर्यटन प्रवर्धन भई राष्ट्रनिर्माणमा सघाउ पुग्ने देखिन्छ । मेरो भनाइमा व्याकुल माइलाले समर्थनको टाउको मात्र हल्लाउनुभयो । मुखले केही भन्नुभएन । कम बोल्ने बानी रहेछ, उहाँको ।
मलाई लाग्यो, उहाँले आफ्नो घरजग्गा प्रतिष्ठानलाई समर्पण गर्नुभयो । बाँकी काम त अब समाज र राज्यको पो हो ।
दिन ढल्न लाग्दा बल्ल औपचारिक कार्यक्रम सुरु भयो । मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष हेमराज राईको अध्यक्षता र मनजीत राई ‘मानव’को सञ्चालनमा सम्पन्न सो कार्यक्रममा हामी काठमाडौँलगायतका स्थानबाट पुगेका सबै सहभागी विशिष्ट अतिथिका रूपमा वरण भयौँ । साथै व्याकुल माइला, व्याकुल माइला प्रतिष्ठानका अध्यक्ष नानुकला राई, मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली राई, उपाध्यक्ष अस्राचन राई, मनराज राई, गायत्रीप्रसाद, सुदेशकुमार राई, पूर्णबहादुर राई, गुमसरी राई, धनसिंह राई, दिलीप राई, महादेवस्थान माविका प्रअ शम्भुप्रसाद साह, कृष्णकुमार राई, आमा समूहका आमाहरू र युवा क्लबका युवाहरूको उपस्थिति थियो ।
मानेभन्ज्याङमा विशेष गरी वाम्बुले राईको जनघनत्व बढी रहेछ । सबैले वाम्बुले भाषा बोल्दा रहेछन् । वाम्बुले भाषाको पाठ्यक्रम बनेर पनि यस भाषामा पढाइ नभएकोमा वाम्बुले भाषीहरूको गुनासो रहेछ । मन्तव्यमा यसको छनक पाइयो ।
चालिसको दशकदेखि वाम्बुले राई भाषाको अध्ययनमा निरन्तर लागिरहेका गणेश वाम्बुले राईले गाउँको नाम हिलेपानी भए पनि यो सुख्खा क्षेत्र भएको बताउनुभयो । ध्रुवप्रसाद भट्टराईले लोकज्ञान लोकमै रहेकाले हामी लोकज्ञानको खोजी गर्दै लोक वा गाउँ गाउँमा आएको बताउनुभयो । व्याकुल माइलाले लोकसंस्कृति र प्रकृतिको संरक्षण नगरी पर्यटन प्रवर्धन हुँदैन भने पर्यटनबिना मुलुकको अर्थतन्त्र उकास्न सकिन्न भनेर ठोकुवा गर्नुभयो । कुरा धेरै भए ।
भलाकुसारीका क्रममा व्याकुल माइलाले भन्नुभयो, “हिलेपानीमा वोम्बुले राई नै धेरै छन् ।” वाम्बुलेलाई उहाँहरू वोम्बुले भन्नुहुँदो रहेछ ।
कोपिला दाहाल (८०) को नेतृत्वमा नवज्योति आमा समूहबाट सँगिना गाइयो र नाचियो पनि । खोजे अझै त छन्, लोकसंस्कृतिका स्रोतव्यक्तिहरू ! कुलराज निरौला ताप्लेजुङ-भोजपुरको सँगिनी र यहाँको सँगिनाको तुलना गर्नमा व्यस्त देखिनुभयो । महादेवस्थान माविका भाइबहिनीहरूले वाम्बुले राई भाषामा ग्रामगान सुनाए । वाम्बुले राई समूहबाट सांस्कृतिक नाचगान प्रस्तुत गरियो । दुई दिदीबहिनीबाट बिनायो बाजा बजाएर सुनाइयो । सङ्गीतमय बन्यो, सभा । मिर्मिरे आमा समूह र गरिमा आमा समूहले संयुक्त रूपमा हराउनै लागेको रामदले भाका प्रस्तुत गरे । परम्परागत चाडपर्व, ख्याली, रामदले भाका आदिको प्रचलन घट्दै गएकोमा वक्ताहरूले चिन्ता व्यक्त गरे । हो ह्रास हुँदै गएको छ । समाप्तै भइहालेको चाहिँ छैन । यस्तो समयमा त्यसको सङ्कलन गरेर, छायाङ्कन गरेर पछिका पुस्ताका लागि साँचेर राख्नुपर्छ र राख्न सकिन्छ । हामी यही लक्ष्य र सन्देश लिएर चौध वर्षदेखि गाउँ गाउँ पुग्ने गरेका छौँ ।
हामीलाई पाएर उहाँहरू खुसी, उहाँहरूलाई पाएर हामी खुसी । खुसी खुसीले दही-चिउरा मिठो मानेर थपी थपी खायौँ । चियाको तलतल नलागेको होहन, तर यता चिया भने हतपती पाइँदो रहेनछ । चिया संस्कृतिले गाँजिसकेको रहेनछ, यस गाउँलाई ।
दुधकोसीपारिबाट खोटाङले हामीलाई ट्वालट्वाल्ती हेरिरहेको थियो ।
कार्यक्रम सकिँदा सात बज्यो । हामी भिरालो डोरेटो बाटो अँध्यारोमा छामछामछुमछुम गर्दै तल गुडी रोकेको ठाउँमा पुग्यौँ । पुग्यौँ भनेको त होइन रहेछ । गासका लागि तल र बासका लागि अझ तल जानुपर्ने रहेछ । थकाइले गर्दा कतै पुर्लुङ्ङ पल्टिन पाए हुन्थ्यो भन्ने लागेको थियो । पाइएन । झिटीगुन्टा बोकेर अँध्यारोमा नहिँडेको बाटो कसरी हिँड्ने ? तर नहिँडी सुख थिएन । “यहीँ तलतिर हो, तीन मिनेटको बाटो ।” सायद सुदेश राईले भन्नुभयो । करिब १५ मिनेट हिँडेर- घिस्रिएर तल पुगेपछि हामीलाई एउटा घरको आँगनमा रोकियो । पुगिएछ भनेर लामो सास फेरेको त होहन रहेछ । यो त खाना खाने ठाउँ भोजनालय रहेछ । गास यहाँ रहेछ, बास अझ तल महादेवस्थान माविमा । हामी खाना खाएर एकैपटक बासमा पुग्ने गरी रोकियौँ । ध्रुवकुमार घिमिरे, तेजप्रकाश श्रेष्ठलगायतका साथीहरू बासमा पुगेर झोलाझाम्टा बिसाएर गास टिप्न आउने गरी तल झर्नुभयो ।
हामी गास टिपेर बासमा पुग्यौँ । हाम्रो शयनकक्षमा दुईवटा खाट थिए । तेजप्रकाश श्रेष्ठ र म एउटा खाटमा तथा ध्रुवकुमार घिमिरे र अम्बादत्त भट्ट अर्को खाटमा । ओढ्ने ओछ्याउने सबै नयाँ र सफा थिए । खाटमा पल्टेर हेरेँ । भित्तामा छजनाको नाम हातले लेखेर टाँसेको देखेँ । केही छापिएका भित्ते चित्र थिए । भित्ते पङ्खा थियो । भुइँमा दरी (कार्पेट) ओछ्याइएको थियो । सायद त्यो कक्षा १ या २ को अध्ययन कक्ष थियो । भित्तामा रहेका नाम छात्रछात्राको थियो । सबैको थर राई । पछि थाहा भयो, महादेवस्थान माविका सबै छात्रछात्रा वाम्बुले राईमात्र रहेछन्, यतिखेर । फेरि पनि यहाँ वाम्बुले राई भाषामा पठनपाठन नभएकोमा जनगुनासो रहेछ ।
Picture : Praveen Puma(2028)
दोस्रो दिन जेठ २ गते बिहान ४ बजेदेखि नै लोकवार्तविद्हरू क्रमशः उठे, शौच र स्नान पनि गरे, कसै कसैले । सबै सुविधा भए पनि स्नानागार थिएन । छेउमै रहेको मण्डली प्राङ्गणमा स्नानका लागि उपयुक्त धारो भेटियो । हामी केहीले त्यसको उपयोग गर्न चुकेनौँ ।
सङ्गोष्ठी सत्र ११ बजेपछि मात्र हुने भएकाले बिहानको समयको सदुपयोग गर्दै ओखलढुङ्गा बजारको लोकज्ञान चाखेर अनि सिद्धिचरण श्रेष्ठको प्रतिमासँग भलाकुसारी गरी आउने सूचना पाइयो, तर तयार भएपछि सो कार्यक्रम रद्द भएको जानकारी पो पाइयो । ज्या ! कतिले त अझै जाम् जाम् भने, तर त्यो तोलाको बोली खोलामा गयो । बुझ्नुपर्नेले कुरा नबुझेपछि कसको के लाग्दो रहेछ र ?
बिहानको समय चियाको तलतल लागिहाल्यो । कतै पाइए पो ! यता र उति प्रकृति, संस्कृति र लोकजीवन बुझ्दै हिँडिरह्यौँ । एक्कासि कुलराज निरौला, षडानन्द पौड्याल, हुमकान्त पाण्डे र म भेटिएपछि हाम्रो टोली बन्यो । महादेवस्थान माविबाट पल्लो छेउसम्म गयौँ अनि फेरि यता देउराली भन्ज्याङसम्म पुग्यौँ । यहीँबाट हर्कपुर, हलेसी र ओखलढुङ्गा जाने बाटो छुट्टिन्छ । यहाँबाट हलेसी ४० किलोमिटर, काठमाडौँ १८० किलोमिटर र ओखलढुङ्गा २५ किलोमिटर दुरीमा रहेछन् । भन्ज्याङका कुनै पसलमा पनि चिया पाइएन । अम्मरबहादुर राईको पसलमा पस्यौँ, बस्यौँ, कुरा गर्यौँ । कुरैले काम चलायौँ । वाम्बुले राईको जन्म संस्कार, विवाह संस्कार र मृत्यु संस्कारका बारेमा कोट्याई कोट्याई उहाँका कुरा सुन्यौँ । उहाँले धेरै कुरा भनिसकेपछि अन्तमा भन्नुभयो, “यसका बारेमा उपाध्यक्ष अस्राचन राईलाई बढी थाहा छ ।”
हिलेपानीबाट दुधकोसीपारि खोटाङ देखिँदो रहेछ, सुनकोसीपारि उदयपुर र रामेछापका केही डाँडाकाँडा पानि देखिँदा रहेछन् ।
न हिलो न पानी फेरि पनि किन भनियो हिलेपानी ? जिज्ञासा मेटिएकै छैन । फर्किने क्रममा महादेवस्थानको अवलोकन पनि गर्यौँ ।
भोजनपश्चात् गोष्ठी सुरु भयो । गोष्ठी दुई सत्रमा भए । गोष्ठीमा प्रा.डा. प्रेम खत्री, प्रा.डा. भवेश्वर पंगेनी, व्याकुल माइला, मनराज राई, गणेश राई, शुभकर्ण राई, डा. गणेशप्रसाद घिमिरे, इन्द्र जावा राई, निष्ठा राई, चन्द्र वाम्बुले, राजेन्द्रकुमार आचार्य, डा. शशि थापा पण्डित, गगन राई आदिले गोष्ठीपत्र प्रस्तुत गर्नुभयो । गोष्ठीपत्र लोकभाषा, लोकज्ञान, लोकसंस्कृति र लोकपरम्परासित सम्बन्धित थिए । नयाँ पुस्ता निष्ठा राईले नयाँ विषयमा नयाँ तरिकाले कार्यपत्र प्रस्तुत गर्नुभयो । लोकज्ञानप्रति के पुराना के नयाँ सबैको चिन्ता र चासो देखियो ।
चिया-खाजापछि अपराह्न ४ बजेपछि समूह छलफल भयो । छलफलमा मानेभन्ज्याङ गापाका उपाध्यक्ष अस्राचन राई, प्रा.डा. प्रेमकुमार खत्री, उन्नबहादुर राई, प्रा.डा. भवेश्वर पंगेनी, प्रा.डा. ध्रुवकुमार घिमिरे, गुरुप्रसाद दाहाल, प्रा.डा. ध्रुवप्रसाद भट्टराई, युवराज राई सहभागी हुनुभयो । म पनि विज्ञका रूपमा सहभागी भएँ । छलफलमा लोकज्ञान र लोकसंस्कृतिको पुस्तान्तरण कसरी गर्न सकिन्छ भनेर वक्ताहरूले आआफ्ना धारणा राख्नुभयो । छलफलका सारका रूपमा अघिल्लो पुस्ता सजग हुने, स्थानीय पाठ्यक्रममा लोकसंस्कृति र लोकज्ञानका सामग्रीलाई समेत समावेश गर्ने सुझाउ आए ।
मानेभन्ज्याङमा हाम्रै सामुन्ने रहेको सिद्धेश्वर पर्वतलाई सिद्धेश्वर धामका रूपमा कसरी रमणीय सांस्कृतिक पर्यटकीय स्थलका रूपमा विकसित गर्न सकिन्छ भन्ने बारेमा पनि विशद छलफल भयो । छलफल चलिरहँदा सिद्धेश्वर पर्वत हामीतिर हेरेर मुसुक्क मुस्कुराए झैँ लाग्यो । खुसी व्यक्त गरेको हो कि व्यङ्ग्य ? त्यो चाहिँ मैले खुट्ट्याउन सकिनँ । महादेवस्थान माविका प्रअ शम्भुप्रसाद साहलाई हिलेपानीले राम्रैसँग मुहुनी लगाएछ । २८ वर्ष भयो रे यहाँ पढाउन थालेको । कति धैर्य, कति लगनशीलता, कति माया हिलेपानीको ! जय शम्भो भन्न मन लाग्यो ।
ठुलो साँझ पर्दा पनि कार्यक्रम चलिरह्यो । अन्त्यमा लोकज्ञानका संवाहकलाई सम्मान तथा साकेला आदि सांस्कृतिक झलक प्रस्तुत गर्दै ओखलढुङ्गामा भएको दुई दिवसीय लोकवार्ता सङ्गोष्ठीको समापन गरियो । गोष्ठीपत्र र छलफलबाट ओखलढुङ्गाको लोकभाषा, लोकसंस्कृति, लोकज्ञान र अहिलेका पुस्ताको अवस्थाका बारेमा चिन्ता र चासो बुझ्न पाइयो । चिन्ता रहेछ, तर समाधानको योजना कतै देखिएन । समस्याबाट सबै सुपरिचित र मुक्तभोगी रहेछन् । समाधानको उपाय कसैसित भए जस्तो लोगन । हो समस्या यहीँ नै देख्छु म ।
ओखलढुङ्गाले मलाई भावुक बनायो । गम्भीर बनायो । सोचमा डुबायो । केके नै गरेँ भनेको त अझ धेरै रहेछ, मैले गर्न । मलाई पाठ सिकायो, ओखलढुङ्गाले ।
सङ्गोष्ठी सकेर कुप्लुक्क खायौँ र प्यारो ओखलढुङ्गाका काखमा घुप्लुक्क सुत्यौँ, भुसुक्क निदायौँ । किनभने पेटको भोक मरे पनि ज्ञानको भोक अझ बाँकी नै थियो, हाम्रो । भोलि बिहानै ओखलढुङ्गासित बिदा लिएर खुट्टा उचाल्नु छ, खोटाङतिर ।
०००
२०८३ जेठ ९ युगकवि सिद्धिचरण श्रेष्ठ जन्मजयन्ती
Picture : Praveen Puma(2028)






