लिम्बू राजनीतिक सहभागिताको अभिलेख र समावेशिताको प्रश्न

मदनकुमार चोङबाङको ‘नेपालको राजनीतिमा लिम्बूहरूको सहभागिता’ नामक पुस्तकमा नेपाली राजनीतिक इतिहासलाई समुदायको दृष्टिबाट अध्ययन गर्ने महत्त्वपूर्ण कार्य भएको छ । पुस्तकले याक्थुङ–लिम्बू समुदायको ऐतिहासिक शासनपरम्परा, राज्यसँगको सम्बन्ध, राजनीतिक आन्दोलन र विभिन्न तहको प्रतिनिधित्वलाई समेट्छ। यसको मूल प्रश्न छ—व्यवस्था परिवर्तनसँगै लिम्बूहरूको राजनीतिक हैसियत र निर्णय प्रक्रियामा पहुँच कति बदलियो? यही प्रश्नको उत्तर खोज्दै लेखकले इतिहास, राजनीतिक सिद्धान्त र जनप्रतिनिधिहरूको विवरणलाई एउटै कृतिमा जोड्ने प्रयास गरेका छन्।
लेखक चोङबाङ विद्यार्थी राजनीतिमा सक्रिय रहिसकेका सङ्गीतकर्मी, साहित्यकार तथा समाजसेवी हुन्। उनको लेखनमा समुदायको इतिहासप्रतिको चासो र राजनीतिक सहभागिताप्रतिको प्रतिबद्धता स्पष्ट देखिन्छ।
दुई खण्ड र छ अध्यायमा विभाजित पुस्तकको पहिलो भाग राजनीतिक सहभागिताको सैद्धान्तिक आधारमा केन्द्रित छ। सहभागिताको अर्थ, स्वरूप, स्तर, साधन, राजनीतिक उदासीनता तथा लोकतन्त्रसँगको सम्बन्धबारे चर्चा गरिएको छ। राजनीतिलाई मतदान वा पदप्राप्तिमा मात्र सीमित नगरी सार्वजनिक निर्णयमा नागरिकको संलग्नतासँग जोड्नु यस खण्डको उपयोगी पक्ष हो। यसले पछिल्लो खण्डमा प्रस्तुत लिम्बू प्रतिनिधित्वका विवरण बुझ्न अवधारणात्मक आधार दिन्छ। यद्यपि कतिपय सैद्धान्तिक व्याख्यालाई समुदायका ठोस अनुभवसँग अझ प्रत्यक्ष जोड्न सकिन्थ्यो।
दोस्रो खण्ड पुस्तकको मुख्य आकर्षण हो। यसमा लिम्बू समुदाय, याक्थुङ नाम, ऐतिहासिक लिम्बुवान, जनसङ्ख्या र राजनीतिक सहभागिताको विकासक्रम समेटिएको छ। लेखकले राजनीतिक असहभागिता, सीमित सहभागिता र आम जनसहभागिताका कालखण्डमार्फत इतिहासलाई व्यवस्थित गर्ने प्रयास गरेका छन्। सेन तथा शाहकालीन सम्बन्ध, किपट र अधिकार कटौतीका प्रसङ्गलाई उनले वर्तमान प्रतिनिधित्वको प्रश्नसँग जोडेका छन्। यी विषयमा पुस्तकको दृष्टिकोण समुदायको अधिकार र ऐतिहासिक वञ्चितीकरणप्रति स्पष्ट रूपमा संवेदनशील छ।
कृतिको सबैभन्दा ठोस योगदान विभिन्न निर्वाचन, सरकार, स्थानीय निकाय, विद्यार्थी सङ्गठन र राजनीतिक दलमा संलग्न लिम्बू व्यक्तिहरूको विवरण सङ्कलन हो। राष्ट्रिय पञ्चायतदेखि प्रतिनिधिसभा, संविधानसभा र प्रदेशसभासम्मका विवरणसँगै प्रधानपञ्च, स्थानीय अध्यक्ष तथा जिल्ला तहका नेतृत्वसमेत समेटिएका छन्। राष्ट्रिय चर्चामा नआएका स्थानीय व्यक्तिहरूलाई अभिलेखमा स्थान दिनुले पुस्तकको महत्त्व बढाएको छ। राजनीतिक इतिहास केही प्रसिद्ध नेताको जीवनीमा सीमित हुने प्रवृत्तिबीच यस्तो सङ्कलनले सामुदायिक स्मृति जोगाउन सहयोग गर्छ।
अनुसन्धानका लागि लेखकले अवलोकन, सर्वेक्षण, अन्तर्वार्ता र प्रकाशित सामग्रीको अध्ययन प्रयोग गरेको उल्लेख गरेका छन्। निर्वाचन आयोगका प्रकाशन, इतिहाससम्बन्धी पुस्तक, स्थानीय जनप्रतिनिधिका सङ्ग्रह तथा अन्य सन्दर्भको उपयोग गरिएको छ। परिशिष्टमा ऐतिहासिक दस्तावेजका प्रतिलिपि, व्यक्तित्वका तस्बिर, जानकारी दिने व्यक्तिहरूको सूची र प्रश्नावली राखिनु सकारात्मक पक्ष हो। यसले सामग्री सङ्कलनको आधार बुझ्न मद्दत गर्छ। भूमिकामा भगिराज इङ्नामले कृतिलाई लिम्बू राजनीतिक सहभागिताको विश्वकोशीय सङ्ग्रहका रूपमा मूल्याङ्कन गरेका छन्।
तर अभिलेखीकरणको विस्तारसँगै विश्लेषणको गहिराइ सबै ठाउँमा समान छैन। को, कहिले, कुन पदमा पुगे भन्ने विवरणले प्रतिनिधित्व देखाउँछ; उनीहरूको उपस्थितिले शिक्षा, भाषा, भूमि, रोजगारी वा समुदायको अधिकारमा के परिवर्तन ल्यायो भन्ने प्रश्न भने अझ विस्तृत अध्ययन माग्छ। पदमा पहुँच र समुदायको वास्तविक सशक्तीकरणबीचको अन्तर छुट्याउन सकिए पुस्तकको निष्कर्ष थप प्रभावकारी बन्ने थियो। व्यक्तिको सफलता स्वतः सम्पूर्ण समुदायको उपलब्धि हुन्छ भन्ने मान्यतालाई पनि परीक्षण गर्न आवश्यक देखिन्छ।
त्यस्तै, लिम्बू महिलाको सहभागिता, आर्थिक वर्ग, भौगोलिक असमानता र पुस्तागत भिन्नतालाई छुट्टाछुट्टै विश्लेषण गर्दा चित्र अझ रोचक हुनेथियो सायद । जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व, उम्मेदवारीको तुलनामा निर्वाचित सङ्ख्या तथा दलअनुसार अवसरको तुलना उपयोगी छ । अन्तर्वार्ताका सहभागी छनोट गर्ने आधार र प्राप्त जानकारी पुष्टि गर्ने प्रक्रियाको विस्तृत व्याख्याले अनुसन्धानको विश्वसनीयता बढाएको छ । ऐतिहासिक व्याख्यामा लेखकको मूल्याङ्कन, मौखिक परम्परा र दस्तावेजले पुष्टि गर्ने तथ्यबीच स्पष्ट भिन्नता राख्नु पनि आवश्यक छ।
समग्रमा, चोङबाङको कृति नेपालको राजनीतिक इतिहासमा लिम्बू समुदायको उपस्थिति पहिल्याउने उपयोगी आधारग्रन्थ हो। यसको प्रमुख शक्ति छरिएका विवरण एकत्रित गर्नु र प्रतिनिधित्वको प्रश्नलाई लोकतन्त्रको गुणस्तरसँग जोड्नुमा छ। यसले समुदायभित्र राजनीतिक आत्मसमीक्षाको अवसरसमेत दिन्छ। अभिलेखलाई थप तुलनात्मक विश्लेषण र नीतिगत परिणामसँग जोड्न सके यसको प्रभाव अझ व्यापक हुनेछ। लिम्बू इतिहास, आदिवासी राजनीति र समावेशी लोकतन्त्रमा रुचि राख्ने पाठकका लागि पुस्तक अध्ययनयोग्य छ।
– विश्वास दीप तिगेला






