मृत्युको सौन्दर्य – सुनिता राई कन्दङवा
जीवन आगमन जस्तै सुन्दर
किन हुँदैन होला अन्त्य !
म सोचाइको भुमरीमा फन्फनी घुमिरहेछु
ठिक यो घडी
अबचेतनको ब्रह्माण्ड भित्र
अस्पतालका शैय्यहरुमा
मृत्युसँग लडिरहेका
यी तमाम आँखाहरु
उघृन्छन् कि उघृदैनन् होला
पुनः यो संसार नियाल्न
~ : ~
मलाई सोधुँ लाग्छ
युगौदेखी आस्था र विश्वास बोकि उभिएको
माथी देउरालीको भुमेश्वरलाई
के यस्तै हुन्छ
मृत्युको सौन्दर्य !
व्यर्थ व्यर्थ लाग्छन्
पुरै जिन्दगी खर्चेर आर्जेका
ती सारा मान/सम्मान, ऐश्वर्य र प्रतिष्ठा
अस्तित्वमा रहनु या नरहनुको संकेतहरु
जब
कुदिरहेका हुन्छन्
मनिटर (मेसिन ) स्कृन भित्रका हाइवेमा
त्रेता युगका वामन बाका पग झैँ
घरी स्वर्ग त घरी पाताल
मापन गर्न पुग्छन्
ती संकेतहरु …
मुटुका धड्कनहरु..
अनगिन्ती धमनीहरु..
सायद
जिन्दगीका अन्तिम श्वास हुन ती
जो होसियार-पुर्वक प्रवाहित भैरहेछन् ..
मृत्युको सौन्दर्य
यदि यहि या यस्तै हुन्छ भने
सुन !
हे विधाता
तिम्रो मृत्युु पनि यहि विधिमा हुनुपर्छ
तिमीले पनि यस्तै दुख/पीडाहरु भोग्नुपर्छ
म उतार्दैछु यी सचित्रहरु
यी दर्दनाक दृश्यहरु
र
कोर्दैछु
ती नउघृएका आँखाहरुबाट
तप्-तप चुहिएका आँशुले
अथाह
आहतका कथा/व्यथाहरु
हेर यो दस्तावेज
तिम्रो विधातालाई लेख्दैछु
के यस्तै हुन्छ
मृत्युको सौन्दर्य !
(अब्स्ट्रयाक आर्ट सोन्जय मौर्य-फोटो क्रेडिट गुगल)