विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
गण्डकी, ३ फेब्रुवरी २०२३, सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त हुनुभएको छैन । ‘विसङ्गत अभिरुचि’ उहाँको पछिल्लो संस्मरण कृति हो ।
सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती र सङ्घर्षका क्षणलाई उहाँले पुस्तकमा लिपिबद्ध गर्नुभएको छ । उहाँकै भाषामा प्रशासनिक क्षेत्रमा लुकेका बेथिति र विकृतिको उजागर पनि हो- ‘विसङ्गत अभिरुचि’ । “पुस्तक लेखेर समाजलाई सत्य थाहा दिने धोको पुरा गरेको छु”, बानियाँले भन्नुभयो ।
बनावटी कथन र भावनात्मक संवेग लेखनको उद्देश्य नरहेको बानियाँले प्रस्ट पार्नुभयो । कृतिमा २८ शीर्षकका सस्मरण छन् । बत्तिस वर्ष मालअड्डामा जागिरे जीवन बिताउनुभएका उहाँले पुस्तकमा बढीजसो जग्गा प्रशासनमा भएका अवाञ्छित क्रियाकलापको पर्दाफास गर्नुभएका छन् ।
कर्मचारीतन्त्रमा हुने भ्रष्टचार, अनियमितता र ज्यादतिविरुद्ध उहाँले निर्भयतापूर्वक कलम चलाउनुभएको छ । गैरकानुनी कामलाई सदर नगर्दा कार्यकक्षमै पेस्तोल ताकेर ज्यान लिने प्रयास भएकोसम्मका घटनालाई बानियाँले संस्मरणमा समेट्नुभएको छ ।
कार्यालय प्रमुखको थिचोमिचो, सरुवामा भएको चलखेल, वर्षौँसम्म एउटै पदमा रहिरहँदाको मनादेशालाई उहाँले सजीवरूपमा उतार्नुभएको छ । कपितय पात्र र प्रवृत्तिबारे उहाँले खुलेरै प्रतिवाद गर्नुभएको छ । “सरकारी सेवामा रहँदा देखेभोगेका मिठानमिठा अनुभवलाई दबाएर राख्न सकिन, अनि लेखेँ”, बानियाँले भन्नुभयो ।
हालै म्याग्दीमा भएको कृतिको लोकार्पण समारोहमा बोल्दै मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँले कृष्णले आँट जुटाएर संस्मरण लेखेको बताउनुभयो । “म आफैँ भएको भए पनि यसरी लेख्न सक्ने थिइँन, संस्मरणमा हिम्मतिला कथाहरू छन्”, उहाँले भन्नुभयो, “समाज र राज्यव्यवस्थाका विकृत पक्षलाई पुस्तकले बाहिर ल्याइदिएको छ ।”
धवलागिरि बहुमुखी क्याम्पसका प्रा डा दिनबहादुर थापाले भ्रष्ट, अविवेकी कर्मचारीतन्त्र, माफिया संयन्त्र, सामन्ती र अन्धविश्वासी संस्कारप्रति लेखक बानियाँले कटाक्ष गरेको बताउनुभयो । “निष्ठापूर्वक जागिर खाएर पनि अपमान, अभाव र विसङ्गत जीवन भोग्नुपरेको यथार्थलाई पुस्तकमा उजागर गरिएको छ”, उहाँले भन्नुभयो ।
पुस्तकले लेखकीय इमान्दारिता र सुक्ष्म घटनालाई उधिन्ने काम गरेको प्रा डा थापाले बताउनुभयो । घटना, दृश्य, पात्र र विषयवस्तुले कृतिलाई ओजिलो बनाएको उहाँले उल्लेख गर्नुभयो । लेखकले इमान्दार राष्ट्रसेवक, सेवाग्राही, निमुखा र असहायप्रति सहानुभूति दर्शाएको उहाँको टिप्पणी छ ।
पुस्तकमा निष्पक्षता, तटस्थता, नैतिकता र वस्तुगत अवस्थाप्रति लेखकीय इमान्दारिता कायम गरिएको प्रा डा थापाको भनाइ छ । समालोचक रामप्रसाद सुवेदीले बानियाँको संस्मरण कृतिले कर्मचारी प्रशासनभित्रको विसङ्गतिको फर्दाफास गरेको बताउनुभयो । पत्यारिला घटना शृङ्खला र सत्यमा आधारित रहेकाले संस्मरणको सैद्धान्तिक पक्षसँग पनि पुस्तकको सङ्गति मिलेको उहाँको कथन छ ।
“आत्मकथा काल्पनिक संसारको निर्माण होइन, लेखक सत्यको कसीमा खरो उत्रनुपर्छ, विश्वसनियता चाहिन्छ, यसमा बानियाँ सफल देखिनुभएको छ”, सुवेदीले भन्नुभयो, “संस्मरणमा निराशावादभित्र पनि आशावाद छ ।” केही शब्दगत त्रुटिका बाबजुद सरल र रोचक भाषाशैलीले पुस्तकमा ओज थपेको उहाँको भनाइ छ ।
“भ्रष्ट कर्मचारीतन्त्र, नातावाद, कृपावाद, तराईमा हुने गरेको जग्गाको अवचलन, सक्षम र इमान्दार कर्मचारीको नियतिजस्ता विषयलाई पुस्तकले उठान गरेको छ”, सुवेदीले भन्नुभयो, “पुस्तकले सार्वजनिक सेवा क्षेत्रका विसङ्गति हटाउन र सुशासन कायम गराउन सम्बद्ध पक्षलाई झक्झकाउँछ, यसबाट राज्य संयन्त्रले पाठ लिन सक्नुपर्छ ।”
कथानक शैलीमा लेखिएको पुस्तक पठनीय र जानकारीमूलक रहेको उहाँले बताउनुभयो । प्रशासनिक क्षेत्रबाहेक राजनीति, समाज, संस्कृति, आञ्चलिकता, प्रजातान्त्रिक आन्दोलनजस्ता विषयले पनि पुस्तकमा ठाउँ पाएका छन् । विसं २०३७ मा भएको जनमत सङ्ग्रहमा सहायक कर्मचारीका रुपमा म्याग्दीको ताकममा खटिएको प्रसङ्गलाई पनि बानियाँले उप्काउनुभएको छ ।
पर्वत राज्यको एतिहासिकतादेखि सरकारी सेवाका अवधिमा विभिन्न जिल्लामा पुग्दाका यात्रा वर्णनलाई पनि उहाँले पुस्तकमा समेट्नुभएको छ । “जति लेखेँ, इमान्दार भएर लेखेँ, गलत कुरा र प्रवृत्तिको विरोध गरेको छु, समाज र राज्य व्यवस्थाका कमीकमजोरी औँल्याएको छु”, बानियाँले भन्नुभयो, “मालपोतलाई भ्रष्ट अड्डाका रुपमा हेर्ने नजिरिया छ, म त्यसबाट जोगिएँ र इमानको बाटो समातेँ ।”
समाजसँग सङ्गति नमिलेका आफ्ना भोगाइ र विचारलाई पुस्तकको आकार दिएको उहाँले बताउनुभयो । बानियाँले पुस्तकको आखिरीतिर जागिरे जीवनबाट निवृत्त हुँदा खेत रोपाइँको मैजारोपछि जुवाबाट मुक्त भएको गौरुको काँधझैँ आफ्नो मनमष्तिष्कको बोझ हलुका भएको टिप्पणी गर्नुभएको छ ।
विसं २०३३ मा शिक्षक बनेर जागिरे जीवन सुरु गर्नुभएका बानियाँ विसं २०७४ मा मालपोत अधिकृतबाट सेवानिवृत्त हुनुभएको थियो । जागिरका सिलसिलामा उहाँ १६ जिल्ला पुग्नुभएको थियो । बत्तीस वर्ष मालपोत, साढे दुई वर्ष निर्वाचन आयोग, सामान्य प्रशासन मन्त्रालय र निजामति किताबखानामा एक वर्ष, गृह मन्त्रालयमा सात महिना र खानेपानी विभागमाले पाँच महिना काम गर्नुभएको थियो ।
म्याग्दीको बेनी नगरपालिका-७ मा जन्मनुभएका बानियाँको यसअघि ‘केही अनुभव : केही अनुभूति’ नियात्रा (२०६३), ‘म्याग्दीको बानियाँ बंश’ सामाजिक इतिहास (२०६५) र ‘पुलस्त्य-पुलहाश्रमको परिचय र महत्व’ धार्मिक इतिहास (२०६६) प्रकाशित छ । उहाँको पछिल्लो संस्मरण कृति ‘शिखा बुक्स’ले प्रकाशित गरेको हो । बानियाँ पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीका अध्यक्षसमेत हुनुहुन्छ ।