मिलन – जित बुढाथेकी छन्त्याल
चॉदनीरुपी मुहार अनी
मृगनयनी हेराईमा
फक्रेको त्यो वैंशालु जवानी
लजाउदै मुस्कुराउदा झनै चम्किला
हिमशिखरझैं सेतो दन्त्य लहरहरुले
मदहोशी बनेछु म आफै अनायासै
सजाई राखेछु दिलको मझेरीमा।
सजाई राखेछु दिलको मझेरीमा।
बेचैन हुन्थे मन कहीँ टाढा तिमी हुँदा
पोल्थ्यो छाती भत्भती अग्निमै जलेसरी
तिम्रै साथ हुन्थें जब भुल्थें पिर व्यथाहरु
त्यसैले त प्रिय!
त्यसैले त प्रिय,
तिम्रै सामिप्यताको चाहनाले
भेटन आउथें कयौं बहानाले
हॉस्दै खेल्दै दिनहरु बितिगए
दिल भित्रभित्रै तिम्रै तस्विरले सजिए
तस्बिरले कहॉ मेटिन्थ्यो प्यास प्रिय
हुनु थियो आखिर दुई ध्रुवको मिलन
त्यसैले त
सुमधुर सम्बन्ध मधुरसपुर्ण बन्यो प्रेमकहानी
दुई आत्माको संगम हाम्रो जिन्दगानी।
अरुणोदयझैं उदीयमान हाम्रो प्रेमको प्रवाहहरु
दिनको पारीलो घामझैं न्यानो हाम्रो मायाहरु
अनवरत झॉगिदै फैलिरह्यो
तुषानलझैं भित्रभित्रै आत्माको गहिराईबाट
रक्तवाहीनी हुँदै हरेक नशा नशामा अनी
भावना कल्पना र सपनामा प्रवाहित भैरह्यो
हाम्रो प्रेमको सौरभहरु।
जिवन संघर्षको अनेकौ घुम्ती पार गर्दै
ओझेल परेका कयौं सपनाहरु समेटदै
कयौं उल्झनको चिसो सिरेटोहरु झेल्दै
न्यानो मायाको अँगालोमा बॉधिरह्यौं
कहिल्यै नछुटने प्रेमको बन्धनमा समर्पित हुँदै
आफैलाई भुल्दै आपसमै अधर चुम्दै
अतृप्त प्रेमको सागरमा डुबिरह्रौ
डुबिरह्रौ
डुबिरह्रौ ।