सुम्निमा–पाारुहाङ नाट्यकृतिको समाजशास्त्रीय पक्ष –मन्दीरा राई
१. विषय परिचय
नेपाली साहित्यको क्षेत्रमा समसामयिक नाट्य धारामा उभिएर मुन्दुमी विषयहरूलाई सशक्त रूपमा उठान गर्दै नेपाली नाट्य जगतमा आफ्नो छुट्टै पहिचानबनाउन सफल नाट्यकर्मी प्रवीण पुमा (वि. सं. २०३५) द्वारा लिखित ‘सुम्निमा–पारुहाङ’ नाट्यकृति २०४९ मा लेखेर मञ्चन भएपछि २०६५मा प्रकाशित सुम्निमा–पारुहाङ नाट्यकृति सङ्ग्रहमा सङ्कलित उत्कृष्ट नाटकहरू मध्ये एक हो । यस नाट्यकृतिमा सृष्टिकर्ता सुम्निमा र पारुहाङको सृष्टि सौन्दर्यलाई विषयवस्तु बनाइएको छ । सुम्निमा र पारुहाङले आकाश र धर्तीको उत्पत्ति गराएपछि धर्तीमा मानव बस्ती बसाउनका निमित्त गरेको विभिन्न आरोह–अवरोहरूलाई नाटकीकरण गर्दै चौँधौँ दृश्यहरूमा विभाजन गरी सरल, भाषा–शैलीका साथ प्रस्तुत गरिएको छ ।
२. साहित्यको समाजशास्त्रीय अध्ययन पद्धति
साहित्यको समाजशास्त्रको मूल अवधारणा अगस्त कोम्तको समाजशास्त्रीय चिन्तनकै उपज हो । कोम्तको वैचारिक धरातल माटेकेर साहित्यको समाजशास्त्रलाई सैद्धान्तिक आधार दिने काम भने हिपोली अडोल्फ तेनले गरेका हुन् । जोशी (२०७०)ले उद्धृत गरेअनुसार कला र साहित्यको उत्पत्ति तथा विकासमा प्रजाति, युग र परिवेशलाई जोडदिँदै साहित्यको समाजशास्त्रीय सिद्धान्तको रूप रेखा तेनले प्रस्तुत गरेका हुन् । समाजशास्त्रीय अध्ययनका क्षेत्रमा देखापरेका अन्य चिन्तकहरूमा लुसियन गोल्डम्यान, लियो लावेन्थल, रेमन्ड विलियम्स, भिको हर्डर आदि हुन् ।
व्यक्ति–व्यक्ति मिलेर समष्टी रूपमा समाजको निर्माण हुन्छ । समाजको प्रभाव साहित्यमा कसरी परेको हुन्छ भन्ने कुराको अध्ययन गर्ने शास्त्रलाई साहित्यको समाजशास्त्र भनिन्छ (जोशी, २०७० ः७८)। त्रिपाठी (२०३०)का अनुसार साहित्यको समाजशास्त्रले कृतिभित्र आएका समाजको मात्र अध्ययन विश्लेषण नगरी कृतिको रचनाकार, कृति र कृतिमा व्यक्ति एकाविषयवस्तु, भाषाका साथै रचनाको विधि, प्रविधि तथा रचनाको आस्वादन र उपभोग जस्ता कुराहरूलाई पनि समाजको सापेक्षतामा हेर्ने गर्दछ। अर्का अध्येता पौड्याल (२०६२)का अनुसार समाजशास्त्रीय अध्ययन पद्धति साहित्यको अन्र्तविषयक पद्धति हो र यस पद्धतिको प्रयोग गरी साहित्यका विविध विधाको अध्ययन गर्न सकिन्छ । व्यक्ति विशिष्ट वा सामान्य जुनसुकै दर्जाको भएपनि ऊ समाजकै एक प्रतिनिधि हो र उसमा समाजकै भावना, चाहना, चालचलन, रीतिथिति, संस्कार र संस्कृति टम्म भरिएको हुन्छ । यस्ता सामाजिक जीवनका अनुभवहरूको पुञ्ज साहित्यकारद्वारा रचित कृतिमा सिङ्गो सग्लो र पूर्ण दर्पणका रूपमा प्रस्तुत गरिएको हुन्छ । साथै समाजकै छायाँ, प्रतिच्छायाँ उतारिएको हुन्छ । साहित्यको समाजशास्त्रको मूलभूत मानयताहरू मध्ये प्रजाति, क्षण रपर्यावरण, सामाजिक संस्कृति, विश्वदृष्टि, कार्यकारण सम्बन्ध, अनुभूतिको संरचना र भाषा जस्ता मान्यताका आधारमा सुम्निमा–पाारुहाङ नाट्यकृतिको अध्ययनविश्लेषण गरिएको छ ।
३. समाजशास्त्रीय पद्धतिका आधारमा
सुम्निमा–पाारुहाङ नाट्यकृतिको विश्लेषण मुन्दुममा आधारित आदिमयुगको जीवन्त प्रस्तुति गरिएको छ । माथि उल्लेख गरिएका समाजशास्त्रीय दृष्टिविन्दुका आधारमा यस नाट्यकृतिको विश्लेषण यसप्रकार गरिएको छ ।
३.१ प्रजाति
मानिस एउटा जाति हो । मानिसका विभिन्न समुहलाई प्रजाति भनिन्छ । जोशी(२०७०)ले उदृत गरेअनुसार प्रजाति भनेको वंशानुगत विशेषता हो । साहित्यको समाजशास्त्रमा प्रजातिको प्रभाव परेको हुन्छ । यस दृष्टिले हेर्दा ‘सुम्निमा–पारुहाङ’ नाट्यकृतिमा पनि मानव जातिको वंशानुगत प्रभाव परेको देखिन्छ । यस नाट्यकृति मुन्दुममा आधारित छ । यसमा मुन्दुमी धर्म, संस्कार, संस्कृतिको बाक्लो उपस्थिति रहेको पाइन्छ । यस नाट्यकृतिको पहिलो दृश्यको प्रारम्भमै नाटकको प्रमुख नायक निनाम्माका बारेमा नाट्यकर्मी पुमाले यसरी वर्णन गरेका छन् “टाउकोमा सायाबुङ गुथेको, नाक थेप्चो, काँधमा तालित भिरेको, निनाम्तित लगाएको, कम्मरमा एकापट्टि चुत्युङ र अर्कोपट्टि तालित भिरेको…” (पुमा, २०६५ ः २६ र २०७९ ः २७–२८) । त्यस्तै गरी नाटकको प्रमुख नायिका हेन्खामाको पनि यसरी वर्णन गरेका छन् “खुट्टामा लोङबुङ लगाएको, हेन्खातित लगाएको, बर्कोले टाउको छोपेको, अनुहार थेप्चो भएको, हेर्दा अत्यन्त सुन्दरी…” (पुमा, २०६५ः २६ र २०७९ ः २९–३०) । उक्त लिखित वर्णनले मानव जातिको पहिचान झल्काएको छ । यस नाट्यकृतिको सुरुदेखि अन्त्यसम्म हरेक पात्रले गर्ने क्रियाकलापमा मानव जातिको संस्कार, संस्कृति रीतिरिवाज र चालचलन झल्काएको छ ।
३.२ क्षण र पर्यावरण
क्षण भनेको युग चेतना हो भने पर्यावरण भनेको साहित्यकारले साहित्यसिर्जना गर्दा चित्रण गरेको देश, काल, वातावरण हो । जोशी (२०७०)का अनुसार साहित्यकारले देखेको, भोगेको क्षण र पर्यावरणको छापउसले रचना गरेको साहित्यिक कृतिहरूमा स्पष्ट रूपमा देखिएको हुन्छ । त्यस्तै गरी सुवेदी (२०६४)का अनुसार पर्यावरण साहित्यसँग जोडिएर आएको हुन्छ । यसले मानव, मानवेत्तर प्राणी तथा वनस्पति समेतको अन्तःसम्बन्धको संरक्षणमा दृष्टि दिएको हुन्छ । यस सुम्निमा–पारुहाङ नाट्यकृतिमा पनि पुमाले वर्तमानकालीन समाजमा देखेको, भोगेको, अनुभव गरेको क्षण र पर्यावरणको छापलाई स्पष्ट देखाएका छन् । यस नाट्यकृतिमा सुम्निमा र पारुहाङले आकाश र धर्तीको उत्पत्ति गराएपछि धर्तीमा बस्ती बसाउनका निमित्त गरेका विभिन्न क्रियाकलापहरू आदिमकालीन युगको चित्रणमा आधारित छ । यस नाटकमा वर्णित केही ठाउँहरू काल्पनिक परिवेशका छन् भने धेरै ठाउँहरू वास्तविक परिवेशका छन् । हिमालय दृश्यहरू, हिमालयको फेदिबाट बगेको समुन्द्र, हिमालय नजिकै रहेको बाटो तथा घना जङ्गल, साल्पापोखरी जस्ता ठाउँहरू नेपालको भोजपुर र खोटाङमा जिल्लाहरूमा अवस्थित वास्तविक ठाउँहरू छन् । यस नाट्यकृतिमा आकाश, धर्ती, हिमालय पर्वत, घना जङ्गल, साल्पापोखरी, नदिको किनार, हराभरा धर्ती, सुख्खाधर्ती आदि ठाउँहरू देशगत परिवेशका रूपमाआएका छन् । कालगत परिवेश अन्तर्गत बिहान, दिउँसो र बेलुका गरी तीन भिन्नकालको चित्रण गरिएको छ । त्यस्तै यस नाट्यकृतिको वातावरण अन्तर्गत प्राकृतिक स्वच्छता, कृतिम अप्राकृतिक चमत्कारी वातावरण जस्तै ः– क्षणभरमै हुने झरीवादल, आँधीवेहरी, उजाड–उदास, खडेरी, सुख्खा, हरियाली मनोम आनन्द, त्रास, भय, सुख, दुःख, आशङ्कायुक्त वातावरणको चित्रण गरिएको छ । त्यस्तै यस नाटकका पात्रहरू हेन्खामा र निनाम्मामाले हेन्खामामा बस्ती बसाउनका लागि गरेको सङ्घर्षपूर्ण वातावरणको चित्रण गरिएको छ । सृष्टिको उत्पत्ति तथा मानव र मानवेत्तर प्राणीजगतको उत्पत्तिसँगै एकअर्काकाबीचमा द्वन्द्वको सिर्जना भएको आदिमकालीन पर्यावरणलाई यस नाट्यकृतिमा उतारिएको छ ।
३.३ सामाजिक संस्कृति
अनादिकालदेखि देशकाल सापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकास हुँदै आएको आचार, विचार रहन–सहनलाई संस्कृति भनिन्छ । पौड्याल (२०६२)ले उद्धृत गरेअनुसार संस्कृति भनेको अनादिकालदेखि समाजमा प्रचलित समय क्रमले अविर्भाव गरेको सामाजिक व्यावस्था हो । यो सामाजिक सम्पत्तिको रूपमा रहेको हुन्छ । सुवेदी (२०६८) का अनुसार मानव समुदायको पहिचान संस्कृतिले प्रदान गरेको हुन्छ । मानिसलाई अन्य प्राणीबाट अलग पहिचानका रूपमा छुट्याउने काम पनि संस्कतिले नै गरेको हुन्छ । साहित्यकार बाँचेको समाज र संस्कृतिको प्रभाव कृतिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा परेकै हुन्छ । साहित्यमा सामाजिक, सांस्कृतिक पक्षहरूको जीवन्त प्रस्तुति गरिएको हुन्छ । मानिस जुन समाजमा बसेको हुन्छ, त्यो समाजमा प्रचलित रीति, परम्परा, धर्म, संस्कार, संस्कृति, आस्था, विश्वास आदि कुराहरूले उसलाई प्रभाव पारेको हुन्छ । त्यसै गरी सुम्निमा–पाारुहाङ नाट्यकृति मुन्दुममा आधारित भएको हुनाले यसमा मुन्दुमी संस्कारजन्य सांस्कृतिक तत्त्वहरू प्रशस्त मात्रामा प्रयोग गरिएको छ । निनाम्माले टाउकोमा सायाबुङ गुथ्नु, काँधमा तालित भिर्नु, निनाम्तित लगाउनु, कम्मरमा एकापट्टि चुत्युङ र अर्कोपट्टि दाबेलुङ भिर्नु, त्यस्तै हेन्खामामाले खुट्टामा लोङबुङ लगाउनु, पहिला हेन्खातित र पछि सुम्नितित लगाउनु, बर्कोले टाउको छोप्नुले मुन्दुमी भेषभूषा र संस्कृतिलाई झल्काएको छ । त्यस्तै सुम्निमा र पारुहाङले साकेन्वा गीत गाउनु, माङपाले यारी हेर्नु, वाजिहाङलाई साल्पापोखरी लैजाँदा सोलोन्वाले थोक्काउदै लैजानु, सन्तान प्राप्त हुँदा पुर्खाहरूप्रति आभार प्रकट गर्नुजस्ता यस नाटकमा वर्णित विषयवस्तुले मूल रूपमा मुन्दुमी संस्कृतिको प्रतिनिधित्त्व गरेको छ । आकाश गड्गडाएर हुरीवतास चल्दै विजुली चम्किएका कारण कहालिएर रोएको होङ्छालाई छातिमा राख्दै निनाम्मामाले “रोगो…रोगो…च्युक…च्युक…नामधुङपा लावा ताए…ऽऽऽताए…ऽऽऽ!!!” (पुमा, २०६५ ः ४२ र २०७९ ः ९१) भन्नु र त्यही बेला निनाम्माले सबैलाई अङ्गालोमा भेला गरेर “च्युक…च्युक…च्युक…रोगो…रोगो…रोगो…!!!” (पुमा, २०६५ ः ४२ र २०७९ ः ९१) भन्नु समाजमा प्रचलित दर्शन हो । वर्तमानति राती समाजमा पनि यी यस्ता दर्शनहरू प्रचलित रहेका छन् । यस नाट्यकृतिको आरम्भदेखि अन्त्यसम्म समाजमा प्रचलित संस्कार, संस्कृति, विश्वास, मान्यताजस्ता कुराहरूलाई छताछुल्ल पोखिएका छन् ।
३.४ विश्वदृष्टि
कुनै पनि समुह वा वर्गको जीवन जगत्का बारेको सुसङ्गत युगीन दृष्टिलाई नै विश्वदृष्टि भनिन्छ । पौड्याल (२०६२)ले उद्धृत गरेअनुसार वर्गीय सामाजिक चिन्तन, कृतिको विचारको समानधर्मिता विश्वदृष्टि अन्तर्गत पर्दछन् । यस सुम्निमा–पारुहाङ नाट्यकृतिको विश्वदृष्टि मानव जातिको उत्पत्तिसँग जोडिएको छ । यसलाई नाट्यकृतिमा समाजमा प्रचलित दर्शन, धार्मिक मान्यता, रीति–थिति, चालचलन, सामाजिक संस्कार र नैतिक मर्यादाको युगीन चित्रण गरिएको छ । लोककथा, लोकसंस्कृतिको जिउँदो नमुना यस सुम्निमा–पाारुहाङ नाट्यकृतिमा भेट्न सकिन्छ । यस नाट्यकृतिमा मुन्दुमी भूमिमा छरिएर रहेका लोकसंस्कृतिहरूलाई उधिन्दै मुन्दुमी संस्कृतिर वर्तमान भूमिलाई सुहाउँदो किसिमले नाटकको विषयवस्तुलाई अगाडि बढाइएको छ । हेन्खामा र निनाम्माको उत्पत्ति गराएका सुम्निमा र पारुहाङले छद्म रूप धारण गरी हेन्खामामा मानव बस्ती बसाउनका लागि चाप्चा, वान्पा र होङ्छाको जन्म गराएका छन् । एउटै कोखबाट जन्मिएका चाप्चा र वान्पा मानवेत्तर पात्र हुन् भने होङ्छा मानवीय पात्र हो । मानवीय र मानवेत्तर प्राणीका बीचमा हुने वैचारिक धरातललाई यस नाट्यकृतिमा स्पष्ट रूपमा देखाइएको छ । उनीहरूका बीचमा एक प्रकारको द्वन्द्व सिर्जना भएको छ । त्यही द्वन्द्वले चरम रूप लिएपछि होङ्छाले चाप्चा र वान्पालाई तालितले हानेर मारिदिएको छ । तर सुम्निमा ले आफ्नो कुलको रक्षाका लागि चाप्चा र वान्पालाई मुन्दुम फलाकेर ब्यँुताएकी छिन् । मुन्दुममा आधारित आदिम युगीन परिवेशको चित्रण गरिएको यस नाट्यकृतिमा स्थानीय रङ्गले पोतिएको छ ।
३.५ कार्यकारण सम्बन्ध
साहित्यिक कृतिहरूमा घटना र कार्य कारणबीचको तालमेल मिलेको हुन्छ । प्रस्तुत सुम्निमा पारुहाङ नाट्यकृतिमा पनि कार्य कारण शृङ्खलामा आधारित छ । पूर्वापरक्रममा आवद्ध भई घटनावलीहरू आएका छन् । सुम्निमा र पारुहाङले आकाश र धर्तीको उत्पत्ति गराएपछि धर्तीमा मानव बस्ती बसाउने सोँचका कारण सुम्निमालाई छक्याएर पारुहाङ पृथ्वीमा झरेका छन् । पारुहाङ पृथ्वीमामा झरेको कुरा ध्यानदृष्टिबाट थाहापाएर सुम्निमाले पनि हेन्खामाको भेषमा मानव बस्ती बसाउन झरेकी छन् । निनाम्माले विवाहको प्रस्ताव राख्दा हेन्खामाले ठाडै अस्वीकार गरिदिएका कारण निनाम्माले आफ्नो अपमान भएको सम्झी जसरी भएपनि हेन्खामालाई आफ्नो पकडमा ल्याउन सम्पूर्ण धर्ती सुख्खा बनाई आफ्नो वीर्य पानीको रूपमा राखेर हेन्खामालाई गर्भवती बनाएको छ । तर माङपाले यारी हेर्दा निनाम्माले छलकपड गरी हेन्खामालाई गर्भवती बनाएको थाहाभएको छ । त्यही कारण हेन्खामाले निनाम्मासँग विवाह गर्न वाध्यभएकी छिन् । त्यस्तै गरी सम्पूर्ण धर्ती सुख्खा बनाई साल्पापोखरीमा मस्त निदाएका निनाम्मालाई ब्यँुझाउँन नसकेका कारण वाजिहाङलाई कानमा टोक्न लगाई उठाउनु, वाजिहाङ सुख्खाभूमिमा हिँड्न नसक्ने भएका कारण हेन्खामाले सोलोन्वाले थोक्काउँदै बाटो चिसो बनाई साल्पापोखरीसम्म लैजानु, संसार चलाउनका लागि निनाम्मासँग रिसाएको नाटक गरी हेन्खामाले अंशवण्डा गरी निनाम्मालाई घरबाट निकालिदिनु, मातृवात्सल्यले भरिपूर्ण हेन्खामाले आफ्नो सन्तानहरू सानै भएका कारण आकाशबाट लिन आएका निनाम्मासँग जान अस्वीकार गर्नु, चाप्चा र वान्पाको अत्याचार सहन नसकेका कारण होङ्छाले उनीहरूको हत्या गरिदिनु, सृष्टि सौन्दर्यको पक्षपाती हेन्खामाले आफ्नो कुलको रक्षाका लागि मृत्यु भइसकेको चाप्चा र वान्पालाई मुन्दुम फलाक्दै ब्यँुताउनु, चाप्चा, वान्पा र होङ्छाबीचको वैचारिक धरातल विल्कुलै फरक भएका कारण उनीहरूलाई कहिलै भेट नहुने गरी छुट्टाइदिनु । आकाशको रक्षाका लागि निनाम्मासँगै हेन्खामा आकाशतिर फर्कनु जस्ता घटनाहरूबीच कार्यकारण सम्बन्ध रहेको छ ।
३.६ अनुभूतिको संरचना
लेखकले कृतिमा प्रस्तुत गरेको समाज र त्यो समाजलाई पाठकवर्गले अनुभव गर्ने दृष्टिकोणको अन्तरमा अनुभूतिको संरचना निर्माण भएको हुन्छ । ज्ञवली (२०७३)ले उद्धृत गरेअनुसार कुनै कालखण्डमा लिखित साहित्यिक कृतिको अध्ययनबाट त्यस समयको भौतिक जीवन, सामाजिक सङ्गठन र सांस्कृतिक मान्यताहरूको अध्ययन गर्न सकिन्छ । यसरी हेर्दा प्रवीण पुमाको यस सुम्निमा–पारुहाङ नाट्यकृतिमा आदिमकालीन सामाजिक परिवेशको चित्रण गरिएको पाइन्छ । यस नाट्यकृतिमा मुन्दुममा वर्णित मिथकहरूलाई हुबहु रूपमा प्रस्तुत गरी नाटकीय रूप प्रदान गरिएको छ । प्रस्तुत नाटकमा प्रयुक्त पात्रहरूको रहनसहन, बानीव्यहोरा, बोलीचाली आदिलाई मुन्दुमी जीवनसँग मिल्दोजुल्दो रूपमा प्रस्तुत गरिएको छ । तत्कालिन सामाजिक परिवेश अनतर्गत अलौकिक, चमत्कारयुक्त, अतिमावीय शक्तिको प्रयोग गरेको देखाइएको छ । जस्तै–आकाश र धर्तीको उत्पत्ति गराउन सक्नु, आफ्नो इच्छा बमोजिम आकाशबाट छद्म रूप धारण गरी धर्तीमा झर्न सक्नु, आफ्नो इच्छा बमोजिम रात पार्नु, क्षणभरमै सारा संसार, पृथ्वीलाई सुख्खा, उजाड, हरियाली, हराभरा बनाउनु, मानवेत्तर प्राणीले पनि मानवलेझैँ हरेक क्रियाकलाप गर्नु, निनाम्मा पानीभित्र पनि मस्तसँग निदाउनु, बिना संसर्ग हेन्खामालाई गर्भवती बनाउनु, हेन्खामाको कोखबाट जन्मिएका सन्तान मानव र मानवेत्तर दुई भिन्न प्राणी हुनु, आफ्नो सन्तानप्रति आइलागेको आपदविपद ध्यानदृष्टिबाट थाहा पाउनु, मृत्यु भइसकेका चाप्चा र वान्पालाई मुन्दुम फलाकेर पुनर्जीवन प्रदान गर्न सक्नु आदि । यसरी यस नाट्यकृतिमा वर्णित पात्रगत क्रियाकलापहरूलाई वर्तमान परिवेशबाट नियालेर हेर्दा विल्कुलै फरक लागे पनि कतिपय क्रियाकलापहरू वर्तमानकालीन समाजसँग मिल्दोजुल्दो रहेका छन् । जस्तै–माङपालाई यारी हेराउनु, जीवनका हरेक पाइलामा आइपर्ने सुख दुःखमा आफ्नो प्रिय पुर्खाहरूलाई सम्झिँदै पुर्खा पूजा गर्नु, विभिन्न सांस्कृतिक क्रियाकलाप गर्दा सोलोन्वाको प्रयोग गर्नु, एकअर्काप्रति आदर सत्कार गर्नु आदि । निनाम्माले टाउकोमा सायाबुङ गुथ्नु, काँधमा तालित भिर्नु, निनाम्तित लगाउनु, कम्मरमा चुत्युङ र तालित भिर्नु, त्यस्तै हेन्खामाले खुट्टामा लोङबुङ लगाउनु, हेन्खातित लगाउनु, बर्कोले टाउको छोप्नु जस्ता नाटकमा वर्णन भएका भेषभूषा हालसम्म पनि समाजमा प्रचलित रहेका छन् । सुम्निमा र पारुहाङलाई पुर्खा मान्दै उनीहरूको सम्झनामा उधौली र उभौली गरी वर्षमा दुई पटक ढोल, झ्याम्टा बजाउँदै त्यसको तालमा साकेन्वा गीत गाउँदै विभिन्न सिली टिप्नु जस्ता सांस्कृतिहरू समाजमा हालसम्म पनि प्रचलित रहेका छन् ।
३.७ भाषा
भाषा भनेको एकअर्काप्रतिको विचार आदानप्रदान गर्नका निमित्ती प्रयोग गरिने वाकप्रतीकहरूको व्यावस्था हो । गौतम(२०६७) का अनुसार भाषा भनेको विचार विनिमयको साधन हो । भाषाका अनेक भेदहरू हुने गर्दछन् । तीमध्ये साहित्यको भाषा पनि एक हो । पौड्याल (२०६२) ले उद्धृत गरेअनुसार लेखकले साहित्यमा मानक भाषाको प्रयोग गरेको हुन्छ । तर कतिपय अवस्थामा मानक भाषाले आफूले दर्साउन चाहेका विषयलाई खुलस्त पार्न र रोचकता प्रदान गर्न नसक्ने भएको हुनाले आवश्यकताअनुसार विभिन्न पात्रहरूका मध्यमबाट तिनको मौलिक विशेषता झल्काउने किसिमको अनौपचारिक भाषाको पनि प्रयोग गरिएको हुन्छ । सोही अनुरूप प्रवीण पुमाको लेखनमा पनि मुन्दुमी भाषाका रङ्गहरूले लपक्क पोतिएका छन् । यस सुम्निमा–पारुहाङ नाट्यकृतिमा वर्तमानकालीन समाजको भाषाशैलीले प्रभाव पारेको छ । यस नाट्यकृतिका प्रत्येक पात्रले बोल्ने भाषामा मुन्दुमीपन झल्किएको छ । प्रस्तुत नाटक मुन्दुममा आधारित भएको हुँदा विषयवस्तु सुहाउँदो भाषाको प्रयोग गरिएको छ ।
नाटकमा पात्रहरूले प्रयोग गरेका शब्दहरूको लवजले मुन्दुमी जनजीवन र परिवेशको प्रतिनिधित्त्व गरेको देखिन्छ । यस नाट्यकृतिमा प्रयुक्त संवादहरू छोटो, छरितो र आफँैमा पूर्ण भई मुन्दुमी संस्कृतिको विशेषता झल्काउने किसिमको रहेको छ । नाटकमा पुमाले सरल, सहज र स्वतस्फुर्त भाषाको प्रयोग गरेका छन् । त्यही सरल, सहज र स्वतस्फुर्त भाषाका माध्यमबाट मुन्दुमी मर्मलाई नाटकी रूप प्रदान गर्न सक्नु पुमाको भाषिक सफलता हो ।
४. निष्कर्ष
समाजशास्त्रीय अध्ययन परम्परा पाश्चात्य साहित्यका क्षेत्रमा देखापरेको एक सैद्धान्तिक अवधारणा हो । हाल यो परम्परा नेपालमा पनि प्रचलितहुँदै आएको छ । यस अध्ययन परम्पराले कृतिमा प्रयुक्त सामाजिक पक्षको विश्लेषण गर्दछ । समाजका विविध पक्षको उद्घाटन गरिने हुँदा साहित्यलाई समाजको ऐना भन्ने गरिन्छ । त्यसैले साहित्यिक कृतिको विश्लेषण गर्दा समाजशास्त्रीय पद्धतिबाट गरिनु उपयुक्त देखिन्छ । यस दृष्टिबाट यस सुम्निमा–पारुहाङ नाट्यकृतिको विश्लेषण गर्दा समाजशास्त्रीय दृष्टिकोण प्रशस्त मात्रामा भेट्न सकिन्छ । आदिम समाजको जीवन्त प्रस्तुति भएको यस नाट्यकृतिमा पुमाको सामाजिकता र व्यक्तित्त्वको छाप प्रशस्त मात्रामा परेको भेटिन्छ । सुम्निमा र पारुहाङले आकाश र धर्तीको उत्पत्ति गराएर धर्तीमा बस्ती बसाउनका लागि छद्म भेष धारण गरी धर्तीमा झरेर गरेको जीवन सङ्घर्ष र मानवजातिको सृष्टि विकास गरी पुनः आकाश फर्किएको भन्ने मुन्दुमलाई यस नाट्यकृतिले जिउँदो रूप दिन सफल भएको छ । यसका साथसाथै समाजमा प्रचलित धर्म, संस्कार, संस्कृति, परम्परा जस्ता पक्षलाई समेट्दै मुन्दुमी मर्मलाई सूक्ष्म रूपमा चित्रण गरेको छ । यस नाट्यकृतिमा पुमाले देखेको, सुनेको, भोगेको क्षण र पर्यावरणलाई पनि सहज रूपमा उतारेका छन् । यसा धर्तीमा मानव बस्ती बसाउनका लागि सुम्निमा र पारुहाङले गरेको जीवन सङ्घर्षमा कार्यकारण सम्बन्धको उचित तालमेल मिलेको देखिन्छ । मुन्दुमी समाजमा प्रचलित मिथकलाई नाटकीय रूप प्रदान गरी त्यसभित्र नेपाली माटो, नेपाली संस्कृति र नेपालीपनलाई समेत समेट्दै रङ्गमञ्चमा प्रदर्शन गरी जीवन्तता प्रदान गर्नु प्रवीण पुमाले नेपाली नाटकको क्षेत्रमा दिएको अमूल्य योगदान हो ।
सन्दर्भसूची
अर्याल, विष्णुप्रसाद (२०६७), “काठमाडौंमा कामरेड नाटक सङ्ग्रहको समाजशास्त्रीय अध्ययन”, अप्रकाशित स्नातकोत्तर शोधपत्र, काठमाडौं ःत्रि. वि.रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली विभाग ।
कोइराला, कुमारप्रसाद (२०६६), केही आधुनिक नाटक र नाट्यकर्मी, काठमाडौं ः ओरिएन्टल पब्लिकेसन पा. लि. ।
ज्ञवाली, ज्ञाननिष्ठ (२०७३), “दोषी चश्मा कथाको समाजशास्त्रीय अध्ययन”, अपरा, वर्ष २, अंक २, पृ. ४०–४४ ।
गौतम, कृष्ण (२०५९), आधुनिक आलोचना ः अनेक रूप अनेक पठन, (दो. सं.), ललितपुर, साझा प्रकाशन ।
गौतम, देवीप्रसाद र डा. प्रेमप्रसाद चौलागाई (२०६७), भाषाविज्ञान, काठमाडौं, पाठ्यसामग्री प्रकाशन ।
जोशी, दिव्येश्वरी (२०७०), “लङ्गडाको साथी उपन्यासको समाजशास्त्रीय अध्ययन”, अपरा, वर्ष १, अंक १, पृ. ७८–८० ।
त्रिपाठी, वासुदेव (२०३०), पाश्चात्य समालोचनाको सैद्धातिक परम्परा, ललितपुर, साझाप्रकाशन ।
पुमा, प्रवीण (२०६५), सुम्निमा–पारुहाङ, खोटाङ ः सुम्निमा थिएटर एकेडेमी नेपाल ।
…….(२०७९), सुम्निमा–पारुहाङ (दो.सं.), ललितपुर ः सुम्निमा थिएटर एकेडेमी नेपाल ।
पौड्याल, केशवप्रसाद (२०६७), “माइतघर उपन्यासको समाजशस्त्रीय अध्ययन”, अप्रकाशित स्नातकोत्तर शोधपत्र, कीर्तिपुर ःत्रि. वि., नेपाली केन्द्रीयविभाग ।
राई, पुरण र टिका चाम्लिङ (२०६९), “किराती साहित्यको सर्वेक्षणात्मक अध्ययन”, काठमाडौं, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।
राई, आनन्दबहादुर (२०७०),“प्रवीण पुमाका नाटकमा मुन्दुमको अध्ययन,” अप्रकाशित स्नातकोत्तर शोधपत्र, कीर्तिपुर ःत्रि. वि . नेपाली केन्द्रीयविभाग ।
राई, लक्ष्मी, पुरन राई र आनन्दबहादुर राई (२०७३), “प्रवीण पुमा र उनको नाट्यकारिता”, युगान्तर, वर्ष १८, अंक १८, ६७–७५ ।
सुवेदी, राजेन्द्र (२०६८), नेपाली समालोचना ः परम्परा र प्रवृत्ति (दो.सं.), काठमाडौं, पाठ्यसामग्री प्रकाशन ।