दुःखदायी समय – मोहनराज खनाल, बर्मेलीराज
दुःख गरेर घर बनाएँ
लागतमा लागत कर्जामा कर्जा
ऋण तिर्न नपाउँदै
न्यानो गरी नयाँ घरमा बस्न नपाउँदै
मनका रहरहरू पूरा नहुँदै
हाँस्ने खेल्ने रमाउने इच्छाहरू कता पुगे पुगे
यत्न प्रयत्न दुःखबाट अब उम्कियो भन्न नपाउँदै
सबैथोक भुइँचालोले क्षणभरमै विनाश र बेहाल पारिदियो।
यस छातीभित्रको वेदना कसले बुझ्छ?
कैयौंपटक झैझगडा पनि गरियो
अंशबण्डाको नाम्लो पनि थुपारेर बनाएको घर
ठूलो सहरमा बस्ने रहर
ठूलो सहरका राम्रा स्कुलमा केटाकेटी पढाउने रहरले
कैयौंपटक ताउरमाउर देखाएर बनाएको सुन्दर घर थियो
रगत-पसिना एक गरी बनाएको सुन्दर महल
वरिपरि आफन्त विहीन समय
एक्कासि माटाको मुखमा पुग्नु र भत्किनुको कारण सोध्ने ठाउँ छैन
घरमात्र पसेन माटोमा
मन्दिर मस्जिदहरू पनि भासिए
दैनिकी पूजा प्रार्थनागर्ने मूर्तिहरू पनि ढले
यहाँ कसले कसलाई दोष दिने?
नियतिको चाल झुक्याउने मात्र रहेछ?
सपना साकार पारेँ भन्न खोजेको मात्र के थिएँ
मनका भावनाहरूसँगै ओठका मुस्कानहरू समेत एक झट्कामा धराशायी भए।
न त सपना साकार न त विपना सुखमय
दुःखले जोडेको घर
दुःखले जोडेको महल
सबैको सङ्गठनको एकसूत्र देवालयहरू
एक्कासि अलविदा
ईश्वरले बनाएको संसारमा
मान्छेले बनाएको घर कहाँ रहन्छ र?
दुःखित आत्माहरूछेउ पुगेँ
रुवाबासी बाहेक अर्को विकल्प थिएन
कसैले छोराछोरी गुमाएको बिलना गाउँदै आँसु तुरुक्क चुहाएको दुर्दशा
कसैका परिवारै अलविदा हुनुपर्ने नियतिको निष्ठुरी खेलमैदान
कैयौंका छातीमा वज्र परे
धन जन जहानको क्षति साथै मनमस्तिष्कमा ठूलै चोट लागेर मानसिक तनावग्रस्त अवस्थामा
देशले देख्यो विदेशले देख्यो
वरिपरि छिमेकी देशले देख्यो
सक्दा यत्नगरे
बाँच्ने बाँचे,मृत्युको मुखमा धेरै परे
दैनिकी लासहरूके सद्गत गर्दै युवा हरूको मन वैरागिन थालिसकेको छ
एकतिर दैवीप्रकोप
अर्कोतिर गृहयुद्धबीचमा मान्छेको मन कस्तो अवस्थामा होला!
मान्छेको अवस्था बटुल्न गाह्रो र साह्रो छ
मर्ने मरिसके तापनि बाँच्नेको मन सम्पूर्ण घाइते अवस्थामा छ
थमाउने,समाउने र साथदिने
मानवता गुणले सम्पन्न राहत पाएर गाँस र सास अझैसम्म रहेको छ
अबता बाँच्ने रहर पनि हरायो
मायामय संसार नरमाइलो
नियतिले के के गर्ने हो अझै
कतै केही पो बद्लिनु छ र समय?
पुर्पुरोमा हात लगाएर बसेको छ यात्री
किंकर्त्तव्य विमूढ
सोच्नै नसकिने पीडा
भन्नै नसकिने डाहा
ठम्याउन नसकिने समय…..
– याँगौँ, म्यान्मा(बर्मा)
28.3.2025 देखि आजसम्म