हाम्रा नेता – ठाकुर बराल
हाम्रा केही नेता छन् ।
हामी तिनलाई आफ्नो
मुटुलाई भन्दा बढी माया गर्छौ ।
घरभित्रै ल्याएर खुवाउछौ
पिलाउछौ ।
बरू आफू सुत्दैनौ
तिनीहरू निदाउदैनन् कि
भनेर आफू भूइमा सुतेर
तिनलाई न्यानो खाटमा
सुताउछौ।।
तिनीहरूलाई देवता ठानेर तिनका
प्रत्येक आदेश शिरोधार्य गर्छौ।
ती भोकै भये भने आफू
भोको भयेजस्तै निस्ताउछौ ।
तिनीहरू हामीलाई माया गरे
जस्तो गरेर पेटमा छुरा धस्छन् ।
तर हामी तिनलाई आफ्नै
मुटु जस्तै ठानेर माया गर्छौ।।
आफ्ना आमा बाबुको भन्दा
धेरै माया गरी पालेका तिनीहरू
धेरै भयो पागल भयेका
हामीबीच झगडा गरेको
नाटक गर्दै मिलेर मुलुक
लुटिरहेछन्।।
हामीले नै दिएका एकजोर चप्पल
भिरेर सहर पसेका तिनीहरू।
चिल्ला कार र गगनचुंबी महलबाट
हामीलाई ललकार्छन् ।
तिमीहरू फोहोरीहरू ।।
मुलुक सजाउन भनी पठाएको
मुलुक बनाउन भनी पठाएको
डढाएर खाक पारि सके ।
सच्चिएलान् भन्यो
बिग्रिएर गन्हाइ सके
तर पनि हामी तिनीहरूलाई अझै
आफ्नो मुटुको भन्दा अगाध
माया गर्छौ। ।
तिमीहरू अझै सच्चिनु है ।
नसच्चिए हाम्रो के जान्छ ?
बेलैमा नसक्किनू ।।
– धनकुटा







