एउटा बहादुर बालक -मुनाराज शेर्मा
च्याउ भेटिएर छोडिएको एक अबोध बालक
जो हजार हण्डरको चेपबाट बाँची आएको हो
आमाको पाइला जङ्गल छिरेपछि
ऊ आमाको गन्धको धुँवा पक्डेर छिरेको हो जङ्गल
प्रकृति नै असल साथी मान्ने ऊ
जङ्गलले लुकाई दिएर बाटो
हराएको हो आमाको छायाँबाट
र छुट्टिएर बाँच्यो एक्लै जङ्गल नै आमा ठानेर
हेर त उसको आँखा कसरी हेरिरहेछ बहादुरसँग
रोएन त ऊ ! देखेर तमाम मानिसहरू !
सायद एक्लै रुँदा सिद्धिएको थियो उसको आँसुको नदि
आँसु खसाएर आफुलाई कमजोर देखाउन चाहेन उसले
एउटा साहास एक तयारी योद्धा देखिन्छ उसको आँखामा
सायद घृणा छ उसमा यो विभेदी सभ्यता प्रति
चराहरु छेपारो मुसा कीटपतङ्गप्रति अगाध प्रेम छ उसँग
रुखको साउति बिरुवाहरुको मन्द चाल
जो रातको अध्याँरोमासँगै थिए
मात्रै त दुई वर्ष हाराहारी भोगेको हो जीवन
तर कतिदिन एक्लै बितायो होला कोक्रोमा
आमा खेताला हिडेपछि भोकसँग तिर्खासँग
अबेर बाउ कतैबाट फर्किदा प्रेमबिहिन मुडमा
झर्ना जस्तो मनले हेर्यो होला बाउलाई
कति भोग्यो होला बिहान साँझ
चर्को चर्को झर्कोको सङ्गीत
जाडोको दिनहरु जाडोनै हार्ने गरि बिताइ दियो होला
नाथे जाडो नाथे भोक नाथे अभाव
कति रुघाखोकी निमोनिया तेसै हारेर गएको हो उसँग
साँच्चै भन्दा ऊ एक भुई फुट्टा बाँचिरहेछ जीवन
बाल अधिकार बाल मैत्री बाल छैन उसलाई
वास्तवमै अरु खुसी भएका हुन्
अरुले नै स्याबासी भेटेका हुन्
अरुले नै लेखेका हुन् समाचार
ऊ त मात्रै घर फर्किएको हो
एक बहादुर बच्चा!
नत्र निधारको खत हेर त
ऊ भर्खरै जीवन जितेर फर्केको
एक महान योद्धा हो






