रेसुङ्गा महिमा -विष्णु घर्ती ’भनभनेली’
तम्घासको शिरमा मौन धुरी खाबो हो ’रेसुङ्गा’
जो चल्दैन र बोल्दैन तर सुनिरहन्छ
उसले हिँड्दैन र पनि हजारौं पदचाप बोक्छ
गुल्मीको गगनमा छाता बनेको त्यो शिखर
आस्थाको उचाइमा पनि सगरमाथासँगै छ
शान्तमय तप साधनाको लागि ध्यान बन्छ ।
त्यही मौनताभित्र ऋष्यशृङ्गले एकान्त खोजे
आकाशसँग संवाद गरे, माटोसँग माया मिसाए
र त्यसपछि यो पहाडले उनको नाम ओढ्यो
रिस्सिङ्ग, रिसुङ्ग हुँदै, आजको रेसुङ्गा बन्यो
समयको अन्तरालमा अन्य ऋषिहरू आए, गए
हराएन यस तपोवनको सुगन्ध कहिल्यै ।
चार धामको जल अझै चिसै छ महापोखरीमा
त्यो पवित्र जल शरीर भिजाउने पानी मात्र होइन
चिन्ता, पीडा र पाप कर्म पखाल्ने जल हो
केवल दाउरे आगो होइन यज्ञशालाको अग्नि
विश्वासको अखण्ड ज्योति हो, निभ्दैन कहिल्यै
जुन बलिरहन्छ मानव हृदयमा पुस्तौँसम्म ।
रेसुङ्गाको वनपाखामा लालीगुराँस फक्रदा
रङ्गिन वस्त्र ओढेकी छन् धरती आफैँले
त्यहिँका झरना, कुवा र रूखहरू बोल्छन्
पूण्यभुमिको प्रकृतिमा छ बहुसंस्कृतिको बहार
देउसी, भैलोको लय अनि घाँटु, सालैजोको ताल ।
आस्था र भरोसाको आधार हो श्रावणी मेला
रेसुङ्गाको धुरीबाट सूर्य देख्नु मात्र होइन
त्यो आशा, नयाँ दिन र सम्भावना पनि हो
देखिने हिमालहरू दूर छन् तर अनुभूति नजिक
सुन्दर स्वप्न हुन्, आँखाले नहेरिने र मनले देखिने
र, यो पर्वत एउटा खुला पाठ पनि हो
सुशासनको, सन्तुलनको र सहअस्तित्वको ।
“जाऔँ हिँड रेसुङ्गा” अभियान र यात्रा होइन
यो निमन्त्रणा हो, आफैं भित्र फर्किने र घुम्ने
शालिग्राम बनाउँछ कालीगण्डकीको प्रवाहले
त्यो ढुङ्गा मात्र नभई, अनन्त जीवन पनि हो
सदा रहने हसिलो, फरासिलो र उज्यालो
रेसुङ्गा भन्छ – उचाइ केवल मिटरमा नापिँदैन
यो त आस्था, विश्वास र प्रेममा नापिन्छ ।
मदाने गाउँपालिका वडा नं. ७, भनभने,
पिपलारूख, गुल्मी gharti.bg@gmail.com






