सुम्निमा पारूहाङ नाटकमा पर्यावरण- बद्रीप्रसाद ढकाल
विषय प्रवेश
नेपालको खोटाङको पाथीभारास्थित चिसापानी–७ मा जन्मिएका प्रविण पुमा (२०३५) नेपाली रङ्मञ्च क्षेत्रको एक परिचित नाम हो । उनी नेपाली रंगमञ्च वृत्तमा निर्देशक, अभिनेता, व्याख्याता र अनुसन्धानकर्ताको रूपमा परिचित छन, जसलाई प्रायः अङ्ग्रेजी अध्यापक, पूर्वक्याम्पस प्रमुख र रंगमञ्च कलामा निरन्तर सक्रिय व्यक्तित्व हुन् । उनी प्राध्यापनबाहेक एक लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन, जसमा कवि र रंगमञ्च पेशेवरहरू जस्ता सांस्कृतिक व्यक्तित्वहरूसँग अन्तर्वार्ताहरू लिइन्छ । पुमा प्रकृति अर्थात् पर्यावरणीय नाटक र विषयसँय अध्ययन अनुसन्धानमा सक्रिय रहेका छन् । किरात प्रकृति अर्थात्पर्यावरण अध्ययनमा दख्खल राख्ने प्रविण पुमाको प्रकाशित कृतिहरूमा सुम्निमा (नाटकसङ्ग्रह–२०५३), हेन्खामा निनाम्मा (प्रकृति अर्थात् पर्यावरणसङ्ग्रह–२०५४), दोङवाङ–दोङदापा (संस्कृति–२०६१), सुम्निमा (चलचित्र–२०६२), सुम्निमा–पारुहाङ (नाटकसङ्ग्रह २०६५), हेत्छाकुप्पा (नाट्यकृक्ति–२०६६), निनाम्मा (नाटकसङ्ग्रह २०६७), साया (नाटकसङ्ग्रह–२०६९), होककछा (नाटकसङ्ग्रह–२०७१)। बुढाहोल मुन्दुम ः परिचय, पाठ र विश्लेषण (२०७२, आजरा, नेपाल सरकार), पारूसेवा मुन्दुम ः परिचय, पाठ र विश्लेषण (२००७४, आजउरार, नेपाल सरकार), नेपालका प्रदर्शनकारी कला प्रादेशिक अनुसन्धान प्रदेश नं ३(सहलेखन नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, नेपाल सरकार ) र जन्तेढुङ्गा गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन (सह–लेखन २०८१, जन्तेढुङ्गा गाउँपालिका, खोटाङ, नेपाल सरकार) रहेका छन् ।
नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा पारुहाङ (२०७९) प्रकाशित नाट्यकृति हो । उनी नेपालको रंगमञ्च र सांस्कृतिक अनुसन्धान क्षेत्रमा एक बहुआयामिक व्यक्तित्व हुन् —प्रदर्शन कलामा मिडिया कार्यक्रमहरू अध्यापन, निर्देशन, लेखन र होस्टिङ गर्दै सक्रिय जीवन बिताइरहेका छन् । नाटकको रचनाको लागि निश्चित आधारभूमि र वातावरणको आवश्यकता हुन्छ, नाटक निश्चित परिवेशमा केन्द्रित भएर लक्ष्योन्मुख हुन्छ । देशकालको तात्पर्य वातावरणको कुनै सीमा हो, जसको परिवेशअन्तर्गत नाटकले आफ्नो संसार सृष्टि गर्छ । यसले देशको सामाजिक, धार्मिक र राजनीति परिस्थितिलाई सम्झाउँछ । आचार–विचार, रीतिस्थिति, चालचलनहरूलाई बुझाउँछ, समाजका असल खराब, व्यावहारिक र वैचारिक पक्षहरूलाई इङ्गित गर्छ । नाटकमा दृश्यात्मक पद्धति अँगाल्दा कुनै निश्चित वातावरण, पर्यावरण तथा देशकाल आएको हुन्छ । मुन्धुमको सृष्टिको विषयलाई आत्मसात् गरी लेखिएको प्रविण पुमाका नाटकमा प्रकृति अर्थात् पर्यावरणको प्रयोग गर्दै रचना गरिएको छ । पुमाको सुम्निमा पारुहाङ (२०७९)“ नाट्यकृतिमा प्रयुक्त प्रकृति, सृष्टि तथा पर्यावरणको यहाँ खोजी तथा विश्लेषण गरिएको छ ।
इकोक्रिटिसिज्मलाई नेपालीमा हरियो आलोचना पनि भनिन्छ, साहित्यिक अध्ययनको द्रुत गतिमा उदीयमान क्षेत्र हो जसले मानवको वातावरणसँगको सम्बन्धलाई विचार गर्दछ । चेरिल ग्लोटफेल्टीले द इकोक्रिटिसिज्म रिडरको परिचयमा उल्लेख गरेझैं, जसरी नारीवादी आलोचनाले भाषा र साहित्यलाई लिङ्ग–सचेत दृष्टिकोणको रूपमा जाँच्छ, र माक्र्सवादी आलोचनाले पाठहरूको पठनमा उत्पादनका मोडहरू र आर्थिक वर्गको बारेमा जागरूकता ल्याउँछ, वातावरणीय आलोचकहरूले साहित्यिक पाठहरू मार्फत प्रकृति र प्राकृतिक संसारको कल्पना कसरी गरिन्छ भनेर अन्वेषण गर्छन् । वातावरणीय चिन्ताहरूको साहित्यिक प्रतिक्रियाहरू मुद्दाहरू जत्तिकै पुरानो छन् । वन फँडानी, वायु प्रदूषण, लोपोन्मुख प्रजाति, सिमसारको क्षति, पशु अधिकार र व्यापक उपभोक्तावाद यी सबै पश्चिमी साहित्यमा सयौं र केही अवस्थामा हजारौं वर्षदेखि विवादास्पद मुद्दाहरूको रूपमा देखा पर्दै आएका छन् । इकोक्रिटिसिज्म एक साहित्यिक सिद्धान्त र आलोचनात्मक दृष्टिकोण हो जसले पाठहरूमा प्रकृतिको प्रतिनिधित्व र साहित्यमा प्रतिबिम्बित वातावरणीय मुद्दाहरू र सरोकारहरू दुवैको अन्वेषण गर्दछ । यस्तै प्रकृतिका विविध विषयलाई समेटेर रचना गरेको साहित्य नै पर्या साहित्य हो ।
जैविक विविधतालाई जोगाइराख्न रासायनिक कीटनाशक औषधीको प्रयोगमा नियन्त्रण गर्नु, धुवाँ फाल्ने उद्योग र वाहनमाथि प्रतिबन्ध लगाउँदै सौर्य, पवन र जल, ऊर्जाको उत्पादन र प्रयोग बढाउनु तथा एसी र रेफ्रिजेरेटरजस्ता घरभित्रैबाट अधिक प्रदूषण फैलाउने साधनको न्यूनतम प्रयोग गर्नु आजको आवश्यकता भइसकेको छ । यसैलाई झकझक्याउन पर्या साहित्यले विशेष भूमिका निर्वाह गर्दछ । यस्तै कुरालाई हृदयङ्गम गरेर रचिएका कवितालाई नै हिजोआज वातावरण कविता, परिवृत्तीय कविता, पर्यावरण कविता, पर्यावरणीय कविता, पर्याकविता, परिवेश कविता वा इकोपोइट्री भन्ने गरिएको छ र मेरो यस कवितासङ्ग्रहका रचनाहरू पनि यही चासो र चिन्तामा केन्द्रित भएकाले यिनलाई पर्या कविता भनिएको हो ।
सुम्निमा पारूहाङ नाटकमा पर्यावरण
सुम्निमा पारूहाङ नाटकको विषयवस्तुको मूलआधार प्रकृति अर्थात् पर्यावरण भएकोले परिवेश पनि मूल रूपमा प्रकृति अर्थात् पर्यावरणीय रहेको छ । किरात धर्म परम्परा र रीतिरिवाजसँग जोडिएर आएको पृथ्वी तथा मानवको सृष्टिसम्बन्धी कथानक र त्यसको प्राचीन पृष्ठभूमिलाई समेटिएको परिवेशअर्थात् पर्यावरणीय नै यस नाट्यकृतिको पर्यावरणीय परिवेश हुन् ।
सुम्निमा पारूहाङ नाटकले मानव र प्रकृति सृष्टिको प्रकृतिलाई आत्मसात् गरेको छ । सङ्क्षिप्त संरचना तर व्यापक परिवेश यस नाटकको विशेषता हो । मानवको सृष्टिक्रमका समुन्द्र, जङ्गल, खोलानाला तथा प्राकृत मानिसका रहनसहन, चालचलन, व्यवहार र विवाहबाट मानव जातिको उत्पत्ति र विकासक्रमका विषयमा चर्चा गर्दै यस विषयमा विभिन्न विचार व्यक्त गरेको पाइन्छ । प्राकृतिक वस्तु र घटनाको रूपकीकरण गरेर यो नाट्यकृति रचना भएको देखिन्छ । प्रकृति अर्थात् पर्यावरणसँग सम्बन्धित वैचारिकता, पवित्रता, धार्मिकता, आस्था र अनुष्ठान जोडिएका हुन्छन् । प्रकृति तथा पर्यावरणसँग किंवदन्तीको नजिकको साइनो हुन्छ । किंवदन्तीहरू नै कालान्तरमा सृष्टि कथामा जोडिएर आएका हुन्छन् । पृथ्वीको उत्पत्ति, आकाश, वायु, अग्नि, तथा मानवको पन्ममरण प्रक्रियामा प्रकृति अर्थात्पर्यावरणका विभिन्न चक्र परिवर्तित भएका पनि पाइन्छन् । समाजका मूल्य र मान्यता तथा विधि निषेधहरूसँग जोडिएका किंवदन्तीहरू, पुराण कथा, धर्मग्रन्थका विषय प्रकृति अर्थात् पर्यावरणका घटना र विषय जस्तै भए पनि तिनले ऐतिहासिकता पनि ग्रहण गरेका हुन्छन् । समाजका निम्ति यी केही पवित्र र केही श्रद्धापूर्ण पनि हुन्छन् । सामान्य बोलीचालीमा प्रकृति अर्थात् पर्यावरणलाई आधार वा परिवेश पनि भनिएको पाइन्छ ।
मानव सृष्टि प्रकृति अर्थात् पर्यावरणसँग आस्थामूलक, धार्मिक अनुष्ठानसँग जोडिएकाले यिनको प्रस्तुति वर्णनात्मक वा अभिनयात्मक रूपमा हुन सक्छर नाटकमा प्राचीन देवीदेवताका सृष्टिका कथा जोडिन्छ । वर्णनात्मक प्रस्तुति पनि गद्य वा पद्यमा अथवा दुवैको मिश्रण भएको चम्पू शैलीमा हुन सक्छ । समाज निर्माण र विकासका क्रममा प्रकृति अर्थात् पर्यावरणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहन्छ । जोसेफ क्याम्पबेलका अनुसार प्रकृति अर्थात्पर्यावरणका आध्यात्मिक, ब्रह्माण्डीय, सामाजिक र शैक्षणिक जस्ता चार प्रकार्य छन् । किरात संस्कृतिमा पछिल्ला दुई प्रकार्य प्रबल छन् । प्राकृतिक शक्तिमा आस्था राख्दै तिनको मानवीकरण गर्ने काम पुराकथामा हुन्छ । प्रकृति अर्थात् पर्यावरणलाई प्रागऐतिहासिक मानव समाजको सामूहिक स्वप्नका रूपमा पनि लिइन्छ । मौखिक परम्परामा यी प्रतीकात्मक रूपमा हस्तान्तरित हुन्छन् । यी पूरा कथाहरूको उत्पत्ति र विकास समाजलाई व्यवस्थित रूपमा निरन्तरता दिने क्रममा भएको मानिन्छ । त्यसैले कुनै पनि जाति वा सम्प्रदायको विकासका कथाहरूको आधार धार्मिक ग्रन्थ वा पुराणसँग जोडिएर आएको हुन्छ । नाटककार प्रवीण पुमाको सुम्निमा पारुहाङ नाटक किरातको मूल धार्मिक ग्रन्थ मुन्धुमको सृष्टि, प्रकृति अर्थात् पर्यावरणसँग जोडिएर आएको छ । यसैलाई आधार मानेर नाटककार पुमाले मानव उत्पत्ति र विकासको पर्यावरणलाई नाट्यसार शीर्षकमा यसरी प्रस्तुत गरेका छन् ः
यस नाटकमा मानिसको उत्पत्ति, विकास र परम्पराको विषयवस्तुहरू समेटिएका छन् । यस नाट्य िकृतिमा हेन्खामा, निनाम्मा, टाङटुप्पी माङपा, बाजिहाङ, तुइरा, भेक्वा, माक्वा, चाप्चा, बान्पा, होडछा रोहोमा र लक प्रमुख पात्रहरू छन् ।
यस नाट्य कृतिमा निनाम्माको विवाह प्रस्तावलाई हेन्खामाले अस्वीकार गर्छिन् । तर निनाम्माले झुक्याएर हेन्खामालाई गर्भवती बनाए साल्पापोखरीमा गएर सुत्छ । माङपाको नेतृत्वमा सुम्निमा बाजिहाङ, तुरा, भेक्वा, माक्वा साल्पापोखरीमा गएर निनाम्मालाई उठाउँछन् । निनाम्मा उठेपछि हेन्खामासँग निनाम्माको विवाह हुन्छ । विवाहपछि हेन्खामाको गर्भबाट चाप्चा, वान्पा र होडछा जन्मिन्छन् । तर हेन्खामासँग निहुँ खोजेर आकाशतिर फर्किए पनि निनाम्माले सुम्निमालाई भेट्दैन । यारीअनुसार सुम्निमा नै हेन्खामाको भेषमा भएको निनाम्माले थाहा पाउँछ । त्यसपछि धर्तीमा आएर निनाम्माको भेषमा रहेको पारुहाङले सुम्निमालाई आकाशतिर फर्किन अनुरोध गर्छ । तर सुम्निमा मान्दिनन्, पारुहाङ मात्रै आकाशतिर फर्किन्छ ।
पारुहाङ आकाशतिर फर्किएपछि सुम्निमाले रोहोमालाई उत्पत्ति गराउँछिन् । रोहोमाले पनि सुम्निमाको हेरचाह गर्छिन् । चाप्चा र वान्पाले होङछालाई अत्याचार गर्छन् । होङछाले पनि चाप्चा र वान्पालाई मार्छ । तर सुम्निमाले चाप्चा र वान्पालाई जगाएर छुटाइदिन्छिन् । पछि चाप्चाले सुम्निमालाई मार्छ । वान्पाले सुम्निमाको लासलाई खान्छ । होडछाले पनि हिर्काएर वान्पालाई बेहोश बनाउँछ । लकले बान्पालाई भगाउँछ । होड्छाको नेतृत्वमा सुम्निमाको मृत्युसंस्कार गरिए पनि सुम्निमा पछि आफैँ ब्यूँतिन्छिन् । पारुहाङ आएर सुम्निमालाई आकाशतिर लान्छ । होङछा मात्रै धर्तीमा रहन्छ
( पृ.२६) ।
प्रस्तुत ’सुम्निमा–पारुहाङ’ नाटक मुन्दुममा वर्णित सुम्निमा, पारुहाङ, टाडटुप्मी (तारे चरा), माया (धामीझाँक्री), बाजिहाड (गङ्गटो), तुइरा (कल्चुडा चरा), भेक्वा (भद्रायो चरा), माक्वा (मयुर चरा), चाप्चा (बाघ), बान्पा (भालु), होड्छा
(मानव), लक (पाहा) आदि मानव तथा मानवेत्तर पात्रहरूको उपस्थितिमा नाटकलाई सशक्त ढङ्गले अभिव्यञ्जित गरिएको छ । प्रवीण पुमाको प्रस्तुत नाट्यकृति मार्फत मुन्दुमी प्रकृति अर्थात् पर्यावरण र किराती समुदायको परिचय र पहिचानसँग जोडिएको सशक्त बनेको छ । सृष्टिका विषयलाई उनले नाटकमा यसरी प्रस्तुत गरेका छन् ः
हेन्खामा : हो त नि । (लजाउँदै) तर आकाशबाट कसो गर्दा पो यो धर्तीमा आउनुभयो को नि ?
निना म्माः (दर्शकतिर हेरेर लजाउँदै) अँ… माङ को इच्छाअनुसार सृष्टिकालमा सुम्निमा पारुहाङले जब यो धर्ती र आकाशको उत्पत्ति गराउनुभयो, तब यो धर्ती र आकाशमा बस्ती बसाउनु योग्य भयो । तर सुम्निमा–पारुहाङले मात्रै यो धर्ती र आकाश दुवै ठाउँमा एकैचोटी बस्ती बसाउनु सम्भव भएन । त्यसैले यो धर्तीमा बस्ती बसाउनुको लागि आएको हूँ । (मनोवाद) यति धेरै समयपछि बल्ला–बल्ला यो धर्तीमा हेन्खामालाई भेटियो। अब चाहिँ रात पो पार्नुपर्ला । आजको रात यो हेन्खामासँगै बस्नुपर्ला । उसलाई विवाहको प्रस्ताव पनि त्यही राख्नुपर्ला ।
(एकोहोरोरिँदै) त्यसपछि यो धर्तीमा हेन्खामासँग घरजम गरेर बस्नुप¥यो (पृ.३१)।
मुन्दुम किरातीहरूको मौखिक वाङ्मय हो । मुन्दुमभित्र किरातीहरूको भाषा, संस्कृति, दर्शन, इतिहास, भूगोल, कला, साहित्य, सामाजिक मूल्य र मान्यता विद्यमान हुन्छन् । त्यसैले मुन्दुम किरातीहरूको आस्था एवं विश्वासको धरोहर हो, महŒवपूर्ण अमूर्त सम्पदा हो । वस्तुतः मुन्दुम प्राचीन किरातीहरूले जीविकोपार्जनका क्रममा प्राप्त अनुभव र अनुभूतिजन्य ज्ञानभण्डार हो । मुन्दुमभित्र किरातीहरूको संस्कृति, इतिहास, धर्म, दर्शन, कला, साहित्य आदि समग्रताको वर्णन समेत प्राप्त गर्न सकिन्छ । यस नाट्यकृतिमा वर्णित प्रमुख पात्र पारुहाङ र सुम्निमाको मुन्दुममा दुईवटा रूपको चर्चा पाइन्छ । पारुहाङलाई मुन्दुममा निराकारको रूपमा अर्थात् अमूर्त रूपमा र आकारको रूपमा अर्थात् मूर्त रूप दुवैमा चर्चा गरिएको पाइन्छ । तर प्रस्तुत नाटकमा भने नाट्यकर्मी प्रवीण पुमाले सुम्निमा र पारुहाङलाई मानवीकरण गरेर मूर्त रूपमा नाटकीकरण गरेका छन् । वस्तुतः पारुहाङलाई किरातीहरूले आदिम पुर्खाको रूपमा लिने गर्दछन् । मुन्दुममा पारुहाङलाई सृष्टिकर्ता, अत्यन्त शक्तिशाली, अन्तरयामी, तिलस्मी पात्रको रूपमा चर्चा गरिएको पाइन्छ । प्रस्तुत नाटकमा आदिम किराती पुर्खा पारुहाङ र सुम्निमालाई मात्र होइन चराचुरुङ्गी, बाघ, भालु, गङ्गटो आदि मानवेत्तर पात्रहरूलाई समेत मानवीकरण गरेर प्रस्तुत गरिएकाले प्रकृति अर्थात् पर्यावरणीय परिवेशलाई न्याय गरेको देखिन्छ । चराचुरुङ्गी, हिमाल, जङ्गल, ओडार जस्ता प्रकृतिका विभिन्न रूप र मानव विकासका विभिन्न अवस्थालाई नाटकमा यसरी प्रस्तुत गरिएको छ :
चराचुरुङ्गीहरू चिरबिराइरहेका छन् । हिमालयको फेदीमा महासागर छ । त्यसको किनारमा घनाजङ्गल छ । जङ्गलमा वाहिबुङ, बाँसघारी, केराघारी, छोकोमा र भोर्लाघारीहरू छन् । त्यो जङ्गलमा ओडार छ । त्यो ओडारको भित्तामा सुम्निकेन, पारुकेन, सिलिमी, पोमी र तालित झुन्डिएको छ । यसको एक कुनामा बाँसको सेतो ध्वजासहितको लिङ्गो गाडिएको छ । त्यो लिङ्गोको फेदमा भोर्लाको पातमाथि साकेलुङ, सोलोन्वा, बेलुक र बेरुबुङ राखिएको छ । त्यो ओडारको एक छेउमा सुप्तुलुङ छ । त्यो सुप्तुलुङबाट धुँवा आइरहेको छ । यसको छेउमा तान, चर्खा, कपास, धागो र कपडा छ ।)( पृ.३४–३५)
यसरी नाटकमा काल्पनिक भन्दा पनि धेरै ठाउँहरू प्रकृतिमा भएका वास्तविक पर्यावरणका छन् । हिमालय दृश्यहरू, हिमालयको फेदिबाट बगेको समुन्द्र, हिमालय नजिकै रहेको बाटो, आकाश, धर्ती, हिमालय पर्वत, घना जङ्गल, साल्पापोखरी, नदिको किनार, हराभरा धर्ती, सुख्खाधर्ती आदि ठाउँहरू जस्ता ठाउँहरू नेपालको भोजपुर र खोटाङमा जिल्लाहरूमा अवस्थित वास्तविक ठाउँहरू छन् । यहाँ देशगत प्राकृतिक परिवेशका रूपमा आएका छन् ।
दिन र रातको समयको प्रक्रिया सूर्य र चन्द्रमाको प्रकृति चक्रमा आधारित हुन्छ । प्रस्तुत नाटक ’सुम्निमा–पारुहाङ’मा बिहान, दिउँसो र बेलुका गरी तीन भिन्नकालको चित्रण गरिएको छ । त्यस्तै यस नाट्यकृतिको वातावरणअन्तर्गत प्राकृतिक स्वच्छता, कृत्रिम अप्राकृतिक चमत्कारी वातावरण जस्तै ः– क्षणभरमै हुने झरीवादल, आँधीबेहरी, उजाड–उदास, खडेरी, सुख्खा, हरियाली मनोम आनन्द, त्रास, भय, सुख, दुःख, आशङ्कायुक्त वातावरणको चित्रण गरिएको छ । त्यस्तै यस नाटकका पात्रहरू हेन्खामा र निनाम्मामाले हेन्खामामा बस्ती बसाउनका लागि गरेको सङ्घर्षपूर्ण वातावरणको चित्रण गरिएको छ । सृष्टिको उत्पत्ति तथा मानव र मानवेत्तर प्राणीजगतको उत्पत्तिसँगै एकअर्काकाबीचमा द्वन्द्वको सिर्जना भएको आदिमकालीन त्यस समयको अवस्था र पर्यावरणलाई यस नाट्यकृतिमा उतारिएको छ ।
त्यस्तै किराती मुन्दुम तथा किराती जीवनचक्रको विश्लेषण गरिएको यस नाटकका हेन्खामा र निनाम्मामा सृष्टिक्रमका पात्रको प्रयोग गर्दा स्वतः प्राकृतिक अवस्था अर्थात् पर्यावरणीय परिवेश निर्माण भएको देखिन्छ । नाटकमा हेन्खामामा बस्ती बसाउनका लागि गरेको सङ्घर्षपूर्ण वातावरणको चित्रण गरिएको छ । सृष्टिको उत्पत्ति तथा मानव र मानवेत्तर प्राणीजगतको उत्पत्तिसँगै एकअर्काकाबीचमा द्वन्द्वको सिर्जना भएको आदिमकालीन पर्यावरणलाई प्रस्तुत गरिएको छ ।
सृष्टि अर्थात् पुराकथा मानव जातिको उत्पत्तिसँग जोडिएको हुन्छ । यसलाई नाट्यकृतिमा तत्कालीन परिवेश अर्थात् वातावरणलाई समाजमा प्रचलित दर्शन, धार्मिक मान्यता, रीति–थिति, चालचलन, सामाजिक संस्कार र नैतिक मर्यादाको युगीन चित्रण गरिएको छ । लोककथा, लोकसंस्कृतिको जिउँदो नमुना पाउन सकिन्छ । मुन्दुमी भूमिमा छरिएर रहेका लोकसंस्कृतिहरूलाई नाटकको विषयवस्तुका रूपमा प्रस्तुत गरिएको यस नाटकले किराती मुन्दुमको सृष्टिको विषय र सृष्टिसम्बन्धी प्राकृतिक परिवेशलाई चित्रण गर्दै नाटक अघि बढाइएको छ । हेन्खामा र निनाम्माको उत्पत्ति गराएका सुम्निमा र पारुहाङले छद्म रूप धारण गरी हेन्खामामा मानव बस्ती बसाउनका लागि चाप्चा, वान्पा र होड्छाको जन्म गराएका छन् । एउटै कोखबाट जन्मिएका चाप्चा र वान्पा मानवेत्तर पात्र हुन् भने होड्छा मानवीय पात्र हो । मानवीय र मानवेत्तर प्राणीका बीचमा हुने वैचारिक धरातललाई यस नाट्यकृतिमा स्पष्ट रूपमा देखाइएको छ । उनीहरूका बीचमा एक प्रकारको द्वन्द्व सिर्जना भएको छ । त्यही द्वन्द्वले चरम रूप लिएपछि होड्छाले चाप्चा र वान्पालाई तालितले हानेर मारिदिएको छ । तर सुम्निमा ले आफ्नो कुलको रक्षाका लागि चाप्चा र वान्पालाई मुन्दुम फलाकेर ब्यूँताएकी छिन् । मुन्दुममा आधारित आदिम युगीन परिवेशको चित्रण गरिएको यस नाट्यकृतिमा स्थानीय रङ्गले पोतिएको छ भन्न सकिन्छ ।
सुम्निमा र पारुहाङले आकाश र धर्तीको उत्पत्ति गराएपछि धर्तीमा मानव बस्ती बसाउने सोचका कारण सुम्निमालाई छक्याएर पारुहाङ पृथ्वीमा झरेका छन् । पारुहाङ पृथ्वीमामा झरेको कुरा ध्यानदृष्टिबाट थाहापाएर सुम्निमाले पनि हेन्खामाको भेषमा मानव बस्ती बसाउन झरेकी छन् । निनाम्माले विवाहको प्रस्ताव राख्दा हेन्खामाले ठाडै अस्वीकार गरिदिएका कारण निनाम्माले झुक्याएर गर्भवती बनाएको र र साल्पापोखरीमा गएर सुतेको कथन छ । त्यही कारण हेन्खामा निनाम्मासँग विवाह गर्न बाध्य भएकी हिन् । त्यस्तै गरी सम्पूर्ण धर्ती सुख्खा बनाई साल्पापोखरीमा मस्त निदाएका निनाम्मालाई ब्यूँझाउँन नसकेका कारण वाजिहाङलाई कानमा टोक्न लगाई उठाउनु, वाजिहाङ सुख्खाभूमिमा हिँड्न नसक्ने भएका कारण हेन्खामाले सोलोन्वाले थोक्काउँदै बाटो चिसो बनाई साल्पापोखरीसम्म लैजानु, संसार चलाउनका लागि निनाम्मासँग रिसाएको नाटक गरी हेन्खामाले अंशवण्डा गरी निनाम्मालाई घरबाट निकालिदिनु, मातृवात्सल्यले भरिपूर्ण हेन्खामाले आफ्नो सन्तानहरू सानै भएका कारण आकाशबाट लिन आएका निनाम्मासँग जान अस्वीकार गर्नु, चाप्चा र वान्पाको अत्याचार सहन नसकेका कारण होड्छाले उनीहरूको हत्या गरिदिनु, सृष्टि सौन्दर्यको पक्षपाती हेन्खामाले आफ्नो कुलको रक्षाका लागि मृत्यु भइसकेको चाप्चा र बान्पालाई मुन्दुम फलाक्दै ब्युताउँनु, चाप्चा, वान्पा र होड्छाबीचको वैचारिक धरातल विल्कुलै फरक भएका कारण उनीहरूलाई कहिलै भेट नहुने गरी छुट्टाइदिनु । आकाशको रक्षाका लागि निनाम्मासँगै हेन्खामा आकाशतिर फर्कनु जस्ता घटनाहरूबीच मानव सृष्टि र विकास कार्यकारण सम्बन्ध रहेकाले सृष्टिसम्बन्धी प्रकृति अर्थात् पर्यावरणलाई यहाँ प्रस्तुत गरिएको छ भन्न सकिन्छ ।
प्रस्तुत नाटकमा किराती प्रकृति अर्थात् पर्यावरणीय प्रयुक्त पात्रहरूको रहनसहन, बानीव्यहोरा, बोलीवानी आदिलाई मुन्दुमी जीवनसँग मिल्दोजुल्दो रूपमा प्रस्तुत गरिएको छ । तत्कालिन सामाजिक परिवेशअन्तर्गत अलौकिक चमत्कार युक्त शक्तिको प्रयोग गरेको देखाइएको छ । जस्तै– धर्तीको उत्पत्ति गराउन सक्नु, आफनो इच्छा बमोजिम आकाश र आकाशबाट छद्म रूप धारण गरी धर्तीमा झर्न सक्नु, आफनो इच्छा बमोजिम रात पार्नु, क्षणभरमै सारा संसार, पृथ्वीलाई सुख्खा, उजाड, हरियाली, हराभरा बनाउनु, मानवेत्तर प्राणीले पनि मानवलेझै हरेक क्रियाकलाप गर्नु, निनाम्मा पानीभित्र पनि मस्तसँग निदाउनु, बिना संसर्ग हेन्खामालाई गर्भवती बनाउनु, हेन्खामाको कोखबाट जन्मिएका सन्तान मानव र मानवेत्तर दुई भिन्न प्राणी हुनु, आफ्नो सन्तानप्रति आइलागेको आपदविपद ध्यानदृष्टिबाट थाहा पाउनु, मृत्यु भइसकेका चाप्चा र वान्पालाई मुन्दुम फलाकेर पुनर्जीवन प्रदान गर्न सक्नु आदि । यसरी यस नाट्यकृतिमा वर्णित परिवेशबाट नियालेर हेर्दा पुरै सृष्टिसँग जोडिएका प्रकृति अर्थात् पर्यावरण देखिन्छ ।
निष्कर्ष
सृष्टि, प्रकृति अर्थात्पर्यावरणीय विषयवस्तुलाई आधार मानेर लेखिएको मुन्धुमको कथामा आधारित यस सुम्निमा पारूहाङ नाटक प्रकृतिको चित्रण गरिएको पर्यावरणीय नाटक हो । मुन्दुमी आस्था तथा विश्वासको केन्द्रमा राखेर सृष्टिको परिवेश, पृथ्वीका विभिन्न स्थान तथा आकाश धर्तीलगायत केही काल्पनिक, स्वैरकाल्पनिक अवस्थालाई नाटकमा देखाउन खोजिएको छ । मञ्चीय नाटकमा केही गर्न नसकिने कुरा राखिए पनि संवाद र काल्पनिक पक्षबाट बेझाउन खोजिएको नाटक मञ्चीय दृष्टिले उत्कृष्ट रहेको छ । किराती संस्कृति र जनजीवनसँग जोडएका प्राचीन वस्तुको अधिक प्रयोगले नयाँ पुस्तामा अलि कठिन तथा दुर्बोध्य लाग्ने प्रस्तुत नाटकमा कृतिमा भाषाशैली अलि जटिल र वाक्यगठन अस्पष्ट देखिन्छ ।
सन्दर्भ सामग्री :
ढकाल, बद्री प्रसाद (२०८२), ‘सुम्निमा-पारुहाङ नाटकमा सृष्टी पर्यावरण’, प्रकृति, पर्यावरण र साहित्य, काठमण्डौ : अनुसन्धान विमर्श नेपाल ।
पुमा, प्रवीण्(२०६४), सुम्निमा-पारुहाङ, ललितपुर : सुम्निमा थिएटर एकेडेमी । 






