जन्तेढुङ्गा पोखरीको उत्पत्ति -प्रवीण पुमा
(२०५३ सालमा जन्तेढुङ्गा पोखरीको अवस्था । तस्विर : प्रवीण पुमा)
आदिमकालमा इन्द्रदल पुमा तिलुङ बोब्बी (हाल, जन्तेढुङ्गा–५, दिब्लुङ, चाभाखोरा, खोटाङ, नेपाल) मा बस्थ्यो। उसको दुईजना श्रीमतीहरू थियो। त्यसमध्ये जेठी चाम्लिङ पाछाको थियो भने कान्छी सुप्तिहाङ पाछाको चेली थियो। जेठी क्रूर स्वभावको थियो। उसले आफ्नो दुई छोराहरू धोजमान र पृथ्थीमान र एक छोरीलाई चामलको भात दिन्थ्यो। तर, सौता र सौताको छोरा पद्मसिंह पुमालाई भुसको खाना दिन्थ्यो। जेठी श्रीमतीको दुई छोराहरू धोजमान र पृथ्थीमान पनि आमाकै स्वभावको थियो। तिनीहरूले सधैँ पद्मसिंहप्रति कुभलो चिताउँथ्यो।
तिनीहरूको सिस्ने डाँडा³ (जन्तेढुङ्गा–५, भिरगाउँको पुछार, खोटाङ, नेपाल) मा गोठ थियो। त्यहाँ सौतेनी दाजुहरू धोजमान र पृथ्थीमानले पद्मसिंहलाई सधैँ हप्कीदप्की पार्दै काम अराउँथ्यो। तर, सौतेनी दाजुहरू भने नाचगान गर्दै बस्थ्यो।
एकदिन पद्मसिंह नभएको बेलुका बाघ आयो। हेर्दाहेर्दै बाघले गोठको गोरु मार्यो। सौतेनी दाजुहरूले हप्कीदप्की पार्दै भन्यो– “ए पद्मसिंह, तँ नभएकोले बाघले गोरु मार्यो। अब त्यो गोरुको टाउको पक्रिएर रातभरि बस्। त्यो गोरुलाई बाघले खान नदिनू। यदि गोरुलाई बाघले खायो भने तँलाई नै हामी मार्छौँ।”
सौतेनी दाजुहरूको आज्ञाअनुसार पद्मसिंहले गोरुको टाउको समाएर रातभरि डरले काम्दै बस्यो। रात छिप्पिँदै गयो। मध्यरातमा बाघ गर्जिँदै आयो। बाघदेखि पद्मसिंह डरायो। उसले रुँदै सौतेनी दाजुहरूलाई गुहार्यो। तर, सौतेनी दाजुहरूले गिज्याउँदै भन्यो– “तँलाई त हामीले नै मार्नुपर्नेमा अब बाघले नै मार्ने भो, बिचरो! पद्मसिंह।”
पद्मसिंहले सहारा पाएन। उसले बाघलाई ढोग्दै भन्यो– “बिन्ती छ, बाघ! आजको रात यो गोरुको सिनो नखाइदिनुहोस्। यदि यो सिनो खानुभयो भने सौतेनी दाजुहरूले मलाई मार्छ। यो तपाईंकै आहारा हो। भोलि उज्यालो भएपछि खानुहोस्।”
बाघले पनि गोरुको सिनो खाएन। बाघ पद्मसिंहको छेउमा गएर रातभरि सुरक्षा दिँदै बस्यो। फेरि पद्मसिंहले पुमा साकेन्वालाई ढोग्दै भन्यो– “हे साकेन्वा! मलाई मेरो सौतेनी दाजुहरूले मार्न खोजिरहेको छ। यदि दाजुहरू बाँचे भने मलाई मार्छ। त्यसैले, त्यो दाजुहरू आजको एक साताभित्र भस्म होस्।”
भोलि बिहानै सौतेनी दाजुहरू धोजमान र पृथ्थीमान “पद्मसिंहलाई बाघले मार्यो होला” भनी खुसी हुँदै मृत गोरु भएको ठाउँमा आयो। त्यो बाघ बिस्तारै उठेर अलिक पर गयो। सौतेनी दाजुहरूले भन्यो– “लु पुक्सा।” पद्मसिंहले मृत गोरुलाई छोडेर गयो। तुरुन्तै बाघ गर्जिएर आयो। बाघले मृत गोरुको सिनो खान थाल्यो। सौतेनी दाजुहरू बाघदेखि डराएर रुँदै गोठतिर भाग्यो।
सातादिन नबित्दै इन्द्रदल पुमाको जेठी श्रीमतीपट्टिका दुवैजना छोरालाई हैजाले छात्दै–छेर्दै मर्यो। दुवै भाइ छोराहरूको मृत्युको पीरले इन्द्रदल पुमाको जेठी श्रीमतीको पनि मृत्यु भयो। त्यो लाशलाई पाथीभाराको च्यानडाँडामा लगेर गाड्यो। तर, च्यानबाट लाश उठ्न खोज्यो। त्यो घटनाले सबैमा खैलाबैला मच्चियो। मलामीहरू धर्मसङ्कटमा पर्यो। तुरुन्तै मलामीहरूले चिलाउनेको लठ्ठी काटेर लाशलाई कुटेर मार्यो। लाशलाई पुनः त्यही चिहानमा गाडेर सबै मलामी घर फर्कियो।
पछि कान्छी श्रीमती र छोरा पद्मसिंहलाई लिएर इन्द्रदल पुमा तीर्थधाम गयो। धर्मकर्म गर्यो। पाटीपौवा बनायो। चौतारा बनायो। धारा बनायो। अन्त्यमा जन्तेढुङ्गाको छेउमा जेठी श्रीमती र दुवै भाइ छोराको सम्झनामा एक पोखरी खन्यो। तर पानी उम्रेन। पोखरी पनि भएन। सोचेको पूरा भएन।
त्यो पोखरीमा इन्द्रदलले मुन्दुमअनुसार पूजा गर्यो। सारिचाप्चेन गर्यो। हिवा बहायो। नौमुरी तिल–जौ पोल्यो। आगो दनदनी बल्यो। आगोको मिसाम पनि मार्यो। तर त्यो आगो ६ महिनासम्म मरेन। सबै जना अचम्मै भयो।
बिस्तारै खडेरी लाग्यो। हावा हुरी चल्यो। डढेलो लाग्यो। आगोको डर भयो। खालाखोल्सीको पानी सुक्यो। पानीको हाहाकार भयो। इन्द्रदललाई नमज्जा लाग्यो। इन्द्रदल ध्यानमा बस्यो। मुन्दुम फलाक्यो। रिसिया गायो। यारी हेर्यो। यङवी हान्यो। यङवी चित–पोट भयो। इन्द्रदल फेरि साल्पा पोखरीतिरै हिँड्यो।
साल्पा पोखरीमा पुगेपछि इन्द्रदलले मुन्दुम फलाक्यो। रिसिया गायो। पुर्खाहरूसँग बल माग्यो। रोप्ने पानी माग्यो। त्यो पानी बाँसको चुङ्गेमा लायो। त्यो पानीको चुङ्गे बोकेर जन्तेढुङ्गामै फर्किएर आयो।
गाउँले सबै भेला भयो। सभा बस्यो। त्यो सभामा इन्द्रदलले मुन्दुमी विधिबाट पानी ल्याएको बतायो। सबैको सहमतिमा इन्द्रदलले मुन्दुमअनुसार पूजा गरेर ल्याएको साल्पा पोखरीको पानी आफ्नो टोपीमा खनायो।
इन्द्रदल ध्यानमा बस्यो। मुन्दुम फलाक्यो। रिसिया गायो। यारी हेर्यो। यङवी हान्यो। यङवी चित–पोट भयो। पुर्खालाई सम्झिएर आगो भएको पोखरीको बिचमा सखुवाको मुड्का गाड्यो। इन्द्रदलले त्यो सखुवाको फेदमा टोपीमा रहेको साल्पा पोखरीको पानी रोप्यो।
पानी बिस्तारै छिपछिपायो। आगो बिस्तारै निभ्दै गयो। पानी बिस्तारै बढ्दै गयो। अन्त्यमा साल्पा पोखरीको पानीबाट दाग्मीलुङमा पोखरी भयो। सबै जना अचम्म भयो। सबैमा खुसी छायो। इन्द्रदललाई सबैले स्याबासी दियो। उसको जयजयकार मनायो। दाग्मीलुङ क्षेत्रको पानीको हाहाकार पनि बिस्तारै हट्दै गयो।
यसरी साल्पा पोखरीको पानी इन्द्रदलले टोपीमा ल्याएर रोप्दा जन्तेढुङ्गा पोखरीको उत्पत्ति भयो। त्यो जन्तेढुङ्गा पोखरीमा इन्द्रदल पुमाले मुन्दुमअनुसार उँभौली र उँधौलीमा पूजा गर्यो। हालसम्म पनि त्यो जन्तेढुङ्गा पोखरीमा इन्द्रदल पुमाको सन्तानले पूजा गर्दै आएको छ। यस जन्तेढुङ्गा पोखरीलाई यस पोखरीलाई पुमा भाषामा दाक्मिलुङ भनिन्छ । हाल, यो जन्तेढुङ्गा पोखरी नेपालको खोटाङ, जन्तेढुङ्गा गाउँपालिकाको पाथीभारा र अल्लेगैरा गाउँको शिरमा पर्छ।
यस जन्तेढुङ्गा पोखरीमा वैशाखे पूर्णे र मङ्सिर पूर्णेको दिन हजारौँ दर्शनार्थीले पूजापाठ गर्छन्। साकेला सिली टिप्छन्। यस पोखरीमा तीर्थालुहरू आउँछन्। यस पोखरीमा नुहाएर सन्तान नभएकाहरूले सन्तान माग्छन्। यो पोखरीमा हजारौँ पर्यटकहरू आउँछन्। आनन्द लिन्छन्।
यस पोखरीबाट पूर्वको बेछुचोन, उत्तरको सिलिचुङ, पश्चिमको बोकोन चोन र दक्षिणको वाखिखाम देख्न सकिन्छ। तर, पछिल्लो समयमा सरकारले स्तरउन्नति गर्ने नाउँमा डोजर लगाएर यस जन्तेढुङ्गा पोखरी खनेपछि यस जन्तेढुङ्गा पोखरीको पानी पूरै सुकेको छ। तत्कालै यस पोखरीलाई संरक्षण नगर्ने हो भने केही वर्षभित्रै यस जन्तेढुङ्गा पोखरीको अस्तित्व नै मेटिने छ।
१. स्रोेत व्यक्तिहरू :
१. जसबहादुर राई (वि. सं. १९७९–२०७५), चिसापानी–७, पाथीभारा, खोटाङ, नेपाल। अन्तर्वार्ता मिति: २०५६।१२।२० गते, चिसापानी–७, पाथीभारा, खोटाङ, नेपाल।
२. जगतबहादुर राई (वि. सं. १९८२–२०८०), पाथीभारा, खोटाङ, नेपाल। अन्तर्वार्ता अवधि: २०४३–२०८० सम्म।
३. चतुरकुमारी राई (वि. सं. १९९३), चिसापानी–७, पाथीभारा, खोटाङ, नेपाल। अन्तर्वार्ता अवधि: २०४३ सालदेखि हालसम्म।
४. टीकाराज राई (वि. सं. २००३), चिसापानी–७, पाथीभारा, खोटाङ, नेपाल। अन्तर्वार्ता मिति: २०८०।१०।२२ गते, कीर्तिपुर, पथरी, मोरङ, नेपाल।
५. इन्द्रबहादुर राई (वि. सं. २०२२), चिसापानी–७, पाथीभारा, खोटाङ, नेपाल। अन्तर्वार्ता मिति: २०८०।१०।२२ गते, कीर्तिपुर, पथरी, मोरङ, नेपाल।
२. सन्र्दभश्रोत पुस्तकहरु :
पुमा, प्रवीण ।२०६८ । हेन्खामा–निनाम्मा (दोस्रो संस्करण) । खोटाङ : सुम्निमा थिएटर एकेडेमी, नेपाल ।
……। २०६७ । किरात मुन्दुमी लोककथाहरूको अध्ययन । काठमाण्डौ : नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सरकार ।
(२०७२ सालमा जन्तेढुङ्गा पोखरीको अवस्था । तस्विर : प्रवीण पुमा)






