‘म’ शीर्षकको कविता – कवयत्री सरस्वती श्रेष्ठ ‘सरु’

“तिमी बिहानै बिहानै
नहल्लाउनु दुबोको पात ।
ए हावा !
सुस्तरी छुनु फूलका पत्रहरूमा
सुस्तरी चाल्नू पाइलाहरू
म ढल्पलाउन सक्छु
पोखिन सक्छु ।

नानीहरू नरुनु पुतली च्यात्तिएको दुःखमा
आमाहरू नरुनु सन्तान परदेशिएको वियोगमा
म झर्न सक्छु आँखाको डिलबाट ।

चराहरू सुस्तरी चिरबिराउनु
आवाजले झस्किएर म पोखिन सक्छु
नठोकिनू पत्थरले पनि
मनको घडामा
म छचल्किन सक्छु
ठोकिनै परे फूल भएर ठोकिनु ।

सुस्तरी उघार्नु ढोका
धक्का नदिनु मलाई
म आज तरल भएकी छु
शीत, आँसु या यस्तै केही भएकी छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *