केही सहरियाका नाममा !-पुरु लम्साल
सहरका
केही सुकिला मान्छेहरूले
हामीलाई फेरि पनि
डम्पिङ साइड सम्झे !
विपतको यो घडीमा
हामीलाई चाहिएको थियो
अलिकति टाउको लुकाउने ओत
दुःखमा साथ दिने एकमुठी न्यानो विश्वास
र नाङ्गो आङ छोप्ने एकसरो कपडा !
तर सहरका केही संभ्रान्तहरूले त
हाम्रा घाउहरूमाथि नुनचुक दले
र मिल्काए हाम्रै भग्नावशेषहरू छेउमा
लाउनै नमिल्ने
थोत्रा तथा च्यात्तिएका भित्री वस्त्रहरू !
के याे रहत हाे ?
हैन !
तिम्रो दम्भको मैलो ऐना हाे !
जहाँ हामी मान्छे होइनौँ,
केवल फोहोर फाल्ने
एउटा डम्पिङ साइड देखिएका थियौँ !






