मुन्दुमको विश्लेषणात्मक अध्ययन-उप-प्रा. इच्छापूर्ण राई
१. प्रस्तावना
किरात समुदाय मुन्दुम पराम्परासँग सम्बन्धित छ । किरात समुदायभित्र पर्ने जातिहरु र मुन्दुम शब्दको व्यूत्पत्तिको विषयमा धेरै मतमतान्तर छ । मुन्दुम परम्परालाई आत्मसात गर्ने जातिहरु राई, लिम्बू, याक्खा र सुनुवार हुन् । यी सबै जातिहरुले मान्ने मुन्दुमी पराम्परा केही फरक छन् । तर, सूक्ष्मरुपले अध्ययन गर्दा आधारभूत रुपमा धेरै विषयहरुमा समानता पाइन्छ । मुन्धुम परम्परा मान्ने मध्ये एक ‘किरात राई’ समुदाय हो । किरात राईहरु बहुभाषिक समुदाय हुन् । उनीहरु बीचमा सांस्कृतिक विविधता पनि छन् । यसरी ती विविधताहरुलाई हेर्दा फरक संस्कृतिजस्तो देखिए पनि उनीहरुको संस्कृति मुन्दुमी परम्परामा आधरित छ । यसो भनिरहँदा सबै भाषिक, सांस्कृतिक समुदायको मौलिकतालाई एकै ठाउँमा गोलमटोल गरेर उपेक्षा गर्न खोजिएको होइन र गर्नु पनि हुँदैन । राईहरुको भाषिक, सांस्कृतिक विविधताको अध्ययन एउटै शब्द ‘राई’ मुनि गर्न सकिँदैन । तर, प्रष्ट के हो भने राई जाति एक र भाषिक, सांस्कृतिक हिसाबले अनेक विशेषताहरु भएको पूर्वी नेपालमा बसोवास गर्ने एक जाति हो । यो लेखको उद्देश्य सबै राईहरुको सांस्कृतिक अध्ययन गर्नेभन्दा पनि संस्कृति, परम्परा, विश्वासको रुपमा बाँचिरहेको जुन प्रथा, मान्यता र विश्वास अझसम्म यी समुदायमा छ, त्यसकै आधारमा मुन्दुमको समग्र पक्ष र अवधारणाहरुलाई उजागर गर्ने प्रयत्न मात्र हो ।
यो लेखले भाषिक, सांस्कृतिक रुपमा महासागर जस्तो फराकिलो राई जातिको समग्र संस्कृतिको अध्ययनलाई समेट्ने दुष्प्रयास गरेको छैन किनभने भाषिक हिसाबले राईहरु २२ जनगणना (२००१), ३१ (निशि १९९२), २५ (हान्सन १९९१), २७ (किराया भाषा तथा संस्कृति परिषद्) प्रतिशत छन् । यथार्थमा उनीहरु भाषिक सांस्कृतिक हिसाबले कति छन् भनेर यकिन नभइरहेको बेला कुनै पनि एक भाषिक, सांस्कृतिक समुदायको अध्ययनले मात्र समग्र राई जातिको प्रतिनिधित्व गर्न सक्दैन । यसर्थ यो लेख सांस्कृतिक विविधतामा भन्दा सांस्कृतिक समानता वा साझा मुन्दुम परम्परामा आधरित हुनेछ र यो लेख मानव भाषा शास्त्रमा तालिम पाएको एउटा एथ्नोग्राफरको अवलोकन र अध्ययनमा आधारित छ । तसर्थ यसले हिजो के थियो र भोलि के हुनेछ भनेर होइन कि आज परम्पराको रुपमा समुदायमा के बाँचेको छ भन्ने कुरालाई छोटकरीमा विवेचना गर्नेछ ।
२. परिभाषा
मुन्दुमको परिभाषामा एकमत हुन कठिन छ तर एउटै शब्दमा भन्दा किराती समुदायले मान्दै आएको मौखिक परम्परा (Oral tradition) हो । मुन्दुमको अनेकौ पक्ष र आयाम भएको कारणले मुन्दुमको व्याख्या, विश्लेषण र वर्णन गर्दा अन्धाहरुले हात्ती छामेको नेपाली लोक कथासँग मेल खान्छ । अन्धाहरु मध्ये जस जसले हात्तीको जुन जुन भाग छोए त्यसैको आधारमा हात्ती यस्तो हुँदो रहेछ भनेर धारणा बनाए जस्तै मुन्धुमको अध्ययनमा पनि जसले जुन जुन पक्षको अध्ययन गर्छ त्यसैको आधारमा मुन्धुम यस्तो हुन्छ भनेर निष्कर्ष निकाल्दा हात्ती र अन्धाको लोक कथासँग मिल्न जान्छ । सत्य र यथार्थबाट अध्ययन र विश्लेषण टाढा हुनसक्दछ । ‘मुन्दुम’ शब्द कसै कसैको भनाइमा मुना ‘मान्छे’ र दुम ‘कुरा’ भन्ने शब्दबाट ब्युत्पन्न भएको भनेर विश्वास गरे पनि सबै भाषीहरुले यहि शब्द प्रयोग देखिँदैन । बरु विभिन्न भाषी राईहरुले आ–आफ्नो भाषा अनुसार बेग्ला बेग्लै शब्दहरु प्रयोग गरेको देखिन्छ ।
उदाहरणको रुपमा ग्यान्स्ले (२००२ सन्), राई (२०६२) र राई (२००७ सन्)लाई आधार मान्दा निम्न भाषीहरुले निम्न शब्दहरु प्रयोग गरेको देखिन्छ । १. मुन्दुम(छिन्ताङ, छुलुङ, वेलहारे, वान्तवा), २.रिदुम मुन्दुम(बान्तवा), ३.मुन्दुम/मुअ्दुम (पुमा, मेवाहाङ, बान्तवा)४.मुन्टुम(याख्खा), ५.मिन्दुम(याम्फु),६.मुक्दुम(सुनुवार), ७.रिदुम (कुलुङ), ८. दुम्ला (चाम्लिङ),९.दिउम्ला(थुलुङ),१०.पेलाम(लोहोरुङ),११.तम्र(खालिङ),१२.मुन्धुम(नेपाली भाषी),१३.मुद्धुम(दुमी) ।
यसरी मुन्दुमलाई विभिन्न नामबाट विभिन्न भाषिक समुदायले बोलाए पनि यस लेखमा मुन्दुम शब्दलाई सजिलोको लागि रोजिएको छ । यसको पछाडि ठीक र बेठीकको आधारलाई मानिएको छैन । तर, धेरै जसो राई भाषामा ‘ध’ वर्ण नभएकोले मुन्धुम शब्द उनीहरुको जिब्रोले उच्चारण गर्न सक्दैन । त्यसकारण माथिको विभिन्न बहुसंख्यक भाषीहरुले प्रयोग गर्ने शब्द मुन्दुम भएकोले यहाँ पनि त्यहि शब्द प्रयोग गरिएको छ ।
जब मुन्दुमको कुरा उठ्छ, तब मुन्दुम के हो त भन्ने कुरा आइहाल्छ । यसमा विद्वानहरुले प्रस्तुत गरेको रायमा एकमत देखिदैन । मुन्दुमलाई व्याख्या गर्ने सन्दर्भमा विभिन्न विद्वानहरुले विभिन्न किसिमका रायहरु प्रस्तुत गरेका छन् । ती मध्य केहीको तल चर्चा गरिएकोछ । ग्यान्स् (२००२) को भनाई अनुसार मुन्दुमलाई मौखिक परम्परा (Oral Tradition), पैत्रिक ज्ञान (Ancestral Knowledge) र परम्परागत जीवनयापन (Traditional way of life)को रुपमा अथ्र्याइएको छ । यसरी नै चेम्जोङ (२००३) को अनुसार मुन्दुमलाई शक्ति (Power of great strength) को रुपमा परिभाषित गरिएको छ । यो किरातीहरुको सत्य, पवित्र र शक्तिशाली कुरा (A true, holy and a powerful scripture) को रुपमा अथ्र्याइएको छ । यस परिभाषामा प्रयोग गरिएको अङ्गे्रजी शब्द (Scripture) को नेपाली रुपान्तरण ‘लिखित परम्परा’ भन्ने बुझिन्छ । मुन्दुम लिखित नभएर मौखिक परम्परा भएको कारणले यसको परिभाषामा समस्या छ । चेम्जोङ (२००३) को अनुसार मुन्दुमलाई दुई भागमा बाँडिएको छः– थुङसाप र पेयसाप मुन्धुम । थुङसापलाई मौखिक परम्परा र पेयसापलाई लिखित परम्पराको रुपमा उल्लेख गरिएको छ । चेम्जोङले पेयसाप मुन्धुमलाई सोकसोक मुन्धुम, येहाङ मुन्धुम, साप्जी मुन्धुम र साप मुन्धुम भनेर ४ भागमा बाँडेका छन् । तर, यो विभाजन पनि त्यति वैज्ञानिक देखिँदैन किनभने मुन्दुम परम्परा मौखिक परम्परा भएको कारणले मौखिक र लिखित भनेर वर्गीकरण गर्नु उचित हुदैन । यथार्थमा मुन्दुम लिखित दस्तावेज वा मन्त्रहरुको चाङ नभएर मौखिक परम्परा हो भन्ने कुरामा सन्देह छैन ।
३. विशेषता :
यसको विशेषता मुन्दुम बहुआयामिक विषय हो । मुन्दुमका अनेकौ पक्ष र विषय वस्तुहरु छन् । तर पनि मुन्दुमभित्र के छ भनेर मोटामोटी रुपमा छलफल गर्न सकिन्छ ।
मुन्दुमी परम्परा विशाल क्षेत्र ओगटेको बहुआयमिक विधा भए पनि मूलतः मुन्दुम भित्र के–के पर्दछन् भन्ने कुरा तलको रेखाचित्रबाट देखाउन सकिन्छ ।
३.क. मिथक :
मिथक र संस्कार एक अर्काका पूरक हुन् । किराती परम्परामा मिथकको ज्यादै महत्वपूर्ण भूमिका छ । मुन्दुमको सबैभन्दा महत्वपूर्ण अङ्गको रुपमा रहेको मिथक मौखिक परम्परामा अनादि कालदेखि जनजीब्रोमा बाँचिरहेको छ । मौखिक रुपमा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुने सन्दर्भमा कति तोडमोड भए होलान्, बिर्सिए पनि होलान् तर पनि धेरै जसो मिथक आजसम्म पनि जनश्रुतिको रुपमा बाँचिरहेकोछ । मिथक वास्तवमा कुनैपनि विषय वा पक्षको मौखिक वर्णनसँग सम्बन्धित हुन्छ । यो वास्तवमा अलिखित ईतिहास पनि हो, किनकि यो ईतिहास नभए पनि यसको ईतिहाससँग गहिरो सम्बन्ध हुन्छ । यो कतै लोककथा, कतै लोकगीत र कतै वर्णनको माध्यामबाट हस्तान्तरण भइरहेको छ । मुन्दुममा आधारित किराती परम्परालाई प्रष्ट रुपमा वर्णन गर्ने माध्यम नै मिथक हो । ब्रम्हाण्ड, मानवजाति, जीवजन्तु, वनजंगलको उत्पति, संस्कार, चाडपर्व मनाउने परम्पराको थालनी, जन्म विवाह र मृत्युबारेको दृष्टिकोण, पितृ र प्रेतात्माको अवधारणा, पैत्रिक देवताको कुरा, जाति र पाछा निर्माणको सन्दर्भ आदि जस्ता विषयहरु मिथकले समेटेको देखिन्छ । त्यसकारण मिथक मुन्दुमको महत्वपूर्ण अङ्ग बनेको छ । वास्तवमा मुन्दुम एउटा मौखिक परम्परामा आधारित जीवन दर्शन हुनुको पछाडि मिथकको ठूलो हात रहेको छ ।
३.ख. संस्कार :
संस्कार मुन्दुमकोे अर्काे महत्वपूर्ण अङ्ग हो । मुन्दुमको आधारमा सम्पन्न संस्कारको दुई पक्षहरु देखिन्छन् । पहिलो पक्ष संस्कारगत चाडपर्वहरु (Ritual Ceremony) पर्दछन् । सजिलोको लागि संस्कारगत चाडहरुलाई तीन प्रकारमा बाँडन सकिन्छ । पहिलो प्रकारको चाडमा जन्मदेखि मृत्युसम्म गर्नुपर्ने वा गरिने सम्पूर्ण चाडहरुलाई राख्न सकिन्छ । दोस्रो प्रकारको चाडलाई मुख्य चाडको रुपमा वर्गीकरण गर्न सकिन्छ र यस अन्तरगत उभौली, उधौली, साकेवा, वाढाङ्मीजस्ता महत्वपूर्ण चाडहरु पर्दछन् । तेसो प्रकारको चाडहरुमा अरु चाडहरु पर्दछन् । ती अरु चाडहरु अन्तर्गत जाति पिच्छे वा थर पिच्छे वा ठाउँ पिच्छे आ–आफ्नो परम्परा अनुसार विभिन्न चाडहरु पर्दछन् । यी चाडहरुमा पानी माग्ने, खोला देवता, सर्प देवता, वनदेवता पूज्ने जस्ता चाडहरु पर्दछन् । यी चाडहरु जाति विशेष वा थर विशेषमा आधारित हुने गर्दछन् । संस्कारको अर्को पक्ष सांस्कारिक कार्यविधि (Ritual Performance) हो । हरेक संस्कार सम्पन्न गर्ने गराउने आफ्नो विधि छ । चढाउन चाहिने सामग्रीहरु, प्रयोग गरिने भाषा, पूजारीको रुपमा काम गर्ने व्यक्ति र उसको बसाईको स्थिति, पूजा गर्ने थान र थानको निर्माण, जान्ने बुढ्यौली, पूजा गर्ने स्थलआदि पक्ष संस्कार सम्पन्न गर्नको निम्ति महत्वपूर्ण मानिन्छन् । यी सबै सांस्कारिक कार्यविधि अन्तरगत पर्दछन् ।
३.ग. भाषा :
कुनै पनि संस्कार सम्पन्न गर्दा बोलचालको भाषाभन्दा फरक भाषा प्रयोग गरिन्छ । त्यो विशेष व्यक्तिले (पूजारी, धामी, जान्ने बुढयौली) विशेष बेला (संस्कार सम्पन्न गरिएको बेला) प्रयोग गरिने भाषालाई ‘मुन्दुम भाषा’ भनिन्छ । मुन्दुम भाषालाई प्रयोगकर्ताको हिसाबले दुई प्रकारमा विभाजन गर्न सकिन्छ ।
पहिलो प्रकारको मुन्दमी भाषालाई दोवा भाषा (Shamanic Language) भनिन्छ जुन भाषा धामी, दोवाले (जसलाई देवता चढ्छ) चिन्ता बस्दा प्रयोग गर्दछन् । धामी, दोवाहरुलार्ई देवता चढेको बेला देवता बोलाउने वा देवतासँग संवाद गर्ने भाषालाई ‘दोवा भाषा’ भनिन्छ । नेपालमा दोवा भाषाको अध्ययन मानवशास्त्रीय हिसाबले केही भएपनि भाषाशास्त्रीय हिसाबले भएको देखिँदैन ।
त्यस्तै अर्को प्रकारको मुन्दुम भाषा अन्तर्गत संस्कार सम्पन्न गर्दा प्रयोग गरिने भाषा जसलाई सांस्कारिक भाषा (Ritual Language) भनिन्छ । यो भाषा दोवाले मात्र प्रयोग नगरेर जान्ने बुढयौलीहरुले पनि प्रयोग गर्न सक्दछन् । यी दुवै भाषालाई मुन्दुमी भाषा भनिए पनि एक आपसमा फरक छन् । दोवा भाषा र सांस्कारिक भाषाहरु के के पक्षमा फरक छन् भनेर तुलना गर्दा कुनै पनि पक्षमा समानता देख्न सकिदैन । दोवाले प्रयोग गर्ने भाषा रेकर्ड गरेर ट्रान्सक्रिप्सन पछि सोध्दा स्वयम् बोल्ने दोवाले पनि अथ्र्याउन नसक्दोरहेछ र आफूले बोलेको कुराप्रति पनि अनभिज्ञता प्रकट गर्दा रहेछन् । तर, संस्कारमा प्रयोग गरिने भाषा भाषाशास्त्रीय हिसाबले अध्ययन गरिएको छ र यसको अध्ययन सम्भव पनि छ । त्यस अन्तर्गत राईहरुको सांस्कारिक भाषामा एलेन (१९७८ सन्), ग्यान्सले (२००२ सन्) र राई (२००७ सन्) को अध्ययन यस क्षेत्रमा महत्वपूर्ण अध्ययनको रुपमा रहेका छन् ।
यी अध्ययनहरुले के प्रमाणित गर्दछ भने सांस्कारिक भाषालाई सूक्ष्म रुपमा विश्लेषण गर्ने हो भने भाषाशास्त्रीय हिसाबले अध्ययन गर्न सकिने रहेछ । राई (२००७ सन्) लाई आधार मान्दा बोलचालको भाषाभन्दा सांस्कृतिक भाषा मानव भाषाशास्त्रीय आधारमा निम्न सवालहरुमा फरक छन् ।
३.घ.१. सांस्कारिक भाषा ९च्ष्तगब िीबलनगबनभ० संस्कारसँग मात्र सिमित छ । यो भाषालाई कसैकसैले देवता भाषा वा मुन्दुम भाषा पनि भन्दछन् । बोलचालको भाषा जहिले जहाँ र जोसँग प्रयोग गरिने भए पनि सांस्कारिक भाषा निश्चित चाडमा, निश्चित व्यक्तिले निश्चित प्रयोजनको लागि निश्चित समयमा मात्र बोलिन्छ । त्यसैले यो संस्कारसँग सम्बन्धित छ ।
३.घ.२. सांस्कारिक भाषा (Ritual Language) काव्यिक हुन्छ । यो काव्यिक हुनुको पछाडि यस भाषामा प्रयोग हुने शब्दहरुको बनावट नै हो । यस भाषामा लय मिल्ने खालका जोडी नामहरु जसलाई द्विनाम (Binomial)भनिन्छ को बाहुल्यता हुने हुनाले यो भाषा बोल्दा पूरै लयात्मक वा काव्यिक हुन्छ । रुपक, उपमाजस्ता चीजहरुले पनि यो भाषालाई अझ काव्यिक बनाउन मद्दत गर्दछन् ।
३.घ.३. सांस्कारिक भाषा औपचारिक बोली (Formal Speech) हो । यो भाषा फलाक्ने मान्छे पिच्छे फरक फरक जस्तो देखिए पनि आधारभूत रुपमा समान र उस्तै हुन्छ । सांस्कारिक भाषामा समानता पाइनुको कारण त्यहाँ प्रयोग हुने शब्दहरुको निर्माण पूरै एउटा निश्चित व्यवस्थामा (Thoroughly Structured or patterned) हुने भएकोले बोल्दा अड्किने थेगो वा विश्राम आदि बाहेकमा खासै फरक हुँदैन । उदाहरणको रुपमा छिन्ताङमा घर देवताको पूजा गर्दा चिखिमटाङमा पुवाङटाङमा (राई २०६२) बाट शुरु गरेर ‘सत्य खा गोने ओ’ मा टुङ्ग्याउनै पर्दछ । यसरी चिखिमटाङमा पुवाङटाङमाबाट मुन्दुम शुरु भएको छ भने त्यो खिपमाङ (घर देवता) को पूजा भइरहेको छ भनेर जान्न सकिन्छ । जसले पूजा गरे पनि उही बोली प्रयोग गर्ने हुनाले यो भाषालाई औपचारिक बोलीको रुपमा लिन सकिन्छ । जुन बोलचालको भाषाभन्दा फरक हुन्छ ।
३.घ.४. सांस्कारिक भाषा प्रयोग गर्ने शैली बोलचालको भाषाभन्दा फरक छ । सांस्कारिक वा मुन्दुमी भाषा प्रयोग गर्दा लयात्मक ढङ्गले गरिए पनि यसको सम्वाद दोहोरो हुँदैन । यो एकोहोरो (Monologue) बोली हो । तर, बोलचालको भाषा प्रयोगका लागि कम्तीमा दुई जना आवश्यक हुन्छ । त्यसकारण साँस्कारिक भाषा बोलचालको भाषाभन्दा फरक छ ।
३.घ.५. सांस्कारिक भाषाको प्रयोग थोरै विशेष व्यक्ति (Ritual Experts) हरुले मात्र गर्दछन् । यो भाषा जो कोहीले जान्दैनन्, बुझ्दैनन् । त्यसैले यो विशेष भाषा हो ।
४. निष्कर्ष :
मुन्दुमी परम्पराको सार
४.१. मौखिक परम्परा (Oral Tradition)
मुन्दुम वास्तवमा मौखिक परम्परा हो । मौखिक रुपले सर्ने परम्परा भएकोले यसलाई ‘मौखिक परम्परा’ भनिन्छ ।
४.२. न स्वर्ग, न नर्क (No Hell, No Heaven)
मुन्दुम अनुसार नर्क र स्वर्गको परिकल्पना गरिएको छैन । बरु त्यहाँ नाराखा (मृत्युलोक) र सेन्चिखा (मृतात्मा बस्ने ठाउँ) को मात्र परिकल्पना गरिएको छ । मुन्दुममा नर्क र स्वर्गको परिकल्पना नभएकोले पाप र धर्मको अवधारणा पनि पाइँदैन ।
४.३.प्राकृतिक मृत्यु र अप्राकृतिक मृत्यु (Natural death and unnatural death)
मुन्दुमी परम्परामा कोही व्यक्ति कसरी म¥यो भन्ने कुराले ठूलो महत्व राख्दछ । मुन्दुम अनुसार मृत्युलाई दुई प्रकारले विभाजन गरेको पाईन्छ । यदि कोही उमेर पुगेर र कुनै दुर्घटनामा नपरी, ठूलो घाउ वा चोट नलागी मृत्यु भयो भने त्यस्तो मृत्युलाई प्राकृतिक मृत्यु भनिन्छ र त्यस्तो मृत्यु हुनेहरुको मृतात्मा पितृको लाइनमा जान्छ । पितृको लाइन भनेको राई संस्कृतिमा घर भित्र ३ ओटा ढुङ्गाले निर्माण गरिएकोे चुलामा जानुलाई बुझाउँछ तर यदि कोही अस्वभाविक किसिमले दुर्घटनामा, डढेर, लडेर, ठूलो घाउ चोट लागेर मृत्यु भयो भने उसको मृत्युलाई अप्राकृतिक मृत्यु भनिन्छ । अप्राकृतिक मृत्यु हुनेहरुको आत्मा पितृको लाइन या चुलामा जाँदैन र उनीहरुको आत्मालाई घर बाहिर कुनै ठाउँमा जस्तै फूलमा, बलेसीमा, करेसाबारीमा राख्ने चलन छ । यसरी अप्राकृतिक किसिमले मर्नेहरुको मृतात्मा छोराको भए ‘हुल्ला’ र छोरीको भए ‘मामाङ’ हुन्छ भन्ने विश्वास गरिन्छ । (तर यो शब्द विभिन्न राईहरुको आ–आफ्नै मौलिक किसिमको हुन्छ) हामी यहि पृथ्वी वा धर्तीबाट उत्पत्ति भयौं त्यसैले यसैमा समाहित हुन चाहन्छौँ भन्ने विश्वासका साथ प्रायः जसो किराती समुदायमा लास गाड्ने चलन छ ।
४.४.प्रकृति पूजक (Nature Worshipper)
मुन्दुमको अर्को महत्वपूर्ण विशेषता भनेको प्रकृति पूजा हो । प्रकृति पूजा अन्तरगत् उनीहरुले ढुङ्गा, माटो, पानी, जङ्गल, सर्प, बालीनाली, खोला, भीर आदिलाई देवता मानेर पूजा गर्दछन् ।
४.५. बलीको फरक अवधारणा (Sacrifice in different concept)
धेरै धर्मावलम्बीहरुले विभिन्न नाममा बली दिन्छन् । मुन्दुम अनुसार किराती संस्कारमा पनि बली दिइन्छ तर यसको अर्थ कुनै देवतालाई खुशी पार्न बली दिइएको होइन । बली त शुभ अशुभको चिन्ह हेर्नलाई दिइन्छ । बली दिइएको वा चढाइएको कुनै पनि जनावरको मुटु कलेजो हेरेर जान्ने धामीहरुले सम्भावित खतरा, रोग, व्याधी, शुभ, अशुभ, असल, खराब आदि खुट्याउने हुनाले बलीको प्रयोग फरक अवधारणा मुन्दुममा पाइन्छ ।
४.६.फरक भाषा (Separate Language)
मुन्दुममा प्रयोग गरिने भाषा बोलचालको भाषाभन्दा फरक भाषा हुन्छ । मुन्दुममा प्रयोग गरिने भाषाको माथि सविस्तार व्याख्या गरिएको छ । वास्तवमा मुन्दुममा प्रयोग गरिएको भाषाको विशेषतालाई हेर्दा बोलचालको भाषाको माउ भाषाको (Archaic Language) रुपमा लिन सकिन्छ ।
४.७. हस्तान्तरण (Transmission)
मौखिक परम्परा मुन्दुम एक पुस्तादेखि अर्काे पुस्तामा मौखिक रुपमा हस्तान्तरण हुन्छ । मिथकहरु, सांस्कारिक भाषा, लोकगीत, वर्णनहरु आदि एक पुस्ताबाट अर्काे पुस्तामा कुनै औपचारिक तालिम विना नै जस्ताको तस्तै हस्तान्तरण हुनु नै मुन्दुमको महत्वपूर्ण विशेषता हो ।
४. ८. समयक्रम (Temporal Order)
मुन्दुम अनुसार वर्षभरिको अवधिलाई दुई भागमा बाँडिएको छ । पहिलो भागलाई उधौली भनिन्छ भने दोस्रो भागलाई उभौली भनिन्छ । उधौली कार्तिके पूर्णेबाट शुरु भएर बैसाखे पूर्णेमा सकिन्छ भने उभौली बैसाखे पूर्णबाट शुरु भएर कार्तिके पूर्णेमा सकिन्छ । यसरी मुन्दुममा बार, हप्ता, महिना र वर्षको अवधारणा पाइँदैन ।
अन्त्यमा, मुन्दुमको समग्र पक्षहरु–लाई हेर्दा यसको बहु आयाम छ र मुन्दुमको अध्ययनको क्षेत्र महासागर जस्तै फराकिलो पनि छ । मानवभाषा शास्त्रीय दृष्टिकोणबाट यसको अध्ययन गर्दा के देखिन्छ भने यो लोप हुन लागेको अत्यन्तै शक्तिशाली मौखिक परम्परा हो र यसमा प्रयोग गरिने भाषा भाषाशास्त्रीय हिसाबले अत्यन्तै महत्वपूर्ण र चुनौतिपूर्ण छ । तर, दुःखको कुरा के हो भने उचित संरक्षण सम्बद्र्धन, अध्ययन, विश्लेषण र अभिलेखीकरणको अभावमा बुढापाकाको थुतुनामा बाँचेको यो मुन्दुमी परम्परा शायद आउँदो पुस्ताहरुको लागि केही पनि बाँकी रहने छैन । त्यसैले जहाँ जे छ र जो कोहिले जे गर्न सकिन्छ, त्यसैको आधारमा यसको संरक्षणमा लाग्ने हो भने बिर्सदै गइरहेको यो मुन्दुमी परम्परा र भाषालाई केही हदसम्म बचाएर राख्न सकिन्छ । होइन भने यसको अन्त्य अवश्यम्भावी छ ।
सामग्रीहरु
• राई, बुद्धिकिरण (२०६२) ख्याल तम्र, जनचेतना समुदायिक संस्था, बासा, सोलुखुम्बु
• राई, लोकेन्द्र (२०६२) छिन्ताङ संस्कृति र जाल्पादेवी : सीपीडीपी
• Allen, N. 1978. Sewala Puja Bintila Puja: Note on Thulung Ritual Language. Kailash. 6.237.CBS Report. 2001. Chemjong, Iman Sing. 2003. History and Culture of Kirat People. Kirat Yakthung Chumlung, Central Office. Lalitpur.
• Gaenszle, Martin et al. 2005. Worshipping the King God: A Preliminary Analysis of Chintang Ritual Language in the Invocation of Rajdeu, In:
• Yogendra P. Yadava [ed.] Contemporary issues in Nepalese Linguistics. Kathmandu: Linguistic Society of Nepal.
• Ancestral Voices: Oral Ritual Texts and Their Social Contexts among the Mewahang Rai of East Nepal. LIT.
• Rai, Ichchha Purna. 2007. An Outline of the Chintang Mundum/Ritual Language. An Unpublished M.A. Thesis: Central Department of Linguistics, T.U. Kirtipur.
• Masica, Colin P1976. Defining a Linugistic Area: South Asia. The University of Chicago Press.

GAJ BDR RAI






