‘नीलो सिन्दुर’ नाटक मण्डला थिएटरमा मञ्चन
काठमाडौँ, मङ्सिर १२ । गरिबी, बेरोजगारी र स्वास्थ्य सेवाको अभावले निम्त्याउने मानवीय सङ्कट तथा इच्छामृत्युको नैतिक द्वन्द्वलाई विषयवस्तु बनाइएको नाटक ‘नीलो सिन्दुर’ काठमाडौँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ। नाटककार महेन्द्र मङलियाद्वारा लिखित, धीरेन्द्र प्रेमर्षीद्वारा अनुवादित तथा रामभजन कामत र पुष्पराज अवस्थीद्वारा निर्देशित नाटक २०८३ मङ्सिर ११ गतेदेखि मञ्चनमा आएको हो। निर्देशकका अनुसार नाटकको प्रदर्शन मङ्सिर २७ गतेसम्म जारी रहनेछ।
मैथिली नाटक ‘देहपर कोनी सखा दिय’ मा आधारित ‘नीलो सिन्दुर’ ले मनोहर र उनकी श्रीमती जानकीको जीवनमा आइपरेको दुःखान्त घटनालाई केन्द्रमा राखेको छ। श्रीमतीलाई विष सेवन गराएको अभियोगमा मनोहर अदालतको कठघरामा उभिनुपर्ने अवस्थाबाट नाटकको कथावस्तु अघि बढ्छ। यस घटनामार्फत नाटकले पारिवारिक सङ्कटसँगै गरिब नागरिकको जीवन, न्याय, मानवीय गरिमा, राज्यको दायित्व र सम्मानपूर्वक बाँच्न पाउने अधिकारसम्बन्धी प्रश्न उठाएको छ।
नाटकमा प्रभाकर शर्मा, रामभजन कामत, रीना रिमाल, रुपेश मण्डल, पुष्पराज अवस्थी, विरेन्द्र सिंह कुशवाहा, तृत्ति श्रेष्ठ, चन्द्रशेखर राय, उत्सव कार्की र राजिप यादवले अभिनय गरेका छन्।
नाटकको प्रकाश परिकल्पना राजकुमार पुडासैनी र प्रकाश परिचालन लक्ष्मी पौडेलले गरेका छन्। सङ्गीत सुनील मल्लिक तथा शिवचन्द्र दासको रहेको छ भने भेषभूषाको जिम्मेवारी तृत्ति श्रेष्ठले सम्हालेकी छन्। मञ्च परिकल्पना झकेन बिसी र मञ्च निर्माण सागर बि।सी।ले गरेका छन्। कोरियोग्राफी अर्जुन बि।सी।को रहेको छ भने कविता रेशम रञ्जन झाको रहेको छ।
नाटकको सामग्री निर्माणमा चन्द्रशेखर राय, उत्सव कार्की, राजिप यादव र रुबिन सुनार संलग्न छन्। पोस्टर उपेन्द्र ठमट्टाको रहेको छ भने आर्टमा उपेन्द्र ठमट्टा, सिजेन्द्र थापा र विष्णु बोगटी संलग्न छन्। पोस्टर, ब्रोसर तथा भिडियोको जिम्मेवारी दिपेश मण्डलले सम्हालेका छन्।
त्यसैगरी, व्यवस्थापन श्रीकृष्ण शाही, प्रचारप्रसार अर्जुन चन्द र राजाराम गौतम तथा मल्टिमिडिया आयुष्मा जोशीको रहेको छ। सुकृत नेपाल मिडिया संयोजक, सुरज मगर मञ्च व्यवस्थापक तथा सुरेश तिरुवा, जयदेव साउद, विशाल तामाङ र तिलक राम शर्मा मञ्च सहयोगीका रूपमा रहेका छन्।






