भुँडी कर – प्रदिप दोरंगा
जति खाए पनि आफ्नो पेट सारङ्गी जस्तो सुकेपछि अरूको ठूलो भुँडी देखेर ईर्ष्या लाग्नु स्वभाविकै हो। मैले पनि बिहान, दिउँसो र बेलुका तीन थाल त हसुरेकै छु नि, अरु बेला पनि पाएको चिज खान्न भनेको पनि छैन। तैपनि मेरो भुँडी ज्यूँकात्यूँ छ। होइन, यी भुँडीवाल महाशयहरुले त्यस्तो के खान्छन् र यत्रो भदौरे कटहर जत्रो भुँडी लाग्छ हँ? ।आफ्नो भने जति इन्चिटेप तन्काएर नापे पनि एक इन्च भुँडी बढेको होइन। दिनदिनै अफिस गएर तौल नाप्न छाडेको पनि छैन, ऐना अगाडि उभिएर भुँडी फुलाउन बिर्सेको पनि हैन तर पनि मेरो तौल पचासबाट बरु उल्टो उन्पचास होला तर एकाउन्न हुदैन त! सुकेनास नै लागेको हो कि भनेर तौल बढाउन अनि पुटुस्स भुँडी लागोस् भनी डाक्टर, वैद्य, धामी, झाँक्री कसैलाई देखाउन बाँकी राखेको छैन। थरीथरीका कन्दमूल र जडीबुटीका ओखती पनि खाएकै हुँ, तैपनि केही सीप लागेन।
कुन उमेरदेखि भुँडी लाग्छ भन्ने रहस्य जान्न ज्योतिषीकहाँ पनि पुगेँ, तर त्यहाँ पनि पैसाको मात्रै सत्यानास भयो। कहिलेकाँही त अरूको मोटो जीउडाल र ठूलो भुँडी देखेर रिसले एक्लै मुरमुरिन्छु। एक दिन त हावाहुरी चल्दा शरीरै उडाउला झैँ गरेपछि डरले पिँढीको खाँबो च्याप्प समातेर बसेको थिएँ, ठ्याक्कै त्यही बेला दिमागमा एउटा जुक्ति फुर्यो “यी ठूला भुँडी हुनेहरूका लागि सरकारले छुट्टै ‘भुँडी कर’ लगाइदिए त हाईसञ्चै हुन्थ्यो नि!” कर तिर्नुपर्ने डरले भए पनि यिनीहरूले भुँडी घटाउन केही न केही उपाय त लगाउँथे होला अनि म जस्तै सुकेनास देखिन्थे। आखिर सरकारले भुँडी कर नै ठोकिदियो भने त यिनले आफ्नो भुँडी नघटाएर सुख? सरकारले जति करकर गरेपनि कर तिर्न त कसलाइ पो मन हुन्छ र?
साच्चै, यो ‘भुँडी कर’ कुन क्याटगोरीमा पर्ला? यसको सैद्धान्तिक धरातल के होला? ठूलो भुँडी भएकाले धेरै कर र सानो भुँडी भएकाले थोरै कर तिर्ने परिपाटी बसाल्ने हो भने त यो पूर्ण रूपमा ‘प्रगतिशील कर’ नै हुन्छ। फेरि सबैको भुँडी एकैनासको पनि त हुन्न; सबै भुँडीलाई एउटै फ्ल्याट दरमा कर लगाउँदा त सोझै अन्याय पनि हुन्छ नि! कर प्रणाली नै प्राकृतिक न्यायको सिद्धान्त विपरित भो भनेर भुँडीवालहरुले माइतिघरमा जुलुसै निकाल्न पनि बेर लगाउदैनन्। त्यसैले भुँडीको आकार र भुँडीवालाको औकात अनुसार करको दर पनि फरक-फरक हुनुपर्छ भन्ने मेरो मान्यता हो। यस विषयलाई त राष्ट्रियस्तरकै सार्वजनिक बहसको विषय पनि बनाउनुपर्छ। देशका मुर्धन्य अर्थशास्त्रीहरूको गोलमेच सम्मेलनले यसमा के राय दिने हुन् कुन्नि?
भुँडीका प्रकार भन्नेबित्तिकै मलाई व्यङ्ग्यशिरोमणि भैरव अर्याल बाजेको याद आउँछ। उनकै वर्गीकरणलाई सापटी लिएर भन्ने हो भने “टाकनटुकन भुँडी” हुनेलाई उसको आम्दानीको पाँच प्रतिशतसम्म भुँडी कर लगाउनु ठिक होला। “हाँडीघोप्टे भुँडी” हुनेलाई दस प्रतिशतसम्म र “ध्याम्पे भुँडी” बोक्ने महाशयहरूलाई त सोझै बीस प्रतिशतकै दरमा कर ठोक्नुपर्छ। जिरो फिगर भएकाहरूलाई भने करको शून्य दर कायम गरिनुपर्छ भने म जस्ता पेट नै हराएर ढाडसँग टाँसिएका “ठण्डाराम भुँडी” हुनेहरूलाई त उल्टै सरकारले राहत र क्षतिपूर्ति नै दिनुपर्छ नि!
सरकारले साँच्चै ‘भुँडीकर’ नै लगाइदिने हो भने यी भुँडीवाल महाशयहरूले कर छली गर्न कस्ता-कस्ता हर्कत गर्दाहुन फेरी? सोच्दा पनि अचम्म र हाँसो उठेर आउँछ। कालोबजारिया साहुँले सङ्कटको बेला खाना पकाउने ग्याँस लुकाए जस्तै, यिनीहरूले पनि कसिलो पेटीले पेट बाँधेर, अनि जेठ-असारको रापिलो गर्मीमा पनि बाक्लो ज्याकेटले भुँडी छोपेर हिँड्न बेर छैन।कतिले त अरुलाइ देख्ने बित्तिकै छाती फुलाएर पेट भित्र दाबेर गफ गर्न तम्सिन पनि बेर छैन। गरिबहरू बिहान-बिहान पेट पाल्न कामको खोजीमा दगुरे जस्तै, यी भुँडीवाल महाशयहरू चाहिँ पेट फाल्न चौरमा कुदिरहेका देखिनेछन्। कर प्रशासनका कर्मचारीको आँखा छल्न उनीहरू उकालो-ओरालो कुद्ने, ट्रेडमिलमा दौडिने, ठाउँ न कुठाँउ जगिङ गर्ने, जिम धाउने वा डाइटिङ गर्ने जस्ता कडा भूमिगत हर्कतमा उत्रिन पनि सक्छन्। उनीहरूले बढी क्यालोरी भएका बोसोयुक्त र अस्वस्थकर महँगा खानेकुराहरू त्याग्ने, नियमित व्यायाम गर्ने र विलासी जीवनशैली चटक्कै छाडिदिने सम्मका क्रान्तिकारी कदम उठाउन पनि सक्छन्। तिथी न मितिको उपवास बस्न पनि बेर लगाउदैनन। खुट्टा तन्कायर अनि ढाड मर्काएर सोफामा लम्पसार पर्दै घाम ताप्दै बसी-बसी हसुरेर भुँडीको आकार बढाउनुभन्दा, उनीहरू करको जरिवानाबाट बच्न खेतबारी हुनेले खेतवारीमा, खेतवारी नहुनेले घरवारी र त्यो पनि नहुनेले आफ्नै कोठाभित्रै केही न केही शारीरिक काममा घोटिइरहने उपाय सोच्न सक्छन। आखिर, जसरी पनि कर त छल्नु नै छ।
कतिपयलाई लाग्ला यो कर असुल्न सरकारलाई धेरै सकस होला। तर म बबुरो भन्छु, यो त संसारकै सबैभन्दा सजिलो कर हो! सम्पत्तिको स्वघोषणा गरेर कर तिर्दा बरु कर्मचारीसंग चोचोमोचो मिलाएर कर छली हुन सक्छ; तर यो भुँडीको प्रदर्शन त छालाको पेटी वा ज्याकेटले लुकाएर पनि आखिर कति बेर लुकोस्? यसका लागि कुनै गुप्तचर वा छापा मार्ने टोली नै चाहिँदैन। कर प्रशासनका कर्मचारीले बाटोमै रोकेर “ल महाशय, एकचोटि श्वास तान्नुस् र भुँडी फुलाउनुस् त” भनेकै भरमा इन्चिटेप तेर्स्याएर तत्कालै करको दर निर्धारण हुन सक्छ। कति गज्जब र पारदर्शी प्रणाली!
भुँडीकर नै लगाइदिएपछि त सरकारलाई पनि हाइसन्चो, जनतालाई पनि दोहोरो विकल्प ‘’कि भुँडी घटाऊ, कि बढी कर तिर”। जनताले पनि आफ्नो भुँडीको साइज अनुसार लोकतान्त्रिक विकल्प रोज्न पाउने भए। आखिर सरकार पनि त जनताकै कल्याणका लागि बनेको त हो नि!
राज्य सञ्चालन गर्न सरकारसँग स्रोतको चरम अभाव भएका बेला यो ‘भुँडीकर’ उत्तम र अकाट्य विकल्प हुन सक्छ भन्ने म बबुरोको ठम्याइ हो। राज्यलाइ कर नतिर्ने उपाय खोजी गर्दा राज्यलाइ नै फाइदा पुग्ने अचम्म प्रणालीको कर हो यो। एकातिर मोटो, अल्छी तिघ्रा घिसार्ने र धेरै क्यालोरी खन्चुवा महाशयहरूबाट राज्यलाई मोटो रकम कर वापत प्राप्त हुन्छ भने अर्कोतर्फ कर कम तिर्न वा करबाटै उम्किन मानिसले जे-जति शारीरिक मेहनत गर्छन्, त्यसले उनीहरूको स्वास्थ्य पनि तन्दुरुस्त हुन्छ। राम्रो स्वास्थ्य भएका मानिसहरू निरोगी हुन्छन्। आखिर निरोगी र फुर्तिला नागरिक नै राज्यका वास्तविक सम्पत्ति हुन्।जनताले यस्तो कर ठग्ने तरिका अपनाउँछन भने सरकारले पनि अलिकति आँखा चिम्लनु बेस हुन्छ। यो चानचुने कुरो होइन, सरकारले समयमै मर्म बुझोस्…।
– doranga76@outlook.com







